त्रेता युग सम्झाउने जनकपुरधाम : धार्मिक पर्यटनको केन्द्र बन्दै

त्रेता युग सम्झाउने जनकपुरधाम : धार्मिक पर्यटनको केन्द्र बन्दै

याह छी हमर जनकपुर,
यी सीताके जनकपुर
यी जनकके गाम जनकपुर,
यी हमरा अहाँक जनकपुर

प्राचीन मिथिलाको राजधानी तथा मधेस प्रदेशको राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्तव्यका दृष्टिले पनि वैभवपूर्ण छ ।

भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिकस्थल हो । प्राचीन राजर्षि जनककोे राजधानी, रामचन्द्रको ससुराली र आदर्श नारी सीताको जन्मभूमि जनकपुरमा अन्यत्र गरिएको पापबाट मुक्ति पाइने र यहाँ गरिएको पापबाट अन्यत्र कतै मुक्ति पाइँदैन भन्ने विश्वास छ । हिन्दू धर्मावलम्बीको विशेष आस्थाको केन्द्र जनकपुरधाम पर्यटकीय नगरीमध्ये एक हो ।

पछिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुर हेर्न विश्व लालायित देखिएको छ ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरधामलाई ‘५२ कुट्टी ७२ कुण्ड’को शहरको नामले पनि चिनिन्छ । जनकपुरमा पाइलैपिच्छे विभिन्न देवीदेवताका आकर्षक मठमन्दिर र तालतलैया छन् ।

जानकी मन्दिरलगायत राममन्दिर, राजदेवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, गङ्गा सागर, धनुषा सागर, अरगजा सागरलगायत दर्जनौँ तालतलैया र मठ मन्दिर छन् । बिहानैदेखि यहाँका मठमन्दिरमा गुञ्जिने मैथिली गीतसङ्गीतले पर्यटक तथा श्रद्धालु भक्तजनलाई मन्त्रमुग्ध बनाइदिन्छ । अनि भक्तजन र पर्यटक उत्साहित हुँदै भन्छन्, ‘जय सीताराम, जय जय हो किशोरीजी, जय जनकपुरधाम….।’

रामजानकी विवाहपञ्चमी महोत्सव, विजयादशमी, दीपावली, छठ पर्व, रामनवमी, जानकी नवमीलगायत चाडपर्वमा जनकपुरधामलाई बेहुलीझैँ सिँगारिन्छ ।

दशैं, तिहार र छठ पर्वको बिदाको मौकामा एकपटक घुम्नै पर्ने ठाउँ हो जनकपुरधाम । अहिले नयाँ साल २०२३ अर्थात् फस्ट जनवरीमा मनाउन जनकपुरधाम आउनेहरूले यहाँका होटेलहरू अहिलेदेखि नै बुक गराएर राखेको पर्यटन व्यवसायी तथा होटेल वेलकमका सञ्चालक अभिषेक झुनझुन बालाले बताएका छन् ।

जनकपुरधाम आइसकेपछि यसरी घुमौं :

जानकी मन्दिर

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमुना मानिन्छ ।

जनकपुरमा श्रीराम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन–भदौमा झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकी परिक्रमा मनाइन्छ । यहाँ प्रत्येक पूर्णिमामा हजारौँ श्रद्धालु भक्तजन सहभागी हुन्छन् ।

जानकी मन्दिर निर्माणको सवा सय वर्ष नाघे पनि यसमा स्थापित राम र जानकीका प्रतिमा झण्डै सात सय वर्ष पुरानो भएको संस्कृतिविद्को भनाइ छ ।

मन्दिरका नाममा अहिले पनि सयौँ बिघा जग्गा छ । मन्दिरभित्र त्रेतायुगिन झल्कने संग्रहालय पनि रहेको छ, जसमा रामसीता, राजा जनक लगायतका पहिरनको नमुना र विभिन्न कलात्मक प्रतिमा छन् ।

मन्दिर ५६ वर्षदेखि भइरहेको अखण्ड रामसीता भजन पनि अवलोकन गर्न सकिन्छ । मन्दिर अवलोकन एवं घुमघामका लागि यहाँ दैनिक हजाराँै श्रद्धालु भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

रामजानकी विवाहमण्डप

रामजानकी विवाहमण्डप जानकी मन्दिरसंँगै टाँसिएर उत्तर छेउमा रहेको छ जहाँ त्रेता युगको रामसीताको विवाहको झ–झल्को हेर्न सकिन्छ । विवाहमण्डपमा आकर्षक फूलबारीसमेत छ । पछिल्लो समय विवाहमण्डप मानिसहरूको विवाह गर्ने तथा विवाहको निर्णय लिने स्थलका रूपमा विकसित हुन थालेको छ ।

मणिमण्डप

पौराणिक कालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह मणिमण्डपमा भएको जनविश्वास छ । मैथिली परम्परामा मडवा बनाई वैवाहिक कार्यक्रम सम्पन्न गरिने चलन छ । त्यहाँ रहेको करिब २ मिटर लामो र त्यत्तिकै चौडा माटोको ढिस्को नै मडवा (मण्डप) हो भने जनविश्वास छ । ऐतिहासिक तथा पौराणिक मिथिला मणिमण्डप प्रचार–प्रसारको अभावमा ओझेलमा परेको थियो ।

पछिल्लो समय सरकारले संरक्षण सम्बद्र्धनमा ध्यान दिँदा र प्रचार–प्रसार हुँदा पर्यटकको घुम्ने रोजाइमध्येमा मणिमण्डपसमेत पर्न थालेको छ । यो जानकी मन्दिरबाट झण्डै ४ किमि उत्तर–पश्चिम अर्थात् उपमहानगरपालिका–१३ रानीबजारमा अवस्थित छ ।

यस स्थानमा चार वर्षअघि पुरातत्व विभागले उत्खनन गर्दा प्राचीनकालमा बस्ती भएको पर्याप्त प्रमाणसमेत फेला पारेको थियो । माटाका विभिन्न भाँडा, प्राचीन चुल्हो, खरानीलगायत विभिन्न प्रमाण मणिमण्डप क्षेत्रमा फेला परेको छ । धार्मिक मान्यतामा विश्वास गर्नेहरूका अनुसार सोही चुल्होमा सीतारामको विवाहका बेला लावा भुटिएको थियो ।

पिँडारी चोकभन्दा करिब ३ किमी उत्तर पश्चिम कुनामा पर्ने मणिमण्डपमा रहेको मन्दिरमा सीतारामको दिव्य मूर्ति छ । मन्दिरको अगाडि पोखरीमा स्नान गर्नाले प्रत्येक जुनीमा गरिएको पापबाट मुक्ति पाउनुका साथै पुण्यको भागी बन्ने जनविश्वास छ । मङ्सिरमा हुने विवाहपञ्चमीका अवसरमा हजारौँ भक्तजन मणिमण्डपसमेत पुग्छन् ।

गङ्गासागरको महागङ्गा आरती

गङ्गासागरमा सन्ध्याकालमा सधैँ महागङ्गा आरती हुने र भक्तजन एवं पर्यटकको घुइँचो लाग्छ । धार्मिक एवं ऐतिहासिक तलाउ गंगासागर चार वर्षअघिसम्म फोहरमैलाको चपेटामा परेको थियो । अहिले गङ्गासागर जनकपुरकै सबैभन्दा स्वच्छ सरोवरका रूपमा चिनिन्छ जहाँ नित्य साँझ भजन–प्रार्थना गुञ्जिन्छ ।

 

स्वर्गद्वार तथा बाबा भूतनाथ मन्दिर

फोहरै फोहर र मुर्दा जलाइने ठाउँ अहिले स्वर्गद्वार भनेर चिनिन्छ । चिटिक्क परेको ठाउँ, रङ्गीबिरङ्गी फूल भएको भुतनाथको मन्दिरसँंगै रहेको आधुनिक दाहसंस्कार स्थल मसानघाट मात्र होइन अहिले पर्यटकीय गन्तव्यसमेत बनेको छ । जनकपुरका समाजसेवी पवन सिंहानियाले चन्दा संकलन गरी स्वर्गद्वार निर्माण गरेका हुन् ।

 

धनुषाधाम मन्दिर

धनुषामै पर्ने जनकपुरभन्दा बाहिर रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल धनुषाधाम पनि हो । रामायणसंँगै सम्बन्धित धनुषाधाममा धनुष मन्दिर छ । राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयवरमा रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ । ‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर सङ्ग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए ।

राजा जनकले उक्त धनुष तोड्नेसंँग नै आफ्नी छोरी सीताको बिहे गरिने शर्त राखेका थिए । रामले ताँदो चढाउँदा भाँचिएको धनुष खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभागमा आएर खसेको ठाउँ धनुषाधाम रहेको धार्मिक विश्वास रहिआएको छ ।

अहिले पनि धनुषाधाममा धनुषको कण प्रत्यक्ष हेर्न सकिन्छ । धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रूख छ । धनुषको आकार वर्षेनि बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

धनुषाको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाअर्चना गर्छन् । धनुषाधाम जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ । यहाँ पन्ध्रदिने मध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ ।

धनुषाको टुक्रा अवलोकन र पूजार्चना गर्न दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक एवं श्रद्धालुभक्तजन आउने गर्छन् । यस स्थानमा प्रत्येक वर्ष माघको प्रत्येक आइतबार मकर मेला आयोजना हुन्छ ।

रामानन्द प्रवेशद्वार

जनकपुरमा प्रवेश गर्नेबित्तिकै एउटा ठूलो प्रवेशद्वार देखिन्छ । रामानन्द प्रवेशद्वारको माथि स्वामी रामानन्दको प्रतिमा छ । इन्जिनियर तथा आर्किटेक्ट शंकरनाथ रिमालको डिजाइनमा बनेको सो प्रवेशद्वार एसियाकै सबैभन्दा ठूलो प्रवेशद्वार मानिन्छ ।

‘विष्णु पुराण’, ‘वायु पुराण, ‘शतपथ’, ‘भागवत्’, ‘वाल्मीकि रामायण’, ‘बृहदारण्यकोपनिषद्’ जस्ता धार्मिक ग्रन्थमा पुण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रूपमा जनकपुरलाई उल्लेख गरिएको छ ।

जनकपुर क्षेत्रका जलेश्वर र गिरिजास्थानको पनि धार्मिक पर्यटनमा महत्वपूर्ण स्थान छ । यस्ता प्रशस्त धार्मिक क्षेत्र रहेको प्राचीन मिथिलाको राजधानी र अहिले प्रदेश २ को राजधानी जनकपुरमै भएकाले पनि पर्यटन क्षेत्रको तीव्र विकास हुनुपर्ने सरोकार भएकाहरू बताउँछन् ।

प्राचीनकालदेखि ज्ञानविज्ञान, धर्मदर्शन, कलासंस्कृति क्षेत्रमा प्रसिद्धि कमाएको जनकपुरलाई आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्न सके यहाँका नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन सक्छ । पर्यटकलाई आकर्षण गर्न सक्ने यहाँका प्राचीन चित्रकला, शिल्प, मूर्तिकलासहित संस्कृतिलाई धार्मिक पर्यटकीय संग्रहालयमा राख्न सकिन्छ ।

मिथिलाका प्रचलित चाडपर्व विवाहपञ्चमी, रामनवमी, छठ, मिथिला परिक्रमा, होली तथा मिथिला लोकगीत र नृत्यको आयोजना गरी सांस्कृतिक मनोरञ्जन दिन सकिन्छ ।

मिथिला संस्कृतिको महत्वपूर्ण पक्ष लोकगीत, लोकनृत्य, कला, मठमन्दिर, कुण्ड आदिको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ ।

मिथिला लोककलालाई पनि विश्वसामु चिनाउनु आवश्यक छ । जनकपुर विवाह भूमि वा आदर्श भूमिका रूपमा स्थापित भएकाले विवाह गन्तव्यस्थलका रूपमा पनि विकसित गर्न सकिने संस्कृतविद तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन्।

राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, संकटमोचन मन्दिर, भूतनाथ मन्दिरलगायत धार्मिकस्थल एवं तालतलैया, सरोवर र दैनिकरूपमा हुने गंगा आरतीले धार्मिक पर्यटकका लागि आकर्षण गरेको छ ।

अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पिपरा कुटी पनि आकर्षणका केन्द्र हुन्। गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर जस्ता ५२ कुटी र ७२ कुण्डको प्रचार–प्रसार गरे यहाँको पर्यटन विकासमा निकै टेवा पुग्ने देखिन्छ ।

पछिल्लो समयमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले चासो दिएको छ । सरकारले पर्यटन कार्यालय जनकपुर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मार्फत लगानी पनि गर्दै आएको छ । यसले मध्य तराईको सप्तरीदेखि सर्लाहीसम्मका धार्मिक पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको संरक्षण सम्वद्र्धन र पूर्वाधार निर्माणमा केही हदसम्म सहयोग पुगेको छ ।

धार्मिक पर्यटनको प्रशस्त सम्भावना भए पनि जनकपुर क्षेत्रको सोचेजति विकास हुन सकेको छैन । जनकपुरका मठमन्दिर, कुटी, कुण्ड तथा यिनको महत्वका बारेमा ‘रामायण’लगायत विभिन्न ग्रन्थमा उल्लेख गरिए पनि अहिले धार्मिक ऐतिहासिक महत्व बोकेका कुटी तथा पोखरी झण्डै ५० प्रतिशत अस्तित्वमा छैनन् र बाँकी धेरैजसो दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएको छ ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण प्राचीन धार्मिक महत्व बोकेको जनकपुरको जति प्रचार–प्रसार हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँछन् । ‘यसको महत्वका बारेमा विश्वसामु प्रचार–प्रसार गर्न सके धेरै पर्यटक अध्ययन अवलोकन गर्न आउने थिए’, उनले भने ।

जनकपुरको पर्यटन विकासका लागि जनकपुर—चितवन—लुम्बिनी—पोखराको संयुक्त कार्यक्रम बनाएर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी रूपेश सिंहको भनाइ छ । ‘यसका लागि सबै पर्यटन व्यवसायीले यी चार क्षेत्रको प्रचार–प्रसार गर्नुपर्छ, जनकपुर, चितवन, लुम्बिनी र पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन हवाई तथा स्थलमार्गको आवश्यकता छ’, उनले भने, ‘यी क्षेत्रलाई समेटेर पर्यटन व्यवसायी अगाडि बढ्न सके विश्वकै नमुना पर्यटकीय गन्तव्यस्थल बन्न सक्छ ।’

होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पनि जनकपुर—चितवन—लुम्बिनी—पोखराका पर्यटन व्यवसायीबीच समन्वय गरी कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिन्छन् । जनकपुर आइपुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई चितवन, लुम्बिनी र पोखराको विशेषताका विषयमा जानकारी दिएर त्यसतर्फ पठाउन सके यहाँ आउने पर्यटकको बसाइ लम्बिने उनको विश्वास छ ।

जनकपुरमा सामान्यतया सेप्टेम्बरदेखि डिसेम्बरसम्मको मौसम सबैभन्दा अनुकूल हुन्छ । यसै समयमा मिथिलाका प्रायः सबै चाडबाड पनि पर्ने हुनाले पर्यटकको बसोबास मनोरञ्जनले भरिपूर्ण हुनसक्ने देखिन्छ । संस्कृतविद् डा.सुरेन्द्र लाभ जनकपुर आउने तीर्थयात्रीलाई पर्यटकका रूपमा बदलिन सक्नेगरी गृहकार्यको आवश्यकता रहेको बताउँछन् ।

‘अहिले जनकपुर आउनेहरू तीर्थयात्री मात्र हुन् । उनीहरू धार्मिक काम गर्छन्, फर्कन्छन् । तिनले खासै खर्च गर्दैनन् । हामीलाई त पर्यटक चाहियो । धेरै पैसा खर्चेर धेरै दिन बस्ने पर्यटक हामीलाई चाहियो । त्यो पूर्वाधार हामीले खडा गर्न सकेका छैनौं’, उनी भन्छन् । डा.लाभले तीर्थयात्रीलाई पर्यटकमा बदल्न सरोकारवालाले गृहकार्य गर्नुपर्ने तथा धर्म र मनोरञ्जनलाई जोडेर कहाँ–कहाँ उनीहरूलाई अल्झाउन सकिन्छ, सोबारेमा सोच्नुपर्ने सुझाव दिए । जनकपुरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल र देवभूमिका रूपमा विकास गर्न सके मधेस प्रदेशको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने बुद्धिजीवी बताउँछन् ।

पर्यटक भित्र्याउने उपमहानगरपालिकाको योजना

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले जनकपुरले शहरका सबै मापदण्ड पूरा गरेको बताए । उनले भने, ‘विगतमा झैं अब जनकपुर लामखुट्टेले टोक्ने, गह्नाउने र फोहोर छैन, यहाँ आमूल परिवर्तन भइसकेको छ । यहाँ सडक विस्तार भएको छ । फुटपाथको व्यवस्थापन भएको छ । बिजुली–इन्टरनेटका तार र पानीको व्यवस्थापन भएको छ ।’

प्रमुख साहका अनुसार जनकपुरभित्र पर्ने ३२ किलोमिटर सडकको कालोपत्रे भएको छ । २० किमिभन्दा बढी थप सडक विस्तार भएको छ । शहरका मुख्य सडक विस्तारमा समस्या भएको थियो, तर त्यो पनि अहिले सम्पन्न भइसकेको छ । नगरभित्र ३० देखि ३५ किमीको पीसीसी ढलान भएको छ । विद्युत् व्यवस्थापन भएको छ । बिजुलीका तारहरू सडकमा लत्रेका छैनन् । एघार मिटर उचाइका खम्बा लगाइएको छ । अप्टिकल फाइबर बिछ्याइएको छ । इन्टरनेटको स्पिड पनि बढेको छ ।

उनले भने, ‘यहाँ खानेपानीको व्यवस्थापन हुँदैछ । सडकका दुवैतिर वायरिङ भएको छ । ट्राफिकको व्यवस्थापन पनि भएको छ । गह्नाउने नाली नियन्त्रण गर्दैछौंँ । अहिले हामीसँग ल्यान्डफिल साइट छैन । तर, पनि फोहोरको व्यवस्थापन गर्दै छौँ । सडकको मापदण्डअनुसार काम गर्न र सडक व्यवस्थित गर्न अझै धेरै बजेटको आवश्यक छ । सोका लागि पहल पनि गर्दैछौँ ।’

मेयर साहले जनकपुरसँग जोडिएका हुलाकी राजमार्गका सडकलाई समन्वय गरी काम अगाडि बढाउन सहयोग गरिएको जानकारी गराउँदै यसलाई मुसलमान धर्मावलम्बीहरूको आस्थाको केन्द्र महोत्तरीको रौजाबजारलाई पनि जोड्ने काम भइरहेको र पूर्वी धनुषालाई जनकपुरधामसँग जोड्ने काम पूरा हुने तरखरमा रहेको बताए । उनका अनुसार रेल्वे र एयरपोर्टको कनेक्टिभिटीलाई अगाडि बढाइएको बताउँदै वर्षौंदेखि थाती रहेका ६–७ सडक निर्माण पनि पूरा गरिएको छ ।

नयाँ वर्ष फस्ट जनवरीमा विदेशी पर्यटकलाई जनकपुर ल्याउने योजनाबारे जानकारी दिँदै प्रमुख साहले भने, ‘जनकपुरधाम आस्थाको केन्द्र हो । नजिकको बजार भारत छ । त्यहाँ हिन्दूको बाहुल्य छ । भारतबाट धार्मिक पर्यटक ल्याउन सकिन्छ । यसलाई सांस्कृतिक शहर बनाउन सकिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved