ईश्वर पोखरेललाई राष्ट्रपतिमा अघि सार्ने अध्यक्ष ओलीको तयारी ! विकल्पमा डोरमणि

यसअघि सभामुखमा  चर्चामा रहेका पृथ्वी सुब्बा गुरुङ र छबिलाल विश्वकर्मालाई पछाडी पारेर देवराज घिमिरे अगाडी आएका थिए । राष्ट्रपतिमा पनि त्यसरी नै नयाँ व्यक्ति अगाडी आउनसक्ने सम्भावना छ । बालकोट निकट स्रोतका अनुसार अध्यक्ष ओलीको मनमा अहिले ईश्वर बसिसकेका छन् ।

नेपालभ्युज

ईश्वर पोखरेललाई राष्ट्रपतिमा अघि सार्ने अध्यक्ष ओलीको तयारी ! विकल्पमा डोरमणि

काठमाडौं । नेकपा एमालेले सत्ता साझेदार दलबीच भागवण्डा हुँदा राष्ट्रपति पद आफूलाई दिने सहमति भएको बताएको छ । यो विषयमा माओवादी केन्द्रले अझै स्पष्ट पारेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपतिमा आफ्नो उम्मेदवार हुने र त्यसमै राष्ट्रिय सहमति बनाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

अब अध्यक्ष ओलीले राष्ट्रपतिमा कसलाई अघि सार्लान भन्ने चासो देखिएको छ । केही दिन अघिसम्म सुवास नेम्वाङ र अस्टलक्ष्मी शाक्यको नाम राष्ट्रपतिका लागि चर्चामा थियो । तर अहिले बालकोटमा अर्कै नाममाथि छलफल चलिरहेको स्रोतको दाबी छ ।

एमालेका कतिपय कार्यकर्ताले बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपति बन्ने सक्ने भन्दै सामाजिक संजालमा लेखिरहेका छन् । तर अहिलेसम्म चर्चामै नआएका व्यक्ति राष्ट्रपति बन्न सक्ने सम्भावना रहेको ओली निकट स्रोतले जनाएको छ ।

यसअघि सभामुखमा  चर्चामा रहेका पृथ्वी सुब्बा गुरुङ र छबिलाल विश्वकर्मालाई पछाडी पारेर देवराज घिमिरे अगाडी आएका थिए । राष्ट्रपतिमा पनि त्यसरी नै नयाँ व्यक्ति अगाडी आउनसक्ने सम्भावना छ ।

अहिले एमालेमा यस्ता पदका लागि कुनै पनि कमिटीबाट औपचारिक निर्णय हुने गरेको छैन । मन्त्री र सभामुख बनाउँदा पनि एमालेका कुनै कमिटीमा छलफल भएन । पदाधिकारीले पनि अन्तिम समयमा मात्रै थाहा पाएका थिए ।

अध्यक्ष ओलीले कोटको खल्तिबाट निकाल्ने नाम नै अहिले अन्तिम हुने गरेको छ ।  सभामुखमा घिमिरेको नाम पनि त्यसरी नै निस्किएको थियो । नेपालभ्युजले एक साता अगाडी नै घिमिरे सभामुख बन्न सक्ने खुलासा गरेको थियो । हेर्नुहोस लिंकमा ।

सभामुखमा एमालेका तीन दाबेदार, झापाका घिमिरेलाई बनाउने अध्यक्ष ओलीको योजना !

यसपटक अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन चाहेको स्रोतको दाबी छ । तर फाइनल नै भने भएको छैन । स्रोत भन्छ, ‘पोखरेलका बारेमा छलफल चलिरहेको छ तर अझै टुङ्गो लागिसकेको छैन । यद्यपी अध्यक्ष ओली उनलाई नै राष्ट्रपति बनाउने मनस्थितिमा छन् ।’

एमाले महासचिव शंकर पोखरेल पनि ईश्वरलाई राष्ट्रपति बनाउन तयार भएका छन् । तर हालका राष्ट्रपति विद्यादेवी भण्डारीले अझै ग्रीन सिग्नल नदिएकाले मात्रै ओलीले फाइनल गर्न सकेका छैनन् । भण्डारीले ओके गर्नासाथ ईश्वरलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

चुनाव हारेको व्यक्तिलाई राष्ट्पति बनाउन लागेको भन्दै पार्टीभित्रै विरोध आउन सक्ने भएकाले मात्रै ईश्वरका विषयमा ओलीले खुलेर भन्न सकिरहेका छैनन् । तर मनमा भने ईश्वर बसिसकेका छन् । केहीगरी ईश्वरलाई बनाउन नसकिने अवस्थामा डोरमणिलाई अघि सार्ने ओलीको योजना रहेको स्रोतको दाबी छ ।

ईश्वरलाई राष्ट्रपति बनाउन प्रचण्ड तयार नभए के गर्ने भनेर छलफल गर्दा विकल्पका रुपमा पौडेलको नाम अघि आएको बताइएको छ ।

नेम्वाङलाई रुचाउँदैनन् ओली  

बाहिरबाट देख्दा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र ओलीको सम्बन्ध निकै राम्रो देखिए पनि आन्तरिक रुपमा भने त्यस्तो नरहेको बताइन्छ । चितवन महाधिवेशनबाट बिग्रन थालेको सम्बन्ध संसद् विघटनपछि तिक्ततामा परिणत भएको छ ।

महाधिवेशनमा नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने अडान राखेका थिए । ओलीको निकै ठुलो कसरतपछि बल्ल उनी उपाध्यक्षमा बस्न मानेका थिए र ईश्वरलाई वरिष्ठ उपाध्यक्ष बनाइएको थियो ।

संसद विघटनका बेला नेम्वाङले ओलीलाई त्यसो गर्दा कानुनी रुपमा औचित्य सावित नहुने पटक-पटक सम्झाएका थिए । अदालतले विघटन बदर गरेपछि पनि नेम्वाङले आफूले यसबारे ओलीलाई पहिले नै भनेको भन्दै सार्वजनिक रुपमा श्रेय लिएका थिए ।

नेम्वाङको त्यही भनाइका कारण पनि ओली झन बिच्किएका छन् । अघिल्लो साता ओली र नेम्वाङबीच झण्डै २ घण्टासम्म भएको छलफल पनि तिक्ततामै टुङ्गिएको स्रोतको दाबी छ । उक्त भेटमा नेम्वाङले आफूलाई राष्ट्रपति बनाउन ओलीलाई आग्रह गरेका थिए ।

तर ओली तयार भएनन् । ओलीले सिधै नभने पनि संसदीय राजनीतिमा अझै तपाईको आवस्यकता रहेको भन्दै नेम्वाङलाई राष्ट्रपति बनाउन नसक्ने संकेत गरेका थिए । त्यसपछि नेम्वाङ रिसाएर उठेको बताइन्छ ।

कस्तो राष्ट्रपति चाहन्छन् ओली  

अध्यक्ष ओली आफूनो छायाँ राष्ट्रपति बनाउन चाहन्छन् । हालका राष्ट्रपति विद्यादेवी भण्डारीजस्तै जे भने पनि मान्ने पात्र उनको खोजीमा थियो । यसअघि चर्चामा आएका अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङ दुवैसँग ओली विस्वस्त थिएनन् । किनकी दुवै ओलीका भक्त थिएनन् । त्यसवाहेक चुनावमा प्रतिनिधिसभाको टिकट अश्विकार गरेपछि शाक्यसँग ओली थप चिढिएका छन् ।

अर्कातिर राष्ट्रपति विद्यादेवी भण्डारी पनि शाक्यको विरोधमा छिन् । अर्को कुनै महिला आफ्नो उचाइँमा नपुगोस भन्ने भण्डारी चाहन्छिन् । त्यसैले उनी शाक्यलाई कुनै पनि हालतमा राष्ट्रपति स्वीकार्न तयार छैनन् । बरु केही उपाए नलागे अमृतकुमार बोहरालाई अघि सार्ने तर शाक्यलाई भने कुनै पनि हालतमा नबनाउने योजना बनिसकेको बताइन्छ ।

अहिलेको सत्ता समिकरण अलि जटिल खालको भएकाले जुनसुकै समयमा पनि राष्ट्रपतिको भूमिका महत्वपुर्ण भएर आउने ओलीको ठम्याइ छ । त्यस्तो बेला ‘एस म्यान’ राष्ट्रपति भए मात्रै सहज हुने निष्कर्षसहित ओलीले ईश्वर पोखरेललाई अघि बढाउन खोजेको स्रोतले जनाएको छ ।

पोखरेलको नाममा सत्ता साझेदार दलबीच सहमति नजुटे दोस्रो विकल्पका रुपमा डोरमणि र त्यसमा पनि नभए बल्ल अमृत बोहरामा जाने ओली समूहको योजना रहेको बताइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved