महान्यायाधिवक्ता दिनमणिले सुनाए काम गर्ने ३ काइदा !

नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले शपथ ग्रहणपछि आफूले काम गर्ने ३ काइदा सुनाए । ‘म यी नै ३ वटा फर्मूला र दृष्टिकोण राखेर काम गर्नेछु,’ उनले भने ।

नेपालभ्युज

591295292806329

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले शपथ ग्रहणपछि आफूले काम गर्ने ३ काइदा सुनाए । त्यसपछि उनले भने, ‘म यी नै ३ वटा फर्मूला र दृष्टिकोण लिएर काम गर्नेछु ।’

२९औं महान्यायाधिवक्ताका रूपमा बिहीबार (आज) शपथ ग्रहण गरेका उनले भनेका छन्, ‘मभन्दा अगाडि २८ जना महान्यायाधिवक्ताहरू आएर जानुभयो, म २९औं भएर आएको छु । धेरैलाई आउनु र जानु नियमित प्रक्रिया हो भन्ने लाग्छ । सत्य पनि हो । तर, म चाहन्छु— मेरो कार्यकाल त्यसो नहोस् । म आएको सबैलाई थाहा होस् ।’

त्यसका लागि आफूले निम्न ३ वटा ‘फर्मूला’को उपयोग गरेर काम गर्ने उनले बताए ।

१. संस्थाको निष्ठा जोगाउने ।

उनले आफ्नो पहिलो प्राथमिकता संस्थाको निष्ठा जोगाउने भएको बताए । संस्थाको निष्ठा नजोगिए संस्थामा रहनु र काम गर्नुको कुनै औचित्य नरहेको उनले बताए ।

‘न्याय क्षेत्रमा रहेकाहरूको दायित्व भनेको बाहिर बनेको भाष्यजस्तो होइन,’ उनले भने, ‘यहाँ धेरै राम्रा चिजहरू पनि छन्, यसलाई सुदृढ गरेर लान पनि सकिन्छ । हामी ‘लवेस्ट पोइन्ट’मा छैनौँ, हामी ‘हाइयेस्ट पोइन्ट’मा जान सक्छौँ भन्ने कुरा हामीले अनुभूत गराउन सक्यौँ भने हामी यो क्षेत्रमा रहेको औचित्य पुष्टि हुन्छ ।’

महान्यायाधिवक्ताको कार्यालयमाथि विश्वासको वातावरण सिर्जना हुनेगरी काम गर्ने उनले बताए । ‘यसो भयो भनेमात्रै सरकारी वकिल भएको, महान्यायाधिवक्ता भएको, कानून व्यवसायी भएको, न्यायाधीश भएको अर्थ हुन्छ भने संस्थाको निष्ठा पनि जोगिन्छ,’ उनले भने ।

२. रेडिमेट फर्मूलाअनुसार काम नगर्ने ।

महान्यायाधिवक्ता दिनमणिले आफूले रेडिमेट फर्मूलाअनुसार काम नगर्ने बताए ।

आफू नयाँ सोच र तरिका बोकेर आएको उल्लेख गर्दै उनले भने, ‘म रेडिमेट फर्मूला लिएर, एजेन्डा लिएर आएको होइन ।’

त्यसअघि उनले भने, ‘म सबैको आइडिया लिएर नयाँ काम गर्ने मनसायका साथ आएको हुँ । म एउटा प्रतिनिधि पात्रको रूपमा मात्रै कार्यालयमा रहनेछु । आइडिया बाँड्ने त सबैले हो । नयाँ काम गर्ने त सबैको सहभागितामा हो ।’

उनले आफूले लीडरसीपमा विश्वास गर्नुपर्ने बताए । ‘लीडर र लीडरसीपबीच फरक छ । म लीडर बन्दिनँ, लीडरसीपमा विश्वास गर्ने मान्छे हुँ,’ उनले भने, ‘र, लीडरसीपले रेडिमेट फर्मूलाअनुसार होइन, नयाँ आइडियाअनुसार काम गर्छ ।’

३. नयाँ काममा ‘फोकस्ड’ हुने ।

उनले संस्थाको निष्ठालाई कायम राख्दै नयाँ कामहरू गर्ने बताए । ‘म सकभर नयाँ कामहरू गर्ने प्रयासमा रहनेछु,’ उनले भने, ‘लीडरसीप परिवर्तन भएपछि काम गर्ने शैलीमा पनि केही नयाँपन आउनुपर्छ ।’

त्यसअघि उनले भने, ‘मभन्दा अगाडिका २८ जना महान्यायाधिवक्ताहरूले गरेको राम्रा कामहरूलाई मैले गर्दिनँ भन्दिनँ । तर, धेरेभन्दा धेरै नयाँ कामहरूमा फोकस्ड हुन्छु ।’

परिणाम दिनेगरी काम गर्ने प्रतिबद्धता जनाएका उनले थपे, ‘नियमित कामहरू त छँदैछन् । त्यसबाहेक नयाँ कामहरू गर्नेछु । तर, नियमित कामको व्यवस्थापनमा ध्यान दिनुपर्छ । परिणाम दिनेगरी काम गर्नुपर्छ । हामीले नयाँपन दिनुपर्छ । सेवाग्राहीको स्तरमा नयाँ काम देखाउनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved