विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि…

विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि…

रुपन्देही । बुढेसकालको एकमात्र सहारा पोखरा विमान दुर्घटनामा गुमाउनुपरेपछि तिलोत्तमा–४ डिङ्गरनगरका पदमबहादुर बुचामगर र सूर्यकुमारी बुचा सम्हालिन सकेका छैनन् ।

पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा गणेश थापाको आइतबार विमान दुर्घटनामा निधन भएपछि डिङ्गरनगरस्थित बुचा दम्पतीको घर र सिङ्गो तिलोत्तमा शोकमा छ । आफ्नी श्रीमती र छोरीलाई भेटेर हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको जहाजबाट उडेका डा थापा पोखरा विमानस्थलमा ओर्लन नपाउँदै दुर्घटनामा परे ।

चिकित्सकसमेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरीलाई काठमाडौँमा भटेर फर्किएका थापाको यो नै परिवारसँगको अन्तिम भेट भयो । बिदाको समयमा श्रीमती र छोरीलाई भेटेर आइतबार पोखरा फर्किँदै गरेको अवस्थामा थापा दुर्घटनामा परेका थिए । विमान दुर्घटनामा छोरा परेको खबर सुन्नासाथ पदमबहादुर र सूर्यकुमारीका आँसु रोकिएको छैन ।

बुचा दम्पतीका दुई सन्तानमध्ये डा थापा कान्छो सन्तान हुन् । थापाकी दिदी काठमाडौँमै छिन् । तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीका अनुसार सोही वडाकै सिद्धार्थ बोर्डिङ स्कुलबाट एसएलसीसम्म अध्ययन गरेका थापाले बुटवलस्थित ग्लोरियस कलेजबाट प्लस टुसम्मको अध्ययन गरेका थिए ।

प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबिबिएस र अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए। केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेपछि उनी पछिल्लो केही वर्षयता ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत थिए ।

बुबा पदमबहादुर र आमा सूर्यकुमारीले छोरालाई डाक्टर बनाउने सपना पूरा भएको खुसी धेरै वर्ष टिक्न पाएन । छोरालाई डाक्टर बनाउन सानो खर्चले नपुग्ने भएपछि थापाका बुबा पदम वैदेशिक रोजगारीका लागि जर्मनीसमेत गएका थिए । छोरा चिकित्सक बनेपछि भने उनी वैदेशिक रोजगारीबाट फर्किएर घरमै बस्दै आएका थिए । छोराको कमाइ खाएर आराम गर्ने समयमा बुचा दम्पतीको परिवारमा बज्रपात परेको छ । एकमात्र छोरा गुमाउनुपर्दाको खबर आमा सूर्यकुमारीले अझै पत्याउन सकेका छैनन् ।

डा थापाकी धर्मपत्नी र दुई वर्षीया छोरी काठमाडौँमै रहेकाले बुबा पदम र आमा सूर्यकुमारी आफन्तीसँग काठमाडौँ पुगेका छन् । विमान दुर्घटनामा निधन भएकाहरूको शव आज काठमाडौँ ल्याइने भएकाले उहाँहरू काठमाडौँ गएको वडाध्यक्ष क्षेत्रीले बताए । उनका अनुसार डा थापाको शव अन्तिम संस्कारका लागि तिलोत्तमा ल्याउने तयारी छ ।

माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाइन एन–एनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved