लुम्बिनी प्रदेशमा सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाए

नेपालभ्युज

लुम्बिनी प्रदेशमा सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाए

दाङ । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय दलको नेता चयन गरेको छ । उनी रुपन्देही–२ (१) बाट निर्वाचित भएका हुन् । यसअघि पनि शङ्कर पोखरेल मुख्यमन्त्री हुँदा उनी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत थिए । संसद्मा एमालेका २९ सांसद छन् ।

त्यस्तै संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि डिल्ली चौधरीलाई संसदीय दलको नेतामा चयन गरेको छ । उनी दाङ–३ (१)बाट निर्वाचित भएका हुन् । चौधरी ग्रामीण, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत हुन्। संसद्मा कांग्रेसका २७ सांसद छन् ।

त्यस्तै तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र)ले रोल्पा–१ (१)बाट निर्वाचित जोखबहादुर महरालाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ । संसद्मा माओवादी केन्द्रका नौ सांसद छन् ।

संसद्मा चार सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आशिषकुमार चौधरीलाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ । उहाँ रुपन्देही–१(१) बाट निर्वाचित सांसद हुन् भने चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले बर्दिया–२(२) बाट निर्वाचित धर्मबहादुर चौधरीलाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ ।

तीन सांसद रहेको जसपाले बाँके–२ (१)बाट निर्वाचित भण्डारीलाल अहिरलाई संसदीय दलको नेता चयन गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देही–३ (१)बाट निर्वाचित सन्तोषकुमार पाण्डेलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

तीन सांसद रहेको जनमत पार्टीले भने अझै पनि संसदीय दलको नेताको टुङ्गो लगाउन सकेको छैन । त्यस्तै संसद्मा तीन स्वतन्त्र सांसद र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सांसद छन् लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । केन्द्रमा भएको सत्ता गठबन्धनअनुरुप नै प्रदेशको सरकारमा प्रतिनिधित्व हुने देखिए पनि टुङ्गो भने लाग्न सकेको छ । एमालेले आफू ठूलो दल भएको भन्दै सत्ताको नेतृत्व माग गरेको छ भने माओवादी केन्द्रले आफ्नो आधार इलाका भएकाले लुम्बिनी प्रदेशमा नेतृत्व पाउनुपर्ने माग गर्दै आएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved