सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत पाउनै सकस, मन्त्रिपरिषद पूर्ण नहुँदा मन्त्रालय सुनसान

मुख्यमन्त्रीले माघ ११ गते विश्वासको मत लिने बताएका थिए । तर नागरिक उन्मुक्तिसँगको वार्ता नटुङ्गिएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । आज १८ दिन पुगेको छ । नागरिक उन्मुक्तिले साथ दिए मात्र यहाँ सत्तापक्षमा बहुमत पुग्ने अवस्था छ ।

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत पाउनै सकस, मन्त्रिपरिषद पूर्ण नहुँदा मन्त्रालय सुनसान

धनगढी। अहिले अधिकांश प्रदेशका मन्त्रालयमा भीडभाड देखिन्छ । नयाँ मन्त्री आएकाले चहल-पहल र रौनक छ । तर सुदूरपश्चिम प्रदेशमा भने त्यस्तो छैन । यहाँका मन्त्रालय सुनसान छन् ।

प्रदेशमा मुख्यमन्त्रीबाहेक अन्य मन्त्रालय खाली छन् । सेवाग्राही तथा दलका कार्यकताले भरिभराउ हुने मन्त्रालय अहिले खाली छन् । मन्त्री नभएपछि कतिपय सेवा प्रवाहमा पनि समस्या देखिएको छ ।

पुस २७ गते २९ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । पुस २८ गते नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेका सन्तोषकुमारी शर्मा थापालाई मन्त्री नियुक्त गरिए पनि जिम्मेवारी दिइएको छैन ।

मन्त्रालयमा मन्त्री नहुदाँ नीतिगत कुरा, बजेट निकासा र विकास निर्माणका काममा असहजता भएको आर्थिक मामिला मन्त्रालयका सचिव रामबाबु सुवेदीले बताए । ‘मन्त्री हुँदा र नहुँदा पक्कै पनि केही फरक छ, अहिले चहलपहल पनि छैन ।’ सचिव सुवेदीले भने, ‘म बाट हुने काम भइरहेको छ, तर महत्त्वपूर्ण काममा बाधाअड्चन छ ।’

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको मुख्य घटक नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन तयार भई नसकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताइएको छ । सत्ता गठबन्धनका प्रदेश सभा सदस्य तथा एमाले सांसद धर्मराज पाठकले अबको एक हप्ताभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि सरकारले पूर्णता पाउने दाबी गरे ।

केन्द्रमा नागरिक उन्मुक्ति पार्टीका माग र मुद्दाका विषयमा एक हप्तादेखि गम्भीर छलफल चलिरहेका कारण अब धेरै समय नलाग्ने उनको तर्क छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार गम्भीर नहुँदा विश्वास मत पाउने/नपाउने अनिश्चित भएको दाबी गरेको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य रहेका प्रकाश बमले मुख्यमन्त्री रावललाई विश्वासको मत पाउने विश्वास नभएकाले ढिलाई गरिरहेको आरोप लगाए ।

यसअघि, मुख्यमन्त्रीले माघ ११ गते विश्वासको मत लिने बताएका थिए । तर नागरिक उन्मुक्तिसँगको वार्ता नटुङ्गिएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो । सरकार गठन भएको १८ दिन पुगेको छ । नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । नागरिक उन्मुक्तिले साथ दिए मात्र यहाँ सत्तापक्षमा बहुमत पुग्ने अवस्था छ ।

प्रदेश सभाको बैठक अनिश्चित

यही ११ गते बस्ने भनिएको प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले प्रदेश सभा सञ्चालनका लागि कार्यसूची नभएको र अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताएका छन् ।

दल तथा सांसदबीच समझदारी भएको भए बुधबार बस्ने भनिएको बैठकमा विश्वासको मत लिने तयारी मुख्यमन्त्रीको तयारी थियो । तर, निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग अझै ठोस समझदारी भइनसकेकाले विश्वासको मत लिने दिन पनि अनिश्चित भएको छ ।

काठमाडौंमा मुख्यमन्त्री रावलले नागरिक उन्मुक्तिका सांसद तथा नेतासँग आफ्नो र प्रधानमन्त्री सहित शीर्ष तहको राजनीतिक भेटघाट गराएर समझदारीको प्रयत्न गरिरहे पनि सफल हुन सकेको छैन । उनले प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड), एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएतका नेतासँग भेटघाट गरी नागरिक उन्मुक्तिको मुद्दा सम्बोधन गर्न र विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।

उन्मुक्तिको माग र मुद्दाका विषयमा प्रदेश सरकारको कुनै ठोस भूमिका नहुने भएकाले संघीय सरकारले नै गाँठो फुकाइदेओस् भन्ने मुख्यमन्त्रीको चाहना छ । प्रदेशमा मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन २७ जना प्रदेश सांसद आवश्यक पर्छ ।

५३ जनामध्ये सत्ता गठबन्धनमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका सांसद छन् । यस्तै, गठबन्धन बाहिर कांग्रेसका १९, एकीकृत समाजवादीका चार तथा एक जना स्वतन्त्र सांसद रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved