विमान दुर्घटनामा देखियो मोबाइलसँगै हराएको मानवीय संवेदना

मान्छेलाई लाइफभन्दा लाइभको चिन्ता

विमानबाट बाहिर उछिट्टिएकाहरू केहीको धुकधुकी सास थियो। चेत अचेत जे भए पनि उनीहरूलाई तत्कालै उद्धारको आवस्यकता थियो। संवेदन शून्य मानिसको जमात पीडितको लाइफ बचाउन भन्दा लाइभ गरेर भ्यूज कमाउन प्रयासरत देखिन्थ्यो।

विमान दुर्घटनामा देखियो मोबाइलसँगै हराएको मानवीय संवेदना

काठमाडौं। गत आइतबार साढे १० बजे माघे सक्रान्ति मनाउन घरबाट पोखरा पृथ्वीचोक जान लागेकी अञ्जना घिमिरेले नजिकैको सेती खोँचबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्। छोरीलाई लिएर माइती हिँडेकी उनी त्यो दृश्य देखेपछि अत्तालिइन्। उनी द्विविधामा परिन्, माइती जानु की, संकटमा साथ दिन जानु।

‘कतै आगलागी भयो की’ भन्ने ठानेर उनी छोरीलाई छाडेर एक्लै धुवाँको मुस्लो आएतर्फ दौडिइन्। नजिकै पुगेपछि भिडलाई छिचोल्न उनलाई हम्मेहम्मे पर्‍यो। जसोतसो उनी भिडबाट भित्र छिरिन्, तब थाहा भयो घटनाको रहस्य। ‘‘सबै बाटो छेकेर बस्या रहेछन्। ‘ए बाटो छाड छाड’ भन्दै घचेटेर भित्र छिर्नुपर्‍यो’’ उनले भनिन् ‘‘त्यहाँ पुगेर हेर्दा जहाज खसेको रहेछ। मानिसहरू लाइन लागेर उछिनपाछिन गर्दै भिडिओ खिचिरहेका रहेछन्।’’

अञ्जना सेती खोँचमाथि पुग्दा सयौँ मान्छे भेला भइसकेका थिए। एकपछि अर्को दमकल आउने क्रम पनि जारी थियो। मान्छे लाइन लागेर खोँचमा दनदनी बलिरहेको विमानको दृश्य हेरिरहेका थिए। उनीहरू मोबाइलले फोटो भिडियो खिचिरहेका थिए। रमितेको भीडले दमकल र उद्धारकर्ताको बाटो नै छेकिएको थियो।

विमान सेती खोँचमा ठोक्किएर आगो हुरहुरी बलिरहेको थियो। कालो मुस्लोले आकाश कुइरीमन्डल थियो। केही आगोमै जल्दै थिए। केही विमानबाट उछ्टि्टिएर जमिनमा ढलेका देखिन्थे।

विमानबाट बाहिर उछिट्टिएकाहरू केहीको धुकधुकी सास थियो। चेत अचेत जे भए पनि उनीहरूलाई तत्कालै उद्धारको आवस्यकता थियो। संवेदन शून्य मानिसको जमात पीडितको लाइफ बचाउन भन्दा लाइभ गरेर भ्यूज कमाउन प्रयासरत देखिन्थ्यो।

दुर्घटना भएको १० मिनेटभित्रै स्रोत र साधनसहित घटनास्थलतर्फ उद्धार टोली पुगेको थियो। तर नेपाल प्रहरीको रेस्क्यु टिमलाई नै भीड छिचोल्दै पुग्न घटना भएको समयको २५ मिनेटभन्दा बढी लाग्यो।

नेपाल प्रहरी मात्रै होइन, सशत्र प्रहरी बल र नेपाली सेनाको विशेष तालिम प्राप्त रेस्क्यु टिमलाई भीड छिचोल्दै घटनास्थल पुग्न अर्को तालिम लिनुपर्नेजस्तो दुखदायी परिस्थिति सिर्जना भयो।

गण्डकी प्रदेश प्रहरीका रेस्क्यु कमान्डर वरिष्ठ हवलदार श्यामकान्त श्रीवास्तव उद्धारमा खेपेको कठिनाइबारे सुनाउँछन्, ‘‘बाटोमा मान्छेको भीड यती धेरै थियो कि, भीडकै कारण हामी छिटो पुग्न सकेनौँ। बिरौटासम्मपुग्दा मान्छेको चापले उद्धारको स्रोत साधन बोकेको हाम्रो गाडी घटनास्थलसम्म पुग्नै सकेन।’’

शहरको बीचमा दुर्घटना भएकाले छिटै धेरै मान्छेहरू जम्मा भइसकेका थिए। उनीहरूको मोटरसाइकल र स्कुटरले बाटो भरिइसकेको थियो। त्यसैले उद्धारकर्ता सुरक्षाकर्मीको साधन जाने बाटो छेकियो।

‘‘घटना भएपछि उनीहरूले केही नगरे पनि दमकल र उद्धारकर्तालाई जान छिटो र सजिलो होस् भनेर बाटो छोड्दिनु त पर्छ नि। उद्धारकर्ता र दमकल सेती खोँचभित्र छिराउन प्रहरीले लगाएरै भीड हटाउनुपर्याे,’’ स्थानीय जगवीर श्रेष्ठले भने।

तर, उता भिडको चर्तिकला भने त्यतिमा मात्रै सीमित थिएन । आँखै अगाडि आगो दन्किरहेको छ, विमानमा रहेका यात्रु जलिरहेका छन्। भिड भने फोटों/ भिडियो खिच्न र फेसबुक र टिकट लाइभ गर्नमै व्यस्त थियो। रमिता हेर्नेबाहेक त्यहाँ उपस्थितको कुनै काम थिएन ।

विमान दुर्घटनाको कमजोरी ढाकछोप गर्न उड्डयन प्राधिकरणको झुट

दुर्घटनास्थल सेती खोँचमा फोटो र भिडियो बनाउनेको भिडका कारण उद्धारमा बाधा परेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको थियाे। त्यतिबेलै उसले उद्धार कार्य प्रभावित भएको भन्दै सडकबाट मानिसलाई हट्न आग्रह गर्दै माइकिङ गरेको थियो। तर आफ्नो भिडिओ भाइरल गराएर चर्चित हुने मनोविज्ञान पालेकाहरुले त्यसलाई टेरेनन्।

घटनास्थलमा पुगेका स्थानीय विकास श्रेष्ठ भन्छन् ‘‘धुँवा आइरहेको थियो। सायद यात्रुहरू विमानभित्र जलिरहेका थिए होला। केही यात्रुहरू बाहिर उछिट्टिएका थिए। बाहिर खसेकालाई निकाल्न आउनुस् न भनेर चिच्याए पनि कोही आएनन्। सबै भिडिओ खिचेर बसे। म एक्लैले ७ जनालाई बाहिर निकालेँ।’’

विकासले खोँचबाट तानेर अलि माथि ल्याएका २ जनाको त सासै चलिराखेको थियो। पछि उनीहरूलाई गण्डकी अस्पताल लगियो। उद्धारकर्ताले अस्पताल पुर्‍याइसक्दा उनीहरूको सास गइसकेको थियो।

विकास भन्छन् ‘‘यतिसम्म संवेशदनहिन भए मानिस, आँखै अगाडी कोही जीवन र मरणको दोसाँधमा छटपटाइरहँदा उनीहरू रमिते बन्दै भिडिओ खिच्नमै व्यस्त रहे। एक/दुई जना उद्धारको लागि आए पनि अरूले टिकटक र फेसबुकमा भाइरल हुन भिडिओ बनाए।’’

दुर्घटना हुनुअघि विमान उड्दाउड्दै फेसबुक लाइभ गर्ने यी व्यक्ति को हुन् ?

घटनालगतै उद्धार भएको भए कोही बाँच्न पनि सक्थे। तर दुर्घटनास्थल पुगेका धेरै जना ज्यान जोगाउनुभन्दा भिडिओ खिच्न व्यस्त रहे। त्यहाँ जीवनको याचना गरिरहेकाप्रति सहानुभूति राखेर मानवीय भावना प्रकट गर्ने सच्चा मन देखिन मुस्किल रहेको प्रत्यक्षदर्शी बताउँछन्।

विमान दुर्घटनास्थलमा भीड बढेर उद्धारमा बाधा

भाइरल हुने होड

यो पछिल्लो उदाहरण हो। यस्ता घटना दैनिक भइरहन्छन्। आगलागी हुँदा कोही दमकलको बाटो छेकेर लाइभ गर्छन्। सडकमा दुर्घटना हुँदा एम्बुलेन्स आउने बाटो छेकेर मोबाइल तेर्साउनेको भिड लाग्छ। भाइरल हुने रहरले मानिसलाई अरूको पीडा सामान्य जस्तो हुने बानी परिसकेको छ।

थोत्रा विमान सञ्चालकलाई कारबाही गर्न सरकारलाई कसले रोक्यो ? : सीके राउत

टिकटक र फेसबुकमा फोटो भिडिओ पोस्ट गर्ने होडले मानिसलाई संवेदनहीन र कठोर बनाउँदै लगेको अभिनेता निखिल उप्रेतीको बुझाइ छ। आफू राम्रो तथा प्रख्यात देखाउने र क्षणिकको चर्चाले  खास फाइदा नहुने निखिलको तर्क छ।

उनी भन्छन् ‘‘टिकटकमा हिट भाइरल हुनुको कुनै तुक छैन। त्यसले कुनै अर्थ राख्दैन। कुनै अर्थ नै नराख्ने कुरामा किन भाइरल हुनु ? टिकटकमा भाइरल हुनेलाई सोध्यो भने पनि किन कसरी तपाई भाइरल हुनुभयो भन्दा पनि उसले भन्छ, मैले एउटा टिकटक भिडिओ बनाएको थिएँ। त्यहीबाट पपुलर भएँ। जब कोही मान्छे अति साधारण (माइनर) कुरामा पपुलर बन्न खोज्छ भने उसले जीवनमा मेजर कुरा ठुला लक्ष्य लिन छोड्छ।’’

३० मिनेटमा ल्यान्ड हुनुपर्ने बुद्धको जहाज ९० मिनेट आकाशमै

पोखरामा विमान दुर्घटनाको समयमा मोबाइलमा भिडियो खिचेर रमिते बन्ने जमात पपुलारिटी कमाउने कुण्ठाले ओतप्रोत रहेको मनोविद् करुवा कुँवरको टिप्पणी छ।

उनी भन्छिन् ‘‘पछिल्ला केही घटना अध्ययन गर्ने हो भने, मानिसको जीवनमा बढ्दै गएको यान्त्रीकरणले व्यक्तिमा भावना हराउँदै गएको देखिन्छ। आफू राम्रो तथा भाइरल हुनुपर्ने वा प्रख्यात देखाउनुपर्ने मनोविज्ञान मानिसमा भएकाले कुनै दुर्घटना भए पनि उद्धार गर्न भन्दा भिडियो, फोटो खिच्न जाने होड चलेको छ।’’

को–पाइलट अन्जु : जसले १६ वर्षअघि विमान दुर्घटनामै पाइलट पति गुमाएकी थिइन्

यदि घटनास्थलमा उद्धारको आवश्यकता नै नभएको अवस्थामा पनि सामाजिक सञ्जालमा संवेदनहीन तरिकाले फोटो तथा भिडियो पोस्ट गर्नु मानवताभित्र नपर्ने समाजशास्त्री डा. दिनेश प्रसाईँ बताउँछन् । घटनास्थलमा आफू पहिला पुगेको अरुलाई देखाउँनुलाई सफलता ठान्ने मानसिकताले यसमा काम गरेको उनको तर्क छ ।

उनी भन्छन्, ‘‘सबैको ध्यान केन्द्रित रहेको घटनास्थलमा म छु। म पहिला पुगेको छु। मैले अरूभन्दा पहिले (घटना) देखेँ। ल हेर, मसँग बढी बीभत्स फोटो छ’ भन्ने सोचले काम गरेको हुन्छ। तर यसो गर्नु इथिकल्ली राम्रो काम होइन।’’

‘विमान थोत्रो’ भएकै कारण दुर्घटना भएको हो त ? के भन्छन् विज्ञ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved