यी हुन सक्छन् कांग्रेसले प्रचण्ड सरकारलाई विश्वास गर्नुका ५ कारण

देउवा सायद यसरी ओलीलाई असीमित रुपमा शक्तिशाली भएको देख्न चाहँदैनथे । तसर्थ उनले प्रचण्डलाई ‘ब्याक अप’का लागि विश्वासको मत दिए । अब ओलीले प्रचण्डलाई त्यसरी एकोहोरो दबाबमा राख्न सक्ने छैनन् । एमालेले समर्थन फिर्ता लिए पनि अब प्रचण्डको सरकार ढल्दैन । कांग्रेसले विश्वासको मत दिनुका अरु केके कारण होलान ? पढौं ।

यी हुन सक्छन् कांग्रेसले प्रचण्ड सरकारलाई विश्वास गर्नुका ५ कारण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिने प्रस्तावमा नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहेक सबै दल र स्वतन्त्र सांसदले पक्षमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले संसदीय लोकतन्त्रको इतिहासमा बिरलै हासिल हुने समर्थन पाए ।  संसदमा उपस्थित २७० मध्ये प्रस्तावको पक्षमा २६८ र विपक्षमा २ मत पर्यो ।

अन्य दलले विश्वासको मत दिनुलाइ स्वभाविक मानिएको थियो । किनकी माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति कहाँ प्रधानमन्त्री दाबी गर्न पुष १० गते नै ७ दल– एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले समर्थन दिइसकेका थिए । यी मध्ये ४ दल सरकारमा समेत सामेल भइसकेका थिए ।

एकिकृत समाजवादी सरकारलाई समर्थन दिने अर्को दल बन्ने सम्भावना थियो । तर, नेपाली कांग्रेस र लोसपा भने अनिर्णित थिए । लोसपाले समेत विश्वासको मत दिन सक्ने ठानिएको थियो । तर, नेपाली कांंग्रेस मुख्य विपक्षी दलको भूमिकामा रहने हुँदा नैतिक दृष्टिकोणले विश्वासको मत नदेला भन्ने धेरैको बुझाई र विश्वास थियो ।

यस बिषयमा कांग्रेसको पदाधिकारी बैठकभित्र समेत मतभेद भयो । दुईमहामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले सरकारलाई समर्थन दिने सभापति शेरबहादुर देउवाको प्रस्तावको विपक्षमा ‘नोट अफ डिसेन्ट’ लेखेको समाचार आयो तर, अन्ततः सभापतिकै लाइन पास भयो । उपस्थिति सबै कांग्रेस सदस्यले संसदमा प्रस्तावको पक्षमा मतदान गरे । यसले धेरैलाई आश्चर्यचकित बनायो ।

कांग्रेसको यो कदमलाई धेरैले आशंकाको नजरले हेरेका छन्। किन र के कारणले कांग्रेसले यस्तो गर्यो ? कांग्रेस निकट बुद्धिजिबीले समेत यसलाई मन पराएको देखिन्न । गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार समेत रही सकेका हरि शर्माले कांग्रेसको यो निर्णय विरुद्ध ट्वीट गरेका छन् ।

उनले भनेका छन–‘प्रतिपक्षविहिन संसदले अधिनायकवाद जन्माउँछ । प्रश्नविहिन समाज लोकतान्त्रिक हुन सक्दैन । सुनिदैछ, फेरि प्रचण्ड तानावाना बुनिँदैछ । प्रचण्डको ध्येय आत्मकेन्द्रित अधिनायकवादी व्यवस्था स्थापित गर्नु हो, शेबदे सदा तत्पर गोटी ।’

कांग्रेस सांसद रहिसकेका अधिवक्ता राधेश्याम अधिकारीले पनि यसको विरोध गरेका छन् । उनले भनेका छन–‘ प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रतिपक्षी रहँदैन।’ कांग्रेसनिकट अर्का बुद्धिजिबी खेमराज रेग्मीले पनि यसको विरोध गरेका छन् । उनले ट्वीटमा भनेका छन्–‘राष्ट्रिय सहमतिका नाममा मुुलुकलाई प्रतिपक्षविहीन बनाउने प्रयास निर्दलीय पंचायती व्यवस्थातिरको अभ्यास त हैन ।’

कांग्रेसले प्रचण्ड सरकारलाई समर्थन दिएकोमा कांग्रेसकै एउटा ठूलो पंक्ति असन्तुष्ट देखिन्छ । त्यसो भए यति ठूलो आलोचना, विरोध र असन्तुष्टि सामना गरेर पनि कांग्रेस सभापति देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत किन दिए होलान् ? यसका ५ वटा कारण हुन सक्ने देखिन्छ ।

एक -प्रचण्ड र ओली, एमाले र माओवादीबीच दरार पैदा गर्नु 

यी दुई नेता र दुई दलबीच एकता र विश्वासको बातावरण बनिरहे कांग्रेस सत्ता राजनीतिका धेरै अवसरबाट बाहिर नै रहेर ५ बर्ष विताउनु पर्ने हुन सक्दछ । स्वभाविक रुपमा कांग्रेस त्यो चाहँदैन । कांग्रेस आगामी केही महिनाभित्रै एमाले र माओवादीबीच खटपट बढोस भन्ने चाहन्छ ।

नभन्दै विश्वासको मत दिने दिन नै एमाले संशंकित भइसकेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टमबाटै कांग्रेसले विश्वासको मत दिनु पछाडि कुनै मनसाय त छैन भन्ने प्रश्न गरे । उनले यसलाई ढोक्सा थापेको हुन सक्ने आशंका व्यक्त गरे । साथै यो पनि भने कि ढोक्सा थापेकै हो भने पनि माछा पर्नेवाला छैन ।

रोष्टममा उभिएका ओलीको अभिव्यक्ति निक्कै चिडचिडाहटपुर्ण र कांग्रेसप्रति असन्तुष्ट देखिन्थ्यो । कांग्रेसप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नजानिन्दो गरी प्रधानमन्त्रीलाई समेत चेतावनी दिइरहेका थिए ।

दुई– सरकारमा ओलीको निर्णायक भूमिकालाई सन्तुलन गर्नु 

कांग्रेसले सरकारलाई विश्वासको मत दिँदा सत्तापक्षीय गठबन्धनभित्र ओलीको भूमिका कमजोर हुन्छ । कांग्रेसले विश्वासको मत नदिएको भए विश्वासको मत फिर्ता लिने धम्की दिएर ओलीले प्रचण्डलाई आफू अनकुलको निर्णयका लागि बाध्य गर्न सक्थे ।

‘डिफ्याक्टो’ प्रधानमन्त्री ओली बन्न पुग्थे र प्रचण्ड ‘डि जुरे’ । देउवा सायद यसरी ओलीलाई असीमित रुपमा शक्तिशाली भएको देख्न चाहँदैनथे । तसर्थ उनले प्रचण्डलाई ‘ब्याक अप’का लागि विश्वासको मत दिए । अब ओलीले प्रचण्डलाई त्यसरी एकोहोरो दबाबमा राख्न सक्ने छैनन् ।

एमालेले समर्थन फिर्ता लिए पनि अब प्रचण्डको सरकार ढल्दैन । कदाचित एमाले बाहिरिए पनि प्रचण्ड प्रधानमन्त्री कायम रहेरै कांग्रेससँग अर्को गठबन्धन बन्न सक्दछ । देउवाको यो निर्णयले राजपाठमा हाबी हुन सक्ने ओलीको स्थिति एकाएक कमजोर भएको छ । प्रचण्डले ओलीको दबाबबाट राहत पाउने देखिन्छ । अब प्रचण्ड सबै कुरा ओलीले भने अनुसार गर्न बाध्य हुँदैनन्।

तीन–भागबण्डाको अपेक्षा 

भबिष्यमा यो सरकारले गर्ने राजनीतिक नियुक्तिमा भागबन्डा माग्न सहज बातावरण कायम राख्नु देउवाको अर्को उद्धेश्य हुन सक्दछ । अब सरकारले थुप्रै नयाँ राजनीतिक नियुक्त गर्नु पर्ने हुन्छ । ती सबै नियुक्तिमा आफ्ना मान्छे नपर्लान र राज्यका अंगमा कांग्रेसको सहभागिता कमजोर हुँदै जाला भन्ने भय हुन सक्दछ ।

अब कांग्रेसले राष्ट्रपति, सभामुख जस्ता पदका लागि  लविइङ गर्न सक्ने सम्भावनाको ढोका खुलेको छ । त्यसै गरी प्रदेशमा भबिष्यमा वैकल्पिक सरकार दिने सम्भावना कायम हुने छ । राजदुत, संवैधानिक निकाय र संवैधानिक आयोगका नियुक्तिमा कांगेसले भागबन्डा माग्न सहज हुने देउवाको ठहर हुन सक्दछ ।

चार–धोकेबाजको ट्यागबाट मुक्ति पाउनु  

देउवाले प्रचण्डलाई धोका दिएको कारण पाँच दलीय गठबन्धन टुटेको चर्चा भइरहेको छ । देउवामाथि पहिले प्रधानमन्त्री दिने भनि गरेको सहमति तोडेको आरोप पनि लागेको छ । देउवाकै कारण र कमजोरीले कांग्रेसले धेरै अवसर गुमाएकाले उनले पार्टीका जिम्मेवारीबाट राजीनामा दिनुपर्ने माग र दबाब कांग्रेसमा उठ्न थालेको थियो ।

प्रचण्ड सरकारलाई विश्वासको मत दिएर देउवाले पार्टीभित्रको विरोधी स्वरलाई मत्थर पारेका छन् । पाँच बर्षे अबधिका लागि कांग्रेसका सबै सम्भावना र अवसर समाप्त भएको छैन भन्ने नयाँ आशा उनले कांग्रेस पंक्तिमा सिर्जना गरेका छन् । रामचन्द्र पौडेलको शब्दमा पाँच दलीय गठबन्धन टुटेको कारणले बिग्रेको ‘कोर्स करेक्सन’ गर्न यो निर्णयले मद्धत गरेको छ ।

पाँच–आत्मविश्वासको कमी

संसदीय प्रणालीको अंकगणित र विद्यमान शक्ति सन्तुलनमा प्रष्ट प्रतिपक्षीय भूमिका गर्ने आत्मविश्वास नेपाली कांग्रेसले गुमाएको हुन सक्दछ । नेपाली कांग्रेसले एक्लै आफ्नो अस्तित्व, सत्व र पहिचान कायम गरेर, विना गठबन्धन एकल अभियानबाटै ठूलो पार्टी बन्ने, बहुमत ल्याउने र सत्ता संचालन गर्ने सम्भावना देउवाले नदेखेको हुन सक्दछन् ।

भविष्यमा पनि यिनै मध्ये कुनै न कुनै दलसँग मिल्नु पर्ने अन्यथा कांग्रेस झनझन किरानीकरण हुँदै जाने निष्कर्ष देउवाले निकालेका हुन सक्छन् । कांग्रेस सभापतिका रुपमा करिब ४ बर्ष उनको कार्यकाल बाँकी छ । आफ्नो कार्यकालमा सायद उनी कांग्रेसलाई यही मोडालिटीमा हिडाउन चाहन्छन् ।

सायद उनलाई यस्तो भान परेको हुन सक्दछ कि गठबन्धन, तालमेल, सहकार्य र मेलमिलापभन्दा बाहिर कांग्रेसको अस्तित्व रक्षा सहज छैन । कांग्रेसभित्र पनि उनी यही तरिकाले नै टिकिरहन वा शक्तिशाली भइरहन सक्नेछन् ।

जे कारणले होस प्रचण्ड सरकारलाई विश्वासको मत दिने सभापति देउवाको निर्णय भने शंका र विवादको घेराभित्र परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved