दलको नेता छनोट गर्न कांग्रेसलाई सुदूरपश्चिममा सकस

नेपालभ्युज

दलको नेता छनोट गर्न कांग्रेसलाई सुदूरपश्चिममा सकस

धनगढी। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता छनोट गर्न सकस भएको छ ।

एमाले माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले दलको नेता छनोट गरी प्रदेश सरकारको नेतृत्वमा दाबी गरिरहँदा प्रदेशमा सबैभन्दा ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेसले अझैसम्म दलको नेता छनोट गर्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेश सभामा स्वतन्त्र एक सांसदसहित ६ वटा पार्टीमध्ये अन्य सबै दलले सर्वसम्मत रूपले दलको नेता छनोट गरिसक्दा कांग्रेसमा आकांक्षी धेरै भएको हुँदा नेता चयनमा ढिलाइ भइरहेको हो ।

अहिले कांग्रेसका आधा दर्जन प्रदेश सभा सदस्य दलको नेता बन्न लागिपरेका छन् । यहाँ कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुर सिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर बम र मेघराज खड्का गरी ६ जनाले संसदीय दलको नेतामा दाबेदारी गरेका छन् ।

२८ गते प्रदेश सभाको बैठक बस्दै छ उक्त बैठकले सभामुख चयन गर्नेछ । त्योभन्दा अघि नै दलको नेता चयन गरिसक्ने कांग्रेसको तयारी छ । अघिल्लो प्रदेश सभा निर्वाचनमा तेस्रो स्थानमा रहेको कांग्रेस अहिले प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिटसहित पहिलो स्थानमा छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved