कहाँ पुग्यो ‘समाजवादी केन्द्र’ बनाउने प्रयास ?

आइतबार साँझ माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच लामो गोप्य छलछल भएको थियो । स्रोतका अनुसार करिब ३ घण्टा चलेको छलफलमा प्रचण्डले माधव नेपाल र उपेन्द्र यादवलाई एउटै समाजवादी केन्द्रमा आउन किन जरुरी छ भनेर ‘कन्भिन्स’ गर्ने प्रयत्न गरेका थिए ।

कहाँ पुग्यो ‘समाजवादी केन्द्र’ बनाउने प्रयास ?

काठमाडौं। आम चुनावअघि नै नेकपा (एमाले) बाहेकका ‘कम्युनिस्ट’ र कम्युनिस्ट विचारसँग निकटता राख्ने ‘समाजवादी’ पार्टी मिलेर ‘समाजवादी केन्द्र’ बनाउने चर्चा चलेको थियो । त्यसको पहलकदमी स्वरूप केही बैठक र छलफलसमेत भएका थिए ।

तर, मुखैमा चुनाव आएको कारणले त्यो सम्भव भएको थिएन । वामपन्थी पार्टीहरूले यो प्रयासलाई पुन जोड्ने प्रयत्न सुरुवात गरेका छन्।

यस प्रक्रियाको पहिलो कडीका रूपमा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता हुँदैछ । नेसपाले माओवादीकै चुनाव चिह्न प्रयोग गरिसकेको हुँदा यसलाई खासै जटिल कार्य मानिएको छैन । माओवादी तर्फबाट कृष्णबहादुर महरा र नेसपातर्फबाट गंगानारायण श्रेष्ठको संयोजकत्वमा बनेका वार्ता टोलीले केही चरण छलफल गरिसकेका छन् । अब केही दिनमै यो टुङ्गो लाग्ने सम्भावना छ ।

वार्ता टोलीले २ महिनाभित्रै एकता प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखेका छन्। पार्टीको नामबाट ‘माओवादी’ हटाउन र नेकपा (समाजवादी) राख्न सहमति भइसकेको वार्ता टोलीका एक सदस्यले बताएका छन् ।

उता नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी बीचका वार्ता टोलीले पनि केही चरण छलफल गरिसकेका छन् । यस प्रक्रियामा भने एकीकृत समाजवादीतर्फ जुनस्तरको उत्साह देखिन्छ, जसपातर्फ त्यही स्तरको विकासक्रम छैन। पार्टी अध्यक्ष उपेन्द्र यादव ‘कम्युनिस्ट’ पार्टीमा फर्किने मनस्थितिमा छैनन् । माधव नेपाल ‘नेकपा’ छोड्न राजी छैनन् । अरु धेरै कुरा मिले पनि यही जटिलताले पार्टी एकता सम्भव नभएको जसपा तर्फको बुझाइ छ ।

तर, जसपा वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठ भने एकताका लागि अधिकतम प्रयत्न गर्ने मनस्थितिमा छन्। पहाडी तथा जनजाति मूलका नेताहरूले उपेन्द्र यादवसँग आफ्नो राजनीतिक भविष्य देख्न छोडेका छन् । ‘नेकपा’ स्वीकार गरेरै सही कुनै न कुनै कम्युनिस्ट धारमा फर्किने मनस्थितिमा उनीहरू देखिन्छन् । विशेषतः संसदीय दलको नेता छनोट प्रक्रियामा अध्यक्ष यादवले देखाएको रवैयाले अर्को समूहलाई यस्तो ठाउँमा पुर्‍याएको हो ।

अशोक राई जत्तिको वरिष्ठ नेता संसदीय दलमा हुँदाहुँदै उपेन्द्र यादवले ‘मधेश संवेदनशीलता’ को नाममा गुटबन्दीको भावनाबाट प्रेरित भई रामसहाय प्रसाद यादवलाई अघि सारेपछि पहाडी जनजाति मूलका नेता, कार्यकर्तामा व्यापक निराशा छाएको छ ।

करिब एक साताअघि एक कार्यकर्ता भेटघाटमा राजेन्द्र श्रेष्ठले भनेका थिए,–‘अब उपेन्द्रजीसँगको सहकार्य लामो जाला जस्तो छैन । मधेस-मधेस मात्रै भनेर सबैको राजनीतिक भविष्य बिगार्ने कुरा भएन । त्यहाँ बसेर अरुको राजनीतिक भविष्य देखिएन । तसर्थ, उचित अवसरमा अब उचित निर्णय लिनै पर्छ ।’

श्रेष्ठले चैतमा हुने भनिएको विधान अधिवेशनसम्म पर्खने र त्यतिन्जेलसम्म एकीकृत समाजवादीसँग एकताको कुरा नमिले सामूहिक रूपमा सल्लाह गरेर नयाँ ढंगले अघि बढ्नुपर्ने पनि बताएका थिए ।

राजेन्द्र श्रेष्ठ मात्र हैन, जसपामा अशोक राई, सुशीला श्रेष्ठ, रकम चेम्जोङ, रणध्जव कन्दङ्वालगायतका नेताहरू ठीक यस्तै मनस्थितिमा पुगेका छन् । उनीहरूको शंका छ– उपेन्द्र यादवले कुनै सानो समूहसँग पार्टी एकता गरी महाधिवेशन अरु केही वर्ष टार्न पनि सक्दछन् ।

अर्कोतिर, आइतबार साँझ माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच लामो गोप्य छलछल भएको थियो । स्रोतका अनुसार करिब ३ घण्टा चलेको छलफलमा प्रचण्डले माधव नेपाल र उपेन्द्र यादवलाई एउटै समाजवादी केन्द्रमा आउन किन जरुरी छ भनेर ‘कन्भिन्स’ गर्ने प्रयत्न गरेका थिए ।

प्रचण्ड, माधव, उपेन्द्र, बाबुराम र झलनाथसँगै हुँदा केही न केही तरङ र शक्ति पैदा हुन्छ । यही संसदमा पनि ५४ सिटको निर्णायक तेस्रो शक्ति बन्छ, त्यसो गर्दा सबैले एमाले र कांग्रेसको दबाबमा रहन पर्दैन भन्ने प्रचण्डको तर्क थियो ।

तर, उपेन्द्र यादव भने प्रचण्डको तर्कबाट खासै प्रभावित भएनन् । बैठकपछि आफ्ना निकटस्थलाई ब्रिफिङ गर्दै उनले भने,–‘ओली र देउवाको दबाब कम गर्न प्रचण्डले यो प्रस्ताव अगाडि ल्याएका हुन्। अहिले नै प्रचण्डलाई विश्वास गरेर पार्टी एकता गर्न सकिँदैन’ भनेका थिए । स्रोतका अनुसार उपेन्द्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनावसम्म पर्खेर हेर्ने मनस्थितिमा छन् ।

जसपालाई उपराष्ट्रपति दिन प्रचण्डमाथि उपन्द्रले दबाब बनाइरहेका छन् । तर, प्रचण्डले अहिलेसम्म वचन दिएका छैनन् । उपेन्द्रले ‘प्रचण्डको विश्वास गर्न सकिँदैन’ भन्नुको एउटा कारण यो पनि हुन सक्दछ । उपराष्ट्रपति प्राप्त भए रामसहायप्रसाद यावदलाई पठाएर बारा–२ मा उपचुनाव लड्ने र संसदमा आउने उपेन्द्रको चाहना तीव्र हुँदै गएको जसपाका एक कार्यकारिणी सदस्य बताउँछन् ।

माधव नेपाललाई भने कतै न कतै एकता गर्न कार्यकर्ताको चर्को दबाब छ । कि एमालेतिर नै फर्कियौं कि नेकपा कालिन मान्यतामा आधारित भएर बाँकी सम्भव कम्युनिस्ट र वामपन्थी समूहसँग एकता गरौं, अन्यथा भिन्नै पार्टी टिकाउन सकिँदैन भन्ने सोच त्यहाँ प्रबल हुँदै गएको छ ।

एमालेमा फर्किने विकल्प निरन्तर साँघुरो हुँदै गएको छ । एमालेमा अझै करिब ४ बर्ष केपी शर्मा ओलीको नेतृत्व रहन्छ । हिजो उनले भीम रावल र घनश्याम भुसालसँग गरेको व्यवहारबाट नै भोलिको व्यवहार कस्तो हुन्छ भन्ने प्रष्ट छ । तसर्थ, एमालेतिर नफर्किऔं बरु माओवादी र जसपासँगै एकता गरौं भन्ने सोच त्यहाँ हाबी हुँदै गएको बताइन्छ ।

प्रचण्ड, माधव, बाबुराम, उपेन्द्र, झलनाथ एक ठाउँ हुने हो भने अरु थुप्रै साना कम्युनिस्ट तथा वामपन्थी समूह पनि त्यसमा आउन सक्नेछन् । वामदेव गौतम लगायतको त त्यही कामना छ । यो प्रक्रियामा उपेन्द्र यादव आएनन् भने पनि राजेन्द्र श्रेष्ठको नेतृत्वमा एउटा समूह जसपाबाट निस्किएर यस प्रक्रियामा सामेल हुने सम्भावना बढेको छ ।

तर, त्यसरी एकीकृत हुने राजनीतिक शक्तिको नाम ‘समाजवादी केन्द्र’ हुने कि नेकपा (समाजवादी केन्द्र) हुने यो अन्योल भने कायमै छ । यथार्थमा यो अन्योलभन्दा पनि सबैभन्दा ठूलो जटिलता हो । प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल ‘नेकपा’ छोड्न चाहँदैनन् । बाबुराम, उपेन्द्र, अशोक राई र राजेन्द्र श्रेष्ठ भने आफूहरूले छोडिसकेको ‘कम्युनिस्ट’ अरुले पनि छोड्न राजी भइदिए हुन्थ्यो भन्ने धारणा राख्दछन् । तर, ‘नेकपा’ छोड्ने सम्भावना भने न्यून छ ।

त्यसो भए बाबुराम, अशोक र राजेन्द्र श्रेष्ठ ‘नेकपा’ ब्रान्डमै फर्किन राजी हुन सक्नेछन् । तर, उपेन्द्र यादव भने ‘नेकपा’ ब्रान्डमा राजी हुने सम्भावना कम छ । त्यस्तो स्थिति आए उपेन्द्रले आफ्नो समूहलाई ‘मधेश केन्द्रित दल’ कै रूपमा पुनर्गठित गर्न र मधेशतिरकै समूहहरूसँग एकताको प्रयत्न गर्न लाग्न सक्नेछन् ।

यी सबै आन्तरिक अभ्यास, छलफल टुंगोमा पुग्न अझै ६ महिना लाग्न सक्ने बताइन्छ । एकीकृत समाजवादी निकट एक नेता भन्छन्–‘सबै आत्तिएका छन् । यसरी हुँदैन भन्ने सबैलाई परेको छ । तर, कसरी अगाडि बढ्ने भन्ने अन्योल छ । हतार गर्नु पनि उचित छैन । ६ महिना, वर्ष दिनभित्रै यो प्रयासले कुनै परिणाम दिन सक्दछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved