पोखरा विमान दुर्घटना : आयोगले संकलन गर्‍यो जहाजको उपकरण र कागजात

नेपालभ्युज

पोखरा विमान दुर्घटना : आयोगले संकलन गर्‍यो जहाजको उपकरण र कागजात

काठमाडौं ।  यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात संकलन गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै दुर्घटनास्थलको पुनःविस्तृत निरीक्षण गरी आवश्यक पार्टपूर्जा, वायुयानका रेकर्ड, केही प्रत्यक्षदर्शीसँगको कुराकानी र वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलन गरिसकेको जनाएको छ । ‘नियामक निकायलगायतबाट थप कागजात सङ्कलनको काम भइरहेको छ’, विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार दुर्घटना जाँचको सन्दर्भमा महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डर नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्षजनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण एवं विश्लेषण गर्न लैजाने तयारी भइरहेको छ ।

‘अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगद्वारा अनुसन्धान जारी रहेको र सबै प्रक्रिया पूरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरिने छ’, विज्ञप्तिमा भनिएको छ । उक्त जहाज दुर्घटनामा चालक दलका सदस्यसहित ७१ जनाको निधन भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ । दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved