विश्लेषण

प्रचण्ड–बाबुरामको पुनर्मिलन : रातो स्टिकर टाँसेको घरमै बस्ने कि नयाँ घर बनाउने ?

त्यो बेला रातो स्टिकर टाँसेको घर नयाँ बनाउनतिर जोड नगरी छाडेर हिँड्नु बाबुरामको गल्ती हुन सक्छ । तर, त्यही घरलाई रेट्रो फिटिङ गरेरै लामो समय चलाउन सक्छु भन्ने विश्वासमा पर्नु माओवादी नेतृत्वको अर्को भूल हो । बाहिर जे भने पनि माओवादी नामको घर अब यही रूपमा नचल्नेमा प्रचण्ड र बाबुराम सहमत देखिन्छन् ।

प्रचण्ड–बाबुरामको पुनर्मिलन : रातो स्टिकर टाँसेको घरमै बस्ने कि नयाँ घर बनाउने ?

काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई करिब सात वर्षपछि मातृपार्टी नेकपा ( माओवादी केन्द्र) सँग ‘एकता’ गर्ने तरखरमा छन् । उनको दल नेपाल समाजवादी पार्टी नेसपाको राजनीतिक समितिको बैठकले उपाध्यक्ष गंगा श्रेष्ठको नेतृत्वमा एकताका लागि समिति समेत बनाइसकेको छ ।

माओवादी केन्द्रले यसअघि नै कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता समिति बनाएको थियो । त्यसो त, माओवादी केन्द्र र नेसपा मात्रै हैन, अन्य साना मझौला दल पनि वार्ता, संवाद र एकताको प्रयत्न र पहलकदमीमा देखिन्छन् । एकीकृत समाजवादीले महासचिव वेदुराम भुसाल र जसपाले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति बनाएको छ ।

माओवादी केन्द्र, जसपा, नेकपा (एस), नेसपा मिलेर एउटै पार्टीं बनाउने प्रयत्न पनि भइरहको छ । तर, यो त्यति सहज भने देखिएको छैन । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले त्यसरी बन्ने नयाँ पार्टी ‘समाजवादी केन्द्र’ हुनुपर्ने धारणा राख्दै आएका छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीले कम्युनिस्ट पार्टी नै बनाउन चाहन्छन्। उनीहरूले अघि सारेको मोडेल भनेको नेकपा (समाजवादी केन्द्र) हो ।

सम्भवत: यो जटिलताले माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबीच एकता प्रक्रिया केही ढिलो पनि हुन सक्दछ । पार्टी एकता कुन मोडेलमा कसरी हुन्छ भन्ने प्रश्न बाँकी नै रहे पनि प्रचण्ड र बाबुरामबीच करिब सात वर्षअघि टुटेको लगनगाँठो पुनश्च: जोडिने सम्भावना भने बढेको छ ।

रातो स्टिकर’ टाँसेको घर : ‘रेट्रो फिटिङ’ मात्रै गर्ने कि नयाँ बनाउने ?

दोस्रो संविधान सभाले २०७२ साल असोज ३ गते नयाँ संविधान जारी गरेको थियो । त्यसको ७ दिनपछि असोज ९ गते डा. बाबुराम भट्टराईले माओवादी छोड्दै त्यसलाई ‘रातो स्टिकर टाँसेको घर’ भने । भर्खरै महाभूकम्प भएकोले मान्छेको मनमा यो विम्ब निकै शक्तिशाली भएर बसेको थियो । ‘रातो स्टिकर टाँसेको घर’ भन्नाले भूकम्पले चर्किएको घर भन्ने बुझिन्थ्यो ।

त्यसो त माओवादी नामको घर राम्रोसँग नचलेको बाबुरामको मात्रै आरोप थिएन, माओवादीकै सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड स्वयंले पनि पटक-पटक यस्तै बताउँदै आएका थिए । प्रचण्डले भाषणहरूमा आफूहरू नराम्ररी बिग्रिएको र अब नयाँ ढंगले अघि नबढे समाप्त हुने बताइरहेका थिए । अहिले पनि उनी त्यही भनिरहेका हुन्छन् ।

यसको अर्थ हो कि अब यही रुपमा अघि बढ्न नसकिनेमा प्रचण्ड स्पष्ट छन् । तर नयाँ घर कसरी बनाउने र त्यो कस्तो हुन्छ भन्नेमा भने अलमल देखिन्छ ।

त्यो बेला रातो स्टिकर टाँसेको घर नयाँ बनाउनतिर जोड नगरी छाडेर हिँड्नु बाबुरामको गल्ती हुन सक्छ । तर, त्यही घरलाई रेट्रो फिटिङ गरेरै लामो समय चलाउन सक्छु भन्ने विश्वासमा पर्नु माओवादी नेतृत्वको अर्को भूल हो । बाहिर जसले जे भने पनि माओवादी नामको घर अब यही रूपमा नचल्नेमा प्रचण्ड र बाबुराम दुवै सहमत देखिन्छन् ।

पुनर्मिलनको यो क्षणमा अर्को प्रश्न जबर्जस्त रूपमा उठेको छ, डा. भट्टराई त्यही रातो स्टिकर टाँसेको घरलाई रेट्रो फिटिङ गर्नका लागि फर्किंदै छन् वा नयाँ घर बनाउने सहमति गरेर जाँदैछन् ? रातो स्टिकर टाँसेको घरमै फर्किने हो भने किचिएर नमरिने ग्यारेन्टी के छ ?

भत्किएका विम्बहरू

माओवादी जनयुद्धको करिब १ दशक पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराई ‘लालध्वज’ आन्दोलनका ‘ट्रिओ’ जस्ता थिए, त्यसले बनाएको मिथ ‘ट्रिओलजी’ जत्तिकै शक्तिशाली थियो ।

प्रचण्ड पार्टी, संगठन र जनयुद्धका कुशल व्यवस्थापक मानिन्थे । उनी जनमुक्ति सेनाका सर्वोच्च कमान्डर पनि थिए । उनको नाममा पार्टीको सिद्धान्त नै बनेको थियो– प्रचण्डपथ । किरणलाई एक ठूला दार्शनिक, विचारक, निष्ठावान् र क्रान्तिकारी सन्तका रूपमा चित्रित गरिएको थियो ।

डा. भट्टराई भने मास अपिलिङ्ग, जनपरिचालन, बौद्धिक सैद्धान्तिक काम गर्ने र राजनीतिक रणनीति बनाउने कमिसार जस्ता थिए । उनी जनसरकार भनिने क्रान्तिकारी जनपरिषदका अध्यक्षसमेत थिए । माओवादी आन्दोलनले बनाएका यी तीनवटै विम्ब आज कायम छैनन्।

प्रचण्डको नेतृत्वमा पार्टी कमजोर हुँदै गएको छ । प्रतिचुनाव भोट घट्दै गएको छ । यसले नयाँ पुस्ता र मतदातामा आकर्षण सिर्जना गर्न सकेको छैन । नयाँ जनवादी क्रान्तिको वैचारिकीमा टिक्न चाहेका कमरेड किरणको पार्टी अकल्पनीय ढंगले संकुचन भएको छ ।

डा. बाबुराम भट्टराईको पनि नैतिक तथा राजनीतिक संकट बढेको देखिन्छ । माओवाद मात्रै हैन, कम्युनिस्ट विचारधारा नै परित्याग गरिसकेका भनिएका डा. भट्टराई फेरि कम्युनिस्ट पार्टीमै फर्किँदैछन् भन्दा धेरैलाई आश्चर्य लागेको छ ।

नयाँ शक्तिसम्म बन्नु एउटा प्रक्रिया थियो । तर, माओवादी र कम्युनिस्ट पार्टीमै फर्किनु थियो त संघीय समाजवादी फोरमसँग एकता गरेर सपा, जसपा हुँदै नेसपासम्मको यात्रा तय गर्न किन जरुरी थियो ? यो प्रश्नको उत्तर दिन डा. भट्टराईलाई सजिलो भइरहेको छैन ।

विचार मिलाउन सकस

डा. भट्टराईले नेसपाको राजनीतिक समितिको बैठकमा पेस गरेको दस्तावेजलाई ‘बृहत् समाजवादी ध्रुवीकरणको आवश्यकता’ नाम दिइएको छ । दस्तावेजमा पुँजीवाद र साम्यवाद दुवैलाई असफल विचारधारा भनिएको छ।

दस्तावेजमा भनिएको छ, ‘एकातिर हमाीले शास्त्रीय पुँजीवाद, उदार संसदीय लोकतन्त्र तथा नवउदारवादी निरपेक्ष उदारीकरण, निजीकरण र भूमण्डीकरणले सिर्जना गरेका आर्थिक अवसरका असमानता, बेथिति, शोषण, गरिबी, कुशासन र अल्पविकासविरुद्ध जनतालाई संगठित गर्नुपरेको छ भने अर्कोतिर शास्त्रीय, एकमनावादी, संकीर्ण र जडसूत्रवादी साम्यवादी विचारधाराले सिर्जना गरेको सीमितता र जडताविरुद्ध बलियोसँग उभिन परेको छ ।’

दस्तावेजमा अर्को ठाउँमा भनिएको छ–‘ नयाँ समुन्नत समाजवादी मान्यतामा आधारित भएर हामीले बृहत्त समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्दछ ।’  एकातिर बाबुरामको विचार अहिले पनि त्यही छ । अब माओवादी यो ठाउँमा आइपुग्छ कि पुग्दैन भन्ने अर्को प्रश्न छ ।

प्रचण्ड अबको दुनियाँमा माओवाद जपेर अघि बढ्न सम्भव छैन भन्ने निष्कर्षमा पुगिसकेको देखिन्छ । उनी अघिल्लोपटक माओवाद छाडेरै एमालेसँग एकतामा गएका थिए र नेकपा नामको नयाँ दल बनेको थियो । तर, अब नेसपासँगको एकताका क्रममा उनी पार्टीको नाम फेर्न तयार भएर समाजवादी विचार अंगाल्न सहमत हुन्छन् कि हुँदैनन् ? तयार नहुँदासम्म एकता प्रक्रिया निष्कर्षमा पुग्न गाह्रो पर्ने देखिन्छ ।

प्रचण्ड–बाबुराम एकताको अर्थ 

पहिलो संविधानसभा निर्वाचनमा करिब २९ प्रतिशत मतसहित पहिलो भएको माओवादी पार्टी दोस्रो संविधानसभा निर्वाचनदेखि संकुचन हुँदै गयो । ठीक त्यही समयमा माओवादी पार्टी र आन्दोलनमा व्यापक टुटफुट भयो ।

‘तीन महाहस्ती’ प्रचण्ड, किरण र लालध्वज तीनतिर भए । पहिले यी तीन पार्टी र आन्दोलनका ओदानजस्ता थिए, विस्तारै त्रिभुजजस्ता भए । तर, माओवादी समर्थक र कार्यकर्तालाई भने यी तीन नेता मिलिदिएको भए पार्टी यति कमजोर हुने थिएन, कांग्रेस र एमालेको हेपाई खप्नुपर्ने थिएन भन्ने लागिरह्यो।

विप्लब वैद्य समूहबाट विद्रोह गरेर निस्किए भिन्नै विप्लव पार्टी बनाउन, चलाउन खोजे, तर सकेनन् । अन्ततः राज्यसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमै फर्किए । फर्किए पनि उनको पार्टीको कार्यदिशा र उपादेयता अहिलेसम्म पुष्टि भएको छैन ।

वैद्यबाट बादल समूह अलग भयो र प्रचण्ड नेतृत्वको माओवादीमा मिसियो तर पनि माओवादी पार्टीको भोट र सिट बढ्न सकेन बरु उल्टै घट्यो । बादल समूहको फिर्तीपछि भएको २०७४ को आम चुनावमा एमालेसँगको गठबन्धनका कारणले प्रत्यक्षतर्फ ३८ सिट पाएको माओवादीको समानुपातिक तर्फको भोट भने दोस्रो संविधानसभामा भन्दा घटेको थियो ।

यसपटकको चुनावमा डा. भट्टराई माओवादीको चुनावी अभियानमै थिए । नेसपाका उम्मेद्वारले माओवादीकै चुनाव चिन्ह ‘गोलाकारभित्रको हसियाँ-हथौडा’ मा चुनाव लडेका थिए । तर, पनि माओवादीको भोट घट्यो ।

यी तथ्यांकले दिएको सन्देश यो हो कि समस्या कहिँ कतै अर्कै ठाउँमा छ र समाधान पनि त्यही खोज्नुपर्नेछ । अर्थात प्रचण्ड–बाबुरामले एकता गर्दैमा मात्रै अब पुरानो विरासत फर्काउन सम्भव छैन । यदी  एक्काइसौं शताब्दी सैद्धान्तिक चुनौती सामना गर्ने तयारी नगरी एकता भयो भने त्यसले ठूलो अर्थ राख्नेछैन । एकतापछि पनि पार्टीले तीव्र प्रगति गर्ने सम्भावना हुनेछैन ।

ठीक अर्कातिर अबको दुनियाँलाई सम्बोधन गर्नेगरी नयाँ शैद्धान्तिक प्रस्थापनासहित एकता भयो भने त्यसले सिर्जना गर्ने तरंग बेग्लै खालको हुन सक्नेछ । त्यसले नेता कार्यकर्तामा बेग्लै उत्साह सिर्जना गर्न सक्नेछ ।

त्यो सैद्धान्तिक प्रस्थापना के हुन सक्ला त ? माथि नै उल्लेख गरिएजस्तै रातो स्टिकर टाँसेको घरलाई रेट्रो फिटिङ गरेर चलाउने योजना विशेषगरी प्रचण्डले परित्याग गरेर नयाँ घर बनाउने हिम्मत गर्नुपर्‍यो । अनि त्यो नयाँ घरको जग समाजवाद हुन्छ भनेर स्वीकार गर्नुपर्‍यो ।

यति हुनासाथ माओवादी र नेसपाबीचको पार्टी एकता सहजरूपमा सम्पन्न हुनेछ । अन्य दलसँगको प्रक्रिया अघि बढाउन सजिलो हुनेछ । र नयाँ बन्ने पार्टीको विकास र विस्तार सम्भव हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved