विचार

किन आफ्नै विचारको हत्या गर्दैछन् रवि ?

सुशासनको चर्को नारा बोकेर भ्रष्टाचारको जरो उखेल्छु र राजनीतिको फोहोर सफा गर्छु भन्ने असल विचार बोकेर उदाएको व्यक्ति अदालतको फैसलापछि किन एकाएक कसैलाई नटेर्ने र कसैको कुरा नसुन्ने अवस्थामा आइपुगे ?

किन आफ्नै विचारको हत्या गर्दैछन् रवि ?

राजनीतिमा आउनु अगाडि रवि लामिछाने सञ्चारकर्मी थिए । त्यतिबेला उनी सत्य र तथ्यको नजिक रहेर कार्यक्रम चलाउँथे । टेलिभिजन कार्यक्रम हेरेकै भरमा उनी निडर र तथ्यसङ्गत बोल्ने भनेर चिनिएका पनि थिए । टेलिभिजनमा पाएको सफलता र विश्वासको बलमा उनी राजनीतिमा हाम फाले ।

उनकै भाषामा राजनीतिभित्रको ‘फोहोर सफा’ गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दर्ता गरेरै राजनीतिको मैदानमा आए । सञ्चारकर्मी रहँदा रविले नेता र राजनीतिक दलको चर्को आलोचना गरे । भ्रष्टाचारको विरोध गर्दै सुशासन कायम गर्ने अभियानमा छु भन्ने देखाउन भ्रष्टाचारीलाई ‘टुँडिखेलमा लगेर घुमाएर नाकको डाँडी भाँच्न मन छ’ समेत भन्न भ्याए ।

पत्रकारिताको बलमा उनले केही मुद्दालाई आफ्नो ‘ब्रान्ड’ बनाउँदै त्यसैलाई ‘रवि विचार’ वा ‘रवि वाद’ भनाउन पनि सफल भए । समय बित्दै जाँदा रविकाे याे शैलीले देश विदेशमा रहेका युवा प्रभावित भए । फलस्वरूप रविले यही विचारको बैशाखी टेकेर पार्टी बनाए र चुनावी नतिजा पनि सोचेभन्दा राम्रो निकाले ।

यहाँसम्म आइपुग्दा धेरैले रविको बाहिरी आवरण मात्रै देखे र त्यही आवरणमा उनले आफूलाई महाशक्तिशाली ठान्दै गए । चुनावी नतिजाले उनको पार्टीलाई सत्ता र उनी स्वयम्‌लाई गृहमन्त्रीको कुर्सीसम्म पुर्‍यायो । तर, नागरिकताको मुद्दामा अदालतले विपक्षमा फैसला गरिदिएपछि उनकाे ‘दबङ’ शैलीमा ब्रेक लाग्यो । जब नागरिकता, राहदानी र अन्य कुरासँगै रविको छवि विवादस्पद बन्दै गयो, त्यसपछि झन् विगतमा आफैँले अरुका लागि खराब भनेकाे कुराबाट पछि हट्दै गए ।

गैरसांसद भएर पनि गृहमन्त्री हुनुपर्ने, राहदानीकाे विषय टुङ्गाे नलाग्दै पार्टी सभापति हुनुपर्ने र हिजाे आफैँले गलत भनेर औँला उठाएको विषयमै ‘जङ्गबहादुर’ शैलीमा हुकुम चलाउनुपर्ने ठाउँमा जानैपर्ने अवस्थामा किन पुगे ? यसकाे जवाफ उनको पार्टीभित्र र बाहिरबाट कसैले माग्न सक्ने अवस्था छैन ।

टेलिभिजनको अगाडि उभिँदाभन्दा राजनीतिमा आएपछि उनको बोली, व्यवहार र शैली बदलिँदै गयो । जम्मा ३२ दिनको गृहमन्त्री हुँदा पनि उनलाई सत्ताको भोकले यसरी तान्यो कि, अब त्यो पद नभइ भएन । त्यसैका लागि उनी कहिले बालकोट त कहिले बालुवाटार धाइरहेका छन् ।

अनायासै उनीभित्रको विचार किन बदलियो भनेर कसैले भेउसम्म पाइसकेका छैनन् । अर्थात पहिले आफैँले गर्नु हुँदैन भनेर चर्चा बटुलेको काम नै रविले किन गर्न थाले ? गैरसांसदलाई चोर बाटोबाट मन्त्री बनाउने कुराको विरोध गर्ने रवि, आरोप लागेपछि पुष्टि वा सफाइ नहुँदासम्म पदमा नबस्ने भन्ने नैतिकता हुनुपर्छ भन्ने रवि अनि राज्यकोषको दुरुपयोग गर्न हुन्न भन्ने रवि आज यी कुरामा अडिन सकेनन् । अर्थात आजभोलि उनलाई प्रकाश सपुतको गीतले भनेझैँ ‘आफ्नै विचार बैरी भयो, कसलाई हिसाब मागौँ…’ भइरहेको छ ।

सुशासनको चर्को नारा बोकेर भ्रष्टाचारको जरो उखेल्छु र राजनीतिको फोहोर सफा गर्छु भन्ने असल विचार बोकेर उदाएको व्यक्ति अदालतको फैसलापछि किन एकाएक कसैलाई नटेर्ने र कसैको कुरा नसुन्ने अवस्थामा आइपुगे ? अदालतको फैसलासँगै अहिले रविको पक्ष र विपक्षमा अनेक बहस, तर्क-बितर्क चलिरहेका छन् ।

नागरिकता पुनःप्राप्तिपछि पनि उनका कैयौं विषय उजागर हुनै बाँकी छ । उनको पुरानै नागरिकता देखाएर लिएको राहदानी, त्यही नागरिकताअनुसार दर्ता भएको पार्टी, विवाह दर्ता र उनले नेपाली नागरिकता पुनःप्राप्ति नगरी नेपाली नागरिकसरह भोग चलन गर्दै आएका बैंक खाता, भ्रमण, भेटघाटको विषयमा पनि रवि आफैँले स्पष्ट गर्नुपर्ने होइन र ?

नेपाली नागरिकता लिएको दिनमै पार्टी सभापतिमा पुनः कायम हुनू, गृहमन्त्री चाहियो भन्दै प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीको दैलोमा धर्ना दिनू, राज्यको निकायलाई काम गर्न रोक्न खोज्नू, समर्थकको भिड सडकमा पठाउनू, हिजो टेलिभिजनमा उभिएर बोल्ने रविका लागि सुहाउने कुरा हो त ?

अनि राजनीतिको फोहोर सफा गर्न आएको व्यक्ति आफैँले छर्पस्ट फोहोर बोकेर त्यसमै डुबुल्की मार्नु मुर्खता होइन र ? अनि अदालतले रवि लामिछाने भन्ने व्यक्ति  ‘नागरिक’ वा ‘अनागरिक’ भनेर फैसला गरेकै होइन, तर आफूले आफैँलाई ‘अनागरिक’ भनाएर समर्थकको सहानुभूति हासिल गर्ने जुन प्रयास रविले गरे, त्यो अर्को केटाकेटीपन हो ।

अदालतले उनको नागरिकताबारे फैसला गरेको हो, उनलाई ‘अनागरिक’ भनेर फैसला सुनाएको होइन । यो विषयमा रविजत्तिको जानकार व्यक्ति र राजनीति गर्छु भन्ने नेताले हङ्गामा गर्नैपर्ने थिएन ।

विगतलाई हेर्ने हाे भने पनि रवि युवा अवस्थामा लहड वा इच्छाले अमेरिकी नागरिक बन्न तयार भएका थिए । त्यसपछि पनि उनी त्यहाँ बस्न सकेनन् वा खोजेनन् र नेपाल आए कुरा यत्ति हो । तर, नेपाल छोडेर अमेरिका बस्दा वा अमेरिका छाडेर नेपाल पस्दा राज्यको कानुन र सामान्य नियम त पालना गर्नुपर्थ्यो नि भन्ने मात्रै सवाल उठेको हो ।

अमेरिका बस्दा अमेरिकी कागजपत्र र नेपाल बस्दा नेपाली कागजपत्र नै मान्य हुन्छ भन्ने कुरा रविजत्तिको टाठाे-बाठाेले थाहा भएन भनेर बुझ्न सकिँदैन । तर उनले त्यसैलाई ‘प्रोपोगण्डा’ बनाए । हिजो टेलिभिजनको पर्दामा उभिएर चिच्याएकै शैलीमा ‘नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्ने कुरालाई उनले अटेर गरे । अमेरिकी कार्ड र नेपाली नागरिकताको अवैधानिक प्रयोग (अमेरिका जाँदा अमेरिकी र नेपाल आउँदा नेपाली बनेर) गरेर उनले राज्यलाई नै चुनौती दिइरहे ।

आफ्ना समर्थक आइटी ग्रुपलाई परिचालन गरी कहिले ‘दबङ’ शैली त कहिले ‘नायक’ फिल्मको जस्तो ‘स्टन्ट’बाजी गर्दै उनले ३२ दिन गृहमन्त्रालय चलाए । आफ्नो मन्त्रालयकाे कार्यक्षेत्रभित्र नपर्ने विषयमा पनि उनले हाई-हाई हुन अनेक स्टन्ट देखाउँदै गए र अन्तत: अदालतकाे फैसलापछि पद छाड्न बाध्य भए ।

नेपाली राजनीतिमा रविको उदय अस्वाभाविक र अप्रत्याशित भएजस्तै उनीमाथि उठेका प्रश्न र अदालतद्वारा गरिएको न्यायनिरुपणको कर्म उत्तिकै स्वाभाविक र कानुनसम्मत देखिन्छन् । तर, रवि र उनको टिम त्यसलाई स्वीकार गर्न खोज्दैन ।

नेपालको नागरिकतासम्बन्धी ऐनले नेपाली नागरिकता कायम नरहने विषयमा स्पष्ट पारेको छ। उक्त दफा १० को उपदफा १ मा ‘नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने लेखिएको छ । उपदफा २ मा ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिएबमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहनेछैन’ भन्ने व्यवस्था छ ।

तर रविले यी कुनैपनि कुरालाई मानेकाे देखिएन । आजकाे दिनमा पनि रविले संविधानको धारा २९१ अन्तगर्तकाे १ मा ‘नियुक्त्तिकाे लागि याेग्य नहुने’ भन्ने शिर्षकमा भनिएकाे ‘संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएकाे भएपनि विदेशकाे स्थायी आवासीय अनुमतिपत्र लिएकाे नेपालकाे नागरिक यस संविधानबमाेजिम  निर्वाचन मनाेनयन वा नियुक्तिकाे लागि याेग्य हुने छैन । त्यस्ताे विदेशकाे स्थायी आवासीय अनुमतिपत्र त्यागेकाे व्यक्तिलाई कम्तिमा तीन महिनाकाे अवधि व्यतीत भएपछि त्यस्ताे पदमा निर्वाचित मनाेनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।’ भन्ने कुराकाे पनि ख्याल नगरी नागरिकता पाउनेबित्तिकै पुनः गृहमन्त्री दाबी गर्नु सोभनीय देखिदैन ।

गैरसांसद रहेका रविले ६ महिने मन्त्री बन्न खाेजेकाे हाे भने पनि याे हतार गर्ने विषय हुँदै होइन । त्यसैगरी ऐनको उपदफा ३ मा ‘दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन’ र उपदफा ४ मा ‘कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले १६ वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

त्यसरी नागरिकता नरोजेमा म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन । ऐनको उपदफा ५ मा ‘नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ वा छैन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले प्रचलित कानुनबमोजिम निर्णय गर्नेछ’ भन्ने लेखिएको छ ।

उल्लेखित विषयलाई नजरअन्दाज गर्दै लामिछानेले पछिल्लाे समय धम्की र घुर्कीकाे भाषामा जसरी सरकारबाट बाहिरिने चेतावनी दिए र पछि आफैँ ‘ब्याक’ भए, यसले पनि उनी आफ्नै विचारभन्दा धेरै  टाढा पुगेको र स्वार्थको राजनीतिमा रमाउन थालेको पुष्टि हुन्छ ।

दिनभर ‘अभिमन्यु होइन’ भन्दै प्रधानमन्त्री र एमाले अध्यक्षलाई घुर्काउने अनि बेलुकी पार्टीको बैठकमा शीर्ष नेताको कृत्रिम फोनको कुरा उठाएर २ दिन सरकार नछाड्ने भन्नुको अर्थ पानी तताएर नदिने भए चिसै पानीले नुहाउँछु भन्नुजस्तै हो ।

एउटा पदको लागि जनताको विश्वास र आफ्नै नैतिकतालाई बिर्सिने व्यक्तिले नेपाली राजनीतिको फोहोर सफा गर्छु भन्नु र बागमतीको पानीले नुहाएर जिउ टल्कियो भन्नू उस्तै हो । यसले रविको छविमा दूरगामी असर पार्ने मात्रै होइन, विचारको हत्या आफैँ गर्नू जस्तो हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved