काठमाडौंमा कोठा खोजिदिन्छु भन्दै अग्रिम पैसा असुल्ने गिरोह सक्रिय

गैरकानुनी रूपमा पाँच सयदेखि २ हजारसम्म असुली

काठमाडौंका विभिन्न ठाउँमा सामाजिक सञ्जालमा कोठा खोजिदिने नाममा डिजिटल माध्यमबाट अग्रिम पैसा माग्ने र पैसा लिएपछि एउटै कोठा धेरैलाई देखाउने वा कोठा नै नदेखाई फरार हुने गिरोह सक्रिय भएका छन् ।

काठमाडौंमा कोठा खोजिदिन्छु भन्दै अग्रिम पैसा असुल्ने गिरोह सक्रिय

काठमाडौं। सिन्धुपाल्चोकका आशिष तामाङले एक महिनाअघि २ हजार दिएर दलालमार्फत भक्तपुरमा एउटा फ्ल्याट लिए । तर, केही दिनमै घरबेटीले दलालले भनेको भन्दा फरक व्यवहार देखाएर कोठा खाली गर्न लगाएपछि उनी अन्योलमा परे ।

रामेछापकी सुशीला कार्कीले फेसबुकमा जोरपाटीमा ‘कोठा खाली’ भन्ने सूचना हेरेर त्यहाँ दिइएको नम्बरमा फोन गरिन् । फोन उठाउने पुरुषले घरबेटी नबस्ने नयाँ घरमा कोठा खाली रहेको र सुविधासमेत राम्रो रहेको बताएपछि त्यही कोठामा बस्नेगरी पाँच सय रुपैयाँ ई-सेवा मार्फत् पठाइन् ।

तीन दिनपछि काठमाडौं आएर सम्पर्क गर्दा त्यो फोन उठेन । लगातार फोन गरेपछि केही समयमै उनको नम्बर ब्लक गरेर ती व्यक्ति सम्पर्कमा आएनन् । अहिले गाउँकै नजिकको दिदीको कोठामा बस्दै गरेकी सुशीलाले भनिन्–‘काठमाडौं गएपछि चलाख हुनुपर्छ नत्र ठगिन सक्छ भन्थे, म त काठमाडौं नटेक्दै ठगिएँ।’

आशिष र सुशीलाको जस्तै पीडाको अनुभव अहिले काठमाडौंमा धेरैको छ । काठमाडौंका विभिन्न ठाउँमा सामाजिक सञ्जालमा कोठा खोजिदिने नाममा डिजिटल माध्यमबाट अग्रिम पैसा माग्ने र पैसा लिएपछि एउटै कोठा धेरैलाई देखाउने वा कोठा नै नदेखाई फरार हुने गिरोह सक्रिय भएका छन् ।

यस्तो कार्यमा एक व्यक्ति मात्रै नभई संगठित समूह नै लागेको देखिएको छ । प्रहरी प्रशासनले समेत यस विषयमा अध्ययन गरिरहेको बताएको छ । प्रहरीको भनाइमा यस्ता एजेन्टको गतिविधि निगरानीमा छ, लिखित उजुरीका आधारमा अनुसन्धान र पक्राउ गरिनेछ ।

एजेन्टको रूपमा देखिएका त्यस्ता व्यक्तिले आफ्नो फेसबुक र ब्लगमा विभिन्न ठाउँको कोठाको तस्वीर राख्ने र अनेक सुविधासमेत बताउने गरेका छन् । उनीहरूले फेसबुकसँगै टिकटक लाइभ बसेर समेत कोठाको भिडियो र तस्वीर देखाउने गरेका छन् ।

बालकुमारीमा एउटा ‘कोठा खोज्ने पसल’ भनेर चलाइरहेको कार्यालय छ । उसको टिकटक एकाउन्टमा बेलुकी नियमित लाइभ बस्ने र कोठा, फ्ल्याट, सिङ्गै घर र जग्गासमेत भाडामा मिलाइदिने भनिरहेको भिडियो छरप्रष्ट देख्न सकिन्छ । तर, भनिएअनुसारको अफिस कोठा खोज्ने उद्देश्य राखेरै दर्ता छ वा छैन ? कर तिरेको छ छैन र सेवा शुल्क भनेर पैसा लिन मिल्छ मिल्दैन भन्नेमा सरोकारवाला निकाय मौन छ । यद्यपि, उनीहरूले पनि आफ्नो कारोबार बारे केही बताउने गरेका छैनन् ।

काठमाडौं उपत्यकामा  भनेजस्तै ‘कोठा खोजिदिने’ नाममा अफिस वा व्यक्तिगत फेसबुक आईडी बनाई ठगी गर्ने गिरोह सक्रिय छन् । तर, सरोकार निकायको ध्यान नपुग्दा दैनिक कयौं सीधासादा मानिसहरू ठगिँदै आएका छन् ।

यस्ता व्यक्तिहरूले रुम सेयर गरेर बस्न चाहनेले सम्पर्क गर्नुस् भन्नेदेखि घरबेटी नबस्ने घर, २४सै घण्टा पानी, सार्वजनिक यातायात लिन सजिलो जस्ता मानिसको आवश्यकता अनुसारकै आकर्षक विज्ञापन राखेर पैसा असुल्ने गरेको पीडितको गुनासो छ ।

फेसबुकमा कोठा भाडामा लिनुपरेमा, कोठा खोज्ने पसल, एक जमानाको काजी जस्ता नाम राखेर दैनिक धेरैलाई बेवकुफ बनाउनेहरूले  प्रत्यक्ष भेटेर भने कसैसँग कुरा गर्न मान्दैनन् ।

हामीले भेटौं भन्दा पनि उनीहरूले ‘पहिले ५ सय रुपैयाँ लिएर हाम्रो भाइलाई भेट्नुस् अनि उसैले कोठा देखाउने हो’ भन्दै पन्छिए । कतिपयले चाहिँ अफिसमा आएर फर्म भरेपछि मात्रै कोठा देखाउने बताए । ‘पहिले अफिस आउनुस,सानो फर्म भर्ने प्रक्रिया पूरा गरेर कोठा हेर्न जाउँला’ बालकुमारीस्थित कोठा खोज्ने पसलको सम्पर्क व्यक्तिले भने–‘हाम्रो सिस्टम नै पहिले ५ सय लिएर फर्म भर्ने अनी कोठा देखाउन लैजाने हो ।’

पीडितको भनाइमा ती एजेन्टले एउटा राम्रो फ्ल्याट (केही कोठा, किचन, ट्वाइलेट र बाथरुम सहित) को फोटो खिचेर त्यसैलाई आफ्नो फेसबुक पेजमा राख्ने र आफ्नो सम्पर्क नम्बरसहित विज्ञापन गर्ने गर्दछन् । उनीहरूले एउटै फोटोलाई विभिन्न स्थानको भनेर राख्ने र जब कोठा आवश्यक हुनेले फोन गर्दछन् अनि बार्गेनिङ सुरु गर्दछन् । त्यस्ता केही दलालले पहिले ई-सेवामा पाँच सय रुपैयाँ पठाउन लगाउने र भोलिपल्ट फ्ल्याट-कोठा देखाउने आश्वासन दिन्छन् र बेपत्ता हुने गर्दछन् ।

ई-सेवामा पैसा पठाएपछि दलालले फोन नउठाउने, नम्बर ब्लक गर्ने र बाध्यताले देखाउनै परे मन नपर्ने खालको वा अर्को व्यक्ति बसिरहेको कोठा केही समयपछि खाली हुन्छ भनेर देखाउने गरेको पीडितको गुनासो छ।

नेपालभ्युजको सम्पर्कमा आएका मध्य पुरानो बानेश्वर बस्ने उमेशकुमार श्रेष्ठ भन्छन्–‘कोठा देखाउँछु भन्दै ई-सेवा मार्फत पाँच सय रुपैयाँ मागे । पैसा पठाएको एक घण्टापछि आईडी नै ब्लक गर्‍यो ।’ उमेशको जस्तै अनुभव मनोज ढेवाजुको पनि छ।

माइक्रोबसका चालक रहेका ढेवाजुलाई कोठा खोजिदिन्छु भन्ने एक व्यक्तिले एक हजार ठगेको छ । माइक्रोमा यात्रा गरेका बेला पहेँलो पुल पुगेपछि उनले कोठा चाहिएको कुरा ती व्यक्तिलाई बताए । तर, कोठा हेर्न फर्म भर्नुपर्छ भनेर एक हजार लगेपछि ती युवक बेपत्ता भए । ‘मेरै माइक्रोमा नियमित यात्रा गर्ने भाइले एकदिन मलाई नै ठगेर गयो’ उनले भने–‘सधैं यात्रा गर्ने भनेर विश्वासले पैसा दिएँ, त्यो एक दिनको कमाइ एकैछिनमा खाइदियो ।’

कोठा खोजिदिन्छु भन्नेले फर्म शुल्क ५ सयदेखि फ्ल्याट मन परेर बस्ने भएपछि थप २ हजारसम्म लिने गर्दछन् । यस विषयमा उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा गुनासो आएको प्रहरीको भनाइ छ । तर, गुनासोकै आधारमा कसैलाई पक्राउ भने नगरिएको एक प्रहरी अधिकारीले बताए ।

विषय सुनिँदै आएको र यसमा अध्ययन अनुसन्धान गर्दै गरेको बताउँदै प्रहरी अधिकारी भनछन्–‘सामाजिक सञ्जालबाट ठगी गर्नेहरूबाट नागरिक सचेत हुनु आवश्यक छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved