फर्किएला सन्दीपको गुमेको ‘स्टारडम’ ?

तत्कालको लागि रिहा भए पनि सन्दीप विदेश जान पाउने छैनन्, काठमाडौं उपत्यका छाड्न पनि प्रहरीको अनुमति लिनुपर्ने छ। यस्तो अवस्थामा उनले  खेल जीवन कसरी अघि बढाउलान् भनेर धेरैले चासो दिएका छन् । 

फर्किएला सन्दीपको गुमेको ‘स्टारडम’ ?

काठमाडौं। नाबालिका बलात्कार आरोपमा पुर्पक्षको लागि थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने छुटेका छन् । योसँगै उनका भावी सम्भावनाबारे विश्लेषण हुन थालेको छ ।

एक किशोरीमाथि बलात्कार गरेको अभियोगमा थुनामा पुगेका सन्दीप उच्च अदालतको आदेशले धरौटीमा रिहा भए । अब उनको गुमेको ‘स्टारडम’ फर्किएला त भन्ने प्रश्न उठेको छ । समर्थकले सन्दीप फेरि खेल जीवनमै फर्कने आशा गरेका छन्।

तर यो त्यति सहज भने देखिदैन । अदालतको आदेशअनुसार सन्दीपले काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ ।

फर्किएला स्टारडम ?

सन्दीपले अहिले मुद्दामा सफाइ पाएका होइनन् । उनी मात्र धरौटीमा रिहा भएका हुन् । उनीविरुद्धको मुद्दाको अन्तिम फैसला हुन अझै लामो समय लाग्न सक्छ । यदी उनी दोषी ठहर भए फेरि जेलमै बस्नुपर्ने छ।

तत्कालको लागि रिहा भए पनि सन्दीप विदेश जान पाउने छैनन्, काठमाडौं उपत्यका छाड्न पनि प्रहरीको अनुमति लिनुपर्ने छ। यस्तो अवस्थामा उनले  खेल जीवन कसरी अघि बढाउलान् भनेर धेरैले चासो दिएका छन् ।

एकपछि अर्को उपलब्धि हासिल गर्दै अघि बढेका सन्दीपले युवावस्थामा नै नेपाली राष्ट्रिय टीमको कप्तानको जिम्मेवारी पाएका थिए। कप्तान भएको छोटो समयमै उनी बलात्कार आरोपमा मुछिए।

त्यस अवधिमा छोटो समयमै सन्दीपले सफलताका सिँढी चढेका थिए। उनले धेरै अन्तर्राष्ट्रिय फ्रेन्चाइजको अनुभव सँगालेका थिए। इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सको रोजाइमा परेपछि सन्दीप एकाएक चर्चाको शिखरमा पुगेका थिए।

राष्ट्रिय टोलीबाट पनि आफूलाई सफल खेलाडीको रूपमा उभ्याउँदै गर्दा अकस्मात उनी बलात्कार मुद्दामा परे । मुद्दा लागेपछि उनको कप्तानको जिम्मेवारी खोसिएको छ। नेपाल क्रिकेट संघले अब फेरि उनलाई क्याप्टेनको जिम्मेवारी दिन्छ या दिँदैन प्रतीक्षाको विषय रहेको छ।

सन्दीपको अनुपस्थितिमा नेपाली राष्ट्रिय टोलीले केन्याविरुद्धको ३ एक दिवसीय खेलमा केन्याविरुद्धको ३ एक दिवसीय खेलको सिरिज क्लिनस्विप गरेको थियो।

विश्वकप सुपर लिगमा नेपालले स्कटल्यान्ड र नामिबियासँग २–२ खेल खेलेको थियो। स्कटल्यान्डसँग नेपाल २ तथा नामिबियासँग १ मा पराजय व्यहोर्दा १ खेल भने नतिजाविहीन भएको थियो।

नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन– २ मा प्रतिस्पर्धा गर्दै छ। नेपालले १२ खेल खेल्न बाँकी छ। बाँकी खेलमा क्यानले सन्दीपलाई खेलाउन सक्ने सम्भावना छ । तर विदेश जान नपाउने भएकाले त्यति सहज देखिँदैन ।

बलात्कारजस्तो गम्भीर आरोपमा मुछिएपनि उनका समर्थकको सहानुभूति देखिन्छ । तर यो मुद्दाको टुङ्गो नलागेसम्म उनलाई फेरि मैदान फर्कन गाह्रो हुनेछ । मुद्दा कहिले टुङ्गो लाग्छ भन्ने पनि अनिश्चित नै छ ।

त्यसैले सन्दीपको गुमेको स्टारडम तत्काल फर्कने सम्भावना अहिलेलाई देखिँदैन । उनलाई फेरि टिममा फर्काउन क्यानलाई पनि सजिलो छैन ।

सयदिने बन्दी जीवन

५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध २१ भदौमा जाहेरी परेको थियो। त्यसबेला उनी नेपाली टोलीसँगै केन्या भ्रमण थिए।

केन्या भ्रमण बीचमै छाड्दै सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैका पुगेका थिए। क्यारेबियन लिग छाडेर लामिछाने स्वदेश फर्किए। स्वदेश फर्कँदा उनी २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

१४ कात्तिकमा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध मुद्दा दायर भयो । १६ कात्तिकमा थुनछेक बहस सुरु भएको थियो। कात्तिक १८ मा उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठायो ।

लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए। सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन्। पक्राउ परेको १ सय दिनपछि उनी शुक्रबार छुटेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved