सन्दर्भ- विश्व क्यान्सर दिवस

क्यान्सर : नेपालमा ज्यान लिने तेस्रो मुख्य रोग

संसारभरी धेरै ज्यान लिने रोगमध्ये क्यान्सर दोस्रोमा पर्छ भने नेपालमा तेस्रोमा।

नेपालभ्युज

क्यान्सर : नेपालमा ज्यान लिने तेस्रो मुख्य रोग

काठमाडौं। संसारभरी धेरै मानिसको ज्यान लिने रोग केके होलान् ? पहिलो नम्बरमा आउँछन्, कार्डिओभास्कुलर  । ती हुन्, हृदय र रक्तनलीसँग सम्बन्धित रोगहरू– हृदयाघात, मुटुको भल्भमा समस्या आदि।

दोस्रो रोग हो, क्यान्सर। विश्वभर वर्षेनी एक करोड ८१ लाख व्यक्तिमा क्यान्सर हुनेगरेको तथ्यांक छ।

“सन् २०१८ मा विश्वभर ९६ लाख मानिसको मृत्यु क्यान्सरका कारण भएको थियो”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए।

तीमध्ये ७० प्रतिशत मृतक नेपालजस्ता विकासशील देशमा रहेको उनले जानकारी दिए।

संसारभर मात्र होइन पछिल्ला केही वर्षयता नेपालमा पनि जनस्वास्थ्यको ठूलो समस्याका रूपमा क्यान्सर रोग बन्दै गइरहेको छ।

विभिन्न तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा क्यान्सर रोग तिव्र गतिमा बढ्दै गएको जानकारी दिए। उनका अनुसार नेपालमा सबैभन्दा धेरै ज्यान लिने रोगमध्ये क्यान्सर तेस्रो मुख्य रोग हो।

क्यान्सर रोगका लागि नीतिगत काम गर्न तथ्यांक नै नभएको गुनासो छ। “विश्वका २० प्रतिशत देशमा मात्र क्यान्सर रोगको तथ्यांक छ, बाँकी रहेका ८० प्रतिशत मुलुकमा तथ्यांक नै नहुँदा पनि नियन्त्रणमा ठुलो चुनौती थपिएको छ”, डा. पौडेलले भने।

नेपालले पनि सन् २०१८ देखि बल्ल क्यान्सर बिरामीको दर र क्यान्सरको मृत्युदरको ढाँचा र क्यान्सरको सम्भावना सम्बन्धि तथ्यांक समेट्ने गरी तथ्यांक राख्न थालेको उनले बताए।

उनका अनुसार एसियामा २००८ सम्म ६१ लाखमा क्यान्सर रोग देखिएको थियो भने सन् २०३० सम्ममा एक करोड ३० लाख पुग्ने अनुमान गरिएको छ।

नेपालमा सबै भन्दा बढि फोक्सोको क्यान्सर २३ प्रतिशतमा, पाठेघरको क्यान्सर १७ प्रतिशत, स्तन क्यान्सर १५ प्रतिशत, स्ट्रोमा क्यान्सर १० प्रतिशत, अण्डाशयको क्यान्सर ७ प्रतिशत, ल्यारिक्स क्यान्सर ७ प्रतिशत, पिसाब थैलीको क्यान्सर ७ प्रतिशत, पित्त थैलीको क्यान्सर ५ प्रतिशत, कलेजोको क्यान्सर ५ प्रतिशत र मलाशय (रेक्टम)को क्यान्सर ४ प्रतिशतमा रहेको महाशाखाले जनाएको छ।

“हेपाटाइटिस सी, बी र प्यापिलोमा भाइरस (पाठेघरको मुखको क्यान्सरको कारक) जस्ता संक्रमण हाम्रो जस्तो देशमा क्यान्सर बढाउन २५ प्रतिशत जिम्मेवार छन्”, डा. पौडेलले भने।

क्यान्सरको यो बढ्दो क्रम नियन्त्रण गर्न सामुहिक रूपमा लाग्नुपर्ने उनको मत छ।

समयमै रोगको पहिचान हुन नसक्दा, उपचारको उचित व्यवस्थापन नहुँदा र उपचारको पहुँच सिमित वर्गमा हुँदा क्यान्सरका कारण मृत्यु हुनेको संख्य बढि भएको उनको आकलन छ ।

क्यान्सर लाग्नैबाट जोगिन जनचेतना फैलाउनुपर्ने, सूर्तीजन्य पदार्थ नियन्त्रण र नियामक ऐन प्रभावकारी बनाउनुपर्ने र क्यान्सरबाट पीडित विपन्न नागरिकको औषधी उपचारको दायरा बढाउनुपर्ने उनको मत थियो।

२०७५ र २०७६ मा नेपाल सरकारले दिएको विपन्न नागरिक औषधि तथा उपचार सेवाबाट ३७ हजार एक सय २१ क्यान्सरका बिरामी लाभान्वित भएका छन्।

क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंका अनुसार नेपालमा वर्षेनी २० हजार पाँच सय आठ जना नयाँ क्यान्सरका बिरामी पत्ता लागिरहेका छन्।

त्यस्तै १३ हजार ६ सय २९ जना क्यान्सर रोगीकोे मृत्यु भइरहेको समेत उनले जानकारी दिइन्।

“क्यान्सर बिरामीलाई निको पार्नका लागि ७० प्रतिशत भुमिका रेडियोलोजी मेसिनले खेल्ने गर्छ,” उनले भनिन्, “नेपालमा क्यान्सरका बिरामीको संख्यालाई आधार मान्ने हो भने २७ वटा रेडियोमेसिन चाहिन्छ तर हाल ७ वटा मात्र मेसिन भएकाले उपचारमा निकै समस्या परिरहेको छ।”

नेपालमा दक्षजनशक्ति, प्रविधि र सहजरूपमा उपचार सेवा नभएकाले धेरै बिरामीले ज्यान गुमाइरहनु परेको उनको भनाइ छ।

त्यस्तै जनचेतनाको अभावले पनि क्यान्सर रोग निकै ढिलो पत्ता लाग्ने गरेको डा.चापागाईंले बताइन्।

बालबालिकाको नवौं मुख्य रोग

बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीका अनुसार बालबालिकाको ज्यान लिनेमध्ये नवौ मुख्य रोग हो क्यान्सर।

बाल क्यान्सर पनि एक प्रमुख र विकराल जनस्वास्थ्य समस्याका रूपका रहेकाले प्राथमिकतामा राखिनु पर्ने उनको मत छ।

“हरेक वर्ष एक हजार पाँच सय बालबालिकामा क्यान्सर रोग पत्ता लागिरहेको छ,” उनले भने, “क्यान्सर लागेका बालबालिका मध्ये ६० देखि ७० प्रतिशतलाई बचाउन सकिएको छैन।”

सामान्यतया धेरैमा देखिने क्यान्सर

(यो सामग्री विश्व क्यान्सर दिवसको अवसरमा अपडेट गरेर पुनः प्रकाशन गरिएको हो।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved