छैटौं निफको मिति घोषणा, ३५ देशका ९५ चलचित्रले प्रतिस्पर्धा गर्ने

नेपालभ्युज

छैटौं निफको मिति घोषणा, ३५ देशका ९५ चलचित्रले प्रतिस्पर्धा गर्ने

काठमाडौं। छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ (निफ) को मिति घोषणा गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा आज महोत्सवको घोषणा गरिएको हो । कार्यक्रममा केसीसहित कलाकारहरू नीर शाह, गौरी मल्ल, सरिता गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायतका कलाकार उपस्थित थिए ।

आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो । महोत्सवमा ५५ देशका ५ सय बढी फिल्मबाट छनोट भएका ३५ देशका ९५ फिल्मबीच प्रतिस्पर्धा हुने निफ अध्यक्ष केपी पाठकले जानकारी दिए ।

विगतमा झै महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरूको ७ विधामा १४ पुरस्कार प्रदान गरिने उनले बताए । यस पटकबाट निफका प्रतिस्पर्धी फिल्महरूलाई विभिन्न सिनेमा घरहरूमा प्रदर्शनसमेत गरिनेछ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १५०० अमेरिकी डलरसहितको गौतम बुद्ध अवार्ड, आईएफएफएस डन क्युजेट अवार्ड, १००० अमेरिकी डलरसहितको माउन्ट एभरेस्ट अवार्ड र ५०० अमेरिकी डलरसहितको बाग्मती अवार्ड र मञ्जुश्री अवार्ड रहेको छ । भने राष्ट्रिय प्रतियोगिताअन्तर्गत १ लाख रुपैयाँ पुरस्कार सहितको बेस्ट फिचर फिल्म अवार्ड, ५० हजार सहितको बेस्ट सर्ट फिल्म अवार्ड र एके शेर्पा अवार्ड समावेश गरिएको छ ।

त्यस्तै, प्रतियोगितामा परेका फिचर फिल्महरूबाट एक-एकजनाले उत्कृष्ट छायांकन अवार्ड, उत्कृष्ट पटकथा अवार्ड, उत्कृष्ट चलचित्र निर्देशन अवार्ड, बेस्ट मेल अवार्ड र बेस्ट फिमेल अवार्ड पाउनेछन् ।

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गर्न लागेको निफ नेपालकै सबैभन्दा ठूलो प्रमुख वार्षिक चलचित्र र सांस्कृतिक कार्यक्रम हो । २०१८ मा सुरू भएको यो महोत्सव संसारभरबाट कथा र कथाका विविध रूपहरू मनाउनका निम्ति स्थापना गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved