ज्यासिन्डा अर्डनको लोभलाग्दो बहिर्गमनलाई नेपालबाट हेर्दा

नेपालजस्ता देशमा सायद यस्ता दृष्टान्त अझै दशकौं बन्ने छैनन् । यस्तो राजनीतिक चरित्र र संस्कृति निर्माण हुन सके सायद नेपाल पनि न्युजिल्यान्ड जस्तै हुन्थ्यो होला । कुनै देश किन न्युजिल्यान्ड जस्तो हुन्छ र किन कुनै नेपालजस्तो ? त्यसको कुनै प्राकृतिक कारण हुँदैन ।

ज्यासिन्डा अर्डनको लोभलाग्दो बहिर्गमनलाई नेपालबाट हेर्दा

नेपाल भ्युज।औसत शासक सत्तामा आउँदा निकै लोकप्रिय र चर्चित हुन्छन् । सत्ताबाट बहिर्गमित हुँदै गर्दा या त लोकप्रियता घटेको हुन्छ या बदनाम हुन्छन् । अझ कतिपयले त चर्को जनअसन्तुष्टि सामना गर्दै सत्ता छोडनुपर्ने हुन्छ । यसका विरलै अपवाद हुन्छन् । त्यस्तै, एउटा अपवाद बन्न पुगेकी छन् न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डन ।

अर्डन सन् २०१७ मा न्युजिल्यान्डको सत्तामा आउँदा ३७ वर्षकी थिइन् । ५ वर्षपछि ४२ वर्षको उमेरमा उनले प्रधानमन्त्रीबाट स्वेच्छिक राजीनामा गरेकी छन् । उनको उदय जति आकस्मिक, आश्चर्यजनक र चमत्कारिक थियो, बर्हिगमन पनि उत्तिकै लोभलाग्दो बन्न पुगेको छ ।

उनी ख्याति, प्रसिद्धि, सफलता र लोकप्रियताको शिखरमा हुँदै सत्ता छोड्ने दुर्लभ शासक बनेकी छन्। उमेर र स्वास्थ्यको कारणले पनि उनले सत्ता छोडिहाल्नुपर्ने कुनै कारण थिएन न त कुनै राजनीतिक कारण नै थियो । तथापि, ज्यासिन्डाले सत्ता छोडिन् ।

त्यसको उनले बडो भावुक र संवेदनशील कारण बताइन् । ‘उनी मानसिक थकानमा छन् । उनी आफ्नो बच्चा र परिवारलाई समय दिन चाहन्छिन् । उनी अझै पदमा बस्नु देशका लागि अहितकर हुन सक्दछ ।’

संसारमा विरलै त्यस्ता शासक जन्मिन्छन्, जसले आफैँ भन्न सक्छ कि ‘म अझै पदमा बस्नु देशका लागि अहितकर हुन सक्दछ ।’ त्यो पनि ४२ वर्षीया युवतीले । यसले के पुष्टि गर्दछ भने अर्डनमा एक गहिरो मानवीय संवेदनशीलता मात्र थिएन, आफ्नो देश, राष्ट्र र जनताप्रति उत्तिकै जवाफदेहिताको भावना पनि थियो ।

अर्डन बनिबनाउँ, ठूलो र सत्तासीन पार्टीको शासकीय अवसरलाई सिँढी बनाएर सत्तामा आएकी थिइनन्, न त उनी राजनीतिक शक्ति सम्भ्रान्त र वृतभित्रकी पात्र थिइन् । सत्तामा आउनका लागि उनको संघर्ष पनि बिछट्टै दुर्लभ थियो ।

न्युजिल्यान्डमा लेबर पार्टीको स्थापना सन् १९१६ मा भएको थियो । ‘कमनबेल्थ’ राष्ट्रमा लेबर पार्टी एक प्रकारले बेलायती साम्राज्यकै उपहार थियो । बेलायतको श्रमिक आन्दोलन र लेबर पार्टीको उदयसँगै अधिकांश औपनिवेशिक देशमा पनि त्यही नाममा पार्टी बनेका थिए ।

सन् २००८ देखि लेबर पार्टी निरन्तर प्रतिपक्षमा थियो । यो पार्टीप्रतिको विश्वास कम हुँदै गएको थियो । यही परिदृष्यमा न्युजिल्यान्डको राजनीतिमा ज्यासिन्डा अर्डनको उदय भयो ।

न्युजिल्यान्डको पार्टी त्यो बेला बेलायती लेबर पार्टीको शाखाजस्तो थियो । देश स्वतन्त्र भएसँगै न्युजिल्यान्ड लेबर पार्टी पनि सार्वभौम देशको स्वतन्त्र राजनीतिक दल भयो । संसारभरिकै लेबर पार्टीहरू सिद्धान्ततः सेन्टर–लेफ्ट हुन् । तर, यस्ता पार्टी उत्तिकै ‘प्रग्माटिस्ट’ पनि हुन्छन् । न्युजिल्यान्डको लेबर पार्टीमा पनि यी दुवै चरित्र सँगसँगै थिए । यो न्युजिल्यान्डको सबैभन्दा पुरानो पार्टी पनि हो ।

सन् १९३० मा लेबर पार्टी पहिलोपटक न्युजिल्यान्डको सत्तामा पुगेको थियो । त्यसपछि यो पार्टीको तर्फबाट १० प्रधानमन्त्री भइसकेका छन् । तर, सन् २००८ देखि लेबर पार्टी निरन्तर प्रतिपक्षमा थियो । यो पार्टीप्रतिको विश्वास कम हुँदै गएको थियो । यही परिदृष्यमा न्युजिल्यान्डको राजनीतिमा ज्यासिन्डा अर्डनको उदय भयो ।

सन् २००८ को निर्वाचनमा उनी पहिलोपटक लेबर पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् । त्यतिखेर उनी २८ वर्षकी थिइन् । लेबर प्रधानमन्त्री हेलेन क्लार्कको कार्यकालमा एक अनुसन्धानकर्ताको रूपमा उनी प्रधानमन्त्रीको कार्यालय छिरेकी थिइन् । क्लार्कले उनलाई जागिरेबाट लेबर एक्टिभिस्ट बनाइन् ।

सन् २०१७ मा ज्यासिन्डाले प्रत्यक्ष निर्वाचनक्षेत्रबाट जितिन्, साथै चुनौतीहीन ढंगले लेबर पार्टीको नेता बनिन् । उनले नेतृत्व हासिल गर्दा लेबर पार्टीको जम्मा १४ सिट थियो । आफ्नो नेतृत्वकालको पहिलो चुनावमै उनले ४६ सिटमा पुर्‍याइन्। सन् २०१७ को चुनावमा उनको पार्टी दोस्रो भएको थियो । तर, यसले उनलाई गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर जुर्यो र ३७ वर्षको उमेरमा प्रधानमन्त्री भइन् ।

समकालीन विश्वमा न्युजिल्यान्डको खासै सामरिक महत्त्व छैन । यो विश्व शक्ति राष्ट्र पनि हैन । न्युजिल्यान्ड दक्षिण–पश्चिमी प्रशान्त किनारमा अवस्थित ‘कमनबेल्थ’ राष्ट्र हो । कुनै वेला यो देश माओरी जातीय समुदायको राज्य थियो । अंग्रेज साम्राज्यसँगै त्यहाँ ‘बेलायती गोरा’ पुगे । रैथाने समुदाय विस्तारै अल्पमतमा परे । न्युजिल्यान्ड आज पनि बेलायतकी महारानीलाई आफ्नो ‘मानार्थ राष्ट्र प्रमुख’ मान्दछ ।

ज्यासिन्डा प्रधानमन्त्री भएसँगै विश्व संचार माध्यमको ध्यान तानियो । उनी निरन्तर चर्चा र प्रसंशाको पात्र बनिन् । युवा तथा महिला नेतृत्व उनीप्रतिको आकर्षणको एउटा कारण हुनसक्छ । तर, त्योभन्दा बढी उनको चर्चा ‘गुणस्तरीय नेतृत्व’ को कारणले हुने गर्‍यो ।

क्षेत्रफलमा न्युजिल्यान्ड विश्वको ७५औं ठूलो राष्ट्र हो । प्रशान्त सागरका सयौं स-साना टापुहरू यसमा सामेल छन् । जनसंख्यामा भने १२०औं स्थानमा छ । करिब ५० लाख मात्र यसको जनसंख्या छ । तर, मानवीय विकास सुचकांकमा भने यो देश उच्च १४औं स्थानमा छ । प्रतिव्यक्ति आय ४० हजार डलर भन्दा बढी छ ।

ज्यासिन्डा प्रधानमन्त्री भएसँगै विश्व सञ्चार माध्यमको ध्यान तानियो । उनी निरन्तर चर्चा र प्रशंसाको पात्र बनिन् । युवा तथा महिला नेतृत्व उनीप्रतिको आकर्षणको एउटा कारण हुनसक्छ । तर, त्यो भन्दा बढी उनको चर्चा ‘गुणस्तरीय नेतृत्व’ को कारणले हुने गर्‍यो । उनको कार्यशैलीमा मानवीय संवेदनायुक्त सोच, चुस्त व्यवस्थापकीय क्षमता, जिम्मेवार अभिव्यक्ति, सुशासन, निरन्तर आर्थिक प्रगति, विपक्षीप्रतिको सहिष्णुता, समन्वय, सहकार्य र गतिशीलता अभिव्यक्त भए ।

सन् २०२० को प्रारम्भमा जब विश्व कोभिड–१९ को महाव्याधीले आक्रान्त थियो, संसारका सबैजसो देशले लामो लकडाउन गरे, त्यस्तो बेला अर्डनले भने न्युजिल्यान्डमा कोरोना नियन्त्रणको एक भिन्नै मोडेल प्रस्तुत गरेकी थिइन् र त्यसमा उल्लेखनीय सफलता पनि पाएकी थिइन् ।

विश्वभरि साँघुरो राष्ट्रवाद र डेमागग कार्यशैलीको बिगबिगी रहेको बेला उनी फरक प्रकारको राजनीतिक नेतृत्व बन्न पुगिन्। करिब थला परेको देशकै पुरानो पार्टीलाई नयाँ पुस्ताबीच उनले लोकप्रिय मात्र बनाइनन्, सरकारमा पनि पुर्‍याइन् र नयाँ चुनावपछि एकल बहुमत पनि हासिल गराइन् ।

सन् २०२० को अक्टोबरमा भएको निर्वाचनमा लेबर पार्टीले एकल बहुमत हासिल गर्‍यो । १२० सदस्यीय संसदमा लेबरले ६४ सिट जितेको थियो । अझ महत्त्वपूर्ण कुरा ४९% समानुपातिक भोट प्राप्त गरेको थियो । न्युजिल्यान्डको यो चुनावलाई विश्वभरि उत्सुकताका साथ हेरिएको थियो ।

विश्व सञ्चारमाध्यममा ज्यासिन्डाको जुन प्रकारको चर्चा र प्रसंशा थियो, त्यो वास्तविक हो वा कृत्रिम भन्ने जिज्ञासा थियो । स्वयं न्युजिल्यान्डका जनता र मतदाताले उनलाई कसरी हेरिरहेका छन् भन्ने प्रश्न पनि थियो ।

ज्यासिन्डा र लेबर पार्टीलाई यो सफलता विपक्षीविहीनताको अवसरबाट उपलब्ध भएको हैन । न्युजिल्यान्डमा बलियो विपक्ष थियो । दोस्रो पार्टीको नेताका रूपमा ज्यासिन्डाले गठबन्धन बनाएकी थिइन् । जुडिथ कोलिन नेतृत्वको नेसनल पार्टी संसदमा पहिलो पार्टी थियो । ज्यासिन्डाले बलियो प्रतिपक्षी दल र लोकप्रिय विपक्षी नेताको सामना गर्नुपरेको थियो ।

यति धेरै चुनौतीका बाबजुद ज्यासिन्डाको नेतृत्वमा लेबर पार्टीको विजयले न्युजिल्यान्डमा खुसियाली र उत्साहको माहोल सिर्जना गरेको थियो । तर, आफ्नै नेतृत्वमा प्राप्त बहुमतको सुविधालाई समेत त्याग गर्दै ज्यासिन्डा सत्ताबाट बाहिरिँदै छिन् । 

यति धेरै चुनौतीका बाबजुद ज्यासिन्डाको नेतृत्वमा लेबर पार्टीको विजयले न्युजिल्यान्डमा खुसियाली र उत्साहको माहोल सिर्जना गरेको थियो । तर, आफ्नै नेतृत्वमा प्राप्त बहुमतको सुविधालाई समेत त्याग गर्दै ज्यासिन्डा सत्ताबाट बाहिरिँदै छिन् ।

जनवरी २५ बाट उनले प्रधानमन्त्री पद छोड्ने घोषणा गरिसकेकी छन् । उनको ठाउँमा पार्टीले क्रिस हिपकिन्सलाई अघि सारेको छ । सत्ताबाट बाहिरिँदै गर्दा पनि विश्व सञ्चारमाध्यममा उनको उत्तिकै प्रशंसा भइरहेको छ । ज्यासिन्डा अर्डनको मानवीय र शासकीय संवेदनशीलताले न्युजिल्यान्डको छवि विश्वमै नयाँ ढंगले उजिलिएको छ ।

नेपालजस्ता देशमा सायद यस्ता दृष्टान्त अझै दशकौं बन्ने छैनन् । यस्तो राजनीतिक चरित्र र संस्कृति निर्माण हुन सके सायद नेपाल पनि न्युजिल्यान्ड जस्तै हुन्थ्यो होला । कुनै देश किन न्युजिल्यान्डजस्तो हुन्छ र किन कुनै नेपालजस्तो ? त्यसको कुनै प्राकृतिक कारण हुँदैन ।

त्यसका लागि हावा, पानी, माटोलाई जस दिन वा दोष लगाउन मिल्दैन । प्रश्न फेरि पनि मानवीय संवेदनशीलता, संस्कृति, चरित्र र क्षमतास्तरकै हो । त्यसमा उल्लेखनीय सुधार नहुन्जेलसम्म नेपाल र नेपालजस्ता देशमा ज्यासिन्डा अर्डनजस्ता शासकको उदय सम्भव हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved