भारतमा ‘पठान’को धमाकेदार सुरुवात, ‘बायकट ग्याङ’ असफल

यही सिनेमालाई आधार बनाएर धार्मिक ध्रुविकरणको भरपुर प्रयास भएको थियो । तर सिनेमाको शानदार प्रदर्शनसँगै घृणा फैलाउने र साम्प्रदायिक सदभाव खल्बल्याउने समूह पराजित भएको छ ।  

नेपालभ्युज

भारतमा ‘पठान’को धमाकेदार सुरुवात, ‘बायकट ग्याङ’ असफल

काठमाडौं। भारतमा हालै रिलिज भएको आदित्य चोपडाको फिल्म ‘पठान’ लाई लिएर जनमत ध्रुवीकृत भएको छ । फिल्म जनवरी २५ मा हिन्दीका साथै तमिल र तेलगु डबसहित रिलिज भएको थियो।

सिनेमा रिलिज हुनु अगाडि नै ट्रेलर र गीतका दृष्यलाई लिएर विवाद उत्पन्न भएका थिए । सेन्सर्ड बोर्डले १० वटा दृष्य हटाएर मात्रै प्रदर्शनको अनुमति दिएको थियो।

सिनेमामा शाहरुख खान, दीपिका पादुकोणे र जोन अब्राहिमको मुख्य भूमिका छ। अर्का बलिउड सुपरस्टार सलमान खानको ‘टाइगर’ का रूपमा छोटो भूमिका छ ।

फिल्मको कथावस्तुले भने भारतीय राष्ट्रवादको मोदी संस्करणलाई समर्थन र प्रतिरक्षा गर्दछ । विशेषतः सन् २०१९ अक्टोबर ३१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले संविधानको धारा ३७० खारेज गरे पछिको स्थितिमा उत्पन्न भारत–पाकिस्तान विवाद, षड्यन्त्र र बदलाको भावना वरिपरि फिल्मको कथा घुम्दछ । तर, सिनेमाले अन्ततः भारतीय भावनाको रक्षा गर्दछ ।

सुपरस्टार शाहरुख खान सिनेमामा ‘लिड रोल’ पठान बनेका छन् । उनी भारतीय गुप्तचर संस्था ‘रअ’ फिल्ड अफिसरको भूमिकामा छन् । सिनेमामा उनलाई मोदी राष्ट्रवादको प्रतिरक्षा गर्नुपर्ने एक काविल जासुसको रूपमा देखाइएको छ।

तर, दुर्भाग्य के छ भने आरएसएस र भाजपाका नेता कार्यकर्ताले पठानको चर्को विरोध गरिरहेका छन् । उनीहरूले सामाजिक सञ्जालमा पठान बहिष्कारलाई ट्रेन्डिङ गरिरहेका छन् भने कतिपय सिनेमा हल अगाडि हनुमान चालिसा पढ्दै दर्शकलाई अवरोध गर्न खोजिएका दृष्य समाचारमा आएका छन् ।

भाजपा र आरएसएस कार्यकर्ताको बहिष्कारको धम्की र विरोधका बाबजुद सिनेमाले भव्य सुरुवात गरेको छ । सिनेमा रिलिज भएको पहिलो दिन हिन्दी भर्सनले मात्रै ५५ करोडको व्यापार गरेको थियो । भारतीय सिने इतिहासमा हिन्दी फिल्मले गरेको ‘ओपनिङ इनकम’ अहिलेसम्मको उच्च हो ।

प्रोडक्सन हाउस यशराज फिल्मका अनुसार विदेशमा ३६ करोड र अन्य भाषामा २ करोड गरेर पहिलो दिन नै एक अर्बको आँकडा पार गरेको छ । यो पनि आफैँमा कीर्तिमान हो । दोस्रो दिन भारतमा बिदा रहेकाले कमाइ झन् बढेको छ ।

बिहीबार यसले ७० करोड कमाएको बताइएको छ । यसरी हेर्दा २५० करोड रुपैयाँ लागतमा बनेको यो सिनेमाले २ दिनमै १२० करोडको कमाइ गरिसकेको छ । शाहरुख खानका कुनै पनि सिनेमाले दुई दिनमा एक अर्बको आँकडा पार गरेको पनि पहिलो हो ।

पठान बहिष्कारको ट्रेड चलाइरहेकाको आपत्ति भने नायिका दीपिका पादुकोणेले लगाएरको गेरुरंगको विकिनीमा केन्द्रित छ । गेरुरंग हिन्दू धर्मालम्बीको पवित्र रंग हो । सिनेमाको एउटा गीत ‘बेशरम रंग’ मा छायांकन गरिएका दीपिका पादुकोणेका केही छोटा वस्त्रका दृष्यले विवाद खडा गरेको थियो । विवादका बाबजुद सेन्सर बोर्डले ती दृष्य भने काटेको छैन ।

सिनेमाको कथामा भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आईएसआईकी पूर्व अफिसर रुविना मोहसिन बनेकी छन् । सिनेमाको कथा बहुद्देशीय कथा र सञ्जालको बृहत् परिप्रेक्ष्यमा हुन्छ । यसले भारत, पाकिस्तान, दुबई, अफगानिस्तान, स्पेन र रुसको सेरोफेरोमा ‘ब्रह्माण्डी कथा’ पक्रेको छ । सिनेमाका कथाकार निर्देशक सिद्धार्थ आनन्द आफैँ हुन् ।

भारत सरकारले संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानी सेनाका जर्नेल कादिरको मनमा उत्पन्न भएको भारतविरोधी भावना र बद्लाको योजनाबाट फिल्मको कथा बुनिएको छ। सिनेमाको समग्र कथा र उद्देश्य हेर्दा भाजपा र आरएसएसले यसको विरोध र बहिष्कार गर्नुपर्ने गतिलो कारण देखिँदैन । सिने समीक्षकले भने पठानको जोडदार समर्थन गरेका छन्।

कोरोना महाव्याधिपछि सुस्त हुँदै गएको बलिउड सिने उद्योगलाई पठानले नयाँ जीवन दिएको उनीहरुको ठहर छ । शाहरुख र दीपिकाको युगल उपस्थिति रहेका यस अघिका ‘चेन्नेई एक्सप्रेस’, ‘ओम शान्ति ओम’ र ‘ह्यापी न्यु इयर’ ले राम्रो व्यवसायिक सफलता पाएका थिए । सन् २०१८ को जिरोपछि शाहरुख खान ठूलो पर्दाको व्यवसायिक सिनेमामा देखिएका थिएनन् ।

उनको कमब्याक शानदार भएको छ । सिनेमाले बम्बर सुरुवात गरेपछि ‘बायकट ग्याङ’ सुस्ताएको छ । भाजपा र आरएसएस समर्थक यो ग्याङको निशानामा शाहरुख खान र दिपिका थिए । त्यसको कारण थियो शाहरुख मुस्लिम हुनु र दीपिकाले जेएनयूमा विद्यार्थीमाथि भएको आक्रमणको विरोधमा ऐक्यबद्धता जनाउनु ।

यही सिनेमालाई आधार बनाएर धार्मिक ध्रुवीकरणको भरपुर प्रयास भएको थियो । तर, सिनेमाको शानदार प्रदर्शनसँगै घृणा फैलाउने र साम्प्रदायिक सदभाव खल्बल्याउने समूह पराजित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved