काठमाडौं। उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरूको लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप/चुप जस्ता वाक्यांशहरू प्रयोग गरेर हेप्ने गरेको बताइन् ।
आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको बताइन् । उनले उपसभामुख अब चुप नभई (उपर) अर्थात् झनै माथि जाने भएको बताइन् ।
उनले संसदमा महिला सांसदहरूले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन् । उनले सांसदहरू काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताइन् ।
उनले भनिन्, ‘मैले केही गाउँहरू भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरूका लागि आवश्यक सामग्रीहरूको उपलब्धता छैन, यस्ता विषयहरू सदनमा गुन्जियोस्, सांसदहरूले यी कुराहरूमा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्नेकुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु । महिला सांसदहरू हुनुहुन्छ, उहाँहरूले विभिन्न समस्या भोग्नुभएको छ, सांसदहरूले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’
उपसभामुख रानाले सांसदहरूले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरू संसदमा उठाउनुपर्ने बताइन् ।