आलेख

राहुल गान्धीको ‘भारत जोडो’ छवि : मार्क्स जस्तो कि चे ग्वेभाराको जस्तो ?

चुनावी राजनीतिमा भाजपालाई पराजित गर्नु छ भने राहुल गान्धीको छवी जननेताको जस्तो बन्न जरुरी छ । यसका लागि जरुरी छ कि उनको यात्रामा हिड्ने, जोडिने र संवाद गर्नेको कथा जनतामा गुन्जियोस ।

राहुल गान्धीको ‘भारत जोडो’ छवि : मार्क्स जस्तो कि चे ग्वेभाराको जस्तो ?

राहुल गान्धीको नेतृत्वमा भइरहेको ‘भारत जोडो यात्रा’ अब आफ्नो गन्तव्यभन्दा थोरै मात्र टाढा छ । तमिलनाडु, केरला, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, दिल्ली, उत्तर प्रदेश हुँदै यात्राले करिब ३२ सय किलोमिटर पैदल पूरा गरेको छ ।

राहुल गान्धी अहिले हरियाणा पुगेका छन् । यहाँबाट उनी पञ्जाब हुँदै २६ जनवरीमा जम्मुकश्मिरको श्रीनगर पुग्नेछन् । ३ हजार ५ सय ७० किलोमिटरको साहसिक पैदल यात्रा आफैँमा ऐतिहासिक त हो नै, सायद गिनिज बुक आफ वर्ल्ड रेकर्डमा दर्ज गर्नसमेत योग्य हो ।

नि:सन्देह यो यात्राले देशको संकथनलाई बद्लिएको छ । यावत डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाललगायत सबैजसो इलेक्ट्रोनिक मिडियामा यो यात्राको खुबै चर्चा भइरहेको छ। तर, भारत जोडो यात्राले भारतलाई कति जोड्न सक्यो ? यो प्रश्न भने अझै अनुत्तरित छ।

राहुल गान्धीको यो यात्रा विभिन्न कारणले गर्दा स्मरणीयसमेत बन्न पुगेको छ। भारी वर्षामा भिजेर भाषण गर्दै गरेका राहुल गान्धीलाई देख्दा सबैको मन पग्लेको थियो। यात्रा क्रममा गान्धी बच्चाको हात समातेर हिँडेको, प्रौढलाई स-सम्मान गला लागेको र जवानहरूलाई भरोसा दिँदै हिँडेको देखिन्थे ।

महिलासँग गान्धी पूर्ण आत्मविश्वास र सहजताका साथ हिँडिरहेका थिए । आमा सोनिया गान्धीको जुत्ताको फित्ता बाँध्दै र बहिनी प्रियंका गान्धीलाई स्नेह गर्दै गरेका उनका तस्वीर मान्छेलाई भावुक बनाउने खालका थिए। प्रष्ट छ कि, राहुल गान्धी यात्राको क्रममा भावनात्मक हिसाबले मान्छेसँग जोडिएका छन् ।

तर, प्रश्न फेरि पनि जहीँको त्यही रहन्छ, यो यात्रापछि के हुन्छ ? के यात्रापछि पनि मान्छेको उत्साह यसरी नै कायम रहन्छ ? मान्छेको मस्तिष्कमा मान्छे बस्छ । जब मान्छेको मष्तिष्कमा मान्छे बस्छ, स्मृतिको निरन्तरताविना दाखिला भइरहन भने गाह्रो हुन्छ।

मान्छे सम्झनाका कथा-कहानीमा रमाउँछन्। तर, के राहुलले मान्छेको मष्तिष्कमा त्यस्ता कथा बुन्न सके ? यदि, उनीबारे कथाहरू बनेनन् भने मान्छेले उनलाई छिट्टै बिर्सने छन्। पत्रकार सुनील कश्यपका अनुसार राहुल ३ हजार किमी र १११ दिन भन्दा बढी हिँडिसके तर, उनको बारेमा मान्छेमा खासै कथाहरू बनेका छैनन् ।

जब यात्रा सुरु हुँदै थियो, मान्छे भन्दै थिए–‘यसपटक चाहिँ राहुलले अलिकति मेहनत गर्ने भए ।’ साथै, यो कुरा हुँदै थियो कि राहुलसँग के कति त्यस्ता शब्द, किस्सा, कथा होलान् जसलाई उनले यात्राका क्रममा सुनाउँलान् । मान्छेमा सम्भावना र आशा उत्पन्न गर्लान् ।

उनले कुनै कथा नै बनाएनन् भन्ने चाहिँ हैन । कर्नाटकमा उनी एक विकलांग नौजवानसँग हिँडेका थिए । दुवै हात नभएका ती युवा साइकलको पञ्चर टाल्छन्, फुटबल खेल्छन् । ती नौजवानको उत्साह र उल्लासले मान्छेमा उत्साह र ऊर्जा पैदा गर्छ । हाम्रा ऋणमा डुबेका निरास किसान र बेरोजगार युवालाई प्रेरणा दिन्छ ।

तेलंगानामा राहुल रोहित बेमुलाकी आमा राधिकालाई भेट्न गए । राधिका भारत जोड्न राहुलसँगै हिँडिन् । र एक दलित युवाको जीवन संघर्ष र आकांक्षाको कथा सुनाइन् । यदि, यो कथा राहुलले अन्य ठाउँमा भन्थे त नयाँ पुस्ताका दलित नौजवान उनीसँग जोडिने थिए ।

मध्य प्रदेशमा राहुल बाबा साहेब भीमराज अम्बेडकरको जन्मस्थल महू गए । यहाँ उनले दलित समुदायको जीवनसँग जोडिएका केही कहानी सुनाए । तर, उनले यहाँ रोहित बेमुल्लाकी आमासँग भएको संवाद भने स्मरण गरेनन्। राजस्थानमा उनी महिलासँग हाते मेसिनले घाँसपराल काट्दै देखिए । अन्त्यन्त सहजताका साथ ग्रामीण महिलासँग कुरा गरेका, हाँस्दै मुस्कुराउँदै गरेका तस्वीर सामाजिक सञ्जालमा केही समय घुमिरहे ।

उत्तर भारतका आदिवासी, दलित र पिछडावर्ग समुदायका महिलाको श्रमशील जिन्दगी बहुतै संघर्षमय छ । दाउरा खोज्ने, घाँस काट्नेदेखि लिएर महिलाले खेतीबारी र पशुपालनको अन्त्यन्तै कठिन काम गर्दागर्दै जीवन जान्छ । राहुलले महिला संघर्षका यी कथाहरू आफ्नो भाषणमा ल्याएका भए, सायद करोडौं महिलाले उनलाई हेर्थे, नियाल्थे ।

राहुलको भारत जोडो यात्रामा सबै उमेर समूहका मानिस सामेल हुँदै छन्। एकातिर उनी प्रौढहरूसँग गर्व र गम्भीरताका साथ हिँडिरहेको देखिन्छन् भने अर्कोतिर बच्चाहरूसँग उत्तिकै खुसी र आल्हादित पाइन्छन्। बच्चालाई प्रेमले उठाएर काँधमा बोक्दै गरेका राहुल गान्धी कुनै रंगबाज कुचीले हज्जारौं रंगको सुन्दर सपना सजाउन उत्ताउलो बनेझैं देखिन्छन्।

आशाको छलाङ मारेर बच्चाहरू उनको नजिक पुग्दछन् र राहुुललाई चुम्दछन् । यस्ता दृष्यले वर्तमान केही बेर हटाउनै नसकेजस्तो गरी अडेजस्तो लाग्दछ । केही बच्चाले त आफ्नो खुत्रुकेसमेत राहुललाई सुम्पिदिए । राहुलले यी बच्चालाई करोडौंको आशा र सपनाको पंख लगाउन सक्ने कथा सुनाउन सक्नेछन्।

वैरभाव र कटुताले भरिएको यो समाजमा बच्चाका कथाले राहुल गान्धी मान्छेका मनमा इन्द्रधनुष बनाउन सक्नेछन् । मान्छे सिद्धान्त र विचारले भन्दा ज्यादा क्षमतावान् कथा, कहानी र टुक्काले हुन्छन् । कथाकहानीले सामान्य जनलाई बढी सहजता र सरलताका साथ जोड्न सक्दछ । यात्रामा जोड्दै जाने कथाले राहुल गान्धी जनस्मृतिमा स्थायी स्थान बनाउन सफल हुनेछन् ।

तर, यहाँनेर फेरि प्रश्न उठ्छ–के राहुल गान्धीका भाषण लेख्नेलाई जन्मस्थितिको साँचो ज्ञान र पहिचान छ ? उनका रणनीतिकारहरू राहुल गान्धीलाई जननेता बनाउन चाहन्छन् कि दारीवाला कार्ल मार्क्सजस्तो गेटअपको सिद्धान्तकार ? वा चे ग्वेभाराजस्तो संघर्षशील योद्धा ?

केही मान्छे राहुल गान्धीलाई सन्यासी सिद्ध गर्न लागेका छन् । सायद भाजपा र आरएसएस पनि यही चाहन्छन् कि यो यात्रापछि राहुल गान्धीलाई मान्छेले एक सन्यासीका रूपमा बुझुन् । संघ प्रचारक तथा रामजन्मभूमि ट्रस्टका महासचिव चम्पत रायले राहुल गान्धीको प्रशंसा गर्दै एक प्रेरक व्यक्तित्व बताए ।

यो त आरएसएसवालाको पुरानो तरिका हो । जसलाई उनीहरू इन्कार गर्न सक्दैनन, उसलाई सुरुमै स्वीकार र प्रातः स्मरणीय बनाएर उसको विचारलाई भने भुत्ते बनाइदिन्छन् । महात्मा गान्धी र अम्बेडकरलाई उनीहरूले यसै गरे । उनीहरूले राहुल गान्धीलाई पनि यस्तै व्यवहार गर्न सक्दछन् ।

चुनावी राजनीतिमा भाजपालाई पराजित गर्नु छ भने राहुल गान्धीको छवी जननेताको जस्तो बन्न जरुरी छ । यसका लागि जरुरी छ कि उनको यात्रामा हिँड्ने, जोडिने र संवाद गर्नेको कथा जनतामा गुन्जियोस । कथा, कहानी र उखान टुक्काले मान्छेको मष्तिष्कमा कसैको छवि गढ्न सक्दछ । त्यो स्थायी हुन्छ । तर, के राहुल गान्धीले आफ्नो यात्रामा यस्तो गर्दै छन् त ?

 

सत्यहिन्दीबाट अनुवाद ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved