इप्रका महेन्द्रनगरबाट फरार ६ जना थुनुवा मध्ये एक जना पक्राउ

नेपालभ्युज

इप्रका महेन्द्रनगरबाट फरार ६ जना थुनुवा मध्ये एक जना पक्राउ

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ स्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवाहरुमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरु फरार भएका थिए ।

हिरासत कक्षबाटै थुनुवाहरु फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेश टोली खटाएर खोजतलास तीव्र पारेको छ ।

सर्च टोलीले फरार थुनुवा मध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो। मिथिला नगरपालिका वडा नम्बर ६का २८ वर्षिय महतोलाई आज बेलुका ६ बजे पुनः पक्राउ परेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बताए । उनी माथी हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । महतोलाई हतियार सहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए ।

हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् ।

लागूऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर ढोकाको बिड लिएर पर्खालबाट हिटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved