शोभराजलाई १९ वर्ष जेल पठाउने चर्चित फोटो खिच्दाको सम्झना

राजेशको फोटोले कुख्यात सिरियल किलर शोभराज नेपालमा छन् भन्ने खुलासा गर्‍याे

श्रृंखलाबद्ध हत्या, चोरी र लुटपाटमा संलग्न शोभराज जेलमुक्त भएर स्वदेश फर्किसकेका छन्। नेपालमा पक्राउ परेर जेल पर्नुको कारण उनकै कर्तुत त थियो नै तर महत्त्वपूर्ण कारक बन्यो सन् २००३ मा हिमालय टाइम्सका लागि राजेश गुरुङले खिचेको त्यही फोटो। फोटोले कुख्यात सिरियल किलर चार्ल्स शोभराज नेपालमा छन् भन्ने खुलासा गरेकाे थियो। त्यही फोटो खिँच्ने बेलाको सम्झना ।

नेपालभ्युज

शोभराजलाई १९ वर्ष जेल पठाउने चर्चित फोटो खिच्दाको सम्झना
सन् २००३ मा हिमालय टाइम्सका लागि राजेश गुरुङले खिचेको फोटो। यही फोटोले कुख्यात सिरियल किलर चार्ल्स शोरभाज नेपालमा छन् भन्ने खुलासा भयो। र पक्राउ परेका थिए।

काठमाडौं। १३ सेप्टेम्बर २००३ (२८ भदौ २०५९) मा फोटोग्राफर राजेश गुरुङ एक कार्यक्रमको फोटो खिच्न जाँदै थिए। द हिमालयन टाइम्सका फुर्तिला फोटोग्राफर उनी भर्खरै एउटा कार्यक्रम सकेर अर्कोमा कभर गर्न जाँदै थिए। दिउँसो २ बजेको हुँदो हो, बाटोमा पुगेपछि ग्रुप एडिटर जोशफ नाथनको फाेन आयो। ‘जहाँ हुनुहुन्छ त्यहीबाटै, झट्टै अफिस आइहाल्नु’ भन्ने निर्देशन आयो।

धेरै सहकर्मीका रोजाइका फोटो पत्रकार राजेश फोटो पत्रकारितामा निखारिँदै थिए। त्यहाँ काम थालेको वर्षदिन जति मात्रै भएको थियो। जोसिला उनी द्वन्द्वकालको त्यो समयमा जस्तोसुकै चुनौतीको पनि सामना गर्दै फोटो खिच्थे। उमेरले २६ मात्रै काटेका उनमा सधैँजसो केही नयाँ गरौँ भन्ने हुटहुटी हुन्थ्यो। बिहान, दिउँसो होस् या राति अफिसबाट फोन आउनासाथ दौडिहाल्थे। फोटो पत्रकारितामा करियर बनाउँदै गरेका उनले त्यसलाई अवसर र उत्तरदायित्वको रूपमा लिन्थे।

उनी तीन बजे अफिस पुगे। उनलाई लाग्यो ‘आज पनि कतै ठूलै भिडन्त वा विस्फोटको फोटो खिच्न जानुपर्ने छ।’ किनकि, त्यतिबेला माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। अहिलेजस्तो यातायातको सुविधा थिएन। टाढासम्म हिँडेरै जानुपर्थ्यो। कहिले ललितपुरको बिकट ठाउँ त कहिले मकवानपुरको सीमा र काभ्रेसम्म भएका विफोष्ट, आगजनी, क्षति लडाइ र भिडन्तपछिको अवस्थाका फेटो खिच्न गइरहनुपर्थाे।

घटनास्थल पुग्दा सुरक्षाकर्मीले घरका भग्नावशेषहरू पन्छाइरहेका हुन्थे। स्थानीय त्रासमा हुन्थे। पीडितहरूको रुवाबासी चलिरहेको हुन्थ्यो। त्यो कहालीलाग्दो दृश्यलाई राजेशले पहिल्यै परिकल्पना गरिसकेका थिए।

२० भन्दा बढी हत्यामा मुछिएका शोभराज १९ वर्षपछि छु्ट्दैछन्, भारतमा जेलबाटै भागेका थिए

यस्तै सोच्दै राजेश ग्रुप एडिटरको कोठामा पसे। तर, राजेशले सोचेभन्दा फरक असाइन्मेन्ट पाए। उनी सम्झन्छन्, ‘‘मलाई उहाँले डेस्कटपमा एउटा अधवैंशे विदेश पुरुषको रङ्गिन फोटो देखाउनुभयो। एफो साइजको कागजमा ब्ल्याक एन्ड ह्वाइटमा प्रिन्ट गर्नुभयो। तर फोटो पूरा कागजभरि थिएन। सानो साइजमा थियो। त्यो फोटो मलाई दिँदै ठमेलमा गएर त्यही मान्छेको फोटो खिचेर आउन भन्नुभयो।’’

त्यो फोटोको मान्छे को हुन् राजेशलाई थाहा थिएन। कोही पर्यटक होलान्, भन्ने सोचेका थिए। राजेश ब्ल्याक एन्ड ह्वाइट फोटो फोटो लिएर विदेशी पर्यटक खोज्न ठमेल हानिए। विदेशी मानिसहरू कहाँ हुन्छन् के गर्छन् भन्ने आइडिया उनलाई चाहिएको थियो।

ठमेलकै पुराना साथी फणिन्द्रराज पाण्डेकहाँ गए। जो ट्राभल एन्ड टुर कम्पनी चलाउँथे। उनीसँग राजेशले केही आइडिया लिन खोजे। फोटो देखाउँदै, उसैको फोटो खिच्न आएको सुनाए।

फोटो पत्रकार राजेश गुरुङ (द हिमालयन टाइम्स)

फोटो हेर्दै फणीन्द्रले भनेका कुरा उद्धृत गर्दै राजेश भन्छन् ‘‘यो त चार्ल्स शोभराज जस्तो पो छ त। यो त कुख्यात सिरियल किलर हो। यसले त विदेशमा धेरै मान्छे मारेको छ। जेल ताडेर भागेको छ।’’

१९ वर्ष गोलघरमा सजाय काटेर छुटे चार्ल्स शोभराज

अनि थाहा पाए, कुख्यात अपराधी खोज्दैछु भन्ने

साथीको कुराले राजेश केही डराए। राजेश साथीसँग हतारिँदै नजिकै साइबर गए। चार्ल्स शोभराज भनेर गुगलमा सर्च गरे। नभन्दै त्यो मान्छे शोभराज नै रहेछन्। उनको हातमै भएको फोटो गुगलमा भेटियो। ‘‘त्यो भन्दाअघि मैले कहिल्यै चार्ल्सको नाम सुनेको थिइनँ। गुगलमा समाचार पढेपछि थाहा पाएँ, त्यो मान्छे भारतको एक जेलबाट फरार भएका फ्रेन्च नागरिक रहेछन्। उनीविरुद्ध धेरै मुद्दा रहेछ। भारत, थाइल्यान्ड, पाकिस्तान, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की, ग्रिसलगायत धेरै ठाउँमा घटना गराएर भागेका मोष्ट वान्टेड सूचीमा रहेछन्’’ राजेश सुनाउँछन्।

श्रृंखलाबद्ध हत्या, चोरी र लुटपाटमा संलग्न भएर ‘सिरियल किलर’ ‘बिकिनी किलर’ ‘सर्पेन्ट’, ‘द स्प्लिटिङ किलर’लगायतका कैयौँ उपनाम शोभराजले पाएका थिए। द गार्डियनका अनुसार उनले सन् १९७० दशकदेखि हत्या गर्न थालेका थिए। २० जना बढीको हत्या गरेको भनिएको थियो।

विश्वका धेरै देशका प्रहरीले खोजी गरिरहेका मान्छेको फोटो खिच्न जाँदै छु भन्ने बल्ल थाहा पाए। केही नयाँ काम गर्ने हुटहुटी भएका उनले करिअरकै सबैभन्दा संवेदनशील काम गर्दै रहेछु भन्ने महशुस गरेँ। फोटो लिएर उनी ठमेलको एक होटल अघि पुगे। अग्ला गोरा व्यक्तिहरू देख्नेबित्तिकै उनी चनाखो हुन्थे। शोभराज हो कि भन्दै हेर्थे। धेरैपटक झुक्किन्थे। साँझ ६ बजेसम्म त्यस्तो मान्छे नभेटेपछि फर्किए।

भोलिपल्टै (१४ सेप्टेम्बर (२९ भदौ) बिहानै ६ बजे बिहान उही कर्ममा हिँडे। साढे ६ बजे ठमेलको उही होटेलमा पुगे। होटल अगाडिको चिया पसलमा चिया र चना खाए। होटेलमा क्यामराको ब्याग राखे। क्यामेरा र १०० बाई ३०० एमएमको लेन्स बोके। ज्याकेटले क्यामरा छेकेर होटल अगाडि कुरेर बसे। दिनभर बसे हातमा भएको फोटो जस्तै देखिने मान्छे कोही आएनन्।

‘‘कुराइ कम्ती दिक्दारीपूर्ण थिएन। चियाखाजा खान जाँदा पनि शोभराज कतै गइसके, फोटो लिन छुट्यो कि भनेर होटेलको आँखा गेटमै हुन्थ्यो,’’ राजेश सुनाउँछन्। त्यो दिन पनि शोभराज भेटिएनन्। ‘चार्ल्सलाई भेटिन्न कि क्या हो भन्ने राजेशलाई लाग्न थालेको थियो। तर, बोसले प्रयास गरिरहनु भन्दै आएका थिए। साँझ पाँच बजेपछि उनी अफिसतिर लागे।

तेस्रो दिन (१५ सेप्टेम्बर, ३० भदौमा) बिहान पनि उनी शोभराजको खोजीमा हिँडे। त्यो दिन अर्को मिडियामा काम गर्ने एक फोटोग्राफर पनि बोलाएका थिए। अघिल्ला २ दिन एक्लै कुर्दा दिक्क लागेको थियो। दुई घण्टा जति कुरेपछि साथी दिक्क मान्दै घर फर्कियो।

राजेश भने वरिपरि हिँड्ने विदेशीलाई सतर्कतापूर्वक नियालिरहे। त्यो दिन पनि शोभराज फेला परेनन्। अघिल्ला दिनजस्तै साँझ उनी अफिस फर्किए।
तीन दिन ढुकिसक्दा पनि शोभराज नभेटिएपछि राजेशलाई दिक्दारी लागिसकेको थियो। सम्पादकप्रति रिस पनि उठ्यो।

फ्रान्स पुगे चार्ल्स शोभराज

लगातार चार दिनको प्रयासमा सफल

चौथो दिन (१६ सेप्टेम्बर ३१ भदौ) पनि अल्छि मान्छे उही ड्युटी शुरु गरे। उही चिया पसलमा चिया पिउँथे, उनी। वरिपरिका पसलेहरूले शंका गरिसकेका थिए। उनी भन्छन् ‘‘उनीहरू सोध्थे, तपाईं को हो? किन सधैँ आउनुहुन्छ? भन्थे। म भने साथीको बिहे छ। त्यसैको फोटो खिच्न आएको भन्थे। कसैलाई विदेशी पर्यटकको फोटो पैसा लिएर खिच्न आएको भनेर टार्थें।’’

पर्खँदा पर्खँदा नभेटिएपछि राजेश हतोत्साही भइसकेका थिए। कहिले त उनलाई ‘होटेलभित्रै छिरौँ कि भन्ने पनि लागेको थियो। ‘‘विश्वका धेरै देशमा मान्छे मारेर आएको छ। मलाई पनि केही गरेमा प्रतिवाद गर्छु भन्ने पनि लाग्यो। किनकि, मैले मार्सल आर्ट्स पनि सिकेको थिएँ। तर, म बाहिरै कुरेरै बसेँ’’ उनी ती दिन सम्झन्छन्।

त्यही दिन २ बजे होटेलबाट चारजना मानिसहरू निस्किए। परबाट हेर्दा अगाडिको मानिस शोभराजजस्तै देखिन्थ्यो। राजेशलाई लाग्यो शोभराज भेटिए। खुसी हुँदै दौडिँदै पर पुगे। हातको भएको फोटोसँग उनको अनुहार भिडाए। मेल खाएन।

अर्काे मान्छे रहेछ भन्ने थाहा भएपछि उनको मन खिन्न भयो। फर्किएर अघिकै ठाउँमा आएर बसे। तर पनि शोभराजलाई पर्खन छाडेनन्। यदि, शोभराज आइहालेमा फोटो खिच्नको लागि राजेशले घरघरी क्यामराको लेन्स मिलाइरहेका हुन्थे।

नेपालबाट निकाला भएपछि फ्रान्स फर्किँदै चाल्स शोभराज, विमानमा विदेशी फोटो पत्रकारले खिचेको फोटो।

लेन्स मिलाउनासाथ उनी ज्याकेटमा क्यामेरा लुकाइहाल्थे। किनकि, आफू फोटो खिच्न आएको भन्ने कसैले थाहा नपाउन् भन्ने उनलाई लागेको थियो। एक छिनपछि आफ्नो हातमा भएको फोटोकै ड्रेसअपमा एक अधवैंशे विदेशी देखिए। उनी होटेलको गेटबाट निस्कँदै थिए।
अनुहार शोभराजको जस्तै थियो। अग्लो कद, सेतो क्याप टोपीले अनुहार छोपेको । सेतो सर्ट र जिन्स पाइन्टमा थियो त्यो मान्छे। सर्ट बाहिर कालो निलो रङ्गको ज्याकेट लगाएको थियो। राजेशले हातको फोटो हेर्दै त्यो मनिसको अनुहार हेर्दै गर्न थाले।

राजेशको चार दिनदेखिको शिकार फेला पर्‍यो। फोटोसँग त्यो मानिसको हुलिया म्याच खायो। ती मान्छे शोभराज नै भएको उनले ठम्याए। राजेशको खुसीको सीमै थिएन। हत्तपत्त ज्याकेटमा लुकाएको क्यामरा र लेन्स झिके। सडक पारि खम्मामा आड लागे। लुकेर शोभराजतर्फ लेन्स सोझ्याए। ४ सट जति क्लिक गर्न भ्याएका मात्रै थिए। शोभराज होटलसँगैको टेलिफोन बुथमा छिरिहाले।

राजेश झनै उत्साहित भए। किनकि बुथबाट निस्कँदा फोटो राम्रो आउन सक्ने आँकलन थियो। सडक पारीबाटै उनले लेन्स टेलिफोन बुथको ढोकातर्फ सोझ्याए। लेन्सको सेटिङ मिलाए। भित्र छिरेको २ मिनेटपछि शोभराज निस्किए। राजेशले चार-पाँच क्लिक गर्न भ्याए।

त्यति बेलासम्म शोभराज बुथबाट निस्किएर बाइकमा चढ्न भ्याइसकेको थिए। राजेशले खिचेको तस्वीरमा मोटरसाइकल चालकले क्यामरातिर हेरिरहेको देखिन्छ। शाेभराजले भने क्याप टोपीले अनुहार छोप्न खाजेको जस्तो देखिन्छन्। चालकले शोभराजलाई हेलमेट लगाउन दिँदै थिए। त्यतिबेला बाइकको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम थियो।

राजेशले अझ अरू पनि क्लिक लिँदै थिए। एउटा गाडीले छेक्यो। उनलाई अरू पनि फोटो खिच्न मन लाग्यो, तर, शोभराज चढेको बाइक अघि बढ्यो। राजेशले शोभराजलाई पछ्याए। ‘‘क्यामरा हत्तपत्त ब्यागमा हालेर बाइकमा चढेँ र कुदाए। दरबारमार्गको राजा महेन्द्रको शालिकनिर पुगेपछि भेटेँ। त्रिचन्द्र कलेज पुगेपछि शोभराजको बाइक र मेरो बाइक पनि सँगैसङै भयो। उनले मलाई एकपटक हेरे। हल्का डर लाग्यो।’’ राजेश सुनाउँछन्’’

पिछा गरेको जस्तो सोचे होला भन्ने लागेर राजेश अलि पछि लागे। भद्रकाली पुगेपछि शोभराज चढेको बाइक दायाँतर्फ न्युरोड लाग्यो। उनी सिंहदरबार गेटतर्फ मोडिए।

शोभराज चढेको बाइकको चालकले आफूलाई नोटिस गरे जस्तो पनि लागेकोले राजेशले पछ्याउन छाडेका थिए। अनामनगर अफिस आएपछि राजेशले पेनड्राइभमा फोटो बुझाए। ‘‘सम्पादकले फोटो हेर्नुभयो। निकै खुसी हुँदै ‘वेल डन, थ्यांक यू’ भन्नुभयो,’’ राजेश सम्झन्छन्।
भोलिपल्ट (१७ सेप्टेम्बर, १ असोजमा) ‘द हिमालयन टाइम्स’ र उसको सह–प्रकाशन अन्नपूर्ण पोस्टको फ्रन्टपेजमा त्यो फोटो छापियो। द हिमालयन टाइम्समा फोटोसँगै समाचारको हेडलाइन थियो, ‘द सर्पेन्ट लिभिङ इनकग्निटो इन ठमेल।’

समाचारमा जोसेफ नाथनको बाइलाइन थियो। तर, फोटोमा क्रेडिट दिइएको थिएन। राजेश भन्छन् ‘‘त्यो बेलामा काठमाडौंमा गुन्डाहरूको बिगबिगी थियो। गुन्डा आतंकजस्ता फोटोहरूमा बाइलाइन राखिने गरिएको थिएन। त्यसैले, त्यो फोटोमा पनि नाम राखिएन।’’

त्यो दिन द हिमालयन टाइम्स र अन्नपूर्ण पोस्ट पत्रिका साबिकको भन्दा दोब्बर संख्यामा छापियो। शोभराजबारे स्कुप समाचार छापिएपछि सनसनी नमच्चिने कुरै भएन। अहिलेको भाइरल भनिएजस्तै सबैको हातहातमा पत्रिका थियो। सबैले शोभराजकै चर्चा गरिरहेका हुन्थे। राजेश सम्झन्छन् ‘‘फोटो प्रकाशित भएको दिन बिहानैबाट अन्तर्राष्ट्रिय मिडियाले पनि फलो गर्न थाल्यो। बाहिरका मिडियाले पनि फोटो मागे। त्यसपछि मात्रै ठूलै काम गरिएछ भन्ने लाग्यो।’’

जुन फोटोले शोभराज नेपालमा छन् भन्ने खुलासा गर्‍यो

द हिमालयन टाइम्सका ग्रुप एडिटर जोसेफ नाथनले पहिल्यै थाहा पाएका थिए शोभराज काठमाडौंमै भएको सूचना। होटल याक एन्ड यतीको जुवाघरमा शोभराजलाई देखेको व्यक्तिले उनलाई सूचना दिएका रहेछन्। सोहीअनुसार समाचार त तयार भयो, तर प्रमाण थिएन। त्यसैले, उनले फोटो खिच्न लगाएका रहेछन्। चार दिनपछि फोटो आएपछि समाचार छापियो फोटोसहित।

राजेशले खिचेको फोटो फगत समाचारको कन्टेन्ट मात्र थिएन। विश्व कुख्यात अपराधी चार्ल्स शोभराजलाई जेल पठाउने कारण पनि बन्यो। यदि, उनले फोटो खिच्न सफल नभएका हुन्थे भने उनी काठमाडौंमा रहेको थाहा हुन्थेन। पछि उनी यहाँबाट भाग्न पनि सक्थे। फोटो र समाचार नआउँदासम्म कुख्यात अपराधी शोभराज नेपाल आएको भन्नेबारे कसैलाई थाहा थिएन।

शोभराज ‘बिकिनी किलर’, ‘सिरिअल किलर’ र ‘द सर्पेन्ट’ जस्ता उपनामले विश्वभरि चिनिएका थिए। समाचार छापिएपछि पक्राउ गर्न प्रहरीलाई दबाब नपर्ने कुरै भएन। प्रहरीले काठमाडौंका सबै हाटेलमा छापा मार्‍यो । तैपनि, शोभराज भेटिएनन्। समाचार प्रकाशन भएपछि उनी भाग्न सक्ने खतरा थियो। सीमा नाकामा चेकजाँच कडा बनाइयो। अपराध महाशाखा र काठमाडौं प्रहरीको टोलीले खोजी तीव्र बनायो।

चार्ल्स शोभराज नेपालमा छन् भन्ने खुलासा भएको २००३ सेप्टेम्बर १७ को हिमालय टाइम्स पत्रिकाको फ्रन्टपेज

समाचार छापिएको तेस्रो दिन शोभराज नाटकीय ढङ्गले पक्राउ परे। दरबारमार्गस्थित रोयल क्यासिनोबाट बिहान ४ बजे उनी समातिए। त्यसपछि उनी १९ वर्ष ३ महिनापछि हिजो (शुक्रबार) मात्रै छुटे। १९ वर्ष पहिले राजेशले खिचेको एउटा फोटोकै कारणले नेपाल प्रहरीलाई हिरो बनायो। विश्वका कैयौं देशका प्रहरीलाई छल्दै आएका शोभराजको हातमा हतकडी लाग्यो।

श्रृंखलाबद्ध हत्या, चोरी र लुटपाटमा संलग्न शोभराज जेलमुक्त भएर स्वदेश फर्किसकेका छन्। विदेशमा दर्जनौँ घटना गराएर फरार उनी नेपालमा भने २०३२ पुसमा भक्तपुरको साँगा र काठमाडौंको मनोहरामा; क्यानडियन र अमेरिकी नागरिकको हत्यामा दोषी ठहरिएका हुन्।
नेपालमा पक्राउ परेर जेल पर्नुको कारण उनकै कर्तुत त थियो नै तर महत्त्वपूर्ण कारक बन्यो सन् २००३ मा हिमालय टाइम्सका लागि राजेश गुरुङले खिचेको उनै फोटो। फोटोले कुख्यात सिरियल किलर चार्ल्स शोभराज नेपालमा छन् भन्ने खुलासा गरेकाे थियो।

निहितालाई भेट्न मानेनन् शोभराजले, साँझ ६ बजे कतार एयरवेजबाट फ्रान्स पठाइँदै

पूरा हुन नसकेको सिरिज

राजेश अहिले पनि द हिमालय टाइम्समै कार्यरत छन्। अहिले उनी फोटोग्राफी डिपार्टमेन्टको प्रमुख छन्। शोभराज पक्राउ परेको खबर थाहा पाएपछि उनी हनुमानढोकास्थित तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौं गए। गणेश केसी डीएसपी थिए। एउटा कोठामा शोभराजलाई राखिएको थियो।

कुनै पत्रकारलाई पनि फोटो खिच्न दिइएको रहेनछ। राजेशले भने एक क्लिक फोटो खिच्न पाए। किनकि, उनकै फोटोले शोभराज काठमाडौं रहेको पुष्टि भएर पक्राउ परेका थिए। सायद प्रहरीले त्यही गुन तिर्‍यो ।

त्यसपछि शोभराजलाई अदालत लैजाँदा र ल्याउँदाका धेरै फोटोहरू भने अरू मिडियाले खिचेका छन्। राजेशले पनि खिचे। शोभराजकी प्रेमिका भनिएकी निहिता विश्वासको पनि राजेशले नै पहिलो फोटो खिचेर छापे। अन्तत: १९ वर्ष २ महिना जेलमा बसेर शोभराज छुट्ने फैसला भयो। राजेश फोटो खिच्न कारागारदेखि अध्यागमन विभागसम्म गए। तर, प्रहरीले खिच्न दिएन।

चार्ल्स शोभराज पक्राउ परेपछि अदालत ल्याउँदा लैजाँदाको फोटो। तस्वीर- राजेश गुरुङ

शुक्रबार शोभराज छुट्दा राजेशले १९ वर्षअघिका तिनै दिनहरू सम्झना गरिरहे। जुन दिन उनले फोटो खिच्न सफल भएका थिए। त्यो फोटोकै कारण शोभराज नेपालमा छन् भन्ने खुलासा भएको थियो। शोभराज पक्राउ गराउने फोटो खिचेका राजेशले भने छुटेको फोटो खिच्ने इच्छा पूरा भएन।

सुरक्षाको कारण देखाउँदै अध्यागमन विभागले शुक्रबार फोटो खिच्न नदिई फ्रान्स डिपोर्ट गरियो। यसरी राजेश शोभराजबारे आफ्नो सिरिज पूरा नभएमा दु:खी छन् । ‘‘शोभराज पक्राउ हनुअघिदेखि पक्राउ भएपछिका हरेक इभेन्टमा मैले नछुटाइकन फोटो खिच्दै आएको थिए। तर, उनी विदेश फर्कने बेलामा भने फोटो खिच्न पाइनँ। मेरो सिरिस अपूरै रह्यो।’’

प्रहरीले शोभराजको फोटो नेपाली पत्रकारलाई खिच्न नदिए पनि प्लेनमा भने विदेशी मिडियाले खिचे। अहिले छ्यापछ्याप्ती छ। शोभराज छुटेपछि फोटो खिच्न नदिएकोप्रति व्यङ्ग गर्दै फोटो पत्रकार चन्द्र आले भन्छन् ‘‘१९ वर्ष पहिले एक जना फोटो पत्रकारले एउटा फोटोको कारणले नेपाल प्रहरीलाई हिरो बनाइदियो। त्यसको बदलामा १९ वर्ष पछि फोटो पत्रकारलाई जिरो बनाइदियो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved