कैलालीको गोदावरी धाम : दर्जनौँ समिति बनाएर धर्मका नाममा मनोमानी

गोदावरी क्षेत्रमा धर्मका नाममा व्यापार गरिँदा पुराना मन्दिर ओझेलमा पर्दै गएका छन् । धामलाई विकास समितिका रूपमा अघि बढाउन पटक–पटक आग्रह गरिए पनि कसैको ध्यान गएको छैन ।

नेपालभ्युज

कैलालीको गोदावरी धाम : दर्जनौँ समिति बनाएर धर्मका नाममा मनोमानी

धनगढी। सुदूरपश्चिम प्रदेशको प्रमुख तीर्थस्थल मानिएको कैलालीको गोदावरी धाम पछिल्लो समय धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । आस्थाको केन्द्र बन्दै गएको गोदावरी धाममा प्राचीन कालदेखिको मन्दिर संरक्षणमा भने कसैको चासो गएको छैन ।

गोदावरीधाम क्षेत्रभित्र रहेका विभिन्न मठ मन्दिरका नाममा दजर्नौं समिति बनाएर सरकारी बजेट हाल्ने र आधा बजेटमा समितिकै पदाधिकारीले रजाइँ गर्नेबाहेक अन्य कुनै उपलब्धि हुन सकेको छैन । धामभित्र रहेका करिब एक दर्जन मन्दिरका समितिले आफूखुसी काम गरिरहेको सन्त, महन्त र स्थानीयको आरोप छ ।

गोदावरी क्षेत्रमा धर्मका नाममा व्यापार गरिँदा पुराना मन्दिर ओझेलमा पर्दै गएका छन् । धामलाई विकास समितिका रूपमा अघि बढाउन पटक–पटक आग्रह गरिए पनि कसैको ध्यान गएको छैन ।

प्राचीन कालमा बनेको मन्दिर क्षेत्रको संरक्षणमा कुनै निकायको ध्यान जान नसक्नु दु:खद भएको शिव भगवती मन्दिर गोदावरी धामका महन्त तुलसी गिरी गुनासो गर्छन् ।

विगत ८ वर्षदेखि आफू मन्दिरको महन्तका रूपमा काम गदै आएको जानकारी दिँदै उनले गोदावरी क्षेत्रमा केही वर्षयता करोडौं रुपैयाँ लगानी भए पनि पुरानो मन्दिरमा कसैको ध्यान नगएको गुनासो गरे । गोदावरी नदी पारी रहेका यी मन्दिर विवाह, व्रतबन्ध गरेवापत उठेको शुल्कबाट संरक्षण गर्नुपरेको छ । साथै, यहाँ बसेका सन्त महात्माले त्यही कामबाट अन्य संरचना स्थापना गरेका छन् ।

नेपालका मात्रै नभई भारतीय दर्शनार्थीको आस्थाको केन्द्र रहेको यस धामको समग्र संरक्षणमा चासो जानु भन्दा पनि पहुँचका भरमा बजेट ल्याउने र स-साना मन्दिर निर्माण गर्ने प्रतिस्पर्धा चलेको छ, महन्त गिरीले भने, ‘धाम क्षेत्रमा आधा दर्जन मन्दिरका समिति मात्रै छन् यी समितिले समग्र गोदावरीको विकास भन्दा पनि आफू संरक्षण हुने काम मात्रै गरेको देखिन्छ । एक हिसाबले भन्नुपर्दा यहाँ धर्मका नाममा व्यापार भइरहेको छ ।’

महन्त तिलक गिरीका अनुसार प्राचीन मन्दिर जोगाउनुभन्दा बाहिरी देखावटीका लागि अन्य मन्दिर स्थापनामा जोड दिइएको छ । ‘कुनै सरकारी निकायको अनुपस्थितिमै आफूखुसी मन्दिर स्थापना गर्ने र समिति बनाउने परम्पराले गोदावरी धामको अस्तित्व संकटमा पर्दैछ’ उनले भने, ‘धाम क्षेत्रमा बनेका समितिले समग्र गोदावरी धामको विकासमा कुनै योगदान नदिएका कारण सवै समिति हटाएर प्रदेश सरकारको मातहतमा विकास समिति गठन गरिनुपर्छ ।’

पुरानो मन्दिर क्षेत्रमा जान एउटा झोलुङ्गे पुल बन्न सकेको छैन । नदीमा तटबन्धन गर्न पनि समिति अनिच्छुक देखिन्छन् । यस धामको संरक्षण गर्न सके भारतको हरिद्वार जाने दर्शनार्थी यही आउने स्थानीय राजेन्द्र पन्तले बताए । गोदावरी क्षेत्रमा भइरहेको काम व्यवस्थित गर्न सवैको ध्यान जान जरुरी रहेको उनी बताउँछन् ।

मन्दिरैपिच्छे समिति बनाउने परम्पराले धामको विकासभन्दा व्यक्तिगत फाइदा मात्रै भइरहेको गुनासो उठ्न थालेपछि गोदावरीधाम धार्मिक पर्यटन विकास बोर्ड गठनका लागि पहल भएको तर सार्थकता पाउन नसकेको गोदावरी धाम विकास समितिका सह-सचिव दीपेन्द्र अवस्थीले बताए ।

धाममा आवश्यक पर्ने, पुल, खानेपानी, शौचालय लगायतका सामान्य संरचनाको समेत अभाव भएका बेला सरकारी संरक्षण नै जरुरी रहने उनको तर्क छ ।

बाह्रराशि दर्शन मकरमेला लाखौँ दर्शनार्थी गोदावरी धाममा

धार्मिक रूपमा पवित्रस्थल मानिएको गोदावरी धाममा पुस ३० गते बाह्रराशि दर्शन मकरमेला चलिरहेको छ । हालसम्म लाखौँ दर्शनार्थी गोदावरी धाममा आइसकेको विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत भक्तालु तथा दर्शनार्थी आउने गरेका छन् । भारतको राजस्थान, पञ्जाब, दिल्ली, लखनऊ, उत्तराखण्ड, बरेली, हरियाणालगायत स्थानबाट दर्शनार्थी आउने गरेको समितिका अध्यक्ष जोशीको भनाइ छ ।

नेपालको सुदूरपश्चिमलगायत, कर्णाली, लुम्बिनी प्रदेशबाट मानिस गोदावरी धाममा आउने गरेको आयोजकले बताएको छ । धाममा पाञ्चायन देवताको पाँच पुराण र चार वेद पाठ भइरहेको छ । ग्रहपूजा, हवन, ध्यान, योग, जपलगायत धार्मिक क्रियाकलाप भइरहेको छ। दिनहुँ सयभन्दा बढी व्रतबन्ध, विवाह जस्ता धार्मिक कार्यक्रम पनि हुने गरेका छन् ।

महाकुम्भपछि गोदावरीको धार्मिक महत्त्व बढ्यो

नेपालमा चतराधामपछि अत्तरिया नजिकैको गोदावरी धाममा पहिलोपटक २०७२ को माघमा महाकुम्भ लाग्यो । महाकुम्भपछि गोदावरीको धार्मिक महत्त्वले राष्ट्रव्यापी रूप लियो । वेदको मानसखण्डमा अष्ट गोदावरीमध्ये ६ वटा नेपालमै रहेको तथ्य उल्लेख छ ।

धार्मिक पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिममा भगवतीका सात अवतार, बैतडीको त्रिपुरासुन्दरी, निङ्लासैनी, डिलासैनी र मेलौली, बाजुराको बडीमालिका, डडेल्धुराको उग्रतारा, डोटीको शैलेश्वरी जाने मार्ग पनि अत्तरिया गोदावरी नै हो । यस कारण पनि गोदावरी धामको यात्रामा नेपालका विभिन्न शहर हुँदै भारतबाट समेत भक्तजन आउने क्रम बढ्दो छ ।

नेपालका चार धाममध्ये अछामको वैद्यनाथ धाम, डडेधुराको परशुराम क्षेत्रको पनि प्रवेश मार्ग अत्तरिया–गोदावरी नै हो । त्यसैले, गोदावरीलाई देवभूमिको प्रवेशमार्ग पनि भनिएको गोदावरी धाम विकास समितिले जनाएको छ।

बैतडीको देवलहाटमा पाण्डवले वनवास गएका बेला बनाएका पञ्चदेवल छन् । यो क्षेत्र शिवपार्वतीको तपोभूमि पनि भनिन्छ । कैलाश मानसरोवर पनि बझाङपारीको हिमालमा पर्ने भएकाले सेती कर्णाली र गोदावरीको मुहान कैलाश पर्वत भएको मान्यताले पनि यसलाई देवभूमि मानिएको हो । गोदावरी पितृ मोक्षका लागि पनि तीर्थस्थल रहेको वेदहरूमा उल्लेख भएकाले, पछिल्लो समय गोदावरीम पितृको श्राद्ध गर्ने पनि बढेका छन् ।

गोदावरीलाई धार्मिक र पर्यटकीय रूपमा विकास गर्न सरकारले एक अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने हो भने दीर्घकालीन रूपमा आर्थिक लाभ लिन सकिने गोदावरी धाम विकास समितिका अध्यक्ष जोशी बताउँछन् । ‘आगामी वर्ष कुम्भ मेलाको आयोजना गर्दैछौँ, सो मेलामा एक करोड भक्तजन र दर्शनार्थी आउने अहिले देखिएको भीडले संकेत गरिरहेको छ ।’

तेघरीदेखि गोदावरी धामसम्म पुग्न सडक साँघुरो छ । गोदावरी धामको गुरुयोजनाअनुसार विकास र विस्तार गर्ने हो भने एक अर्ब बजेट आवश्यक देखिन्छ । गोदावरीको बृह्त व्यवस्थापनका लागि तीन तहकै सरकारको सहभागिता र लगानी हुनु आवश्यक देखिएको जोशीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved