आलेख

वामपन्थ, बहुध्रुवीयता र फाँसीवादी अधिनायकवादको भेटघाट

विश्व वामपन्थले दक्षिणपन्थको जस्तै भाषामा तानाशाहीलाई समर्थन गर्ने विनाशकारी बाटो अविलम्ब सच्याउन र आफ्नो कम्पासलाई पुनर्स्थापित गर्न अत्यावश्यक भइसकेको छ।

वामपन्थ, बहुध्रुवीयता र फाँसीवादी अधिनायकवादको भेटघाट
लेखक

बहुध्रुवीयता अन्तर्राष्ट्रिय सम्बन्धबारे वामपन्थी बुझाइलाई अभिमुखीकरण गर्ने कम्पास हो । भारतीय र वैश्विक वामपन्थका सबै शाखाले लामो समयदेखि अमेरिकी साम्राज्यवाद आधिपत्य एकध्रुवीय विश्वको विरुद्धमा बहुध्रुवीय विश्वको पैरवी गर्दै आएका छन् ।

ठीक यही समयमा, ‘बहुध्रुवीय विश्व’ फाँसीवाद र अधिनायकवादहरूको मूल साझा भाषा बनेको छ । यसले तानाशाहीहरूको लोकतन्त्र विरुद्धको युद्धलाई साम्राज्यवादविरुद्धको युद्धको जामा पहिर्‍याइदिने काम गरेको छ । विश्व वामपन्थले अन्तर्राष्ट्रिय सम्बन्धमा साम्राज्यवाद विरुद्धको सीमारेखाका रूपमा बहुध्रुवीयतालाई स्वागत गर्दा अधिनायकवादले आफूलाई वैधानिकीकरण गर्ने र स्वांग पार्ने असीमित सामर्थ्य प्राप्त गरेको छ।

राष्ट्रिय राज्यहरूको आन्तरिक तथा आपसी राजनीतिक टकरावलाई बुझ्ने कि बहुध्रुवीयता कि एकध्रुवीयताको शून्य बिकल्प तयार गर्ने वामपन्थको उत्कृष्ट काल्पनिक कथा सधैं भ्रामक र गलत थियो । तर, आज बहुध्रुवीयताको काल्पनिकी भ्रामक मात्र हैन, खतरनाक समेत छ । किनकि, यसले फाँसीवाद र अधिनायकवादलाई सेवा गर्ने नाटकीय उपकरणको रूप लिएको छ।

मूल्यहीन बहुध्रुवीयताको दुर्भाग्यपूर्ण वामपन्थी प्रतिबद्धता युक्रेनमाथि रुसी आक्रमणबारे अभिव्यक्त प्रतिक्रियाहरूको उदाहरणमा बढो स्पष्ट देख्न सकिन्छ । विश्वका र भारतीय वामपन्थीले अमेरिकी नेतृत्वको एक ध्रुवीय साम्राज्यवादविरुद्ध बहुध्रुवीय चुनौतीका रूपमा युक्रेनमाथिको आक्रमणलाई प्रतिरक्षा गरेर रुसी फाँसीवादी विमर्शलाई धेर वा थोर वैधानिकीकरण र दुस्प्रचार गरेका छन्।

फासिस्ट हुने स्वतन्त्रता

सेप्टेम्बर ३० मा युक्रेनका ४ प्रदेश कब्जाको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो स्पष्ट गरेका थिए कि, उनको वैचारिक रूपरेखाभित्र बहुध्रुवीयता र लोकतन्त्रको अर्थ के कस्तो हो । उनले बहुध्रुवीयतालाई पश्चिमा शक्तिले तिनका छलपूर्ण मूल्यमान्यतालाई लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यता स्थापित गर्ने प्रयत्न, पश्चिमा र अन्यत्रका बहुसंख्यकहरूको ‘पराई मूल्य’ विरुद्धको स्वतन्त्रताका रूपमा परिभाषित गरे।

पुटिनको यो बयानले विधिआधारित व्यवस्था, लोकतन्त्र र न्यायको अवधारणा पश्चिमाले लाद्ने खोजेको साम्राज्यवादी विचारधाराबाहेक केही पनि हैन भन्दै अन्य राष्ट्रहरूको सार्वभौमसत्ता हनन गर्न पाउने बहानाको रूपमा घोषणा गर्दछ ।

आखिरमा स्वतन्त्रताका लागि लडेका वा लड्दै आएका भनेको उपनिवेशिक राष्ट्रका जनता नै हुन । साम्राज्यवादी देशका जनता तिनकै सरकारले गरेका नश्लवाद, युद्ध, हस्तक्षेप, कब्जाको विरुद्ध र लोकतन्त्र र न्यायको पक्षमा प्रदर्शन गर्न आएका छन्। पुटिनले ती जनतालाई समर्थन गरिरहेका छैनन् ।

पुटिनले उपनिवेशवाद, साम्राज्यवाद, आक्रमण, हस्तक्षेप, कब्जा, नरसंहार र ‘कु’ लगायत पश्चिमा देशहरूले गरेका अपराधहरूको जायज र आक्रोशपूर्ण लामो सुची बनाएर खेल्दा यो बिर्सन सजिलो छैन कि उनको भाषण त्यस्ता अपराधहरूको अन्त्य, न्याय र क्षतिपूरणको माग थिएन । बरु उनी यी तथ्यहरूलाई उपयोग गरेर कुशलतापुर्वक पश्चिमा देशहरूलाई लोकतन्त्रबारे बोल्ने कुनै नैतिक अधिकार छैन भन्ने जनतामा भान पार्दै थिए ।

आखिरमा स्वतन्त्रताका लागि लडेका वा लड्दै आएका भनेको उपनिवेशिक राष्ट्रका जनता नै हुन । साम्राज्यवादी देशका जनता तिनकै सरकारले गरेका नश्लवाद, युद्ध, हस्तक्षेप, कब्जाको विरुद्ध र लोकतन्त्र र न्यायको पक्षमा प्रदर्शन गर्न आएका छन्। पुटिनले ती जनतालाई समर्थन गरिरहेका छैनन् ।

बरु उल्टै पुटिनले संसारका आफैँजस्ता शक्तिहरू–चरम दक्षिणपन्थी, श्वेत सर्वोच्चतावादी, नश्लवादी, महिला, समलैङिगकता र परलैङ्गिकता विरोधीजस्ता राजनीतिक आन्दोलनलाई सांकेतिक समर्थन गर्दै आएका छन् । उनले हस्तक्षेपलाई एक ध्रुवीयताको वर्चश्वलाई उखेलेर फाल्ने एक लाभदायक परियोजनाको अंश मानेका छन्, जसको अर्थ लोकतन्त्र र मानवअधिकारको वैश्विक मूल्य र वास्तविक स्वतन्त्रताविरुद्ध मानिसलाई भड्काउन हो ।

युरेसियन क्षेत्रको एकीकरण परियोजनालाई पुटिनले युरोपियन युनियन र पश्चिमाहरूको एकध्रुवीयतालाई चुनौती दिने बहुध्रुवीयताका रूपमा प्रस्तुत गरेका छन्। यसबाट यो सजिलै बुझ्न सकिन्छ कि यो लोकतन्त्र विरोधी विचाराधारा र राजनीतिक परियोजनाको बाह्यमुखी अभिव्यक्ति हो । ठूला शक्तिका रूपमा अमेरिका र रुसको प्रतिस्पर्धा त्यो एक भिन्नै पक्ष हो ।

एउटै साझा भाषा

‘बहुध्रुवीयता’ र ‘साम्राज्यवाद विरोधी’ भाषा चिनियाँ अतिराष्ट्रवादी अधिनायकवादमा पनि उत्तिकै प्रतिध्वनित छ । युक्रेनमा रुसको आक्रमणभन्दा केही अघि फेब्रुअरीमा जारी पुटिन र सी  चिनफिङको एक संयुक्त प्रेस विज्ञप्तिले उनीहरूको लोकतन्त्र र मानव अधिकारका स्वीकार्य वैश्विक मापदण्डप्रतिको अस्वीकारोक्तिलाई प्रष्ट गर्दछ ।

उनीहरूले त्यसको सांस्कृतिक सापेक्षतावादी सोचलाई यस्ता शब्दाबलीमा परिभाषित गरेका थिए–‘कुनै पनि राष्ट्रले आफ्नो परम्परा र अतुलनीय विशेषता सुहाउँदो लोकतन्त्रको रूप र विधि छनोट र कार्यान्वयन गर्न सक्दछ । कुनै राज्य लोकतान्त्रिक छ कि छैन भनेर निर्णय गर्ने अधिकार त्यही देशका जनतामा मात्रै हुन्छ ।’

यी विचारको सार ‘अन्तर्राष्ट्रिय सम्बन्धमा न्यायपूर्ण बहुध्रुवीय विश्व स्थापित गर्ने रुसी प्रयास’ लाई श्रेयकार सावित गर्नु थियो । राष्ट्रपति सीका लागि स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकार सार्वभौम मूल्यहरू सोभियत संघको विघटन, पूर्वी युरोपमा भएका आमूल परिवर्तन, अरब विद्रोह र रंगीन क्रान्ति यी सबै अमेरिका र पश्चिमाको हस्तक्षेपबाट भएका थिए । कुनै पनि त्यस्ता जनान्दोलन जसले बृहत् लोकतन्त्र र मानव अधिकारको माग गर्दछ, सहजै साम्राज्यवादी अवैध क्रान्तिका रूपमा बुझिन्छ ।

चीनमा ‘कोभिड शून्यता’ का नाममा दमन गरिएका प्रदर्शन जसले लोकतन्त्रका विश्वव्यापी मानकहरूको माग गरेको थियो, ले चिनियाँ सरकारले पक्षपोषण गरेको सांस्कृतिक सापेक्षताको मानकमाथि महत्त्वपूर्ण प्रकाश पार्दछ ।

सन् २०२१ को एक श्वेतपत्र ‘लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारका लागि चीनको दृष्टिकोण’ मा मानव अधिकारलाई मानवीय खुसी, कल्याण र लाभका रूपमा परिभाषित गरिएको छ, स्वेच्छाचारी सरकारको शक्तिबाट सुरक्षाका लागि हैन । यसले सरकारप्रति असहमति व्यक्त गर्ने, प्रश्न गर्ने र स्वतन्त्ररूपमा संगठित हुने अधिकारलाई प्रष्ट ढंगले हटाएको छ ।

चिनियाँ प्रकारको विशिष्ट लोकतन्त्रले लोकतन्त्रलाई सुशासन र मानव अधिकारलाई खुसियालीको रूपमा परिभाषित गर्नुले राष्ट्रपति सीको उइगुर मुस्लिममाथिको दमनलाई न्यायसंगत ठहर गर्ने अवसर दिन्छ । उनको दाबी यो हो कि बन्दी शिविरमा ती अल्पसंख्यकलाई पुनर्शिक्षा गर्नु र मुस्लिमबाट चिनियाँकरण गर्नु सुशासन र खुसियाली हो ।

राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत बहुध्रुवीय विश्वमा अमेरिकालाई चुनौति दिन चीन उदाएको भन्दै प्रसंशा गर्दैछन् । यसो भन्दा विश्वले के सोच्ला भन्ने कुनै चिन्ता गरेको देखिँदैन । यसभित्र आफ्नो विगतको साम्राज्य विस्तारलाई फर्काउँने अभिष्ट मात्र निहित छ ।

भारतमा हिन्दू सर्वोच्चतावादी नेतृत्वका बीचमा पनि बहुध्रुवीय विश्वको फाँसीवादी तथा अधिनायकवादी बिमर्श उत्तिकै प्रतिध्वनित छ । यहाँ ‘सभ्यता–शक्ति’ हरू आफ्नो पुरानो साम्राज्य पुनस्र्थापित गर्न फेरि उठ्दैछन् र उदार लोकतन्त्रको बर्चश्वलाई दक्षिणपन्थी राष्ट्रवादको बाटोतिर विमुख गराइँदैछ ।

राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत बहुध्रुवीय विश्वमा अमेरिकालाई चुनौति दिन चीन उदाएको भन्दै प्रसंशा गर्दैछन् । यसो भन्दा विश्वले के सोच्ला भन्ने कुनै चिन्ता गरेको देखिँदैन । यसभित्र आफ्नो विगतको साम्राज्य विस्तारलाई फर्काउँने अभिष्ट मात्र निहित छ । ठीक त्यही कुरा रुसको पनि हो । रुस बहुध्रुवीय विश्वको अवधारणमा खेलेर पश्चिमलाई दमन गरेर प्रगति गर्न, आफ्नो पुरानो साम्राज्य र बर्चश्व स्थापित गर्न खोजिरहेको छ ।

पुटिनले त्यस्ता देशलाई ‘सभ्यता–राष्ट्र’ भन्ने गरेका छन् । उनको विचारमा यस्ता राष्ट्रले आधुनिक लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारका विश्वव्यापी मान्यताहरू मान्न जरुरी छैन । उनले भन्न खोजेका सभ्यता–राष्ट्र रुस, चीन भारतजस्ता देश नै हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी पनि मानव अधिकार रक्षकहरूलाई ‘भारत विरोधी’ भनेर बारम्बार आक्रमण गर्दछन्। उनले घोषणा गरेका छन् कि भारत ‘लोकतन्त्रको जननी’ हो । यो भारतले लोकतन्त्रलाई ‘पश्चिमा चश्मा’ बाट नभएर ‘सभ्यतावादी लोकाचार’ मार्फत् हेरेको कारणले सम्भव भएको हो ।

भारत सरकारले लोकतन्त्रलाई ‘हिन्दू सभ्यता र संस्कृति, हिन्दू राजनीतिक सिद्धान्त र हिन्दू राज्य’ जोडेको छ। यसभित्र जातिवादी र लैङ्गिक पदसोपानक्रमजस्ता प्राय प्रतिगामी पदसोपानक्रम समेत छन्। यस्ता विचारले हिन्दू सर्वोच्चतावादीलाई चरम दक्षिणपन्थी र अधिनायकवादी शक्तिहरूको वैश्विक सञ्जालमा सहकार्य गर्ने पहल दिएको छ ।

पुटिनजस्तै रुसी फाँसीवादका विचारक अलेक्जेन्डर दुगिन बहुध्रुवीयतालाई–‘गैरपश्चिमा सभ्यताहरूको पुनरागमन’ का रूपमा पैरवी गर्दछन् जसले उदार लोकतन्त्र र मानव अधिकारको विचारलाई अस्वीकार गर्दछ । प्रभाव दुवैतिर गएको छ। डुगिन सामाजिक प्रारूपको नाममा जातीय पदसोपानक्रमलाई पक्षपोषण गर्दछन् । मनुस्मृतिको ब्रह्मणवादी सोचलाई अन्तर्राष्ट्रिय फाँसीवादसँग सिधै जोड्दछन्। उनले मोदीको चुनावी सफलतालाई बहुध्रुवीयताको विजयका रूपमा  व्याख्या गरेका छन्।

भारतीय मूल्यहरूलाई जोड दिएको र उदार लोकतन्त्र र मानव अधिकारको विचाराधाराको वर्चश्व पराजित भएको अर्थमा स्वागत गर्दछन् । तर, पनि वामपन्थीहरूले भने एउटै साझा भाषामा बहुुध्रुवीयताको प्रयोगलाई यसरी जारी राखेका छन् कि फाँसीवादी अधिनायकवादले उस्तै भाषा प्रयोग कसरी आफ्नो उद्देश्य साँध्न खोजिरहेको भन्ने सामान्य सचेतनता पनि नअपनाएर आफैलाई धोका दिएका छन् ।

वामपन्थ र दक्षिणपन्थको भेट

पुटिनको बहुध्रुवीयताको भाषा विश्व वामपन्थसँग प्रतिध्वनित गर्नका लागि हो । यसले वामपन्थलाई उनका लागि सहज र सुविधाजनक बनाएको छ, जो सधैँ ‘अमेरिकी युद्धपिपासु साम्राज्यवाद’ को उदार लोकतन्त्रमाथिको दाबीलाई झुठा सावित गर्न दत्तचित्त हुन्छन् । तर, उनीहरूले यो बिर्सन्छन् कि उनीहरूले लगाइरहेको चश्मा पुटिनको साम्राज्यवाद र उपनिवेशवाद विरोधी आलोचनात्मक बयानबाजीमा प्रयोग भएको चश्मा नै हो ।

यो अनौठो कुरा छ कि वामपन्थले ‘ध्रुवीयता’ को भाषालाई आफ्नो बनाएको छ। अन्तर्राष्ट्रिय सम्बन्धमा ‘ध्रुवीयता’ यथार्थवादी स्कुलिङसँग सम्बन्धित छ । यथार्थवादले ‘ध्रुवीयता’ लाई महाशक्ति तथा महाशक्तिको चाहना राख्ने मुठ्ठिभर शक्तिहरूको राष्ट्रिय स्वार्थ बीचको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका रूपमा हेर्दछ । यथार्थवाद मार्क्सवादसँग आधारभूत रूपले नै अमिल्दो छ । मार्क्सवादले राष्ट्रिय स्वार्थहरू भनेको तथ्यपरक र मूल्यआधारित नभएर आत्मगत परिभाषा हो भन्ने बुझाईबाट विदेश नीतिलाई हेर्दछ ।

उदाहरणका लागि वैश्विक वामपन्थी बहुध्रुवीयताका एक उत्साही पैरवीकर्ता विजय प्रसाद भन्दछन्– ‘रुस र चीन विश्वशक्ति हैन, सार्वभौमसत्ता खोजिरहेका छन्। तर, उनी यो कुरा भने उल्लेख गर्दैनन कि ती शक्तिहरूले सार्वभौमसत्तालाई कसरी लोकतन्त्र, मानवअधिकार र समानताका वैश्विक मापदण्डप्रति जवाफदेही हुनुनपर्ने गरी स्वतन्त्र बनाइरहेका छन् ।’

भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी–लेनिनवादीका महासचिव दीपंकर भट्टाचार्यको हालैको एक निबन्धले ठीक यस्तै समस्या प्रस्तुत गर्दछ । यसले युक्रेनप्रतिको ऐक्यबद्धता, राष्ट्रिय प्राथमिकता र भारतमा फाँसीवादको प्रतिरोधबारे बहुध्रुवीयताको सन्तुलित पार्टी निर्णय प्रस्तुत गर्दछ । यो पनि खुलासा गरौं कि म तीन दशकसम्म यही पार्टीको कार्यकर्ता तथा पोलिटब्यूरो सदस्य थिए । युक्रेनप्रति न्यायो ऐक्यबद्धताको विषयमा मतभेदको कारणले मैले यस वर्षको सुरुमै यो पार्टी छोडे ।

यसबाट प्रष्ट हुन्छ कि भाकपा ( माले) गैरपश्चिमा महाशक्तिको उदयलाई ती चाहे आन्तरिक रूपमा फाँसीवादी वा अधिनायकवादी नै किन नहुन, अमेरिकी एकध्रुवीयतालाई चुनौती दिने विश्वासमा स्वागत गर्दछ ।

भट्टाचार्यको सैद्धान्तीकरण यस्तो छ–‘प्रतिस्पर्धी वैश्विक शक्तिहरूको आन्तरिक चरित्र जस्तोसुकै भए पनि समाजिक रूपान्तरण र उन्नत राजनीतिको खोजीमा रहेका विश्वभरिका प्रगतिशील शक्ति र आन्दोलनहरूका लागि नवउदारवादी विश्व व्यवस्था भन्दा बहुध्रुवीय विश्व पक्कै बढी फाइदाजनक हुन्छ ।’ यसबाट प्रष्ट हुन्छ कि भाकपा ( माले) गैरपश्चिमा महाशक्तिको उदयलाई ती चाहे आन्तरिक रूपमा फाँसीवादी वा अधिनायकवादी नै किन नहुन, अमेरिकी एकध्रुवीयतालाई चुनौती दिने विश्वासमा स्वागत गर्दछ ।

वामपन्थी ढाँचाको यस्तो सुत्रीकरणले आफूलाई साम्राज्यवाद विरोधी बहुध्रुवीयताको दक्ष ठान्ने फाँसीवादी अधिनायकवादी परियोजनाको कुनै प्रतिवाद गर्दैन, बरु उल्टै वैधानिकताको जामा पहिर्‍याइदिन्छ । भट्टचार्य युक्रेनी प्रतिरोधलाई पूर्ण समर्थन गर्नु ‘भारतमा फाँसीवादसँग लड्नुपर्ने राष्ट्रिय प्राथमिकतासँग’ जोड्न गाह्रो हुने ठान्दछन्।

वामपन्थको अन्तर्राष्ट्रिय ऐक्यबद्धताको कर्तव्य यहाँनेर कथित राष्ट्रिय प्राथमिकता सामु निरिह भएको छ। यो मार्क्सवादी अन्तर्राष्ट्रियतावादमाथि यथार्थवादी राष्ट्रिय स्वार्थहरू हिलो छेपाइ हो, जो यो घटनामा राष्ट्रिय राज्यका लागि मात्र लागू नभई वामपन्थी दलहरूका लागि पनि लागू भएको छ।

भारतमा फाँसीवादसँग लडनुपर्ने राष्ट्रिय प्राथमिकता र युक्रेनमा भएको फाँसीवादी आक्रमण विरुद्धको ऐक्यबद्धता बीच अप्ठ्यारो कहाँनेर छ त ? भट्टाचार्यको तर्क जबर्जस्त, धूर्त र निक्कै बाङ्गो-टेढो छ । उनले राष्ट्रिय आवश्यताको मूल्यमा अन्तर्राष्ट्रिय प्राथमिकताको जोखिमबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउनुपर्ने अचम्मलाग्दो तर्क गरेका छन् । भट्टाचार्य गलत छन् ।

भारतीय कम्युनिस्ट पार्टीको सन् १९४२ को ‘भारत छोड’ आन्दोलनबाट अलग हुने गल्ती बेलायती साम्राज्यवादको उपविनेश उखेल्नुपर्ने राष्ट्रिय प्राथमिताभन्दा दोस्रो विश्वयुद्धमा फाँसीवादलाई पराजित गर्नुपर्ने अन्तर्राष्ट्रियवादबाट उत्पन्न थियो, किनकि बेलायत फाँसीवादको विरुद्धमा थियो ।

भारतीय वामपन्थले युक्रेनमाथिको आक्रमणको अवस्थालाई घुमाउरो गरी त्यससँग तुलना गर्न खोजेजस्तो लाग्दछ । नरेन्द्र मोदीको सरकारले अमेरिकी नेतृत्वको पश्चिमा शक्तिसंग सहकार्य गर्ने विदेशनीति लिएपछि रुसको विरोध गर्दा अमेरिका बलशाली हुन्छ र अमेरिका बलशाली भए भारतमा फाँसीवाद विरुद्धको संघर्ष कमजोर हुन्छ भन्ने अनुमान गरेको हुनु पर्दछ । अर्थात् वामपन्थको बुझाइ अमेरिका कमजोर भए मोदीको साझेदारी कमजोर हुन्छ तसर्थ रुसी अधिनायकवाद विरुद्ध आँखा चिम्लनुपर्छ भन्ने खालको छ ।

तर, यसलाई यति जटिल बनाएर बुझ्न जरुरी नै छैन । यो एक सरल अनुमान हो कि रुसको युक्रेनमाथिको आक्रमणमा रुसी फाँसीवादको पराजय भएमा भारतमा मोदी फाँसीवादविरुद्ध लडिरहेकाहरूले हौसला प्राप्त गर्दछन् । ठीक त्यसैगरी चीनमा राष्ट्रपति सीको बहुसंख्यावादी निरंकुशताको विरोध गर्ने मान्छेहरूको विजयले भारतमा मोदीको बहुसंख्यावादी अत्याचारको प्रतिरोध गर्नेहरूलाई प्रेरणा दिन्छ ।

हाम्रा लागि एकध्रुवीयता र बहुध्रुबीयता शून्य विकल्प हैनन । हरेक परिस्थितिका लागि हाम्रा विकल्प र छनोटहरू स्पष्ट छन् । हामीले कि उत्पीडितहरूको प्रतिरोध संघर्षको समर्थन गर्नुपर्छ, कि भने उत्पीडकहरूको अस्तित्वको चिन्ता गर्नुपर्दछ।

मार्टिन लुथर किंग जुनियरका शब्दमा ‘जहाँसुकै भएको अन्याय जहाँसुकै भएको न्यायका लागि धम्की हो ।’ हामीले अरुको संघर्षलाई विकृत ध्रुवीयतावादी चश्माबाट हेर्छौं भने हामीले आफ्नैै लोकतन्त्रवादी संघर्षलाई कमजोर बनाइरहेका हुन्छौं।

हाम्रा लागि एकध्रुवीयता र बहुध्रुबीयता शून्य विकल्प हैनन । हरेक परिस्थितिका लागि हाम्रा विकल्प र छनोटहरू स्पष्ट छन् । हामीले कि उत्पीडितहरूको प्रतिरोध संघर्षको समर्थन गर्नुपर्छ, कि भने उत्पीडकहरूको अस्तित्वको चिन्ता गर्नुपर्दछ।

यदि, वामपन्थले बहुध्रुवीयताको नाममा रुस, चीन र अझ इरानजस्ता शासनलाई समर्थन गर्ने कामलाई आफ्नो कर्तव्य बनाउँछ भने यो त्यहाँ यी शासनले निम्त्यिाएको नरसंहारबीच बाँच्न संघर्ष गरिरहेका मानिसलाई समर्थन गर्नु पर्ने कर्तव्यबाट च्यूत हुनेछ । त्यस्ता संघर्षमा अमेरिकाले प्राप्त गर्न सक्ने भौतिक तथा सैन्य समर्थनको कुनै पनि फाइदाभन्दा नरसंहारको सामना गरिरहेका मानिसको अस्तित्व र औचित्यको फाइदाको तौल सधैं बढी हुन्छ ।

तानाशाही शासनले तिनीहरूविरुद्ध जनप्रतिरोध गरिरहेका मानिसलाई के भान पार्न खोज्छन् भने त्यस्तो काम ‘सार्वभौमसत्ता विरुद्ध विदेशी समर्थन तथा साम्राज्यवादी हस्तक्षेप’ हो । यदि हामी वामपन्थी पनि त्यही गर्न थाल्छौं भने हामी अत्याचार गर्न सक्षम र तानाशाहीप्रति क्षमावादी हुँदै गयौं।

जीवनमरणको संघर्षमा परेकालाई हामीले सार्वभौमिकता र स्वायत्तताको सम्मान गर्न आवश्यक छ कि कस्तो प्रकारको नैतिक, वस्तुगत, सैन्य र अन्य समर्थन माग्ने, स्वीकार वा अस्वीकार गर्ने हो । विश्व वामपन्थले दक्षिणपन्थको जस्तै भाषामा तानाशाहीलाई समर्थन गर्ने विनाशकारी बाटो अविलम्ब सच्याउन र आफ्नो कम्पासलाई पुनर्स्थापित गर्न अत्यावश्यक भइसकेको छ।

इन्डियन फोरमबाट अनुदित 

(बहुध्रुवीयताः अधिनायकवादको मन्त्र शीर्षकको आलेखको संक्षेपीकरणसहितको अनुवाद गर्दै शीर्षक हामीले दिएका हौं )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved