शहीद धर्मभक्त : नेपालमा आधुनिक शारीरिक सुगठनका संस्थापक

टुँडिखेलमा घोडे जात्राको अवसरमा राणा परिवार र राजा त्रिभुवनको उपस्थितिमा धर्मभक्तले आफ्नो सुगठन कलाको प्रदर्शन पनि गरेका थिए । यसै क्रममा काँधमा लामो फलामको डण्डी राखेर ३–४ मानिसलाई दुवैतर्फ झुण्डिन लगाइएको थियो । उनले उफ्रिँदै ती मानिसलाई बोकेका थिए।

शहीद धर्मभक्त : नेपालमा आधुनिक शारीरिक सुगठनका संस्थापक

काठमाडौं। नेपालमा माघ १६ गते शहीद दिवस मनाइने गरिन्छ। राणा शासकले आफूविरुद्ध विद्रोह गरेको भन्दै वि.सं १९९७ को माघ १०–१५ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मारेको थियो ।

यीमध्ये धर्मभक्तको योगदान नेपाली खेलकुद क्षेत्रमा पनि भएकाले फरक ढंगले स्मरण गरिन्छ। नेपालमा उनलाई आधुनिक शारीरिक सुगठनको संस्थापकमा रूपमा चिनिन्छ । पहिलो शारीरिक सुगठनको खेलाडी उनी नै थिए । नेपाल व्यायाम मन्दिरले उनको सम्मानमा हरेक वर्ष धर्म श्री शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दछ।

विं.सं. १९६६ असोज ६ मा काठमाडौंको नबहिलमा पिता आदिभक्त तथा माता चन्द्रकुमारीदेवीको कोखबाट धर्मभक्तको जन्म भएको थियो। पुरुषोत्तम शमशेर जबराको ‘सुम्झेका र सुनेका कुरा’ भन्ने पुस्तकमा धर्मभक्तका बाजे भागवतभक्त वीर शमशेरको दरबारमा मीरसुब्बाको पदमा रहेको उल्लेख गरिएको छ। धर्मभक्त बाल्यकालमा कमजोर, अस्वस्थ र दुब्लो थिए। यसकारण पनि उनलाई अन्य बालबालिकाले जिस्काउने र हेप्ने गर्थे। बाल्यकालको तितो अनुभवका कारण उनलेले शारीरिक सुगठन सुरु गरेका थिए ।

१० वर्षको उमेरमा भारत बसाईं सरेका उनले घरमै आएर पढाउने नवनिधि शर्माबाट सुरुवाती शिक्षा हासिल गरे । त्यसपछि म्याट्रिक पास गरेका उनले कलकत्ताबाट आइए सम्मको अध्ययन गरेका थिए । सुरुमा कलकत्ताको ध्रुवभक्त प्रमोद मेमोरियल स्कुलमा पढेका उनी केही समयपछि पद्मपुकार स्कुलमा भर्ना भएका थिए । जहाँ उनको जीवनले नयाँ मोड लियो ।

कलकत्तामा हुँदा उनले जिमखाना धाउन सुरु गरे। निरन्तर शारीरिक अभ्यासका कारण उनको शरीर बलिष्ठ बन्यो । बंगाल शारीरिक सुगठन प्रतियोगितामा उनलाई श्री बंगाल अर्थात् ‘मिस्टर बंगाल’ को उपाधिले सम्मानित गरिएको थियो।

कमान्डिङ जनरल रुद्र शमशेर उपचारका लागि कलकत्ता जाँदा छोरा गोपाल शमशेरले धर्मभक्तलाई चिनाएका थिए। गोपालले बुबा रुद्रलाई सघाउन धर्मभक्तलाई काठमाडौं लिएर आएका थिए। यससँगै उनले गुठी अड्डामा खरिदारको जागिर पाए।

उनले स्कटिस चर्च कलेजबाट आईएको अध्यापन पूरा गरेका थिए। विं.सं. १९९० मा उनले विराटनगरकी उत्तरा देवीसँग विवाह गरे। विंसं १९९४ मा कलकत्तामा क्षयरोगको उपचारको क्रममा उनकी श्रीमतीको निधन भयो। त्यस समय उनकी छोरी मात्र २ वर्षकी थिइन्।

काठमाडौं फर्केपश्चात् ओमबहालस्थित फुपु यमकुमारी रायको घरमा धर्मभक्तले जिमखाना स्थापना गरे। उनले जुद्धशमशेर राणासँग जिमखाना खोल्न स्वीकृति लिनुपरेको थियो। राणाले भीडभाड नगर्ने शर्तमा स्वीकृति दिए। उनको जिमखानाले काठमाडौंका  युवासँगै राणा परिवार र पुलिस बललाई पनि आकर्षण गर्‍यो।

टुँडिखेलमा घोडे जात्राको अवसरमा राणा परिवार र राजा त्रिभुवनको उपस्थितिमा धर्मभक्तले आफ्नो सुगठन कलाको प्रदर्शन पनि गरेका थिए । यसै क्रममा काँधमा लामो फलामको डण्डी राखेर ३–४ मानिसलाई दुवैतर्फ झुण्डिन लगाइएको थियो । उनले उफ्रिँदै ती मानिसलाई बोकेका थिए।

मैदानमा सुतेर आफ्नो छातीमा एक मानिसलाई हम्मरले प्रहार गर्न पनि लगाएका थिए। मानिसहरू धर्मभक्तलाई कुनै पनि चोट नलागेको देख्दा अचम्ममा पनि परेका थिए। त्यसपछि उनको चर्चा बढ्न थालेको थियो ।

जुद्ध शमशेरका छोरा अग्नि शमशेरसँग उनी नजिक थिए। नर शमशेर लगायत अन्य राणा पनि उनका चेलामा गनिन्थे। तर धर्मभक्त राणा शासन विरोधी मोर्चामा लागेपछि सबैसँग सम्बन्ध विग्रियो । विद्रोह गरेको भन्दै राणा शासकले उनलाई मृत्युदण्डको सजाय सुनाए ।

चेला नरशमशेरलाई नै गुरु धर्मभक्तमाथिको मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको थियो । १९९७ माघ १३ गते धर्मभक्तलाई सिफलमा झुन्ड्याउन लगिएको थियो। प्रत्यक्षदर्शी लप्टन कृष्णबहादुर थापाका अनुसार पहिलो पटकको प्रयासमा रूखको हाँगो लच्किँदा माथेमाले जमिन टेकेका थिए। दोस्रो प्रयासमा मोटो हाँगोमा फाँसी लगाउने प्रयास गरियो। तर, डोरी नै चुँडियो।

तेस्रोपटक फाँसी लगाउनुअघि धर्मभक्तले नरशमशेरलाई आफू गुरु भएको स्मरण गराउन प्रयास गरेका थिए पनि भनिन्छ । तर, उन्मादी नरशमशेरले हातमा भएको चक्कुले धर्मभक्तको गालादेखि चिउँडोसम्म काटिदिएका थिए। दुखाईंको प्रतिक्रियास्वरूप रिसमा धर्मभक्तले नरशमशेरलाई लात हानेका थिए। सो प्रहारका कारण नरशमशेर ५–७ हात पर हुतिएका थिए । यसलगत्तै नरशमशेरले माथेमालाई कुट्न आदेश दिए।

करिब १५ जना सिपाहीको कुटाइले बेहोस भएका धर्मभक्तलाई अचेत अवस्थामा नै फाँसी दिइएको थियो। प्रजातन्त्र ल्याउन ज्यानको आहुति दिएका धर्मभक्त नेपालमा शारीरिक सुगठनको जग बसाल्ने व्यक्तिको रूपमा पनि सधैँ अमर रहनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved