अमेरिका- फिलिपिन्स सैन्य सम्झौता : नयाँ सैन्य अखडाले तर्सिएला चीन ?

सैन्य विशेषज्ञ स्टकका अनुसार चीनसँग निक्कै ठूला हतियार, क्षेप्यास्त्र र विमान छन् । यदि चीनले साँच्चै आफ्ना हतियार, विमान र क्षेप्यास्त्रले अमेरिकी सैन्य परियोजना फिलिपिन्सबाट हटाउन लक्षित गर्यो भने अमेरिकी तयारी पर्याप्त हैन ।

नेपालभ्युज

अमेरिका- फिलिपिन्स सैन्य सम्झौता : नयाँ सैन्य अखडाले तर्सिएला चीन ?

अमेरिकी राष्ट्रपति जो वाइडेन र उनका सहकर्मीहरुले चिनियाँ नेतालाई आश्वस्त बनाउँन खोजिरहेका छन् कि अमेरिकाले शीतयुद्धकालमा सोभियत संघलाई जस्तै चीनलाई घेराबन्दी गर्ने छैन । तर, बिहीबार अमेरिकाले फिलिपिन्समा आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गरेको छ । यसपछि कुनै शंका गर्न आवश्यक छैन कि अमेरिका चिनियाँ शसस्त्र सेनाका बाधा पन्छाउँन र ताइवानको प्रतिरक्षा क्षमता बढाउन आफूलाई बलियो बनाउँदै छ ।

अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले बिहीबार फिलिपिन्सको राजधानी मनिलामा गरेको घोषणा वाइडेन प्रशासनको एशिया–प्रशान्त क्षेत्रमा सैन्य गठबन्धन र साझेदारी बलियो बनाउँने चीनलाई विशेषतः ताइवान तनावमा प्रतिकार गर्ने पछिल्लो चाल हो ।

सेन्टर फर न्यु अमेरिकन सोसाइटीका एशिया–प्रशान्त विज्ञ तथा वाइडनको उपराष्ट्रपति हुँदाका सल्लाहकार जेकब स्टोक्स भन्छन–‘यो वास्तवमै निक्कै ठूलो परिणाम हो । यदि फिलिपिन्सका ती स्थानमा घुस्न सक्ने हो भने आम शक्ति र शक्ति परियोजना निक्कै बलियो हुन्छ।’ उनले थपे कि फिलिपिन्समा अमेरिकाको ‘बलियो सैन्य उपस्थितिले चीनलाई रोक्न गतिलो सन्देश दिन्छ।’

वाइडेनको नेतृत्वमा अमेरिकाले जापान, अष्ट्रेलिया र भारतसँगको सैन्य सम्बन्ध र सहकार्यलाई बलियो बनाउँने काम गरिरहेको छ । र यसले चीनका सम्भाव्य धम्की विरुद्ध नेटोलाई बोल्न सक्ने बनाएको छ ।

रक्षामन्त्री अस्टिनको घोषणाले के संकेत गर्दछ भने दक्षिण चीन सागरमा चिनियाँ सेनाका आक्रामक कार्बाहीलाई पछाडि धकेल्न अमेरिकाले आफ्नै शसस्त्र सेना प्रयोग गर्न सक्ने छ । त्यहाँ चीन र फिलिपिन्स लगायत धेरै दक्षिणपूर्वी एशियाली क्षेत्रीय राष्ट्रबीच विवाद रहँदै आएको छ।

अझ महत्वपूर्णं कुरा, चीनले आफ्नो भूभागको अभिन्न अंग दाबी गर्दै आएको लोकतान्त्रिक र स्वशासित ताइवानमा जनमुक्ति सेनाले हस्तक्षेप गरेमा तिनीहरुले सैन्य सहायता गर्न सक्ने छन् ।

राष्ट्रपति वाइडेनले चार पटक यो भनिसकेका छन् कि सैनिक द्वन्द्वको समयमा मात्र अमेरिकाले ताइवानको प्रतिरक्षा गर्दछ । तर, उनका सहकर्मी नै फेरि यो कुरामा जोड दिन्छन् कि त्यहाँ अमेरिकी नीतिमा कुनै परिवर्तन भएको छैन ।

अमेरिकी कांग्रेसले वाइडेन प्रशासनलाई जस्तै राष्ट्रपतिहरुलाई ताइवानमा प्रतिरक्षात्मक प्रकृतिका हतियार दिन अनुमति दिँदै आएको छ। वाइडेन र उनको सहकर्मी समूहले अझ अघि बढे त्यसलाई एक प्याकेजको रुपमा बिक्री गर्न खोजेको छ ताकी ताइवानले चिनियाँ आक्रमणको धम्कीबाट आफूलाई ‘दुम्सी काँढे’ तरिकाले प्रतिरक्षा गर्न सकोस ।

तर, फिलिपिन्समा अमेरिकी सेनाको ठूलो उपस्थिति त्यो भन्दा पनि परसम्म जाने कुरा हो । यसले अमेरिकी सेनालाई द्रुत परिचालन टुकडी बनाउँछ । ताइवान जलडम्मरु क्षेत्रमा गतिविधि गर्न झन सजिलो बनाउँछ । फिलिपिन्सको सबैभन्दा उत्तरी टापु इटबायतबाट ताइवान १०० मिलभन्दा पनि कम दुरीमा छ ।

यसका लागि अमेरिका जापानको भर परिरहेको छ, जो फिलिपिन्सजस्तै अमेरिकाको सैन्य साझेदार हो । जापानले ताइवानको उत्तरी दिशामा बाँधको काम गर्ने छ । गत महिना राष्ट्रपति वाइडेनले जापानका प्रधानमन्त्री फुको किसिदालाई जापानी सेनाको निर्माणमा सहयोग गर्ने वाचा गरेका थिए ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले फिलिपिनी समकक्षी एदुर्तो एम आनोसँग जनवरी १७ मा दुई राष्ट्र बीच सैन्य सम्झौता, फिलिपिन्समा अमेरिकी सेनाको टुकडी र हतियार राख्ने स्थानबारे फोनबाटै लामो छलफल गरेका थिए ।

त्यो कुराकानी सेप्टेम्बमा न्यूओर्कमा भएको संयुक्त राष्ट्र संघीय महासभाको राष्ट्रति वाइडेन र राष्ट्रपति फर्डिनेन्ड मार्कोस जुनियरको साइडलाइन वार्तामा आधारित थियो । मार्कोस जुनियरले गत जुनमा पदभार सम्हाल्दै दक्षिण चीन सागरबाट चीनलाई पछि धकेल्ने बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीबार नै बेइजिङमा एक पत्रकार सम्मेलन गर्दै भनिन–‘अमेरिकी पक्ष शून्य मानसिकतामा छ । उसले आफ्ना कुत्सित स्वार्थका लागि एशिया प्रशान्त क्षेत्रमा सैन्य तैनाथी सुदृढ गर्दैछ । यसले तनाव बढाउँने छ । यस क्षेत्रको शान्ति र स्थीरतामा खतरा पैदा गर्ने छ । यो क्षेत्रका देश अमेरिकाद्वारा जबरजस्त प्रयोग हुनबाट जोगिनुपर्छ ।’

नयाँ सम्झौताले फिलिपिन्सको ३० स्थानमा अमेरिकी हतियार र सेनालाई बस्न सहज हुने गरी बासस्थान बनाउन अनुमति दिन्छ, जो फिलिपिन्समा ३० बर्ष यताकै सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति हुनेछ । रक्षामन्त्री अस्टिनले मनिलामा भने–‘यो हाम्रो प्रभावकारिता र अन्तर संचालनीयता बढाउने अवसर हो । यो स्थायी हैन । हामीलाई थाहा छ यो वास्तवमै निक्कै ठूलो सम्झौता हो ।’

सन् १९९० मा अन्तिम अमेरिकी सिपाहीले फिलिपिन्स छोडेका थिए र त्यहाँको संविधानले विदेशी सेनालाई आफ्नो भूभागभित्र बस्न मनाही गरेको छ ।

गत नोभेम्बरमा फिलिपिनी जर्नेलले सम्झौताका लागि सम्भाव्य ५ स्थलको पहिचान गरेका थिए । तर, अस्टिनको बिहीबारको घोषणामा ९ स्थानको चर्चा छ, थप ४ स्थान कुनकुन भन्नेबारे सार्वजनिक रुपमा भनिएको छैन । ती थप ४ स्थान उत्तरी टापु लुजान र दक्षिणपश्चिमी प्रदेश पालावानमा हुन सक्ने बताइन्छ, जहाँ पुरानो अमेरिकी सैन्य सुविधा केन्द्र थिए।

अमेरिकी सेनाले स्थल, जल र हवाई फोर्सका लागि कम्तीमा १-१ केन्द्र बनाउँने छ । यी सबै बनाउन के कति संरचना चाहिन्छ भन्ने स्पष्ट छैन । सैन्य अधिकारीहरु भन्छन–‘यो सम्झौतालाई हिन्द–प्रशान्त क्षेत्रमा पेन्टागनको उपस्थिति हुने गरी विस्तार गरिनेछ ।’

फिलिपिन्सका अतिरिक्त अष्ट्रेलिया, दक्षिण कोरिया, जापान र गुमामा समेत अतिरिक्त शक्ति राखिने छ । रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल मार्टिन जे माइनर्स भन्छन–‘यी स्थान संयुक्त सैन्य तालिम, विपत राहत तथा मानवीय सहयोग र संयुक्त अभ्यासजस्ता वृहत प्रकारका मिसनमा प्रयोग गर्न सकिने छ ।’

पेन्टागन अधिकारीहरुका अनुसार अहिले अमेरिकी सेनाले फिलिपिन्सका ती आधार शिविरमा कसरी सैन्य गतिविधि गर्ने, कति सययको ट्युटी चक्र बनाउने र कुनै एक सैनिक टुकडीलाई कति समयसम्म त्यहाँ राख्ने भन्ने बिषयमा बृहत योजना बनाइ रहेको छ।

फिलिपिन्समा रहेर सैन्य सेवा गरिसकेका निवृत्त कमाण्डर ग्रिन बेरेट भन्छन–‘युद्ध, अभियान र लडाइँ जित्ने लजिस्टिकले हो । तसर्थ आधार शिविरमा हातहतियार, उपकरण, गोलाबारुद्ध, रसदपानी आदि लजिस्टिकको योजना निक्कै महत्वपूर्ण हुन्छ।’

सन् १९९० को दशकको प्रारम्भतिर करिब ६००० अमेरिकी सेना फिलिपिन्सका सैन्य शिविरमा थिए । अधिकारी भन्छन कि नयाँ योजना अन्तर्गत ती स्थानमा धेरै संख्यामा सेना राखिने छैन । त्यसको साटो अमेरिकी नागरिक ठेक्केदार र फिलिपिन्सका स्थानीय ठेक्केदारबाट धेरै जसो काम गराइने छ । केही गैरसैनिक अमेरिकी अधिकारी पनि त्यहाँ रहनेछन् । सेनाको संख्यालाई भन्दा गुणस्तरलाई ध्यान दिइ योजना बनाइने छ ।

पेन्टागनका पूर्वअधिकारी तथा दक्षिणपूर्वी एशिया सैन्य मामिलाका एक जानकार जोसेफ एच. फेल्टर भन्छन–‘त्यहाँ हाम्रो सैन्य उपस्थिति एकदमै सीमित र अस्थायी हुन्छ ।’

अमेरिकी सेना रहेका अन्य देश जस्तै इराक, सिरिया र सोमालियामा सामान्यतः कुनै एक सैन्य टकुडीलाई ६ महिनादेखि १ बर्षसम्म मात्र राख्ने गरिएको छ। कुनै पनि युद्धमा शत्रुपछिको पहिलो लक्ष्य परिचालन तथा आपुर्ती आधार शिविर हुन्छन् । त्यस्ता सैन्य अड्डाहरुको सफलताको कुञ्जी तैनाथ गरिएको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निर्धारण गर्दछ ।

सम्भावित चिनियाँ ब्यालिस्टिक तथा क्रुज क्षेप्रास्त्र आक्रमण र युद्ध विमानले खसाल्ने बम आक्रमणलाई रोक्न सक्ने गरी प्रतिरक्षा योजना गरेर मात्र सैन्य अड्डालाई सुरक्षित गर्न सकिन्छ । सैन्य विशेषज्ञ स्टकका अनुसार चीनसँग निक्कै ठूला हतियार, क्षेप्यास्त्र र विमान छन् । यदि चीनले साँच्चै आफ्ना हतियार, विमान र क्षेप्यास्त्रले अमेरिकी सैन्य परियोजना फिलिपिन्सबाट हटाउन लक्षित गर्यो भने अमेरिकी तयारी पर्याप्त हैन, त्यसमा अझै सोच्न पर्ने धेरै ठाउँ छन्।

न्यूयोर्क टाइम्सबाट ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved