नेपाली कांग्रेस सरकारमा सहभागी हुँदैन : रामचन्द्र पौडेल

नेपालभ्युज

1441873306347582
फाइल फोटो

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्  ।  बुधबार पृथ्वी जयन्तिको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले ५ वर्ष भित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफनो पार्टीले विश्वासको मत दिएको बताए । उनले नेपाल राष्ट्रलाई एकीकरण गरेका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुशी र गौरवको विषय भएको समेत बताए।

उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरुले मिलेर काम गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले भने, ‘अव राष्ट्र बनाउन, राष्ट्र बचाउन राष्ट्रिय एकताको आवश्यक्ता छ भनेर मैले भन्दै पनि आएको थिएँ । र, त्यही अनुसारको अभ्यास हामी गर्दै पनि छौं । आज राष्ट्रिय एकता दिवस पनि पर्‍यो । आज यो नेपाल राष्ट्रलाई एकीकरण गरेर हामीलाई नेपाली बन्नलाई एउटा अवसर दिने बडामहाराजा पृथ्वीनारायण शाहको त्यो जन्मदिवस हामी मनाईरहेका छौं । यो अत्यन्त खुशी र नेपालीका लागि गौरवको विषय हो । र, यो राष्ट्रिय एकता दिवसमा केवल फर्मालिटी पूरा गर्नका लागि मात्रै एकता दिवस मनाउने होइन् हामीले साच्ची नै हाम्रो राष्ट्रलाई एकतावद्ध गरेर राष्ट्रको निर्माण गर्नुछ ।’

‘आज अति दलबन्दी भयो । दलदलकै बीचमा बढता भयो । र, फलानो पार्टीको मान्छे आयो भने अड्डा, अफिसमा पनि मेरो आयो कि अरुको आयो भनेर हेर्ने यो चलन भयो । र, निमुखाले न्यायः विपन्नले आय पाउन सक्ने स्थिति भएको छैन । त्यसका लागि एकताको आवश्यक्ता छ । सबै मिल्ने हो भने प्रशासन यन्त्रमा पनि अनुशासन हुन्छ । होइन भने कसको हो भन्छन । सरकारलाई टेर्न पनि छोडीसके यहाँ । त्यसो भएको हुनाले आज देशलाई एकताको खाँचो छ । त्यो मात्रै होइन राष्ट्रिय एकताको खाँचो छ । त्यसो भएको हुनाले हिजो हामीले सबैले एकैठाउँ भोट हाल्यौं । मैले त्यो भन्दा अगाडिदेखि यो कुरा भन्दै आएको थिए ।  अहिले आएर त्यो एकताको कुरो यहाँ आएर एउटा भावनात्मक रुपमा हामी नेपाली कसरी एक भएर राष्ट्रलाई उन्नतिको बाटोमा अगाडि बढाउन सक्छौैं ? नेपाल राष्ट्रले भोगीरहेका अहिलेका विकट समस्याहरुलाई कसरी सबै नेपाली मिलेर सामना गर्न सक्छौं । यो कुरातिर हामीले सोच्नु पर्दछ ।   पृथ्वीनारायण शाहको दिव्य उपदेश अव घुस लिन्या र दिन्या दुवै अपराधी हुन, त्यसलाई कारबाही गर्नपर्छ भन्ने छ । त्यसकारण यो सबैभन्दा पहिला सुशासन, भ्रष्टाचारको उन्मूलन आजको आवश्यक्ता छ । अनिमात्रै मुलुकले प्रगति गर्छ । हाम्रो अवको रणनीति मिलेर काम गर्ने हुन्छ । नेपाललाई अव यो पाँच वर्षमा धेरै ठूलो विकासको फड्को मार्ने । हामी सत्तामा नगई तलबाटै सहयोग गर्ने । अहिले सरकारमा जाने कुरा नै छैन । हामी सरकारमा जाँदैनौं । अहिले राष्ट्र निर्माणमै एकता गरेर अघि बढनु पर्दछ’, उनले भने ।’

वरिष्ठ नेता पौडेलले मुलुकलाई दलदलमा फसाउन नहुने पनि पटकपटक दोहोर्‍याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved