माया केवल प्रेमी-प्रेमिकाको विषय होइन। माया यहाँ अजब-गजबको विषय हो। दुनियाँले सोच्ने माया र मैले सोच्ने गरेको मायामा फरक छ।
मायाको प्रसङ्ग जोड्नुभन्दा पहिला एउटा प्रसङ्ग यहाँ जोडौँ, रूपचन्द्र विष्टले थाहा अभियान नै चलाए। उनी जहिले पनि थाहा पाउनुपर्छ भन्थे। त्यो अभियानमा जोडिएका एकजना रामनारायण बिडारी केही समयअगाडिसम्म राष्ट्रिय सभा सदस्य थिए। बिडारीले थाहा अभियानमा जोडिँदा के थाहा पाए, त्यो त मलाई थाहा छैन। तर, बिडारी माओवादी केन्द्रमा लागेर संविधान सभा सदस्य र राष्ट्रिय सभाको सदस्य भएको मैले थाहा पाएँ। यो प्रसङ्ग यत्ति नै।
माया भन्ने चिज कस्तो हुँदो रहेछ भने यसको रूप पनि नहुने रङ्ग पनि नहुने। नदेखिने नचिनिने। न अर्कोले थाहा पाउने न आफूले नै थाहा पाउने।
नेपालको राजनीतिमा हेरौँ न, अघिल्लो दिन कुन नेता कुन दलमा हुन्छ भोलिपल्ट अर्कै दलमा यो कस्तो माया हो ? पहिला बाबुराम, मोहन वैद्य, विप्लवसहितको एउटा ठूलो पार्टी थियो। जनताले पहिलो संविधान सभामा निर्वाचनमा पहिलो पार्टी बनाए । अहिले प्रचण्डचाहिँ एमालेसँग पार्टी एकीकरण गरेर नेकपाको अध्यक्ष भए । पछि नेकपा विभाजन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामी भने।
कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए। कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरू मिलेर गठबन्धनबाट चुनाव लडे। अहिले देउवाले प्रधानमन्त्री नदिने भनेपछि एमालेसँग मिलेर प्रधानमन्त्री प्रचण्ड भए। त्यो प्रतिगमन पनि सच्चियो। ओलीले प्रतिगमनलाई अग्रगमन भने योचाहिँ कस्तो माया हो ?
पहिला नेकपा एमाले पार्टी थियो। उसका हजारौँ कार्यकर्ता थिए, एउटा नेकपा एकीकृत माओवादी पार्टी थियो। दुवै जातले कम्युनिस्ट। २०७४ मा भएको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्र र कांग्रेसले सहकार्य गरेका थिए। पछि सङ्घ र प्रदेशको चुनावमा एमाले माओवादी केन्द्र सहकार्य गरेर चुनाव लडे । बहुमत पाए, सरकार बनाए।
पछि पार्टी नै एकीकरण गरे। केपी शर्मा ओली र प्रचण्ड पार्टी अध्यक्ष भए । ओलीको शब्दमा भन्ने हो भने ‘एक जेट प्लेनका दुई पाइलट’। तर, त्यो धेरै दिन टिकेन्।
विमान दुर्घटना भएर तीन/चार टुक्रा भयो। एउटा एमाले, एउटा माओवादी केन्द्र, एउटा एकीकृत समाजवादी अनि वामेदवको अभियान। अहिले एमाले र माओवादी केन्द्र मिलेका छन्। एकीकृत समाजवादी अझ छुट्टै छ। अनि यो कस्तो माया हो ?
नेकपा नामको विमान दुर्घटना भएर तीन/चार टुक्रा भयो। एउटा एमाले, एउटा माओवादी केन्द्र, एउटा एकीकृत समाजवादी अनि वामेदवको अभियान। अहिले एमाले र माओवादी मिलेका छन्। एकीकृत समाजवादी अझ छुट्टै छ। अनि यो कस्तो माया हो ?
कुनै बेला राजेन्द्र महतोलाई हामी सबैले भारतीय दलाल भन्थ्यौँ। नेपालको नयाँ नक्सा संसद्मा पास गर्दा दिन ‘यो देश बेचुवा को को हो ? त्यसको एक एक खोजी गरौँ।’ भनेर संसद्मा बोले । एकै पटक वाहावाही पाए र राष्ट्रवादी भए । त्यही मामिलामा लामो समयदेखि नेपालको संसद्मा रहँदै आएकी सरिता गिरिको सांसद पद नै गयो। उनी भारतीय दलाल कहलिइन् । यो झन् कस्तो माया हो ?
कांग्रेसको कुरै छोडौँ। युवा नेताहरू सभापति शेरबहादुर देउवालाई राजीनामा मागिरहन्छन्। उनीहरू देउवाका कारणले पार्टी बिग्रियो भन्छन्। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छन्। अनि कांग्रेसका सांसदहरू संसद्मा भन्छन्,‘हामी प्रतिपक्ष दल हो।’ यो कस्तो माया हो, उनीहरू नै जान्लान् ।
नेपालका हरेक विकासे अड्डा ११ महिना लकडाउनमा बस्छन्। जब असार लाग्छ, अनि तात्छन्। विकास नाममा गाउँ-गाउँमा यसरी काम हुन्छ कि त्यो असारको भेलमा नै बगाएर लान्छ। अनि पहिला जस्तो थियो उस्तै।
सरकारी अड्डादेखि अन्य सबै मानिसहरू आर्थिक चहलपहल निकै हुन्छ, असार मसान्तका नाममा। विभिन्न नाममा बिल भरपाई फर्छ्यौट हुन्छ। वर्षभरि ११ महिनामा खर्च हुन नसकेको बजेट एक्कासी खर्च बढेर जान्छ। सरकारी संयन्त्रहरूले खर्चको रेसियो बढाउँछन्। यो पनि कस्तो माया होला ? असारमा मात्र हुने विकास बजेट खर्च।
मायाका रूप अनेक छन् । मालपोत कार्यालय, कम्पनीको रजिस्ट्रार कार्यालय, यातायात कार्यालय यस्तै मालदार कार्यालयहरूमा सेवाग्राहीले हप्ता दिन गर्न नसकेको काम दलेलाई अलि पैसा दिने हो एक दिनमा चट्।
मायाका रूप अनेक छन्। मालपोत कार्यालय, कम्पनीको रजिस्ट्रार कार्यालय, यातायात कार्यालय यस्तै मालदार कार्यालयहरूमा सेवाग्राहीले हप्ता दिन गर्न नसकेको काम दलेलाई अलि पैसा दिने हो एक दिनमा चट्। कर्मचारी र दलेको कस्तो माया होला ? त्यसैले भनिएको होला मायाको परिभाषा दिन सकिन्न भनेर।
माया हरेकका आफ्ना आफ्ना नै रहेका छन्। कसैलाई कसैको अन्धभक्तिमा माया छ। कसैलाई कसैको प्रशंसा गर्नमा नै माया छ। कसैलाई पसिना बगाउन नै माया छ। कसैलाई बेइमानी गर्नमा माया छ। कसैलाई इमानका साथ बाच्नका लागि माया छ।
मायाका विषयमा अनेकन किस्सा र परिभाषा छन्। हामीले मायाभन्दा साथ प्रेमी-प्रेमिकाको कुरा गर्छौँ। तर, मैले देख्ने गरेको मायामा राजनीति छ, कमिसन छ, चोरी छ, डकैती छ, व्यभिचार छ। कुनै गलत नियत गरिने काममा पनि म त माया देख्छु।
समाज हुने घट्ने राम्रा र नराम्रा कामलाई हामीले मायाले हेरौँ त कति उचित छन्, कति अनुचित। माया नै गरेर त्यसको व्याख्या गरौँ त। माया नै गरेर त्यसको विश्लेषण गरौँ त। त्यसमा हामीले कति राम्रा कति रोचक तथ्य फेला पार्छौँ । त्यसैले भन्छु समाजका घट्ने हरेक घटना मायाका दृष्टिले हेरौँ।
Facebook Comment
Comment