भूमिगत संगठनको नाममा चन्दा असुल्ने ४ जना पक्राउ

नेपालभ्युज

भूमिगत संगठनको नाममा चन्दा असुल्ने ४ जना पक्राउ

काठमाडौं। कपिलवस्तुमा भूमिगत संगठनको नाममा चन्दा मागेर विभिन्न संस्था र साना व्यापारीहरूलाई दु:ख दिएको आरोपमा ४ जना पक्राउ गरेका छन्। नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो ।

गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्की दिँदै चन्दा उठाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन् ।

उनीहरूमाथि गत २२ कात्तिकमा २ वटा ट्रक र एउटा मोटरसाइकलमा श्रृङ्खलाबद्ध आगजनी गरेको आरोप छ । ती गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्द लगायतका विभिन्न ७ बुँदे मागसहितको पर्चाहरू प्रहरीले फेला पारेको थियो ।

त्यस्तै, उनीहरूले गत पुस १६, १७ र १८ गते कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जका ३४ वर्षका बुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ,  २६ पुस र २ माघमा कृष्णनगर नगरपालिका-८ मौजा गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयाँ र  शिवराज नगरपालिका-७ बालानगर बस्ने पुजारीप्रसाद चौधरीलाई फोन गरेर ५ लाख रुपैयाँ चन्दा मागेको प्रहरीले बताएको छ । मागेको चन्दामध्ये १ लाख लिँदै गर्दा १३ माघमा बिरू भन्ने बृजेश गिरी र सुग्रिम रैदास १ लाख रुपैयाँसहित पक्राउ परेका थिए ।

उनीहरूको सूचनाको आधारमा प्रहरीले बिकरान्त भन्ने जग्गु तेली र जनतान्त्रिक मुक्ति मोर्चाका जिल्ला इन्चार्ज बताउने विपिन विक पनि पक्राउ परेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved