कैलालीमा चोरी तथा लुटपाटका घटना बढ्दै, जिल्ला प्रहरी नेतृत्वविहीन

चोरी, लुटपाट, डकैती तथा तस्करीका घटनाले जिल्लाको सुरक्षा व्यवस्था बिग्रिँदै गएका बेला जिल्ला प्रहरी भने निमित्तको भरमा चलिरहेको छ ।

नेपालभ्युज

कैलालीमा चोरी तथा लुटपाटका घटना बढ्दै, जिल्ला प्रहरी नेतृत्वविहीन

धनगढी। कैलालीमा आपराधिक घटना बढे पनि प्रहरी सक्रियता भने बढ्न सकेको छैन । विभिन्न स्थानमा दिनदहाडै गोली हानी लुटपाट र चोरीका घट्ना बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।

केही समययता जिल्लाको सुरक्षा व्यवस्था बिग्रिँदै गएको सरोकारवाला बताउँछन् । चोरी र लुटपाटका घटना भइरहँदा पनि सुरक्षा निगरानी बढ्न सकेको छैन । चोरीमा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न नसक्दा यस्ता घटनाहरू सहर हुँदै गाउँसम्म बढ्न थालेको स्थानीयको गुनासो छ ।

पुस ३ गते कैलालीमा सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालय अत्तरियानजिकै साँझको समयमा सुन व्यवसायीमाथि गोली प्रहार भयो । अत्तरियास्थित घोडाघोडी १ बस्ने २८ वर्षीय विकास सुनारमाथि आइतबार साँझ साढे ६ बजे गोली प्रहार गरी लुटेराले २ लाख नगद र ३५ तोला सुन लुटेर भागे । न्यु घोडाघोडी सुनचाँदी पसल सञ्चालन गर्दै आएका उनी पसल बन्द गरेर घर जाने क्रममा आक्रमणमा परेका हुन् ।

सशस्त्र प्रहरी बेस क्याम्पनजिकै मोटरसाइकलमा सवार २ जनाले गोली चलाएर भागे पनि प्रहरीले अहिलेसम्म घटनामा संग्लनलाई समात्न सकेको छैन ।

गोली प्रहारबाट सुनारको दाहिने हात र ढाडमा चोट लागेको छ । उनको हाल धनगढीमा उपचार भइरहेको छ ।

त्यस्तै, पुस ५ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा गोली चल्यो । वडा नम्बर ९ शिवरामनगर टोलमा स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन् ।

गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार ब्याट्री चोरेर लगे । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए ।

पुस ५ गते गत मंगलबार राति सुर्मा साइपाल बचत तथा ऋण सहकारीको फूलबारी शाखामा चोरी भयो । सटरको ताल्चा नै तोडेर अज्ञात समूहले लकरभित्र राखिएको एक लाख ९७ हजार ६ सय ४८ रुपैयाँ चोरी गरेर फरार भए ।

सोही दिन अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्थाको पनि लकर नै तोडेर पाँच लाख ६८ हजार ६ सय रुपैयाँ चोरी भयो । झ्यालको ग्रिल निकालेर नगद चोरी हुँदा पनि प्रहरीले पतै पाएन ।

जिल्लाभित्र चोरीका घटनाहरू लगातार बढे पनि प्रहरी सक्रियता भने बढ्न सकेको छैन । विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ । चोरहरूको डरले राति डराइडराई सुत्नुपरेको धनगढी उप–महानगरपालिका–९ बङ्ग्राकटानस्थित शिवरामनगर टोलका स्थानीय प्रजापति विष्टले गुनासो गरे ।

‘चोर र लुटेराको बिगबिगी यसरी बढेको छ कि बाख्रा खोरमा रहेका खसीबोका समेत आफैँले सुत्ने पलङमा बाँधेर त्रासमा रात बिताउनु परिरहेको छ’, धनगढी १० का स्थानीय रतन थापाले गुनासो पोख्दै भने ।

हाम्रो समस्याप्रति प्रहरीलाई मतलब नै छैन, अर्का स्थानीय प्रभाकर खत्रीले धनगढी उप–महानगरपालिका–९ को बङ्ग्राकटानमा पटक–पटक चोरी भई नै रहेको छ । वनदेवी टोलका जगन्नाथ भट्ट र जगत पार्कीको घरमा बुधबार राति दुई थान साइकल र डेढ क्विन्टल गहुँ चोरी भएको छ ।

त्यस्तै, बिहीबार राति धनगढी उप–महानगरपालिका–१ चौधरी बुक डिपो नजिकैको राजकुमार शर्माको चिया पसलमा पनि चोरी भएको छ । रातिको समयमा पसल फोडेर पर्समा राखिएको ८० हजार नगद र सामसुङ कम्पनीको एक थान मोबाइल चोरी भएको भयो । दिनप्रतिदिन चोरी र लुटपाट हुँदै आए पनि प्रहरीले संलग्नहरूलाई कानुनी दायरमा ल्याउन नससकेको पीडितको गुनासो छ ।

चोरीमा संलग्न हाम्रै वरिपरि निर्बाधरूपमा घुमिरहेको भए पनि प्रहरी भने रमिते बन्ने गरेको जुगेडाका स्थानीय दिनेश साउदले गुनासो गरे । ‘हाम्रो धनमाल लुटिरहेको हुन्छ तर प्रहरीले कुनै वास्ता गर्दैन अब गुनासो कसलाई गर्ने,’

कैलालीमा विभिन्न स्थानबाट चोरीमा संलग्न १७ जना अझै फरार छन् । प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको दाबी गर्दै आए पनि स्थानीयले भने सुरक्षाको अनुभूति गर्न पाएका छैनन् ।

पछिल्लो समयमा विभिन्न ठाउँमा चोरीका घटना बढेपछि सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेद प्रकाश जोशीले बताए ।

‘चोरीका घटना बढ्दै गएपछि प्रहरीले मोटरसाइकल गस्ती बढाएको छ उनले भने राजमार्ग क्षेत्रदेखि ग्रामीण इलाकासम्म प्रहरी निगरानी बढाउने काम भइरहेको छ ।’ उनले भने चोरी, डकैतीका घटनाका कारण सुरक्षा चुनौती बढेको छ ।

‘अत्तरियाको केसपछि फाट–फुट घटना भएका छन् । सुरक्षा चुनौती बढेको देखिएको छ । हामीले सुरक्षा योजना बनाएका छौं । सबै क्षेत्रमा गस्ती बढाएका छौं । सबै क्षेत्रमा सुरक्षा प्रमुखहरूलाई भनेका छौ । अत्तरिया क्षेत्रमा नयाँ चेक प्वाइन्टसमेत थपेका छौं । चोरीका घटना अझै हुँदैछन् । हाम्रो पहल जारी छ ।

राति टोलमा आवत-जावतमा प्रतिबन्ध

धनगढी उपमहानगरभित्रका अधिकांश क्षेत्रमा चोरी, लुटपाट र डकैतीका घटना बढ्दै गएपछि स्थानीयले आफ्नो सुरक्षा आफै गर्ने नयाँ विधि अपनाएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का स्थानीयले संभावित चोरी, लुटपाट, डकैतीलाई मध्यनजर गर्दै अपरिचित व्यक्तिमाथि आवतजावतमै प्रतिवबन्ध लगाइएको छ ।

धनगढी–९ बङ्ग्राकटानको शिवरामनगर टोलका स्थानीयले राति ९ बजेदेखि बिहान ४ बजेसम्म अपरिचत व्यक्ति आवत–जावतमा प्रतिबन्ध लगाउने निर्णय भएको हो ।

रातिको समयमा कसैलाई कहीँ जानु छ भने टोली विकास समितिका अध्यक्षलाई जानकारी गराउने, आफ्नो परिचय खुल्ने प्रमाण राखेर मात्र सो समयमा आवत–जावत गर्न पाउने व्यवस्था गरिएको छ ।

स्थानीयले यस्ता व्यवस्था शनिबार रातिदेखि लागू हुनेगरी अहिले शिवरामनगर टोलबाट यसको सुरुवात भएको र विस्तारै सबै टोलमा यस्तो व्यवस्था कार्यान्वयनमा आउने धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए ।

कैलाली प्रहरी नेतृत्वविहीन

कैलालीको अत्तरियामा सुनचाँदी व्यापार गर्दै आएका विकास सुनारमाथि गत आइतबार दिनदहाडै गोली प्रहार भयो । उनको ३५ तोला सुन लुटियो । मोटरसाइकलमा आएको दुई जना लुटेराको समूह अझै फरार छ ।

अत्तरिया गोली काण्डको एक हप्ता हुँदा पनि लुटेरा समूह पक्राउ परेको छैन । अत्तरियामै हप्ता दिन भित्रै २ वटा सहकारीमा चोरी हुदाँ लाखौं नगद चौरी भएको छ ।

तर, अत्तरिया क्षेत्रमा चोरी तथा लुटपाटका घटना बढेका बेला इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डे भने बिदामा छन् । गत मंसिर २८ गतेदेखि उनी घर बिदामा काठमाडौं गएका हुन् । मालाखेती प्रहरीको निमित्त प्रमुखको जिम्मेवारीमा प्रहरी निरीक्षक वासुदेव भट्ट छन् ।

त्यस्तै, धनगढी उप–महानगरपालिका वडा नम्बर ९ मा गत सोमबार राति गोली चल्यो । शिवरामनगर टोलका प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा डाँकाहरूले उनी माथि गोली चलाए । विष्टलाई गोली प्रहार गर्ने पनि पक्राउ परेका छैनन् ।

तर, जिल्लामा सुरक्षा चुनौती बढेका बेला जिल्ला प्रहरी कार्यालय कैलाली भने नेतृत्वविहीन छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख शोमेन्द्रसिँह राठोरको सरुवा भयो । उनको ठाउँमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ ।

उनी जिल्लामा हाजिर भएका छैनन् । चोरी, लुटपाट, डकैती तथा तस्करीका घटनाले जिल्लाको सुरक्षा व्यवस्था बिग्रिँदै गएका बेला जिल्ला प्रहरी पनि निमित्तको भरमा चलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved