भावी सरकारको लेखाजोखा : यसरी बन्न सक्नेछन् प्रचण्ड प्रधानमन्त्री

कांग्रेसका लागि सहज छैन समीकरण

अब कांग्रेस पहिलो पल्ट सरकारको नेतृत्वका लागि राष्ट्रपति पद छाड्न तयार होला कि नहोला ? पक्कै उसलाई गाह्रो छ । त्यस्तो अवस्थामा पनि प्रचण्डलाई नै पहिले प्रधानमन्त्री बनाउन कांग्रेस तयार हुन सक्नेछ । प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउँदा कांग्रेसलाई अन्य केही फाइदा पनि हुनेछन् ।

भावी सरकारको लेखाजोखा : यसरी बन्न सक्नेछन् प्रचण्ड प्रधानमन्त्री

काठमाडौं। नेपाली कांग्रेसमा संसदीय दलको चुनावसँगै नयाँ सरकारको जोडघटाउ सुरु भएको छ । सबैभन्दा ठूलो दल भएका कारण कांग्रेसको चुनावमा सबैको चासो बनेको छ।

सभापति शेरबहादुर देउवा नै कांग्रेस संसदीय दलको नेता चुनिएपछि अब सरकार गठनको कसरततिर दलहरू लागेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको सात दिनको समय शनिबार सकिँदै छ । त्यसैले, आगामी तीन दिनभित्र दलहरूबीच केही न केही सहमति हुने अपेक्षा गर्न सकिन्छ ।

नयाँ सरकारको नेतृत्व कसले गर्ला भन्ने अहिले धेरैको चासो देखिन्छ । स्वाभाविकरूपमा देशको सरकार कस्तो बन्दैछ भनेर आम नागरिकले पनि चासो र चिन्ता राख्नु अन्यथा होइन । चुनावी परिणाम र त्यसपछिका छलफल हेर्दा अहिलेको सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना नै बढी छ ।

तर, गठबन्धनबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबीच अझै सहमति भएको छैन । संघीय सरकार मात्रै होइन नयाँ जनमतअनुसार अब राष्ट्रपति, उपराष्ट्रपति र सातै प्रदेशमा पनि नयाँ सरकार बन्नेछन् । संघ र प्रदेशमा सभामुख, उपसभामुख चयनको विषय पनि छ ।

त्यसैले दलहरूबीच अब यी सबै पद बाँडफाँडका लागि बैठक र छलफल तीव्र हुने अनुमान गरिएको छ ।

अब कस्तो सरकार बन्ला ? 

अहिलेको वाम-लोकतान्त्रिक गठबन्धनबाट आगामी सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रको दाबी देखिन्छ । यी दल आलोपालो सरकार चलाउन राजी नै देखिन्छन् । तर, पहिले कसले नेतृत्व गर्ने भन्नेमा सहमति जुटिसकेको छैन ।

यहीबीचमा माओवादी र एमालेका दोस्रो तहका नेता छुट्टै छलफलमा रहेको खबर पनि आइरहेका छन् । एमालेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव नै गरिसकेको छ । तर, यसबारे माओवादीको प्रतिक्रिया आउन भने बाँकी छ ।

एमाले गठबन्धन तोड्न लागिरहँदा कांग्रेस र माओवादीका शीर्ष नेताबीच भावी प्रधानमन्त्रीलाई लिएर रस्साकस्सी देखिन्छ । सबैभन्दा ठूलो दल भएका कारण आफैले सरकारको नेतृत्व पाउनुपर्ने कांग्रेसको दाबी छ । माओवादीले पनि अघिल्लो पटक कांग्रेसलाई समर्थन गरेकाले यसपटक पहिले आफूले नेतृत्व पाउनुपर्ने अडान राखिरहेको छ ।

नयाँ सरकार गठनमा माओवादी फेरि पनि निर्णायक अवस्थामा छ । यहाँ संघीय सरकारको कुरा मात्रै छैन । माथि उल्लेख गरिएका थुप्रै पदका लागि पनि गठबन्धन आवस्यक छ । त्यसैले माओवादीलाई नजरअन्दाज गरेर अघि बढ्न कांग्रेसलाई सहज छैन ।

कांग्रेसको एउटा समूहले वाम दललाई वाहिर राखेर पनि सरकार बनाउन सकिने तर्क गरिरहेको छ । हो अहिलेको अंकगणितअनुसार वाम दल नहुँदा पनि संघीय सरकार जेनतेन बन्ने अवस्था छ । तर त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राप्रपासम्म वाम इतरका अधिकांश दलको साथ कांग्रेसलाई जरुरी हुन्छ ।

यसरी बन्ने सरकार निकै कमजोर हुने र जुनसुकै बेला ढल्न सक्ने अवस्था एकातिर छ भने अर्कातिर संघीय सरकारको मात्रै कुरा छैन । संघमा कमजोर सरकार बने पनि वाम दलबाहिर हुनासाथ अन्यत्र भने कांग्रेसलाई हात लाग्यो शून्य हुन सक्छ । यो सबै बुझेको कांग्रेसले वाम-लोकतान्त्रिक गठबन्धनकै सरकार बनाउनमै जोड दिने देखिन्छ ।

गठबन्धनबाट प्रधानमन्त्री को ?

अहिलेको सत्ता गठबन्धनबाट प्रधानमन्त्रीका दुई दाबेदार देखिएका छन्, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड । ठूलो उथलपुथल भएन भने यी दुईमध्ये एकको नेतृत्वमा आगामी सरकार बन्नेछ । अब दुईमध्ये पनि को प्रधानमन्त्री बन्ला भन्ने अहिलेको सबैभन्दा ठूलो चासोको विषय हो ।

सर्सर्ती हेर्दा आगामी सरकार पनि देउवाकै नेतृत्वमा बन्छ जस्तो धेरैलाई लागिरहेको छ । तर, आन्तरिकरूपमा हेर्दा भने प्रधानमन्त्रीका लागि प्रचण्डको सम्भावना बढी देखिन्छ । यदि, प्रचण्डले अडान छाडेनन् र प्रधानमन्त्री नदिने अवस्थामा गठबन्धनमा नरहने अवस्था आयो भने कांग्रेस गल्नुपर्ने समीकरण गत चुनावको परिणामले तयार पारिदिएको छ ।

त्यसका लागि केही उदाहरण हेरौं, मानौं माओवादी अहिलेको गठबन्धन छाडेर एमालेसँग मिल्न गयो भने राष्ट्रपति, उपराष्ट्रपतिदेखि लिएर लगभग सबै प्रदेशमा कांग्रेस शून्य हुनेछ । अर्कातिर एमाले र माओवादी मिल्दा यी पदसहित लगभग सबै प्रदेशमा बहुमत पुग्ने अवस्था सिर्जना हुनेछ ।

राप्रपा र जसपालाई मनाउन सके संघमा समेत सरकार बन्न सक्नेछ । त्यस्तो अवस्थामा सभामुख, उपसभामुख पनि यही गठबन्धनकै बन्नेछ । यो सम्भावना नहुने पनि हैन । किनकि, एमालेले हरेक दिनजसो प्रचण्डलाई प्रधानमन्त्री बन्न र आफूलाई राष्ट्रपति दिन प्रस्ताव पठाइरहेको छ ।

यो विषयमा कांग्रेस जानकार नै देखिन्छ । त्यसैले, माओवादीलाई एमालेतिर जान नदिन पनि कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाध्य हुन सक्छ ।

यसको अर्को कोण पनि छ । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति त भइसकेको छ । पहिले सरकारको नेतृत्व कांग्रेसले गर्दा माओवादीले स्वाभाविक रूपमा राष्ट्रपतिमा दाबी गर्नेछ । राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक पद नपाए गठबन्धनमा बसिरहन माओवादी पनि बाध्य हुनेछैन ।

त्यसैले, पनि कांग्रेसले अहिले सरकारको नेतृत्व गर्दा राष्ट्रपति माओवादीलाई दिनै पर्नेछ भने साढे २ वर्षपछि प्रधानमन्त्री पनि माओवादीलाई छाडिदिनुपर्नेछ । यो अवस्थामा राज्यका मुख्य दुई पदबाट कांग्रेस बाहिर हुनेछ । यसमा कांग्रेसको एउटा समूहले राष्ट्रपति पनि आलोपालो गर्न सकिने विकल्प भने ल्याएको छ ।

तर, यो सहज देखिँदैन । किनकि, राष्ट्रपतिजस्तो पद आलोपालो गर्दा बाहिर गतिलो सन्देश नजाने दुवै दललाई राम्रोसँग थाहा छ । अब कांग्रेस पहिलो पल्ट सरकारको नेतृत्वका लागि राष्ट्रपति पद छाड्न तयार होला कि नहोला ? पक्कै उसलाई गाह्रो छ । त्यस्तो अवस्थामा पनि प्रचण्डलाई नै पहिले प्रधानमन्त्री बनाउन कांग्रेस तयार हुन सक्नेछ ।

प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउँदा कांग्रेसलाई अन्य केही फाइदा पनि हुनेछन् । एकातिर राष्ट्रपति आफ्नो बन्नेछ भने अर्कोतिर साढे दुई वर्षपछि संघीय सरकार पनि आफ्नै हुनेछ । त्यसबाहेक प्रदेश सरकारमा पनि बार्गेनिङ पावर बढ्नेछ । संघीय सरकारको नेतृत्व पाएमा माओवादी एउटै प्रदेश लिन पनि तयार हुन सक्नेछ ।

त्यस्तो अवस्थामा कांग्रेसले कम्तिमा पाँचवटा प्रदेश सरकारको नेतृत्व पाउनेछ । त्यसैले, माथिका यी अवस्था हेर्दा भावि सरकारको प्रधानमन्त्री प्रचण्ड नै बन्ने सम्भावना बढी देखिन्छ ।

कांग्रेसका लागि खेल्ने ठाउँ कहाँ छ ?

कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री दिन सहज रुपमा तयार भएन भने अर्को एउटा खेल्ने ठाउँ भने छ । त्यो हो राष्ट्रपतिले सरकार बनाउन दिएको पहिलो पटकको समयसीमा कटाउने । राष्ट्रपतिले सरकार बनाउन दिएको एक साताको समय सकिन अब तीन दिन मात्रै बाँकी छ ।

यो सीमाभित्र सरकार गठनको दाबी पेश भएन भने सबैभन्दा ठूलो दलको संसदीय दलका प्रमुखको नाताले शेरबहादुर देउवा स्वत: प्रधानमन्त्री बन्नेछन् । आगामी तीन दिनसम्म हुने बैठकलाई विवादकै बीचमा गुजारेर देउवा स्वत प्रधानमन्त्री बन्ने बाटोमा जान सक्नेछन् ।

त्यसपछि हुने छलफलमा प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी गर्न अप्ठेरो हुनेछ । किनकि, देउवा प्रधानमन्त्री बनिसकेका हुनेछन् । तर यो अवस्थामा देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । अर्कोतिर माओवादी रिसायो भने फेरि पनि गठबन्धन भत्किन सक्नेछ । उही माथि भनिएजस्तै कांग्रेस अप्ठेरोमा पर्न सक्नेछ ।

यो अवस्थामा देउवाले १ वर्षमा प्रधानमन्त्री छाड्ने र चुनाव गराउने पछिल्लो डेढ वर्ष फेरि आफू नै प्रधानमन्त्रीमा फर्कनेगरी प्रचण्डसँग सहमति गर्न भने सक्नेछन् । तर, त्यसका लागि फेरि पनि राष्ट्रपति भने माओवादीलाई दिनैपर्ने हुन सक्छ ।

कांग्रेसका कतिपय नेताहरू सात पटक प्रधानमन्त्री बन्ने आकांक्षा पूरा गर्न देउवाले त्यसो गर्न पनि सक्ने बताउँछन् । एक नेता भन्छन्, ‘पहिलो एक वर्ष आफूले चलाएर प्रचण्डलाई दिने र अन्तिम डेढ वर्षमा फर्कने गरी देउवाले सहमति गर्न सक्नुहुन्छ, तर राष्ट्रपतिको विषयमा भने मिलाउन गाह्रो छ ।’

नेपालको राजनीतिमा धेरै विषय अनुमान गर्न गाह्रो छ । भित्रभित्रै अनेक खेल भइरहेका हुन्छन् । छिमेकी देशको चासोले पनि कतिपय समीकरण बन्ने र भत्किने भइरहेको हुन्छ । यदि, अन्य खेल भएन र कांग्रेसले अहिलेको गठबन्धन बचाएरै अघि बढ्ने निष्कर्ष निकाल्यो भने नयाँ सरकार प्रचण्डकै नेतृत्वमा बन्ने सम्भावना बढी छ ।

त्यसो भएन भने कांग्रेस माओवादीलाई राष्ट्रपति दिन तयार हुनुपर्नेछ । त्यसो पनि भएन भने अहिलेको गठबन्धन नै भत्किएर नयाँ गठबन्धन राजनीतिक मैदानमा आउन सक्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved