गगन–विश्वको विज्ञप्ति  : पार्टीभित्र असन्तुष्टि र आक्रोश छायो, आत्मसमीक्षा गरौं

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र भएका गल्ती-कमजोरीको ढाकछोप नगरी  आत्मसमीक्षा गर्दै अब नयाँ  बाटो तय गर्नुपर्ने बताएका छन् ।

आज परेको मेलमिलाप दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनीहरूले प्रतिनिधिसभाको ठूलो दल हुँदा पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताएका छन् । यो क्षणमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमान्दार समीक्षा गर्नुपर्ने थापा र शर्माले बताएका छन् ।

‘हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने । नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ’ उनीहरूले विज्ञप्तिमा भनेका छन् ।

अब कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने र जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनीहरूको भनाइ छ ।

थापा र शर्माले कांग्रेसमा विगतमा पनि यस्ता चुनौती र अप्ठेरा आइपरेको र त्यतिबेला सामना गरेर दृढतापूर्वक अघि बढेको भन्दै यसपटक पनि हताश हुने छुट नभएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved