सन्दर्भ शहीद दिवस

राणाविरोधी आन्दोलनको शंखघोष गर्ने त्यो पर्चाबाजी

भारतीय पत्रिकामा लेख प्रकाशन गराएर राणा शासनको विरोध गरिरहेका प्रजा परिषद्का सदस्यले आफ्ना गतिविधि आम जनतामा दिन पर्चा वितरण गर्ने निर्णय गर्‍यो। १९९७ सालको असारदेखि असोजसम्म छरिएका चार पर्चाले नेपालमा राणाविरोधी राजनीतिक आन्दोलनको जग हाले।

राणाविरोधी आन्दोलनको शंखघोष गर्ने त्यो पर्चाबाजी

१६ माघ। शहीद दिवसले परिचित छ यो दिन। १९९७ सालमा ‘नेपाल प्रजा परिषद्’को अगुवाइमा भएको राणा विरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका चार शहीदहरू– शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको स्मृतिमा यो दिवस मनाइन्छ। त्यसो त प्रजा परिषद् भन्दा अघि पनि राणा शासन उन्मूलन गर्ने उद्देश्यले संगठनहरू खुलेका थिए। तर, ती जनसंघर्षभन्दा पनि षड्यन्त्रमा विश्वास राख्ने बढी थिए। प्रजा परिषद् पहिलो संस्था थियो जसले आम जनताको संलग्नतामा हुने राजनीतिक संघर्षमा विश्वास राख्थ्यो। त्यसैले जनतामा राणाविरोधी चेतना जगाउन र संघर्षका लागि आह्वान गर्न परिषद्ले पर्चा वितरण गरेको थियो। काठमाडौं उपत्यकाका तीनवटै शहरमा पटक-पटक गरी छरिएका चार पर्चाले राणा शासक तिलमिलाए। परिणाम, व्यापक गिरफ्तारी भयो।

पाँच जनालाई सर्वस्वसहित ज्यान सजाय तोकियो। तीमध्ये ना. सु. पूर्णनारायण प्रधानको सजाय भने पछि १८ वर्ष कैदमा बदलियो। दुई जनालाई सर्वस्व भई मुडी दामल हुने (जात खस्किने) आजीवन कारावास तोकियो। ११ जनालाई सर्वस्व हरणसहित कैद सजाय तोकियो। चार जनालाई सर्वस्वसहित १८ वर्ष कैद तोकियो। ६ जना १२ वर्ष कैद, चार जना ६ वर्ष कैद, एकजना पाँच वर्ष कैद, चार जना तीन वर्ष कैद, एकजना दुई महिना कैद सजायमा परे। त्यस्तै, एकजनाको जागिर खोसियो भने चार जनालाई उपत्यकाबाट निकाला गरी पहाड जाने वा आफ्नै जिल्लामा नजरबन्द हुने सजाय तोकियो। ३८ जना जरिवानामा छुटे। ५६ जनालाई सफाई लिएर बात नलाग्ने गरी छोडियो।

बन्दप्रायः रहेको काठमाडौं खाल्डोको जनजीवन र शासक पंक्तिमा तरंग पैदा गर्ने ‘नेपाल प्रजा परिषद्को स्थापना धर्मभक्त माथेमा, दशरथ चन्द, टंकप्रसाद आचार्य, रामहरि शर्मा, चूडाप्रसाद शर्मा, गोविन्दप्रसाद शर्मा लगायतको सक्रितामा भएको थियो। धर्मरत्न यमीले ‘नेपालका कुरा’मा यसको स्थापना १९९४ आश्विनमा भएको उल्लेख गरेका छन् भने भुवनलाल प्रधानले १९९३ साल जेठ २० गते भएको उल्लेख गरेका छन्। परिषद्‍‌मा पछि गंगालाल श्रेष्ठ, सुर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, धर्मरत्न यमी लगायतका युवाहरू सहभागी भएका थिए।

भुवनलाल प्रधानले ‘नेपालको जनक्रान्ति २००७’मा परिषद्को स्थापना र गतिविधिबारे विस्तृत व्याख्या गरेका छन्। शहीद दिवसको अवसरमा नेपाली राजनीतिमा चेतनाको बीज छर्ने त्यो पर्चाबाजीबारेको विवरण यहाँ प्रस्तुत छ। प्रधानको पुस्तकको सातौं अध्यायको शीर्षक परिवर्तन गरी यहाँ पुनः प्रकाशन गरिएको हो। दशरथ चन्द लेख्ने गरिए पनि प्रधानले दशरथ चन लेखेका हुनाले यथावत राखिएको छ। -सं.

उद्घाटनपछि नेपाल प्रजा परिषद्को गतिविधि जोडतोडले बढ्न लाग्यो। दशरथ चन भारतमा गए। त्यहाँका पत्रपत्रिकाद्वारा नेपालबारे प्रचार गर्न उनी तल्लीन भए। यहाँ के उल्लेखनीय हन्छ भने पहिले सेवासिंह र पछि सुशील नाउँले दशरथ चनले त्यस ताका पटनाबाट प्रकाशित हुने ‘जनता’ नामक हिन्दी समाजवादी साप्ताहिक पत्रिकामा नेपाली जनताको दयनीय स्थिति, राणा सरकारको प्रगति विरोधी नीति इत्यादिबारे लेखहरू प्रकाशित गरे। ‘जनता’ साप्ताहिकमा नेपाल बारेको लेख पहिलो पल्ट इ.सं. १९३८ जुन २० तारिखमा छापिएको थियो।

इ.सं. १९४० मा पत्रिकाको प्रकाशन सरकारको तर्फबाट बन्द नगरिएसम्म ‘जनता’ ले नेपालबारे लेख प्रकाशित गर्दै थियो। यहाँ ‘जनता’ को सेवा अर्थात् यसका सम्पादक रामवृक्ष बेनीपुरीको सहयोग यस कारणले विशेष रूपले स्मरणीय हुन्छ कि छिमेकी देश नेपालमा पनि क्रान्तिकारी गतिविधि चलाउन सहयोगका लागि अनुरोध गरिंदा भारतका अरू पत्रपत्रिकाहरू कुनैले ब्रिटिस सरकारको डर देखाएर, कुनैले राणा सरकारलाई चिढाउन नचाहेर आआफ्ना प्रकाशनहरूमा नेपाल बारेका लेखहरूलाई स्थान नदिएको बेला बेनीपुरीले खतरा मोलेरै आफ्नो ‘जनता’ मा नेपाललाई ठाउँ दिएका थिए।

‘जनता’ मा प्रकाशित भएका लेखहरूले राणा सरकारको भन्डाफोर गर्दथे। कहिलेकाहीं राणा दरबारको अत्यन्त गोप्य कुरा बारे पनि त्यसमा चर्चा हुन्थ्यो। यस्ता लेख छपाउने व्यक्तिको नाउँ बताउन वा यस्तो लेख नछाप्न बेनीपुरीलाई ठूला-ठूला प्रलोभनहरू पनि देखाइए। तर बेनीपुरी पनि आफ्ना विचारमा अडिग थिए। ‘जनता’ को कार्यालयमा कति पल्ट त तलासी लिइयो, कैयन अङ्कहरूमा रोक लाग्यो तथा कैयौं पल्ट उनका धरौटीहरू जफत गरिए।

तर ‘जनता’ माथि ब्रिटिस सरकारले जति कडाइ गर्दथ्यो उति त्यो लोकप्रिय हुँदै थियो। यसका अङ्कहरू भारतमा पनि खुब पढिए। नेपालभित्र लुकीचोरी ल्याइएका अङ्कहरू खोजी खोजी पढिन्थे। इ.सं. १९४० अप्रिलसम्ममा यस ‘जनता’ साप्ताहिकले भारत र नेपालका नेपालीहरूमा ठूलो सनसनी फैलाइसकेको थियो। यसका पाठकहरूको साथ साथै नेपाली जनतामा नेपाल प्रजा परिषद्प्रति सहानभूति बढ्दै थियो।

‘जनता साप्ताहिकबाट भएका प्रचारहरूको राजनैतिक र क्रान्तिकारी महत्त्व त छँदै थियो, यस बाहेक वि.सं. १९९० साल माघ २ गते गएको ठूलो भूकम्पका पीडितहरूको लागि देशविदेशबाट आएको चन्दाबाट बनेको भूकम्प उद्धार कोषबाट लिइराखेको ऋण वि. सं. १९९५ साल भाद्र १७ गते माफी गरिएको घोषणा नेपाल सरकारबाट गराउनेतर्फ पनि ‘जनता’ साप्ताहिकले खेलेको भूमिका उल्लेखनीय थियो। हुन त त्यस माफीबाट थोरै थोरै रकम मात्र सापटी लिन सक्ने गरिबहरूलाई भन्दा ठूलाठूला रकम सापटी पाउने धनीहरूलाई नै बढी फाइदा भएको थियो।

‘जनता’ साप्ताहिकले गरेको प्रचारको फलस्वरूप नेपालका अधिपति राणाहरूमा खलबली मच्चियो। नेपाल बारेको प्रचार रोक्न जनरल केशरशमशेर भारत पठाइए। उनले रामवृक्ष बेनीपुरीलाई भेटेर अनेक प्रलोभनहरू देखाए। नेपालबारे प्रचार गर्ने काम रोकेमा बेनीपुरीलाई एक लाख रूपियाँसम्म पनि दिने कबुल केशरशमशेरले गरे।

तर बेनीपुरीले “हामी सिद्धान्तका मानिस हौं, पैसाले किनिने खालका हौइनौं” भन्ने जवाफ दिए। जनरल केशरशमशेर जिल्ल परे। यस्तो आर्थिक प्रलोभनलाई लात मारी नेपालको क्रान्तिमा सघाउने यी क्रान्तिकारी सम्पादक रामवृक्ष बेनीपुरीको नाउँ नेपाली क्रान्तिको इतिहासमा चिरस्मरणीय रहने छ।

यसरी विफल भएपछि जनरल केशरशमशेरले भारतका तत्कालीन ब्रिटिस अधिकारीसँग भेटघाट गरी यसबारे भनसुन गर्न लागे। फलस्वरूप ‘जनता’ को प्रकाशन बन्द गरियो। रामवृक्ष बेनीपुरी थुनिए।

नेपालको क्रान्तिमा बेनीपुरीको यस्तो देनले अमेरिकी स्वाधीनताको २०० औं जयन्तीको सिलसिलामा इ. सं. १९७६ सालमा एउटा अमेरिकी टोली नै अमेरिकाको स्वाधीनता युद्धमा क्रियात्मक रूपले सघाउने फ्रेन्च सेनापति ला पाइएट र अरू फ्रेन्च सिपाहीहरूको चिहानमा श्रद्धाञ्जलि अर्पण गर्न पेरिससम्म पुगेको घटनाको याद दिलाउँछ।

त्यस ताका ‘जनता’ पत्रिका बाहेक नेपाल प्रजा परिषद्‍‌बाट पठाइएका लेखहरू प्रकाशित गर्ने अर्को भारतीय अखबार कलकत्ताबाट निस्कने अङ्ग्रेजी भाषाको ‘एड्भान्स’ थियो।

नेपाल प्रजा परिषद्को गतिविधिको जानकारी श्री ५ त्रिभुवनकहाँ समय समयमा पुग्दथ्यो। कार्यकर्ताहरूको सङ्ख्या र परिषद्को गतिविधि बढ्दै गएको सूचना पाएपछि उनले परिषद्का सदस्यहरूलाई हेर्ने इच्छा गरे।

तदनुसार वि. सं. १९९५ सालमा एक दिन यिनीहरूलाई गैरीधाराबाट लैनचउर छिचोल्ने बाटो छेउ लाजिम्पाटमा उपस्थित हुने निर्देशन दिइयो। परिषद्का सदस्यहरू निश्चित समयमा त्यहाँ पुगी बाटोमा आए गएको जस्तो ढङ्गले त्यहीं यताउति लागिरहे। श्री ५ त्रिभुवन घोडामा सवार भई त्यस ठाउँमा पुगे। परिषद्का सदस्यहरूले बाटो छेउ लाम लागेर संयोग महाराजाधिराजको दर्शन पाएको जस्तो अभिनय गरे।

त्रिभुवनले नेपाल प्रजा परिषद्का सदस्यहरू एक एक जनालाई नियाले। यो कार्यक्रम यसरी आयोजना गरिएको थियो कि श्री ३ महाराज वा अरू कनै राणा अधिकारीले यस रहस्यमय आयोजनाको सुइँकोसम्म पाएनन्। श्री ५ त्रिभुवन यस आयोजनाबाट प्रभावित भए। धर्मभक्त मार्फत प्रजा परिषद्का लागि भारु २५,०००/- सहायता पनि मिल्यो।

उपरोक्त घटनाको विषयमा रामजी उपाध्यायले आफ्नो ‘नेपालको इतिहास मा यसो लेखेका छन्ः

“त्यसैबीचमा महाराजाधिराज तथा धर्मभक्तमा प्रजा परिषद्का विषयमा बराबर कुरा हुन्थ्यो। एक दिन धर्मभक्तले महाराजाधिराजलाई परिषद्का सदस्यहरूलाई दर्शन दिने आग्रह प्रकट गरे…एक दिन आफ्नो हावा खाने बेलामा ब्रिटिस लिगेसननेर महाराजाधिराजले एकत्रित प्रजा परिषद्का सदस्यहरूलाई दर्शन बक्सियो। महाराजाधिराजको सवारी त्यस ठाउँमा पुग्नासाथ प्रजा परिषद्का सदस्यहरूका दलमा केही चञ्चलता उत्पन्न भएको थियो। एकत्रित जनताको चञ्चलता तथा श्री ५ धिराजको भावभंगिमाले धिराजका अड्गरक्षकका नाउँले बसेका कवरखलकका गुप्तचर प्रतापजङ्गलाई शङ्का गर्ने मौका मिल्यो। त्यसै दिनदेखि प्रजापरिषद्‌माथि आपतको श्रीगणेश हुन थाल्यो।”

 

दशरथ चन्दले भारतमा नेपाल बारे प्रचार गर्ने गराउने मात्र गरेका थिएनन् हातहतियार पनि यथासम्भव बटुल्ने कोसिस गरेका थिए। उनले केही डाइनामाइट काठमाडौंसम्म ल्याइसकेका पनि थिए, तर माछा मार्नेचाहिँ परेको थियो। टङ्कप्रसादले भारतमा बस्दा बम बनाउने प्रविधि पनि केही सिकिसकेका थिए। तर यस काममा पूरा सफलता भने उनले पाउन सकेनन्।

यही सिलसिलामा उनी कलकत्तामा पनि पुगेका थिए। कालिम्पोङमा डाक्टर जगदीश भन्ने एक जना क्रान्तिकारीसँग उनको सम्पर्क भएको थियो। यिनले चाहिने जति पैसाको प्रबन्ध गर्न सके टङ्कप्रसादलाई केही हतियार उपलब्ध गराइदिने वचन पनि दिएका थिए। तर त्यहीं बसेर टडकप्रसादले पैसाको जोहो गर्न सक्तैनथे। त्यसैले हतियार बटुल्ने उनको प्रयासमा प्रगति हुन सकेन।

यसै बीच नेपाल प्रजा परिषद्को बैठक बस्यो। बैठकले आफ्नो सङ्गठनलाई पूर्णतया भूमिगत राखे पनि प्रजातन्त्रको स्थापनाका लागि गरिरहेका आफ्ना गतिविधिहरूको पूरा जानकारी आम जनतामा दिने ठहर गर्‍यो। त्यसको लागि बाहिर अखबारहरूमा गरिएको प्रचार पर्याप्त नभएकोले देशभित्रै पनि पर्चाबाजी गर्न पर्ने आवश्यकता महसुस गरियो।

तदनुसार टङ्कप्रसाद कलकत्ता गए। त्यहाँ उनले भारतका क्रान्तिकारीहरूका साथै त्यहीं शिक्षा प्राप्त गरिरहेका नेपाली नवयुकहरूसँग पनि सम्पर्क राखे। यस सिलसिलामा उनले महेन्द्रविक्रम शाहसँग पनि सरसल्लाह गरे। एउटा लिथो गर्ने यन्त्र किन्ने तय भयो। त्यस बेला धर्मभक्त कलकत्तामा नै थिए। त्रिभुवनबाट परिषद्लाई दिइएको रकम उनीसँग थियो।

टङ्कप्रसादले उनीसँग दुई हजार जति भारतीय रूपियाँ लिए। महेन्द्र विक्रम शाहले टङ्कप्रसादलाई रोनिओ साइक्लोप्टाइल (Roneo Cyclostyle) यन्त्र एउटा किनिदिए। त्यसताका टङ्कप्रसादका पिता टिकाप्रसाद आचार्य ८४ विघाको मौजाको रेखदेख गर्ने काममा महोत्तरीमा बसेका थिए। टङ्कप्रसादले उक्त साइक्लोप्टाइल मसिन कलकात्ताबाट महोत्तरीमा ल्याए। उपयुक्त अवसर नआउन्जेललाई उक्त कल जमिनमुनि लुकाइयो। यस यन्त्रको ढुवानी सजिलो गर्न र प्रयोग जान्न टङ्कप्रसाद यसका पुर्जाहरू बिस्तारै एक एक गरेर खोल्थे र फेरि जोड्ने गर्दथे।

अब समस्या रह्यो यसलाई काठमाडौंमा ल्याउने। यसलाई महोत्तरीदेखि काठमाडौंसम्म एक्लैले ल्याउन सक्ने कुरै थिएन। त्यसैले टङ्कप्रसाद सहायताका लागि विश्वासी मित्र खोज्नेतिर लागे। उनले गोविन्दप्रसाद उपाध्यायलाई नेपागलगन्जबाट महोत्तरी आउन चिट्ठी लेखे। तदनुसार गोविन्दप्रसाद पनि चाडै त्यहाँ पुगे। गोविन्दप्रसाद त्यस बेला विद्यार्थी नै थिए तापनि नेपाल प्रजा परिषद्का सदस्य भइसकेका थिए। रामहरि शर्मा यिनका साहिला मामाका छोरा भएकाले उनीसँग यिनको दाजुको साइनो थियो। त्यसैले यिनीहरूमा ठूलो घनिष्ठता थियो तथा रामहरि मार्फतै यिनी परिषद्‍‌मा सम्मिलित भएका थिए।

उपरोक्त रोनिओ साइक्लोष्टाइल मसिन महोत्तरीबाट चिसापानी गढीसम्म त कुनै कठिनाइबिना ल्याइयो। त्यस ताका गढीमा आउने जानेहरूको गुन्टा, भारी आदि फुकाई एक एक थोक जाँचिन्थ्यो, कुनै अवैध चिज उम्कन पाउँदैनथ्यो। त्यो कल त झन् सुटुक्क लुकाउन हुने सानो वस्तु पनि थिएन। कल-पुर्जाहरू सब भत्काएर ल्याएको भए पनि सानो बाकस एउटा त भरिएकै थियो।

अब टङ्कप्रसादले त्यस बखत खुब चल्ती भइरहेको उच्चस्तरीय क्रायभेन चुरोट खल्तीबाट निकाल्दै अड्डाका कर्मचारी पहरेदारहरूलाई बाँड्न थाले। उनीहरूसित मस्तसँग गफ गर्न लागे। कुरै कुरामा चौकीका हवलदारले टङ्कप्रसादसँग तपाईंको घर कहाँ, के काम गर्नहुन्छ भनी सोधे। जवाफमा उनले आफू चाबहिलमा बसेको, त्यस ताकाका कमान्डर-इन-चिफ पद्मशमशेरका छोरा नरेन्द्रशमशेरकहाँ आफ्नो राम्रो बसउठ भएको आदि कुरा बताए। ती हवलदारको नरेन्द्रशमशेरको हातबाट एउटा काम पटाउन परेको थियो।

तिनको लागि त ‘के खोज्छस्, कानों? आँखा’ भने जस्तै भयो। त्यसैले उनले टङ्कप्रसादसँग घनिष्ठता बढाउने कोसिस गर्न लागे। टङ्कप्रसादलाई पनि त्यस बेला उनकै हातबाट आफ्नो मतलब साध्न परेको थियो। त्यसैले उनले ती हवलदारको काम चाँडो सिद्ध गराउन नरेन्द्रशमशेरलाई सक्दो भनसुन गरिदिने आश्वासन दिए।

अनि त के थियो र? अरू लुगाफाटाको साथै जब त्यो कलको बाकस जाँचियो तब त्यसलाई छोपेर त्याएको खाली कागत, कापी हटाएर “यो कापीमा धर्को तान्ने एउटा सानो कल” भनेर देखाइयो। हवलदारले त्यत्तिको नियालेर हेर्ने तकलिफ पनि उठाएनन्, मामुली ढङ्गले छामछाम छुमछुम मात्र गरी पास गरिदिए। पछि अड्डाका अधिकारीहरूले सबै सामान जाँचियो कि भनेर सोद्धा हवलदारले “जाँचिसके, सब ठीक छ” भन्ने जवाफ दिए। टङ्कप्रसाद र गोविन्दप्रसादले निश्चिन्त रूपले सास फेर्न थाले।

हवलदारको कामका लागि नरेन्द्रशमशेरकहाँ सक्दो जोड गर्ने आश्वासन दिँदै उनीहरूले ती हवलदार र गढीका अरू कर्मचारीहरूसँग बिदा लिए। यसरी त्यो लिथो मसिन निर्विघ्न रूपले चिसापानी गढीबाट काठमाडौं ल्याइयो। यो घटना वि. सं. १९९७ साल लाग्दो बखतको थियो।

त्यो कल टङ्कप्रसाद आचार्यको घरमा बडो गोप्य तरिकाले राखियो। टङ्कप्रसादको कलमा चल्ने ठूलो सोख थियो। त्यसैले उनी दिनहुँ कलपुर्जाहरूमा चलिरहन्थे। यसरी चल्दाचल्दै उनी केही दिनभित्रै त्यो लिथो मसिनको सम्पूर्ण पूर्जा खोल्ने र जड्ने काममा पोख्त भए। यसै बीच आम तवरले छर्ने थरी थरीका पर्चाहरू पनि लेखिए। जम्मा चार थरीका पर्चाहरू त्यस यन्त्रबाट छापिए।

देशभित्र यस्तो गतिविधि हुनु अगाडिदेखि भारतमा पनि केही नवजागृत नेपाली युवकहरूले राणा सरकारको विरोधमा प्रचार गर्ने गरेको चर्चा माथि भइसकेको छ। त्यसताका इलाहबादबाट निस्कने ‘चाँद’ नाउँको हिन्दी मासिक पत्रिकामा नेपालभित्र जनतामाथि भइरहेको राणा सरकारको अत्याचारसम्बन्धी लेख छापिएको थियो।

त्यस ‘चाँद’ प्रत्रिकाको लेखप्रति राणा सरकारको ध्यान गएपछि त्यसमाथि हमला शुरु भयो। राणा सरकारको अनुरोधमा भारतका ब्रिटिस अधिकारीहरूले ‘चाँद’ पत्रिकाको कार्यालयमा खानतलासी लियो। पत्रिकाका अधिकारी एवं उपरोक्त लेखसित सम्बन्धित व्यक्तिहरूमाथि कडा कारबाई गरियो।

त्यस काण्डमा परेकाहरूमा सन्तवीर लामा, अधिवक्ता हरिप्रसाद प्रधान, लक्ष्मण बाबु, शङकरप्रसाद नेपाल आदि थिए। सन्तवीर लामाको घरमा तलासी लिइँदा राणा सरकार विरोधी एउटा किताब पनि बरामद भएकोले उनी कालिम्पोङ जेलमा थुनिए। शंकरप्रसाद नेपाल चाहिं सरकारी अनुदानबाट भारतमा बि. एस. सि. अध्ययन गरिरहेका हुनाले उनले पढाइ पूरा भएपछि निश्चित अवधिसम्म सरकारी सेवा नगरी हुँदैनथ्यो। तर उनी यस्तो सरकार विरोधी कार्यकलापमा लागेकाले नेपालमा फर्कनासाथ निश्चय पनि थुनिने भए।

त्यसैले उनी उतैतिर रहन थाले। यी शङ्करप्रसाद सरकारी वृत्तिले पढिरहँदा यहाँ आएको बेला वि. सं. १९९४ सालमा शुक्रराजको अध्यक्षतामा खोलिएको नागरिक अधिकार समितिको प्रचार मन्त्री पनि भइसकेका थिए। यही हैसियतमा उनलाई भारतमा नेपाली जनताको पक्षबाट प्रचार गर्ने अभिभारा सुम्पिएको थियो।

यसै ताका अर्थात् वि. सं. १९९६ सालमा काशीमा पनि केही उत्साही विद्यार्थी र नवयुवकहरूको उत्साहबाट दूधविनायक टोलमा ‘नेपाली सङ्घ’ को स्थापना भयो। प्रारम्भमा यसको लक्ष्य विशुद्ध सामाजिक ढङ्गले जनसेवा गर्नु थियो। शीघ यसमा राजनैतिक भाषण हुन लागे।

क्रमश: यसमा काठमाडौंबाट बनारस हिन्दू विश्वविद्यालयमा पढ्न आएका विद्यार्थीहरूकै बाहुल्य भएकोले यस सङ्घका बैठकहरूमा नेपालको राजनीति र शोषणकै बढ़ता चर्चा हुन्थ्यो … यस प्रकार काशीबाट नवीन उत्साह लिएर जाने विद्यार्थीहरूको सहयोग पनि नेपाल प्रजा परिषद्लाई प्राप्त भएकोले परिषद्को कार्यक्रममा स्फूर्ति आयो। तर नेपाली सङ्घ वा काशीबाट शिक्षा प्राप्त गरी फर्केका विद्यार्थी युवकहरूबाट परिषद्लाई कुनै ठोस सहयोग भएको थिएन भन्ने टङ्कप्रसादको भनाइ छ।

पाटनमा बर्सेनि मनाइने रातो मछिन्द्रनाथको भोटो जात्राको पर्व उपत्यकामा सबैभन्दा बढी मानिस भेला हुने अवसर हो। यस अवसरमा जाउलाखेलमा जुवा फुकिन्थ्यो। त्यस बेला तीन शहरका मात्र होइनन्, आसपास काँठ काँठमा बस्ने मानिशहरू पनि पाटनमा ओइरिन्छन्। यसरी सजिलैसँग धेरै मानिसहरूमा हल्ला फिँजाउन यो उपयुक्त मौका थियो।

यसैको उपयोग गर्ने नेपाल प्रजा परिषद्ले अठोट गर्‍यो। त्यो साल भोटो जात्रा असारको ९ गते परेको थियो। त्यही रात तीन शहरका गल्ली गल्ली, सडक सडकमा जहाँतहीं पर्चाहरू छरिए। रामहरि शर्माले यस लेखकलाई दिएको सूचना अनुसार पहिलो पल्ट त्यस रातमा पर्चा छर्ने कामको जिम्मा लिने कार्यकर्ता र ठाउँहरूको सूची यस प्रकार थियो :

काठमाडौं शहरभित्रका इलाकाहरू एवं डिल्लीबजार, नक्साल, गैरीधारा, टङ्गाल, भाटभटेनीमा पर्चा छर्ने जिम्मा धर्मभक्त माथेमा, गोविन्दप्रसाद उपाध्याय, बल पाण्डे र रामहरि शर्माको थियो। हुन त शहरी इलाकाको जिम्मा धर्मभक्तले नि थिए। तर बेलुका तोकिएको समयमा रामहरिहरू ॐ बहालमा धर्मभक्त बसेको घरमा पुग्दा घरको ढोका बन्द थियो।

कति बोलाउँदा र ढोका घच्घच्याउँदा पनि यो नखोलिएकोले उनलाई सुम्पिएको काम पनि यिनीहरू तीन जनाले नै गर्नुपर्‍यो। यिनीहरू ॐबहाल, नरदेवी, पकनाजोल, छेत्रपाटी, ठहिटी, इन्द्रचोक, नयाँ सडक, पुरानु भन्सार धरहरा, टेबहाल, भौसिको, वीर अस्पताल पछाडि, महाबौद्ध, कमलाछी, ज्याठा, ठवहिल केशर महल, नारायणहिटी राजदरबार, टुडिखेल, घण्टाघर, कमलादी, कमल पोखरी, नक्साल, ज्ञानेश्वरमा छ्यापछ्यापती पर्चा छरिसकेपछि माली गाउँमा बलबहादर पाण्डेको घरसम्म पुगेका थिए।

ठहिटीमा रहेको प्रहरी चौकीमा पुग्दा यस टोलीका एक जना सदस्यले एक मुठ्ठा पर्चा त्यहाँ बसिरहेका प्रहरीलाई दिँदै भने, “ए, पुलिस दाइ, यो कागत भोलि तपाईंको हाकिमलाई बुझाइदिनुस् है।” चौकीका ती पहरेदार अघिल्तिर बालिएको लालटिनको पिलपिले उज्यालोमा एक सुरले लय हाल्दै भानुभक्तीय रामायण पढ्नमा मस्त थिए। उनले “हुन्छ, छाडेर जानुस्” भन्दै फेरि रामायण नै भट्टयाउन थाले। तदनुसार एक मुठा पर्चा चौकीमा छाडी टोली अगाडि बढ्यो।

ललितपुरमा पर्चाबाजी गर्न केशवराज कार्की र पुष्करनाथ उप्रेती खटिएका थिए। त्यस्तै भक्तपुरको जिम्मा चित्रबहादुर के. सी., मुकुन्दनाथ रिमाल र हृदयनाथ शर्मालाई सुम्पिएको थियो। यस टोलीलाई बाटोमा परेका पशुपति, देउपाटन, चाबहिल, सिफल, बत्तीस पुतली आदि ठाउँमा छर्ने काम पनि जिम्मा लगाइएको थियो। यी हृदयनाथ नेपाल प्रजा परिषद्का सदस्य भइसकेका पनि थिएनन्, केवल सहयोगी थिए। यिनी मुकुन्दनाथको सम्पर्कमा थिए र उनैले यिनलाई पर्चा छर्ने काममा सम्मिलित गराएका थिए।

त्यही राति एघार-बाह्र बजे ताका वीर अस्पतालका नर्स अष्टकुमारी र चञ्चला मानन्धर (यिनी पनि पछि नर्स भइन्, तर त्यतिखेर यिनी भरखर भरखर मात्र फरिया लाउने गरेकी ठिटी थिइन्) ले पनि प्रसूतिकालीन औषधोपचारका सामानले भरिएको झोला बोकी रणमुक्तेश्वर, कोछे, इन्द्रचोक, ठहिटी आदि शहरी इलाकाभित्र पचार्हरू छरे। राणा युगमा बेलुका निश्चित समयमा तोप हानिन्थ्यो र सो तोप चलेपछि सार्वजनिक सडक, बाटाहरूमा मानिसहरूलाई सामान्यत: हिँडन दिइँदैन थियो।

यिनीहरूलाई इन्द्रचोकमा र अन्यत्र एक दुई ठाउँमा प्रहरीहरूले रोक्दा यिनीहरूले सुत्केरी हुन लागेको ठाउँमा जान हतार भएको अभिनय गरी टोपले। बाहिरबाट नर्स ब्याग बोकेका यी नर्स महिलाहरूले कम्मरमा केही अवैध वस्तु लुकाएका होलान् भन्ने कुरा प्रहरीहरूले शङ्कासम्म पनि गरेनन्।

यी महिलाहरूद्वारा शहरभित्र पर्चा छर्न लगाउने इन्तिजाम कम्पाउन्डर चन्द्रमानले गरेका थिए। कार्यक्रम अनुसार अगाडि चर्चा गरिएको अर्को टोली कथंकदाचित् असफल भएमा वा त्यसका कार्यकर्ताहरू पर्चा छर्दाछर्दै पक्रिएमा पर्चा छर्ने काम आंशिक रूपमा भए पनि यिनीहरूद्वारा सम्पन्न गराउने अपेक्षा राखिएको थियो।

यो पहिलो पल्ट पर्चाबाजी गरिएको बेला टङ्कप्रसाद र दशरथ चन काठमाडौंमा थिएनन्। पर्चा छर्ने बेला उनीहरूलाई यहाँ नराख्ने निर्णय नै परिषद्ले गरेको थियो। किनभने मात्र केही दिन अगाडि टङ्कप्रसादले जुद्धशमशेरलाई भेटी सुधारको माग गर्दै जुद्धशमशेरको सामुन्ने के के भनेर बम्केका थिए। यसैले उनीहरूलाई बाहिर पठाएपछि मात्र पर्चाबाजी गरियो।

पहिले दशरथ चन रौतहटमा गए। केही दिनपछि टङ्कप्रसाद पनि उहीं पुगे। उनलाई चितलाङ होटेलमा रामहरि शर्माका काका माहिला दाइले मद्दत गरेका थिए। काठमाडौंमा पहिलो पर्चाबाजी हुँदा टङ्कप्रसाद र दशरथ चन दुवै रौतहटबाट कलकत्ता हुँदै बनारस पुगिसकेका थिए। बनारसमा टङ्कप्रसादलाई बद्रीनाथ र केदारनाथ ढुङ्गानाहरूले सघाएका थिए।

त्यो साल भोटो जात्रा असारको ९ गते परेको थियो। त्यही रात तीन शहरका गल्ली गल्ली, सडक सडकमा जहाँतहीं पर्चाहरू छरिए।

भोटो जात्राको भोलिपल्ट बिहानदेखि तीन शहरमा खलबली मच्चिसकेको थियो। जनतामा गाइँगुइँ चलेको थियो भने राणा अधिकारीहरूमा चिन्ता छायो। केही दिनपछि श्रावण ११ गतेका दिन (इ. सं. १९४० जुलाइ २६) ‘गोरखापत्र’ मा यो पर्चाबाजी गर्ने व्यक्तिहरूलाई पक्राइदिने मानिसलाई रु. ५०००।- सम्मको बक्सिस दिने बेहोराको सूचना प्रकाशित भयो।

यतिन्जेल सरकारका गुप्तचरहरूले नेपाल प्रजा परिषद्का कार्यकर्ताहरूको कुनै सुराक भेट्टाउन सकेका थिएनन्, परिषद्को सङ्गठनमा गोप्यता दरोसँगै कायम थियो। तर यसै ताका वाक्पतिराज जोशी जस्ता केही नयाँ सदस्यहरू परिषद्‍‌मा भित्र्याइए। वाक्पतिराजलाई सरकारी गुप्तचर टेकबहादर मल्लले गुप्त तवरले हात लिन खोजिरहेका थिए भन्ने परिषद्का केही सदस्यहरूको भनाइ थियो।

यसैले उनलाई भित्र्याउने कुराको विरोध पनि केहीले गरेका थिए। तर दशरथ चन यस्तो कुरा मान्न तयार थिएनन्। उनले वाक्पतिराजलाई शत्रराज शास्त्रीका भाइ एवं शास्त्रीसम्म पढे-गुनेको मानिसलाई सदस्य बनाउन राम्रै हुन्छ भन्दै परिषद्को सदस्य बनाए। टेकबहादुर मल्लले वाक्पतिराजलाई हात लिएका थिए र चाल नपाउने गरी उनीसँग कुरा धुत्ने गर्दथे।

वि. सं. १९९७ भाद्रसम्ममा धर्मभक्त मार्फत गणेशमान सिंह श्रेष्ठ, गङ्गालाल श्रेष्ठ र हरिकृष्ण श्रेष्ठ पनि सदस्य भइसकेका थिए। वि. सं. १९९७ भाद्रको आधाआधी भूमिगतै भए पनि परिषद्को कार्यकारिणी समितिको वैधानिक निर्वाचन गरियो। टङ्कप्रसाद आचार्य अध्यक्ष, दशरथ चन उपाध्यक्ष र रामहरि शर्मा महामन्त्री छानिए जनतामा राजनीतिक चेतना दिलाउन, राणा सरकार खतम गरी श्री ५ महाराजाधिराजको नायकत्वमा प्रजातान्त्रिक सरकार गठन गर्नु परिषद्को उद्देश्य राखिएको थियो।

यसरी सङ्गठनलाई गोप्य रूपले भए पनि वैधानिक रूप दिएपछि भाद्र महिनामा नै दोस्रो पल्ट पर्चाबाजी गर्ने ठहर परिषद्ले गर्‍यो। त्यस बेला दशरथ चन यहीं भएकाले दोस्रो पर्चाबाजी उनकै निर्देशनमा गरियो। यस पल्ट पनि पर्चाहरू व्यापक तवरले छरिए। यस काममा दशरथ चनले पनि भाग लिए। त्यस ताका उनी पकनाजोलमा बस्थे। त्यसैले उनले पकनाजोल, ठबहिल, छेत्रपाटी, ठहिटी इत्यादि ठाउँमा पर्चा छर्ने काम आफैँले जिम्मा लिए। उनले पर्चा छर्दा बखतको एउटा घटना यहाँ उल्लेख गर्नु चाख लाग्दो नै होला। यस इलाकामा पर्चा छर्दै जाँदा उनले पकनाजोल-ठबहिलनिर एक जना प्रहरीलाई भेटे।

ठहिटीमा रहेको प्रहरी चौकीमा पुग्दा यस टोलीका एक जना सदस्यले एक मुठ्ठा पर्चा त्यहाँ बसिरहेका प्रहरीलाई दिँदै भने, “ए, पुलिस दाइ, यो कागत भोलि तपाईंको हाकिमलाई बुझाइदिनुस् है।” चौकीका ती पहरेदार अघिल्तिर बालिएको लालटिनको पिलपिले उज्यालोमा एक सुरले लय हाल्दै भानुभक्तीय रामायण पढ्नमा मस्त थिए। उनले “हुन्छ, छाडेर जानुस्” भन्दै फेरि रामायण नै भट्टयाउन थाले।

 

ती प्रहरीलाई एक मुठा पर्चा तुरुन्त दिँदै उनले भने, “यो तिम्रो अफिसरलाई दिनु है, जरुरी छ, सरासरै जाऊ।” प्रहरी पर्चाको मुठा बोकेर तुरुन्तै त्यहाँबाट चौकी तर्फ लम्क्यो। अफिसरले पर्चा हेरी मामिला थाहा पाउनेबित्तिकै केही प्रहरीहरूको साथ आफैँ त्यस ठाउँमा पुगे। दशरथ चनको धुइँधुइँती खोजी भयो। तर, प्रहरीले त्यति सजिलैसँग सुराक लगाउन सकिने खालका मानिस थिएनन् दशरथ चन्द। यो वि. सं. १९९७ साल भाद्र २० गते बेलुकाको घटना थियो।

यस पटकको पर्चाबाजीमा दशरथ चनले नयाँ सदस्यहरूलाई पनि भाग लिन लगाएका थिए। वाक्पतिराज जोशीले आफूलाई जिम्मा लगाएको ठाउँ हाँडीगाउँ तिर पर्चाबाजी गरिरहँदा उनलाई चिन्ने एक जना मानिस शम्भुप्रसादले देखेका पनि थिए। उनले वाक्पतिराजले पर्चा छरिरहेको देखेको कुरा पछि रामहरि शर्मालाई बताएका पनि थिए। तर उनले अरू कसैलाई, विशेष गरेर सरकारी अधिकारीहरूलाई भने बताएनन्। अब सरकारको तरफबाट परिषद्का कार्यकर्ताहरूको खोजी तीव्र रूपले गरियो। टेकबहादुर मल्लले वाक्पतिराजलाई अनेक प्रलोभनमा फसाउने कोसिस बढाउँदै लगे।

यो दोस्रो पर्चाबाजी भएपछि पनि नेपाल प्रजा परिषद्को सुराक पत्ता लगाइदिने व्यक्तिलाई सरकारले कबुल गरेको रु. ५०००1- को पुरस्कार कायमै रहेको सूचना प्रकाशित भयो। यसरी दुई महिना भइसकेर पनि नेपाल प्रजा परिषद्को कुनै सुईका सरकारले पाउन सकेन। नेपाल प्रजा परिषद्ले आफ्नो गोपनीयता यत्तिको मजबुतसँग कायम राख्न सकेकोमा सरकार र जनता दुवै तीन छक परिरहेका थिए।

बाँकी दुई थरी पर्चाहरू छर्ने काम पनि आश्विन महिनासम्ममा पूरा भयो। यी चार थरी पर्चा एकै पल्ट लिथो गरिएको कुराको उल्लेख अगाडि भइसकेको छ। यसरी पटक पटक पर्चा छरिँदा पनि नेपाल प्रजा परिषद्का कनै कार्यकर्तालाई सरकारले पक्रन नसक्नुबाट यसप्रति जनआस्था झन् झन् बढ्नु स्वाभाविकै थियो। घरघरै नेपाल प्रजा परिषद्को मात्र चर्चा चल्न थाल्यो।

यो पछिल्लो पर्चाबाजी अग्ला अग्ला पर्खालले घेरिएको, चौबिसै घण्टा पालोपहरा तैनात रहने, खुद श्री ३ महाराजको निवास स्थान सिंहदरबारभित्र पनि भयो। यो अत्यन्त जोखिम काममा दुई जना साहसिला युवक सरिक भएका थिए। कालिकास्थान निरको बाँसघारीबाट सिंहदरबारको अग्लो पर्खाल चढ्न लाग्दा यिनीहरू मध्ये एक जना तल खसेर घाइते भए, अर्को चाहि उक्लिहाले। काटिएको बाँसको चुच्चे छुटोले पैतलामा घोपेकोले तल खस्ने युवक चाहिँ जखमी भए। सिंहदरबारभित्र पसी त्यहाँ छयासछयासी पर्चा छर्ने काम अर्का युवक एकलैले सम्पन्न गर्नुपर्‍यो।

वि. सं. १९९७ भाद्रको आधाआधी भूमिगतै भए पनि परिषद्को कार्यकारिणी समितिको वैधानिक निर्वाचन गरियो। टङ्कप्रसाद आचार्य अध्यक्ष, दशरथ चन उपाध्यक्ष र रामहरि शर्मा महामन्त्री छानिए जनतामा राजनैतिक चेतना दिलाउन, राणा सरकार खतम गरी श्री ५ महाराजाधिराजको नायकत्वमा प्रजातान्त्रिक सरकार गठन गर्नु परिषद्को उद्देश्य राखिएको थियो।

उनी सिंहदरबार भित्रबाट पर्खाल चढेर बाहिर निस्कन पनि सफल भए। यिनीहरूलाई पर्चा भक्तबहादुर बुकसेलरबाट प्राप्त भएको थियो। यी युवकहरू थिए- महावीर इन्ष्टिच्युटका विद्यार्थी गिरिराजविहारी देवकोटा र उनका भाइ हरिवंशविहारी देवकोटा। यिनीहरूको उपरोक्त कामको सुइँको पाई यिनीहरूका बाबुले दाजु चाहिँलाई बेसरी पिटे जसको फलस्वरूप तेह्र दिनपछि यिनको देहान्त भयो। घाइते हुने अर्का हरिवंशविहारी देवकोटाको वि. सं. २०४४ वैशाख २ गते देहावसान भयो। नेपाल प्रजा परिषद्को यस्तै काममा लाग्ने अर्का युवक, कसाई टोल, कमलाछीमा घर भई भोटाहिटीमा किसमिस पसल थाप्ने परिवारका कृष्णलाल श्रेष्ठलाई पनि त्यस्तो बागी काममा लाग्यो भनेर उनका बुबाले बेसरी कुटेका थिए जसका कारण १०-१२ दिनपछि उनको पनि मृत्यु भयो।

सबै प्रकारका अधिकारबाट वञ्चित रहन् परेका जनता नेपाल प्रजा परिषद्ले औल्याएका तथ्यतिर झुक्नु स्वाभाविकै थियो। जनसाधारण मात्र होइनन् खुद राणाहरूका आश्रित व्यक्तिहरूले पनि यसमा चासो लिन लागे। जे होस्, पर्चाबाजीबाट जनतामा निकै सनसनी मच्चियो।

बारम्बार यसरी पर्चाबाजी गर्नुको मतलब जनतामा चेतना जगाउन, उनीहरूलाई राजनैतिक रूपले सोच्न लगाउन, राणा सरकारबाट भइरहेको अन्याय, अत्याचार र शोषणतिर उनीहरूलाई जागरुक गराउन, परिषद्को गतिविधिसित उनीहरूलाई परिचित राख्नुको साथै यो परिषद् एउटा जनसङ्गठन हो, कुनै गुप्त गुट मात्र होइन भन्ने देखाउन पनि थियो।

त्यसताकाको परिस्थितिका कारण सङ्गठनलाई अति गोप्य र भूमिगत राख्न परे पनि यो परिषद् आम जनसङ्गठन नै हो भनेर आम जनतामा विश्वास दिलाउनु आवश्यक थियो। नत्र नेपाल प्रजा परिषद्को आन्दोलनलाई पनि अगाडि समय समयमा भएका षड्यन्त्र, दरबारिया गुटबन्दी अनेक पर्व जस्तै ध्वंसात्मक समूहगत साजिसै मात्र ठानिने र एउटा सार्वजनिक, खुलेआम प्रजातान्त्रिक राजनैतिक दलको मान्यता प्राप्त नहुने सम्भावना धेरै हुन्थ्यो।

शहीद दिवसको सन्दर्भमा पुन: प्रकाशन गरिएको -सं.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved