उपेन्द्र यादवको ओरालो यात्राका पाँच कारण

'मधेसका मसिहादेखि शर्मनाक पराजयसम्म'

आखिर किन यति कमजोर भए उपेन्द्र यादव ? २०७४ को आम निर्वाचनपछि उनले चरम सत्तालोलुप र अवसरवादी चरित्र देखाए, जो मधेसी जनतालाई मनपरेन । तर यो मात्रै कारण थिएन । उपेन्द्रको ओरालो यात्राका मुख्य पाँच कारण छन् ।

उपेन्द्र यादवको ओरालो यात्राका पाँच कारण

काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी निर्वाचन क्षेत्र–२ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग पराजित मात्रै भएनन्, उनको पराजय एकप्रकारले शर्मनाक रह्यो ।

करिब दोब्बर भन्दा बढी मतले राउत विजय भए । यादव राउतको छेउछाउ पनि पुग्न सकेनन् । राउतले ३५,०४२ मत प्राप्त गर्दा यादवले १६,९७८ मत मात्र प्राप्त गरे ।

कुनै समय थियो– मधेसमा उपेन्द्र यादवलाई ‘संघीयताका पिता’ र ‘मधेसका मसिहा’ भनिन्थ्यो । सप्तरी मधेस आन्दोलनका केन्द्रमध्ये एक महत्त्वपूर्णं केन्द्र थियो । मधेस आन्दोलनको रापताप र प्रभाव व्यापक भएको जिल्ला थियो । तर, मधेस आन्दोलनको केन्द्रले नै ‘मधेसका मसिहा’ लाई शर्मनाक पराजयको पीडा चखाइदियो ।

जनान्दोलन–२०६२-२०६३ भएलगत्तै २०६३ को माघमा भड्किएको ‘मधेस जनविद्रोह’ देशका अरु भागका लागि आश्चर्यजनक थियो तर त्यो अकारण र स्वत:स्फूर्त भने थिएन ।

मधेसी जनाधिकार फोरम बनाएर उपेन्द्र यादवले यसको पृष्ठभूमि तयार गर्न भित्रभित्रै निकै ठूलो मेहनत गरेका थिए । त्यही मधेस आन्दोलनको बलमा देशमा संघीयता, समानुपातिक निर्वाचन प्रणाली, समावेशिता र आरक्षणको युग सुरुवात भएको मानिन्छ ।

तर, मधेस आन्दोलनमार्फत देशमा यति ठूला राजनीतिक एजेन्डा स्थापित गर्ने नेता उपेन्द्र यादव भने दिनप्रतिदिन कमजोर हुँदै गएका छन् । हालै सम्पन्न निर्वाचनमा उनी आफू मात्रै पराजित भएका छैनन, उनको दल जनता समाजवादी पार्टी पनि निकै कमजोर भएको छ।

एमालेसँगको तालमेलका बाबजुद प्रत्यक्षतर्फमा जसपाले ७ सिट मात्रै जित्न सक्यो । समानुपातिकतर्फ पनि अपेक्षा भन्दा निकै कम ३.९९ प्रतिशत मत मात्र ल्यायो ।

जसपाले ७ देखि १० प्रतिशतसम्म समानुपातिक मत प्राप्त गर्ने अपेक्षा गरिएको थियो तर, मुस्किलले थ्रेसहोल्ड मात्रै कटायो । सीके राउत नेतृत्वको जनमत पार्टीको बराबर समानुपातिकतर्फ ५ सिट मात्रै पायो । यसरी जसपा संघीय प्रतिनिधिसभामा १२ सिटमा सीमित भयो ।

पाँच वर्ष सरकार चलाएको मधेस प्रदेशमा जसपाले प्रत्यक्षतर्फका ६४ मध्ये ९ सिट मात्रै हासिल गर्न सक्यो । अर्थात् एमाले र कांग्रेसभन्दा कमजोर, तेस्रो स्थानमा धकेलिएको छ । प्रदेश समानुुपातिकतर्फ चौथो स्थानमा धकेलियो ।

आखिर किन यति कमजोर भए उपेन्द्र यादव ? उनको ओरालो यात्राका कारण के-के हुन् ? मधेस राजनीतिका विज्ञ तथा विश्लेषकहरू यसका मुख्य पाँचवटा कारण औल्याउँछन् ।

प्रदेश १ र लुम्बिनीमा मुस्किलले थ्रेसहोल्ड कटायो । बाँकी ४ प्रदेश बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा जसपाको चुनावी प्रदर्शन र परिणाम निकै कमजोर र लज्जास्पद रह्यो ।

मधेस प्रदेश र तराई–मधेसका जिल्लाहरूमै निरन्तर कमजोर भइरहेको ‘मधेसको मसिहा’ पार्टी पहाडी प्रदेश र जिल्लामा कमजोर हुनु अस्वाभाविक थिएन।

आखिर किन यति कमजोर भए उपेन्द्र यादव ? उनको ओरालो यात्राका कारण के-के हुन् ? मधेस राजनीतिका विज्ञ तथा विश्लेषकहरू यसका मुख्य पाँचवटा कारण औल्याउँछन् ।

सत्तालोलुप र अवसरवादी चरित्र

२०७४ को आम निर्वाचनपछि उपेन्द्र यादवले चरम सत्तालोलुप र अवसरवादी चरित्र देखाए, जो मधेसी जनतालाई मनपरेन ।

तेस्रो मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीको पृष्ठभूमिमा एमालेलाई ‘मधेस विरोधी शक्ति’ करार गर्दै तत्कालिन संघीय समाजवाी फोरम चुनाव लडेको थियो । तर, चुनाव सकिएलगत्तै उनी केपी शर्मा ओलीको सरकारमा सामेल हुँदै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री भए ।

ओली सरकारमा सामेल भएलगत्तै उनले संविधानप्रतिको दृष्टिकोण परिवर्तन गरे । संविधान पुनर्लेखनको माग गर्दै आएका यादवले झिनो स्वरमा संशोधनको माग गर्न थाले भने ‘कालो दिवस’ भनिएको असोज ३ गतेका दिन संविधान दिवस मनाउन थाले ।

ओली सरकारमा यादवको स्थिति खासै सम्मानजक थिएन । तथापि, उनले लामो समय सरकार छोडेनन् । जब ओली र यादवबीचको सम्बन्ध निकै चिसो बन्यो, ओलीले यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए ।

ओलीको दुई–दुईपटकको असंवैधानिक संसद् विघटनलाई प्रतिगमन भन्दै आएका यादव अन्तिम समयमा गठबन्धन परित्याग गरी एमालेसँगको तालमेलमा प्रवेश गर्नु पनि अवसरवाद कै थप प्रमाण थियो । 

स्वास्थ्यमन्त्रीका रूपमा एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन नयाँ दिल्ली गएका यादव कार्यक्रम नसकिँदै कानुनमन्त्री भइसकेका थिए । यसरी यादव अपमानजनक ढंगले ओली सरकारबाट निकालिए ।

ओली सरकारमा यादवको प्रवेश र बहिर्गमन दुवै समयमा चरम सत्तालोलुपता र अवसरवाद प्रकट भयो । पछिल्लो समय उनी पाँचदलीय गठबन्धनभित्र थिए तर, अन्तिम समयमा एमालेसँगको तालमेलमा फर्किए ।

ओलीको दुई–दुईपटकको असंवैधानिक संसद् विघटनलाई प्रतिगमन भन्दै आएका यादव अन्तिम समयमा गठबन्धन परित्याग गरी एमालेसँगको तालमेलमा प्रवेश गर्नु पनि अवसरवाद कै थप प्रमाण थियो ।

मधेस सरकारको कमजोर र भ्रष्ट छवि

बिहारका लालु यादवको ‘वाई–एम फर्मुला’ पछ्याउँदै उपेन्द्र यादवले मधेस सरकारको नेतृत्व मोहम्मद लालबाबु राउतलाई दिए । राउत ५ वर्ष मुख्यमन्त्री रहे । तर, राउतको आफ्नै मौलिक व्यक्तित्व र कार्यसम्पादन क्षमता थिएन ।

उनी एकातिर उपेन्द्र यादवको भय र ओझलमा हुन्थे । उपेन्द्र यादवका ‘कठपुतली’ जस्ता थिए। अर्कोतिर यादव निकट प्रदेशमन्त्रीले मुख्यमन्त्री राउतमाथि चर्को दबाब दिइरहेका हुन्थे ।

फलतः मुख्यमन्त्री र मधेस सरकारको छवि धुमिल र कार्यसम्पादन क्षमता कमजोर थियो।

अर्कोतिर प्रदेश सरकार, मन्त्री र सांसदहरू कमिसन र भ्रष्टचारका अनेक फण्डामा मुछिएका थिए । ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ मा किनिएका साइकलमा भएको भ्रष्टाचारका अतिरिक्त चर्चामा नआएका थुप्रै भ्रष्टाचार काण्ड भए ।

प्रदेश सांसदलाई दिएको वार्षिक तीन करोड निर्वाचन क्षेत्र विकास खर्चमा १०–२५ प्रतिशतम्म हाकाहाकी कमिसन चल्यो । मुख्यमन्त्री राउतले यस्ता हर्कत रोक्नतिर ध्यान दिएनन् ।

प्रदेश सांसदलाई दिएको वार्षिक तीन करोड निर्वाचन क्षेत्र विकास खर्चमा १०–२५ प्रतिशतम्म हाकाहाकी कमिसन चल्यो । मुख्यमन्त्री राउतले यस्ता हर्कत रोक्नतिर ध्यान दिएनन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवदले मधेस सरकारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी र रचनात्मक तरिकाले निर्देशन र सञ्चालन गर्ने रुचि देखाएनन् । त्यसको असर जसपाको छविमा पर्‍यो ।

जातिवादको आरोप

मधेस आन्दोलन ताका उपेन्द्र यादवले मधेसका समग्र जातजातिलाइै काठमाडौं को एकात्मक तथा केन्द्रिकृत सत्ताको विरुद्ध एकताबद्ध बनाएका थिए । तर, शक्तिमा आएपछि उनले पार्टी, राज्यसत्ता र अन्य अवसरमा ‘यादववाद’ लाई प्रोत्साहन गरेको आरोप लाग्यो ।

यादव समुदाय मधेस प्रदेशको सबैभन्दा प्रभावशाली समुदाय हो, तर यसको जनसंख्या भने करिब १५ प्रतिशत मात्र छ । मधेसमा सबैभन्दा ठूलो जनसंख्या दलित समुदायको करिब २१ प्रतिशत छ भने गैरयादव जातीय समुदायहरूको जोड ८५ प्रतिशत हुन्छ ।

मधेसका ८ जिल्लामा ८ वटै पार्टी अध्यक्ष यादव समुदायका थिए । मधेस सरकारमा पनि यादव समुदायका मन्त्रीहरूको हालीमूहाली नै थियो । मुख्यमन्त्री लालबाबु राउत उपेन्द्र यादव निकट प्रदेशमन्त्री विजय यादवसामु आफूलाई निरिह महशुस गर्थे ।

गैरयादव समूदायका डा. सीके राउतले जनमत पार्टीमार्फत गैरयादव ध्रुवीकरणलाई बढाए । जसपा अध्यक्ष यादवले आफूमाथि लागेको यादववादको जातिवादी आरोपको प्रतिरक्षा गर्न सकेनन् ।

जसपाको केन्द्रीय कार्यकारिणीमा समेत रेणु यादव, रामसहायप्रसाद यादव, मृगेन्द्र सिंह यादव लगायतको सघन उपस्थिति थियो । उनीहरू संघीय मन्त्रीसमेत भए ।

पार्टी प्रदेश अध्यक्ष रामबाबु यादव थिए । गैरयादव समूदायका डा. सीके राउतले जनमत पार्टीमार्फत गैरयादव ध्रुवीकरणलाई बढाए । जसपा अध्यक्ष यादवले आफूमाथि लागेको यादववादको जातिवादी आरोपको प्रतिरक्षा गर्न सकेनन् ।

बारम्बार पार्टी विभाजन

जसपा अध्यक्ष उपेन्द्र यादवलाई पार्टीभित्र एकलकाँटे, असहिष्णु र एकमनावादी नेताको रूप लिइन्छ । पार्टीभित्रका सबै पक्षसँग सम्मानजक सहकार्य गर्नतिर उनी ध्यान दिँदैनन् ।

कतिपय महत्त्वपूर्णं निर्णय एक्लै गर्दछन, फलतः पार्टीभित्रको असन्तुष्टि र गुनासो सधै‌ं बेकार हुन्छ । चुनावी टिकट वितरणलगायत राजनीतिक अवसरको वितरणमा समेत उनले एकल निर्णय गर्ने वा खुल्ला बार्गेनिङ गर्ने समूहलाई थामथुम पार्न दिने गरेको बताइन्छ ।

उनको पार्टीले बरम्बार विभाजन र एकताको चक्र पूरा गरेको थियो । पछिल्लो समयमा तत्कालीन संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको थियो ।

तर, त्यो पार्टी लगत्तै दुई ठूला फुट भए । महन्थ ठाकुर–राजेन्द्र महतो समूह निस्किएर लोसपा गठन गर्‍यो । डा. बाबुराम भट्टराई–महेन्द्र राय यादव समूह निस्केर नेसपा गठन गर्दै माओवादीसँग सहकार्य गर्न गयो । चुनावको मुखैमा भएका यी दुई ठूला पार्टी विभाजनले उपेन्द्र यादव कमजोर हुन पुगे ।

छिमेकी देशसँगको सम्बन्ध

तेस्रो मधेस आन्दोलनपछि दक्षिण छिमेकी देश भारतसँग किन र के कारणले उपेन्द्र यादवको सम्बन्ध बिग्रियो, त्यो उनैलाई थाहा होला । तर, भारतीय दूतावासले उनलाई अघोषित ‘पर्सना ननग्राटा’ मान्दै आएको छ । उनले सम्बन्ध सुधारको प्रयत्न नगरेका पनि हैनन, तर सम्भव भएन ।

यसपटक उपेन्द्र यादव चुनाव हारून् भन्ने यस्ता धेरै शक्ति केन्द्रको चाहना थियो, जसले उनका प्रतिस्पर्धी उम्मेद्वारलाई पछाडिबाट सहयोग गरेको हुन सक्दछ ।

सप्तरी–२ मा सत्ता गठबन्धनले लोसपाका कमजोर उम्मेद्वार दिएको थियो । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार मैदानमा भएको भए त्रिकोणात्मक चुनाव हुन सक्थ्यो ।

तर, भर्खरै पाँचदलीय गठबन्धन छोडेर हिँडेका उपेन्द्र यादव हारून् भन्ने मनसाय कांग्रेसले पनि राख्यो ।

शक्ति केन्द्र र सबै दल मिलेर उपेन्द्र यादवविरुद्ध डा. सीके राउतलाई सहयोग गर्ने रणनीति बन्यो । यो रणनीतिमा जसपाले तालमेल गरेको दल नेकपा ( एमाले ) को पनि अप्रत्यक्ष सहयोग थियो ।

यादव पराजित भएमा मधेस प्रदेशमा एमालेको गुमेको वर्चश्व फर्काउँन भावी दिनमा झनै सजिलो हुने एमालेका स्थानीय कार्यकर्ता र समर्थकको सोच थियो । यादव यसको समेत मारमा परे ।

ओरालो यात्रा कहाँसम्म ?

जसपा र उपेन्द्र यादवको राजनीतिक ओरालो यात्रा कहाँँ गएर रोकिन्छ वा पतनसम्मै पुग्छ यसै भन्न सकिन्न । उनले पराजयले पार्टी थप नेतृत्व संकटमा फस्ने देखिन्छ ।

एमालेको सहयोगमा बरिष्ठ नेता अशोक राई सुनसरी-१ बाट जितेर आएका छन् । राई संसदीय दलको नेता भए पार्टीको ‘मधेसवादी छवि’ झन् झन् कमजोर हुँदै जाने र राईको साटो मधेसी मूलकै कुनै सांसदलाई संसदीय दलको नेता बनाउँदा मधेसको नेतृत्व र प्रभाव विस्तारै उसैमा संकेन्द्रण हुने असहजता र भय यतिखेर उपेन्द्र यादवका सामु आएको छ ।

यही अप्ठ्यारोको कारण सबै पार्टीले संसदीय दलको नेताको चयन गरिसक्दा पनि जसपाले गरेको छैन ।

मधेस राजनीतिका एक जानकार भन्दछन्–‘उपेन्द्र यादवको राजनीतिक जीवन यस्ता अनेक उतारचढाब जेलिएको छ। अहिले नै उनी सकिए भन्न हतारो हुन्छ तर, उनी निकै असजिलो र ओरालो यात्रामा  छन् भन्नेचाहिँ पक्का हो । ’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved