कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने सम्भावना !

नेपालभ्युज

कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने सम्भावना !

काठमाडौं । नेपाली कांग्रेसले पनि वर्तमान सरकारलाई विश्वासको मत दिने सम्भावना बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा कांग्रेस सभापति शेरबहादुर देउवा सरकारलाई विश्वासको मत दिन सकारात्मक भएका हुन् ।

देउवा निकट स्रोतका अनुसार अहिलेकै सरकारलाई विश्वासको मत दिएर अघि बढ्न उपयुक्त हुने निष्कर्षमा कांग्रेस पुगेको छ । यद्यपी पार्टीका केही नेताको धारणा भने फरक छ । विशेष गरी महामन्त्री गगन थापाले कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अडान राखेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहमत भइसकेको स्रोतको दाबी छ । नेता पौडेलले यसअघि नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

कांग्रेसले यसबारे निर्णय भने २६ गते विहान मात्रै लिने जनाइएको छ । त्यही दिन संसदमा सरकारले विश्वासको मत लिने तयारी गरेको छ । संघीय संसदको अधिवेशन २५ गते सुरु हुँदैछ ।

स्रोत भन्छ, ‘सरकारलाई विश्वासको मत दिन कांग्रेस सभापति देउवा लगभग सहमत भएका छन् । पार्टीभित्र कस्तो प्रतिक्रिया आउँछ भनेर मात्रै उनले पर्खिरहेका छन् ।’

कांग्रेसले पनि विश्वासको मत दिएमा सरकारको स्वरुप राष्ट्रिय सहमतिको बन्नेछ । यसअघि नै सात दल सत्ता गठबन्धनमा सामेल भइसकेका छन् । चार दलबाट त मन्त्री नै बनिसकेका छन् ।

कांग्रेसले नदिए पनि सरकारलाई विश्वासको मत पाउन भने कठिन छैन । तर प्रधानमन्त्री प्रचण्ड भने स्थायित्वका लागि कांग्रेसलाई समेत समेटेर अघि बढनुपर्ने पक्षमा देखिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved