तेस्रो ‘इनिङ्स’मा प्रचण्डको आक्रामक सुरुवात, ‘विकेट’ बचाउनुपर्ने चुनौती !

क्रिकेटमा आक्रामक सुरुवात गर्दा कहिलेकाहीँ विकेट खस्ने सम्भावना हुन्छ । तर, विकेट बचाउन सकेमा धेरै रन बन्छ र खेल जित्न सजिलो हुन्छ । अहिले प्रचण्डको मुख्य चुनौती भनेको आक्रामक सुरुवातका बीच विकेट बचाउँदै धेरै रन बटुल्नु नै हो ।

तेस्रो ‘इनिङ्स’मा प्रचण्डको आक्रामक सुरुवात, ‘विकेट’ बचाउनुपर्ने चुनौती !

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक मुलुकको प्रधानमन्त्री बनेका छन् । पहिलो र दोस्रोपटक प्रधानमन्त्री बन्दाभन्दा यसपटक प्रचण्डले केही फरक संकेत गरेका छन् । अनेक भार बोकेर बालुवाटार छिरेका प्रचण्ड सुरुवातमै ‘आक्रामक’ देखिएका छन् ।

प्रधानमन्त्रीको तेस्रो ‘इनिङ्स’ खेलिरहेका प्रचण्डले विश्वासको मत नपाउँदै देखाएको आक्रमकता हेर्दा उनको अब काम गर्ने शैली कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै ‘एक्सन’ मा उत्रिएका छन् ।

उनले प्रशासकहरूसँग ‘ब्रिफिङ्ग’ मात्रै लिइहेका छैनन्, निर्देशनसमेत दिइरहेका छन् । सरकारका आङ्गिक निकायहरूलाई एकपछि अर्को निर्देशन दिँदै आएका प्रधानमन्त्री प्रचण्डले बिहीबार (आज) मात्रै पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन दिएका छन् ।

पुस १८ गते विदेशबाट कामदारले ल्याउने गरेको मोबाइलमा कडाइ नगर्न र नीतिगत असहजता भए मिलाउन निर्देशन दिएका उनले १९ गते सरकारी कार्यालयमा लाग्ने गरेको सेवाग्राहीको भीड एक महिनाभित्र नहटे कारबाही गर्ने चेतावनीसम्म दिए ।

त्यसो त खासगरी बहालवाला प्रशासकहरूले प्रधानमन्त्री प्रचण्डका यी निर्देशनलाई सकारात्मकरूपमा नलिएको विश्लेषण भइरहेका छन् । फरक राजनीतिक पृष्ठभूमिबाट आएको र आफूमा विकास र सुशासनका लागि काम गर्ने हुटहुटी भएको दोहोर्‍याउँदै/तेहेर्‍याउँदै आएका प्रचण्डका निर्देशनलाई कतिपयले दलगत राजनीतिसँग जोडेर पनि हेर्न थालेका छन् ।

तर, यसलाई स्वाभाविकरूपमा लिनुपर्ने पूर्वप्रशासक उमेशप्रसाद मैनाली बताउँछन् । तर, निर्देशनसँगै प्रशासन संयन्त्रलाई पनि विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘उहाँ (प्रचण्ड) तेस्रोपटक देशको नेतृत्वमा आउनुभएको छ,’ उनले भने, ‘उहाँका कदमहरूलाई स्वाभाविकरूपमा लिनुपर्छ । तर, हाम्रो प्रशासन संयन्त्रमा कहीँ कतै खोट पो छ कि भनेर पनि हेर्नुपर्छ ।’

तर, बहालवाला प्रशासकहरू भने प्रधानमन्त्री प्रचण्डको निर्देशनबाट त्यत्ति खुसी छैनन् कि भन्ने आफूलाई लागेको मैनाली बताउँछन्। ‘तेस्रोपटक प्रधानमन्त्री बन्दा अलिक परिपक्व बनेर आउनुपर्छ भन्ने हिसाबले पो उहाँहरूले सोचिरहनुभएको छ कि, यदि त्यसो हो भने सबै मिलाएर लानुपर्ने जिम्मेवारी पनि उहाँ (प्रचण्ड) कै हो,’ उनले भने ।

अर्का पूर्वप्रशासक विमल कोइराला प्रधानमन्त्री प्रचण्ड आक्रामकरूपमा देखा परेका बताउँछन् । आक्रामकता चाहिने तर, त्यसले सकारात्मक प्रभाव पार्नुपर्ने कोइरालाको भनाइ छ । ‘प्रचण्ड भर्खर आउनुभएको छ । नयाँ जोश लिएर आउनुभएको छ । गरौँ भनेर आउनुभएको छ,’ उनले भने, ‘सुरूमा स्वाभाविकरूपमा नयाँ जोश हुन्छ नै होला । उहाँले त्यही शैली देखाउनुभएको छ । यसमा नकारात्मकता केही छैन । यसलाई स्वाभाविकरूपमा लिनुपर्छ ।’

यो शैली कर्मकाण्डीजस्तो मात्रै भने हुन नहुने तर्क छ कोइरालाको । विगतमा आएका सरकारले पनि निर्देशनमात्रै दिएको सम्झिँदै उनले भने, ‘यो कर्मकाण्डजस्तो मात्रै भयो भने कामै भएन । तर, निर्देशन र देखाइएको तीव्रताअनुसार काम भयो भने त्यो राम्रो हो।’

निर्देशनसँगै संयन्त्रमा पनि ध्यान दिनुपर्ने उनको पनि सुझाव छ । ‘निर्देशन त नयाँ सरकारले दिएकै हुन्छ । तर, त्योसँगै हामीले बनाएको संयन्त्र पनि हेर्न जरुरी छ । निर्देशनले मात्रै काम गर्दैन । म प्रधानमन्त्रीजीलाई त्यही सुझाव पनि दिन्छु कि संयन्त्र पनि हेरेर अगाडि बढ्नूस् । निर्देशनअनुसार काम हुने वातावरण बनाउनुपर्‍यो । यदि त्यसो भयो भने धेरै हाम्रो हुन्छ ।’

चुनौतीका चाङ

सरकार गठनको दाबीका लागि आकस्मिकरूपमा बनेको गठबनधनबाट प्रधानमन्त्री बनेका प्रचण्डसँग चुनौती पनि धेरै नै छन् ।

सर्वप्रथमतः उनी फरक-फरक राजनीतिक सिद्धान्त र विचार भएका सातवटा दल र केही स्वतन्त्र सांसदको समर्थनबाट प्रधानमन्त्री बनेका छन् । उनलाई यो सत्ता समीकरण टिकाएर राख्न निकै मुस्किल पर्ने विश्लेषण पनि भइरहेका छन् । त्यसमा पनि संसदीय अभ्यास गरेका र नगरेका दल हुनु पनि प्रधानमन्त्रीका लागि चुनौतीको विषय ठहरिनेछ ।

पहिलो र दोस्रोपटक प्रधानमन्त्री बन्दा अनुभव र समयको कमीले अपेक्षित काम गर्न नसकेको बताउने गरेका प्रधानमन्त्री प्रचण्डले यसपटक त्यसो भन्न पाउने छैनन्, जुन उनी आफैँले पनि भन्दै आएका छन् । त्यसो त प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल परिणामुखी रहने बताउँछन् माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल । ‘तेस्रोपटक प्राप्त अवसरलाई नतिजामुखी बनाउने योजनामा प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने ।

तर, प्रधानमन्त्री प्रचण्डलाई सचिव पोखरेलले भनेजस्तो सजिलो भने छैन । सातदलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका उनलाई सत्तारूढ दलहरूबीच समन्वय र सन्तुलन कायम राख्नुपर्ने अर्को चुनौती छ ।

यदि सत्ता समीकरण बिग्रियो भने प्रचण्ड खुमलटार फर्किनुपर्ने हुन्छ, जुन उनी चाहँदैनन् । आफ्नो राजनीतिक पृष्ठभूमि अरु नेताहरूको भन्दा पृथक र जिम्मेवारी पनि बढी भएको बताउँदै आएको उनले चुनावगाडि एकपटकमात्रै अवसर पाएको खण्डमा आफूले गर्नुपर्ने सबै कामहरू गर्ने बताएका थिए । ती कामहरू पूरा गर्नका लागि पनि उनी सत्ता समीकरण भत्काउन चाहँदैनन् ।

त्यसो त गठबन्धनमा ‘कोही दाहिने र कोही देब्रे फर्केका’ दलहरू छन् । उनीहरूको ‘पोलिटीकल सेन्टिमेन्ट क्याच’ गरेर साढे दुई वर्षसम्म टिकाइराख्न र आफ्नो बाचाअनुरूप नै काम गर्नु प्रचण्डका लागि निकै चुनौतीपूर्ण हुनेछ । तर यो असम्भव भने छैन ।

यति मात्रै होइन, सत्ता साझेदार दलले सरकारसँग समन्वय र सहकार्य गर्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका छन् । तत्कालीन संसद्‌मा करिब दुईतिहाइ बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली-प्रचण्डबीचकै शक्ति संघर्षकै कारण विभाजन भएको थियो ।

फलतः ओली सोहीकारण बालुवाटारबाट बालकोट पुगेका थिए । उनीहरूबीचको सहकार्य कुनरूपमा र कहाँसम्म अघि बढ्छ, आम चासोको विषय छ । यहीबीच पुरानो ‘इगो’ उठ्यो भने प्रचण्डलाई समस्या हुन सक्छ ।

जे भए पनि प्रचण्डले सुरुवातमै सकारात्मक संकेत देखाएको बताइन्छ । अब यसलाई दीगो बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन उनले ध्यान दिनु आवश्यक छ । क्रिकेटमा आक्रामक सुरुवात गर्दा कहिलेकाहीँ विकेट खस्ने सम्भावना हुन्छ । तर, विकेट बचाउन सकेमा धेरै रन बन्छ र खेल जित्न सजिलो हुन्छ ।

अहिले प्रचण्डको मुख्य उद्देश्य भनेको आक्रामक सुरुवातका बीच विकेट बचाउँदै धेरै रन बनाउनु नै हो । विगतमा धेरै पाठ सिकिसकेकाले प्रचण्डका लागि अब धेरै सहज पक्कै हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved