सौर्य मण्डलका सबै ग्रहलाई पुसभरि साँझपख एकै लाइनमा देख्न सकिने

नेपालभ्युज

सौर्य मण्डलका सबै ग्रहलाई पुसभरि साँझपख एकै लाइनमा देख्न सकिने
solar system

काठमाडौं। पुस महिनाभरि सौर्य मण्डलका अधिकांश ग्रहलाई नांगो आँखाले देख्न सकिने भएको छ। बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार पुस महिनामा बाइनाकुलर र टेलिस्कोपको सहायताविनै सौर्य मण्डलका मुख्य ग्रहलाई देखिनेछ।

आकाश सफा रहेको अवस्थामा साँझ पख सूर्यास्तसँगै बुध र शुक्र ग्रह दक्षिण पश्चिम दिशामा केही समय अवलोकन गर्न सकिने समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए।

यी दुई ग्रह ६:३० बजे सम्ममा क्षितिजमुनि पुगिसक्ने भएकोले सीमित समयको लागि देख्न सकिनेछ। शनि ग्रहलाई सोही दिशामा साँझ ८:३० बजे सम्म देख्न सकिनेछ।

यसैगरी, बृहस्पति ग्रहलाई स्पष्ट र चम्किलोरूपमा पूर्वदक्षिणबाट मध्यरातसम्म देख्न सकिनेछ भने मङ्गल ग्रहलाई पूर्व-उत्तरदेखि पश्चिममा साँझदेखि बिहानसम्म देख्न सकिने शर्माले बताए।

त्यस्तै, औंसीपछि चन्द्रमा पनि अर्ध चन्द्रकार स्वरूपबाट पूर्णचन्द्रमा सम्मको दृश्यमा ग्रहको अघिपछि पछ्याइरहेको मनोरम दृश्य देख्न सकिनेछ। यी ग्रहहरू पङ्तिबद्ध रहे पनि यिनीहरूको चित्र एकैसाथ लिन अति कठिन रहने समितिले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

बुध, शुक्र, शनि बृहस्पति र मङ्गल ग्रहलाई खाली आँखाले सजिलै देख्न सकिनेछ भने शनि र बृहस्पतिको बीचमा वरुण ग्रह तथा बृहस्पति र मङ्गल ग्रहको बीचमा अरुण ग्रहलाई बाइनाकुलर र टेलिस्कोपको सहायताले देख्न सकिनेछ।

काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्तपश्चात् एजिम्युथकोण ७० डिग्रीदेखि २४० डिग्री र उचाइकोण १० डिग्रीदेखि ६० डिग्रीमा यी ग्रहहरूलाई खाली आँखाले देख्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved