बुवाको सपना पूरा गर्न मोजाको बल खेल्दै विश्वकप उचालेका पेले !

सन् १९५० जुलाई १६ मा विश्वकपको सो फाइनलमा ब्राजिल उरुग्वेसँग २–१ गोलअन्तरले पराजित भएको थियो। एककासि पेलेले आफ्नो बुबा रोएको आवाज सुने। भित्र गएर उनले भने,‘नरुनुस बुबा,म तपाईंको लागि विश्वकप जित्नेछु ।’

बुवाको सपना पूरा गर्न मोजाको बल खेल्दै विश्वकप उचालेका पेले !

काठमाडौं । सर्वकालीन महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भयो। पेलेलाई ‘ब्लाक पर्ल’ अर्थात् कालो मोतीको उपनाम दिइएको थियो। उनको फुटबलले सबैलाई मन्त्रमुग्ध पार्दथ्यो। पेले र फुटबल एकअर्काका परिपूरक जस्तै भएका थिए ।

बाल्यकाल

सन् १९४० मा ब्राजिलको मिनास जेराईसमा पेलेको जन्म भयो । वास्तिवक नाम एड्सन अरान्तेस डु नासिमेन्तो भएपनि उनलाई पेले नामले नै विश्वमा प्रसिद्ध बनायो। उनको जन्मपश्चात् परिवार उज्ज्वल भविषयको लागि बउरु सहरमा बसाई सर्‍यो।

उनको बुबा डोन्डिन्हो पनि व्यवसायिकरूपमा फुटबल खेल्थे। घुँडामा लागेको चोटका कारण खेल्ने असमर्थ भएसँगै उनको परिवार बउरुमा नै बस्यो।

आफ्नो बुबालाई पेलेको फुटबलप्रतिको लगाव बढ्दै गएको थियो। यद्यपि, उनकी आमा सेलेस्टेस अरान्तेसले भने आफ्नो श्रीमान्‌को अवस्था देखेर एथ्लिटले पाउने दुःख महसुस गरिसकेका थिए । यसकारण पनि पेलेको फुटबलप्रतिको लगावलाई उनले गम्भीरतापूर्वक हेर्ने गर्दथे।

सन् १९५० जुलाई १६ मा विश्वकपको फाइनलले पेलेको जीवनमा निकै महत्त्वपूर्ण छाप छोड्यो। ब्राजिलले फाइनलमा उरुग्वेसँग प्रतिस्पर्धा गरिरहेको थियो। ९ वर्षका पेले आफ्नो घर अगाडि खेलिरहेका थिए। उनको बुबा रेडियोमा फाइनल सुनिरहेका थिए।

सो फाइनलमा ब्राजिल उरुग्वेसँग २–१ गोलअन्तरले पराजित भएको थियो। एक्कासी पेलेले आफ्नो बुबा रोएको आवाज सुने । भित्र गएर पेलेले भने, ‘नरुनुस बुबा,म तपाईंको लागि विश्वकप जित्नेछु ।’

उनको आमाबुबाको फुटबल किन्न सक्ने अवस्था पनि थिएन । अभावै अभावको बीचमा पनि पेलेको फुटबलप्रतिको लगाव बढ्दै गयो । पुरानो मोजाको बल उनको पहिलो बल थियो । सो बल उनलाई फुटबलसँग नजिक बनाउन पर्याप्त भयो ।

 

सान्तोस क्लबको यात्रा


पेलेको क्लब यात्रा भने १५ वर्षको उमेरमा सुरू भयो । सन् १९५६ मा प्रशिक्षक वाल्डेमार डे ब्रिटोले पेलेलाई सान्तोस फुटबल क्लबमा लगे। ब्रिटोले क्लबका प्रशिक्षकलाई पेले विश्वको उत्कृष्ट खेलाडी बन्ने बताएका थिए।

नभन्दै पेलेको क्षमताले सान्तोसका प्रशिक्षक पनि प्रभावित भए र उनलाई टोलीमा आबद्ध गरिहाले। उनले सान्तोसको लागि खेलेको पहिलो व्यवसायिक फुटबलमा ४ गोल गरेका थिए । सान्तोसले सो खेल ७–१ ले जितेको थियो।

पेलेले १६ वर्षको उमेरमा नै राष्ट्रिय टोलीमा स्थान पक्का गरे। ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा पेलेले डेब्यू गरेका थिए । सो खेलमा ब्राजिल २–१ गोलअन्तरले पराजित भएको थियो। तर पेलेले ब्राजिलका लागि गोल गरेका थिए।

विश्वकप सन्दर्भ

सन् १९५८ मा स्विडेनमा आयोजना भएको विश्वकपमा ब्राजिलले खेल्ने अवसर प्राप्त गर्‍यो। त्यसबेला पेले १७ वर्षको थिए। उनले स्बस्टिच्युटको रूपमा डेब्यु गरे । फाइनलमा ब्राजिलले स्विडेनलाई ५–२ गोलअन्तरले पराजित गरेको थियो।

पेलेले सो खेलमा २ गोल गर्न सफल भएका थिए।

डाक्टरले पेलेलाई अस्वस्थ खेलाडीको सूचीमा पनि गणना गरेका थिए। नभन्दै, रेफ्रीले फाइनल ह्विसल बजाएसँगै पेले मैदानमा बेहोश भएका थिए। सो विश्वकप पश्चात् पेले एकाएक प्रसिद्ध भए।

क्वाटरफाइनल वेल्सविरुद्ध गोल गर्दा पेले १७ वर्ष २३९ दिनको थिए । जसबाट उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बने। पेलेको नाममा भएको सो कीर्तिमान अझै टुटेको छैन। फ्रान्सविरुद्धको सेमिफाइनलमा भने पेलेले ह्याट्रिक गरेका थिए।

ब्राजिल फर्केपश्चात् उनले मैदानमा भरपुर खेल देखाए । सन् १९६० मा उनले क्लब सान्तोसलाई २५ उपाधि जिताएका थिए ।

विश्वकपपश्चात् पेले लोकप्रिय भएपनि उनले आफ्नो धरातल भने कहिले पनि बिर्सेनन्। सरल जीवन शैलीलाई नै प्राथमिकता दिँदै पेले आफ्नो सहर पनि साइकलमा घुम्ने गर्दथे।

फुटबलमा त पेले प्रसिद्ध थिए नै साथै सङ्गीतमा पनि उनको रुचि थियो। उनले ब्राजिलका वरिष्ठ गायक एलिस रेजिनासँग एउटा एल्बम पनि रेकर्ड गरेका थिए। एक समय यस्तो पनि थियो, जब पेले सधैँ गितारको साथमा देखिन्थे। उनले केही चलचित्रमा पनि काम गरेका थिए।

सन् १९६२ को विश्वकपमा साबिक विजेता ब्राजिलले लगातार अर्को उपाधि पनि जित्यो । लगातार दुई विश्वकपको उपाधि जित्ने यो कीर्तिमान पनि अझै तोडिएको छैन । सो विश्वकपमा पेले घाइते भएपनि ब्राजिललाई उपाधि जिताउन मद्दत गरेका थिए।

सन् १९६९ मा पेले १ हजार गोल गर्ने पहिलो खेलाडी पनि बने।


सन् १९७० को विश्वकपमा पेलेले ब्राजिललाई तेस्रो विश्वकप पनि जिताए ।

क्लोडोआल्डोे, रिभेलिनो र तोस्ताओ पनि समावेश भएको विश्वकपको टोलीको खेल अहिले पनि यादगार मानिन्छ । साथै टेलिभिजनबाट रङ्गीन प्रसारण हुने त्यो पहिलो विश्वकप पनि थियो।

फाइनल खेलमा ब्राजिलले इटालीलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो। पेलेले सो खेलमा हेडर गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। पेलेको त्यो विश्वकपमा १२औं र अन्तिम गोल थियो।

फुटबलबाट सन्यास

सन् १९७४ मा पेलेले फुटबलबाट सन्यास लिए । सान्तोस क्लब छाडेको एक वर्षपश्चात् पेले अमेरिकाको न्यूयोर्क कसमोस क्लबमा आबद्ध भएका थिए। यो उनको जीवनको दोस्रो क्लब हो। यसअघि पेलेले सान्तोस र ब्राजिल राष्ट्रिय टोलीको लागि मात्र खेलेका थिए।

सन् १९७७ मा कसमोसलाई लिग उपाधि जिताएसँगै पेलेले पूर्णरूपमा फुटबलबाट सन्यास लिए। न्यू जर्सीको जायन्ट्स रंगशालामा उनको अन्तिम खेलमा ७५ हजार दर्शकको सहभागीता थियो।

पेलेले सबै बालबालिकालाई माया दिन आग्रह गर्दै सम्पूर्ण दर्शकलाई तीन पटक आफैँसँग ‘माया, माया, माया’ भन्न लगाएको मन्तव्य लोकप्रिय बनेको थियो।

पेलेले १ हजार ३६३ खेलपछि सन्यास लिए। उनले सो दौरान १ हजार २८१ गोल गर्दै ३७ उपाधि जिते । पेलेले ९२ ह्याट्रिक गरेका थिए।

२० वर्षभन्दा लामो खेल फुटबलबाट सन्यास लिएपछि पेलेले सामाजिक सेवामा आफ्नो जिन्दगी बिताए । उनले अमेरिकामा फुटबल विकास गर्न पनि महत्त्वपूर्ण योदान पुर्‍या । युनेस्कोको ‘गुडविल एम्ब्यासेडर’ को रूपमा पनि पेलेले काम गरे।

विभिन्न प्रतियोगितामा कमेन्ट्री पनि गरे। उनले आजीवन बालबालिकाको गुणस्तरिय शिक्षामा जोड दिएका थिए ।

पेलेलाई सबैले भरपर्दो, दयालु, आनन्दित र सहज मित्रको रूपमा हेर्ने गर्थे। उनको पोर्चुगिज भाषा बोल्ने शैली पनि निकै रोचक थियो। उनले हरेक वाक्यपश्चात् ‘अन्टान्डे’ अर्थात ‘बुझ्यो ?’ भन्ने गर्थे। उनलाई वार्तालाप निकै सुमधुर बनाउने रुचि हुन्थ्यो।

विगत केही वर्षदेखि ‘कोलन क्यान्सर’ बाट पीडित पेलेको अवस्था गम्भीर भएको थियो। नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि पेलेले सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा शल्यक्रिया गरेका थिए । नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो।

क्यान्सर बल्झिएसँगै विभिन्न अङ्ग निष्कृय हुँदा पेलेको डिसेम्बर २९, सन् २०२२ मा निधन भयो। तथापि, फुटबल जगतमा भने पेले सदैव अमर रहने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved