शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब र न्यु डायमण्ड विजयी

प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालभ्युज

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब र न्यु डायमण्ड विजयी

काठमाडौँ । साबिक विजेता एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबले छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा न्यु डायमण्डस्पोर्टस्क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको हो । यस्तै दिनको दोस्रो खेलमा साबिक विजेता एपिएफले पनि अर्को विभागीय टोली नेपाल पुलिसलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पछिल्लो पटक सम्पन्न सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा च्याम्पियन तेस्रो भएको न्यु डायमण्डले त्रिभुवन आर्मीलाई २५–२०, २५–१४ र २५–१० ले स्तब्ध बनाएको हो । उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी शुरवात गरेको खेलमा न्यु डायमण्डकी रिया कुँवर प्लेयर अफ दि म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारिन् । यस जितसँगै न्यु डायमण्डले समूह तालिकामा स्पष्ट तीन अङ्क जोडेको छ ।

यस्तै शनिवार नै सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले पुलिसमाथि सहज जित निकालेको हो । पहिलो सेटमा ६–२ अगाडि रहँदै राम्रो सुरुवात गरेको पुलिसले लयलाई निरन्तरता दिन नसक्दा एपिएफलाई सोझो सेटमा नतिजा सुम्पिन बाध्य भएको हो । यस क्रममा एपिएफले खेल २५–२०, २५–२१ र २५–२१ ले आफ्नो पक्षमा पारेको छ । यससँगै एपिएफले पनि तालिकामा स्पष्ट तीन अङ्क जोड्न सफल भएको छ ।

चार दिनसम्म सञ्चालन गर्ने प्रतियोगितामा साबिक विजेता नेपाल एपिएफ क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । यसअघि गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबले पनि सहभागिता जनाउने भनिए पनि अन्तिम समयमा आएर यी दुई टोलीले नाम फिर्ता लिएका थिए । राउण्ड रोबिन प्रणालीमा सञ्चालन भएको प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो र चौथो स्थानका टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा व्यक्तिगत विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको इमर्जिङ खेलाडी एक जनाले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एपिएफ र आर्मी तथा दोस्रो खेल न्यु डायमण्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved