आफ्नै अहम्‌ले उत्तानो परेको कांग्रेस, सबै टिप्न खोज्दा पोल्टाको पनि पोखियो

अघिल्लोपटक केपी ओलीको अहंकारले एमाले सबैतिर गुमाउने अवस्थामा पुगेको थियो । यसपटक कांग्रेसमा देखिएको अहंकारले त्यस्तै अवस्था सिर्जना भएको छ । ओलीले त आफ्नो पुरानो क्षति रिकभर गरेर पार्टीलाई बचाउने अवस्थामा ल्याएका छन् । तर, अब देउवामा भने त्यो हुति पनि देखिँदैन । 

आफ्नै अहम्‌ले उत्तानो परेको कांग्रेस, सबै टिप्न खोज्दा पोल्टाको पनि पोखियो

 काठमाडौं। नेपालको राजनीतिमा नाटकीय परिवर्तन भएको छ । आश्चर्यजनकरूपमा सत्ता गठबन्धन भत्किएको छ भने नयाँ सरकारका लागि नयाँ गठबन्धन तयार भएको छ ।

तेस्रो ठूलो दलका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएको छ भने सबभन्दा ठूलो दल नेपाली कांग्रेस अब प्रतिपक्षमा पुगेको छ । राजनीतिमा आएको यो परिवर्तन एकदमै अनपेक्षित भने थिएन ।

योपटक प्रचण्ड जसरी पनि प्रधानमन्त्री बन्न चाहन्थे । त्यसका लागि उनले समानान्तर रूपमा प्रयास गरिरहेका थिए । उनको जोड सकेसम्म चुनावमा गएकै गठबन्धनबाट प्रधानमन्त्री बन्ने थियो । तर कांग्रेसले यसमा हठ देखायो ।

कांग्रेसले प्रधानमन्त्रीको कार्यकाल भागबण्डा गर्न त सहमति जनायो तर पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भएन । फलस्वरूप प्रचण्ड एमालेसँग मिल्न पुगे । यस्तो अवस्था आउन सक्ने आंकलनसहित माओवादीका केही नेता एमालेसँग निरन्तर संवादमा थिए ।

उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि गठबन्धन टुटेर प्रचण्ड आफ्नो समर्थनमा प्रधानमन्त्री बनुन् भन्ने चाहिरहेका थिए । त्यसो गर्दा कम्तिमा राष्ट्रपति अहिले नै र दोस्रो कार्यकालमा आफ्नो भागमा प्रधानमन्त्री आउने उसको आँकलन थियो । कांग्रेसकै कारण ओलीले चाहेजस्तो अवस्था बन्यो ।

देउवाको हठले कांग्रेसलाई क्षति 

अहिलेको अवस्था आउनु कांग्रेसका लागि निकै ठूलो क्षति हो । किनकि, अब कांग्रेसको हातबाट धेरै कुरा फुस्किएको छ । संघीय सरकार मात्रै होइन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रदेश सरकारहरू सबैमा नयाँ गठबन्धन हावी हुने निश्चित भएको छ ।

यसका लागि मुख्यत कांग्रेस सभापति शेरबहादुर देउवा नै जिम्मेवार देखिन्छन् । सामाजिक सञ्जालमा पनि देउवाको हठकै कारण यस्तो अवस्था आएको भन्दै कांग्रेस कार्यकर्ताले आलोचना गरिरहेका छन् । कांग्रेस माओवादीलाई प्रधानमन्त्री दिन राजी भइसकेको थियो ।

कुरा यति मात्रै थियो कि, अहिले होइन पछि दोस्रो कार्यकालमा । जबकि, प्रचण्ड पहिले चाहिरहेका थिए । स्वभाविकरूपमा विगतमा कम सिट हुँदा पनि आफूले देउवालाई प्रधानमन्त्रीमा सहयोग गरेकाले अहिले कांग्रेसले सहजरूपमा प्रधानमन्त्री बनाउने प्रचण्डको विश्वास थियो ।

त्यसो गर्दा राष्ट्रपति लगायतका पद कांग्रेसलाई छाड्न माओवादी तयार नै थियो । तर, देउवाको आफू नै प्रधानमन्त्री रहिरहने र राष्ट्रपति लगायतका पद पनि नछाड्ने अडान नै गठबन्धन भत्काउनका लागि पर्याप्त थियो । प्रचण्डलाई पहिलो कार्यकालमा प्रधानमन्त्री छाडेको भए कांग्रेसको दुवै हातमा लड्डु नै हुने थियो ।

राष्ट्रपति र सभामुख पनि उसैले पाउने सम्भावना थियो । प्रदेश सरकारमा पनि अधिकांश कांग्रेसकै नेतृत्व हुन्थ्यो । केही वर्षमा संघीय सरकारको नेतृत्व पनि कांग्रेसमै पुग्ने थियो । यति सहज बाटो छाडेर कांग्रेसले सबै गुमाउने अवस्था सिर्जना गरेको छ । त्यसमा मुख्यत प्रधानमन्त्री नछाड्ने देउवाको हठ नै जिम्मेवार छ ।

राष्ट्रपति र प्रधानमन्त्री कुनै हालतमा माओवादीलाई दिन नहुने अन्तर्राष्ट्रिय शक्तिको दबाब तोड्न नसक्नु पनि देउवाकै कमजोरी हो । मुख्यत दक्षिणी छिमेकबाट माओवादी नभए पनि सरकार बनाइदिने भनेर दिएको आश्वासनमा विश्वास गर्नु देउवाको ठूलो भुल थियो ।

कांग्रेसले के-के गुमाउँदै छ ? 

नयाँ प्रतिनिधिसभा र प्रदेशसभा गठन भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुख लगायतका पदमा अब नयाँ व्यक्ति आउनेछन् ।

अहिलेको एमाले नेतृत्वको गठबन्धन कायम रहँदा यी सबै ठाउँमा कांग्रेस पछाडि पर्न सक्नेछ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख अब नयाँ गठबन्धनले भागबण्डा गर्नेछन् । प्रदेश सरकारमा पनि कांग्रेस पत्तासाफ हुने सम्भावना छ ।

नयाँ गठबन्धनकारी दलको ७ वटै प्रदेशमा स्पष्ट बहुमत देखिन्छ । सुदूरपश्चिममा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी पनि पछिल्लो पटक नयाँ गठबन्धनमा सहभागी भएको छ ।

यसरी अधिकांश स्थान पाउने अवस्थाबाट कांग्रेस सबैतिर गुमाउने ठाउँमा पुगेको छ । राजनीतिमा अह‌ंता कति हानिकारक छ भन्ने फेरि स्पष्ट भएको छ । अघिल्लोपटक केपी ओलीको अहंकारले एमाले सबैतिर गुमाउने अवस्थामा पुगेको थियो ।

यसपटक कांग्रेसमा देखिएको अहंकारले त्यस्तै अवस्था सिर्जना भएको छ । ओलीले त आफ्नो पुरानो क्षति रिकभर गरेर पार्टीलाई बचाउने अवस्थामा ल्याएका छन् । तर, अब देउवामा भने त्यो हुति पनि देखिँदैन ।

यो घटनाले कांग्रेसलाई हुने एउटै फाइदा भनेको पुस्तान्तरणको प्रक्रिया अब तीव्र गतिमा अघि बढ्ने सम्भावना छ । देउवासहितका नेताहरू छिट्टै कांग्रेसबाट पाखा लाग्न सक्छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved