क्यानको आगामी चुनावमा पारस खड्काले उम्मेदवारी दिन नपाउने

नेपालभ्युज

क्यानको आगामी चुनावमा पारस खड्काले उम्मेदवारी दिन नपाउने
फाइल तस्वीर

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को आसन्न निर्वाचनमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले उम्मेदवारी दर्ता गर्न नपाउने भएका छन् ।

क्यानको २०७५ सालमा तेस्रोपल्ट संशोधन गरिएको विधानमा क्रिकेट संघको सदस्य हुनका लागि राष्ट्रिय टोलीबाट बाहिरिएको दुई वर्ष हुनुपर्ने नियमका कारण पारसले उम्मेदवारी दर्ता गर्न नपाउने भएका हुन् ।

‘यस उपधारा बमोजिम सदस्यता प्राप्त गर्ने खेलाडीले कार्यसमितिको निर्वाचन नुहुभन्दा अगावैको कम्तिमा दुई वर्षको अवधिमा भएका राष्ट्रिय टोलीमा सहभागी नभएको अवस्थामा मात्र कार्यसमितिको पदाधिकारी वा सदस्यका रुपमा निर्वाचित हुन सक्नेछ ।’, विधानको दफा २३ को उपधारा ३ (क)मा उल्लेख गरिएको छ।

२०७८ साउन १९ गते पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । २०७७ चैतसम्म उनले घरेलु क्रिकेट खेलेका थिए ।

पारस आगामी भदौ महिनामा मात्र जिल्ला क्रिकेट संघको साधारण सदस्य हुन पाउँछन् । क्रिकेट संघले आफ्नो कार्यकाल सकिनु चार महिना अगाडि निर्वाचनमा जाने निर्णय गरेका कारण पारस त्यो प्रक्रियामा समावेश हुन नपाउने भएका हुन् ।

२०७६ असोज १२ गते निर्वाचित क्यान कार्यसमितिको पदावधि सकिन अझै ९ महिना बाँकी छ । क्यान विधानले अर्ली इलेक्सनको परिकल्पना नगरेको भए पनि बाधा अड्काउ फुकाउमार्फत चाडै निर्वाचन गर्न लागिएको अध्यक्ष चतुरबहादुर चन्दले बताइसकेका छन् ।

क्यान कार्यसमिति (बोर्ड) बैठकले बुधबार जेठ अन्तिमसम्म जिल्ला, प्रदेश हुँदै केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसलाई फागुन १४–१५ मा सुर्खेतमा हुने वार्षिक साधारणसभामा पेश गरिनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved