शहरीया मध्यम वर्गलाई किन घृणा गर्छन् कम्युनिस्ट नेता ?

एमाले महासचिवले शहरीया मध्यम वर्गलाई अस्थिरताको कारक भनेपछि...

अस्थिरताको कारक को ? शहरीया मध्यम वर्ग कि झन्डै दुईतिहाइको बहुमत नपच्ने कम्युनिस्ट पार्टी ? गत आम चुनावमा दिएको भारी बहुमतको किन सदुपयोग भएन ? किन दुई-दुई पटक असंवैधानिक संसद् विघटन भयो ? किन देशको अर्थतन्त्र संकटग्रस्त भयो ? किन यति, ओम्नी, वाइडबडी, सेक्युरिटी प्रेसजस्ता दर्जनौं ठूल्ठूला भ्रष्टाचार र कमिसन प्रकरण भए ? किन विशालकाय कम्युनिस्ट पार्टी फुटेको हाँडीझैं ४ टुक्रा भयो ? 

शहरीया मध्यम वर्गलाई किन घृणा गर्छन् कम्युनिस्ट नेता ?

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले ‘शहरिया मध्यम वर्ग’ लाई ‘अस्थिरताको कारक’ भएको आरोप लगाएका छन् । उनको यो अभिव्यक्ति अहिले चर्चा र विवादमा तानिएको छ । महासचिव पोखरेलले हालै सम्पन्न आम निर्वाचनको परिणाममा शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतलाई लक्षित गर्दै यस्तो आरोप लगाएका हुन्।

महासचिव पोखरेल आफ्नै गृहजिल्ला दाङको निर्वाचन क्षेत्र–२ मा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएका थिए । उनी हार्दा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार विशाल अधिकारीले उल्लेखनीय १५, ८६१ मत प्राप्त गरेका थिए ।

यसबाट प्रष्ट हुन्छ– महासचिव पोखरेलको मनमा रास्वपाले उल्लेखनीय मत काटेको कारणले आफू हार्नुपरेको रिस, कुन्ठा र आक्रोश व्याप्त छ । र, त्यो रिसलाई उनले ‘शहरिया मध्यम वर्ग’ प्रति लक्षित गर्दै सैद्धान्तिकीकरण गरेका छन् ।

उनको तर्क छ–‘देशको सबैभन्दा बढी विकास र सुविधा शहरमा छ । तर यहीका बासिन्दा राज्य र राजनीतिको मूलधारप्रति सबैभन्दा बढी असन्तुष्ट छन् । यसको कारण ‘डेलिभरिको समस्या’ हैन, यसभित्र पक्कै कुनै षडयन्त्र हुनुपर्दछ । शहरिया मध्यम वर्गलाई राजनीतिको मूलधारबाट बाहिर पारेर देशमा अस्थिरता सिर्जना गर्ने प्रयासले काम गरेको हुनुपर्दछ ।’

पोखरेलको यो तर्कपद्धतिले एक साथ अनेक अस्वाभाविक प्रश्न सिर्जना गर्दछ । शहरिया मध्यम वर्ग भनेर उनले कसलाई र किन भनेका हुन् ? के यो वर्ग उनले भनेको तथाकथित मूलधारलाई भोट दिन बाध्य वा अभिशप्त छ ? उनको पार्टी, उम्मेद्वार वा उनले चाहेको राजनीतिक प्रवृत्तिलाई भोट नदिने अधिकार मतदातालाई छैन ? कसैलाई भोट दिए वा नदिएवापत कुनै वर्ग वा समुदायलाई लक्षित गरी गाली गर्ने अधिकार कुनै दलको नेतालाई हुन्छ ?

शहरिया मध्यम वर्गको जन्म किन र कसरी हुन्छ ? त्यो वर्ग उत्पतिभित्र हुने संघर्ष, दुख: र पीडाका कथाव्यथा ग्रामीण जमिन्दार वर्गबाट आएका कम्युनिस्ट नेता पोखरेललाई के-कति छ ? के कुशासन, बेथिति, भ्रष्टाचार, टुटफुट, गुटबन्दी, झन्डै दुई तिहाइको सरकारको पतन आदि इत्यादि घटनाक्रमबीच पनि सन्तुष्ट भइदिनुपर्ने हो ?

शहरीया मध्यम वर्गको जन्म किन र कसरी हुन्छ ? त्यो वर्ग उत्पत्तिभित्र हुने संघर्ष, दुख: र पीडाका कथाव्यथा ग्रामीण जमिन्दार वर्गबाट आएका कम्युनिस्ट नेता पोखरेललाई के कति छ ? के कुशासन, बेथिति, भ्रष्टाचार, टुटफुट, गुटबन्दी, झन्डै दुई तिहाइको सरकारको पतन आदि इत्यादि घटनाक्रमबीच पनि सन्तुष्ट भइदिनुपर्ने हो ? शहरिया मध्यम वर्गको आफ्नै विवेक हुँदैन र उसले दिएको भोटमा कुनै विदेशी षड्यन्त्र देख्नुपर्दछ ?

पराजयको निराशा, कुण्ठा र आक्रोश व्यक्त गरिरहँदा महासचिव पोखरेलले यी र यस्ता थुप्रै पक्षबारे कुनै हेक्का राखेका छैनन् ।

प्रचण्डको भाषामा ‘सुकिलामुकिला’ 

शहरिया मध्यम वर्गको सोच र राजनीतिक मनोविज्ञान कम्युनिस्ट नेताहरूको अनुकूल नभइदिँदा गाली गरिएको यो पहिलो घटना भने हैन । केही वर्षअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो वर्गलाई खुल्लामञ्चबाट चुनौती दिँदै ‘सुकिलामुकिला’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको यो अभिव्यक्ति प्रकारान्तले स्वयं माओवादी पार्टी र आन्दोलनका लागि प्रत्युत्पादक भयो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा माओवादी पार्टीले देशैभरिजस्तै शहरिया क्षेत्रबाट उल्लेखनीय मत प्राप्त गर्दै शानदार विजय हासिल गरेको थियो ।

प्रचण्डको यो अभिव्यक्तिपछि शहरिया मतदाताले माओवादीलाई मनपराउन छोडे । भर्खरै सम्पन्न निर्वाचन परिणामले पनि त्यो पुष्टि हुन्छ । गठबन्धन र नेपाली कांग्रेसजस्तो ठूलो, पुरानो दलको सहयोगका बाबजुद माओवादी उम्मेद्वारले शहरी क्षेत्रबाट विजय हासिल गर्न सकेनन् ।

कहाँबाट आउँछ यस्तो सोच ?

मध्यम वर्गप्रतिको नकारात्मक भावना र घृणा कम्युनिस्ट सिद्धान्तको वैचारिकीमै विद्यमान हुन्छ । कम्युनिस्ट सिद्धान्तले ‘सर्वहारा’ र ‘बुर्जुवा’ दुई वर्गीय समाज र ध्रुवीकरणको अपेक्षा गर्दछ । कम्युनिस्ट सिद्धान्तको सार बुर्जुवा राज्यविरुद्ध सर्वहारा क्रान्ति, सर्वहारा राज्य र सर्वहारा अधिनायकत्वको स्थापना हो ।

यस प्रकारको वर्गीय ध्रुवीकरणमा मध्यम वर्गले ढुलमुले र अवसरवादी भूमिका गर्दछ भन्ने कम्युनिस्ट सिद्धान्तका प्रणेता कार्ल मार्क्सको बुझाई थियो । मार्क्सले यो वर्गलाई पेटी बुर्जुवा वर्ग भन्दै निन्दा गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डको ‘सुकिलामुकिला’ र एमाले महासचिव शंकर पोखरेलको ‘अस्थिरताका कारक’ य कार्ल मार्क्सले भनेको यही पेटी बुर्जुवा वर्ग हो ।

बद्लिँदो वर्ग संचरना र सोचः

माओवादी अध्यक्ष प्रचण्डले होस वा एमाले महासचिव पोखरेलले बदलिँदो विश्व वर्ग संरचना, श्रम संस्कृति र मानवीय भावनालाई पगाल्न नसकेर, शास्त्रीय मार्क्सवादी वर्ग विश्लेषण पद्धति अंगिकार गर्दा यस्तो अभिव्यक्ति आएको सहजै बुझ्न सकिन्छ ।

तर, समकालीन विश्वको वर्गसंरचना, अर्थतन्त्रको ढाँचा र अर्थराजनीतिक प्रवृत्ति अठारौं शताब्दिको युरोपेली औधोगिक क्रान्तिको बेला कार्ल मार्क्सले विश्लेषण गरेजस्तो मात्र छैन । मार्क्सले भनेका थिए, ‘औधोगिक पुँजीवादी समाजमा ९० प्रतिशत सर्वहारा वर्ग, ५ प्रतिशत बुर्जुवा वर्ग र ५ प्रतिशत पेटी बुर्जुबा वर्ग हुन्छ, बहुमतमा रहेको सर्वहाराले बुर्जुबा वर्गविरुद्ध क्रान्ति गर्छ ।’

त्यस्तो क्रान्तिले निजी स्वामित्व, बजार, अतिरिक्त मूल्य र मुनाफाको अन्त्य गर्ने हुँदा क्रान्तिपछि सबै वर्ग अन्त्य भई आर्थिक समानता र न्याय स्थापित हुने मार्क्सको सोच थियो । उन्नाइसौं र बीसौं शताब्दिको विश्व राजनीतिले त्यो परिकल्पना पुष्टि गरेन ।

मार्क्सकालीन वर्ग संरचना आज विश्वभरि धराशायी भएको छ । सर्वहारा र बुर्जुवा वर्गको आकार निरन्तर खुम्चिँदो छ । मध्यम वर्गको आकार संसारभरि विस्तार भइरहेको छ । सर्वहारा र बुर्जुवाभन्दा मध्यम वर्ग नै बढी गतिशील, प्रगतिशील र उद्यमशील हुन्छ भन्ने पुष्टि हुँदै गएको छ ।

वर्गविहीन समाज स्थापित गरिएको भनिएका सोभियत संघ, युगोस्लाभिया र पूर्वी युरोपका दर्जनौं साम्यवादी राज्यसत्ता एकपछि अर्को गर्दै पतन भए । सन् १९७८ पछि साम्यवादी चीन निजी सम्पत्तिको अधिकार र बजार अर्थतन्त्रमा फर्कियो ।

मार्क्सकालीन वर्ग संरचना आज विश्वभरि धरासायी भएको छ । सर्वहारा र बुर्जुवा वर्गको आकार निरन्तर खुम्चिँदो छ । मध्यम वर्गको आकार संसारभरि विस्तार भइरहेको छ । सर्वहारा र बुर्जुवाभन्दा मध्यम वर्ग नै बढी गतिशील, प्रगतिशील र उद्यमशील हुन्छ भन्ने पुष्टि हुँदै गएको छ । त्यसको कारण विज्ञान प्रविधिको विकास र व्यावसायिकता हो ।

संसारभरि जुन देशमा सबैभन्दा बढी मध्यम वर्ग छ, त्यसलाई नै सबैभन्दा राम्रो मानिन्छ । चीन जस्तो साम्यवादी मुलुकले समेत गरिबी निवारण र मध्यम वर्गको विस्तारका लागि अनवरत प्रयत्न गरिरहेको छ । समकालिन विश्वका आर्दश वा मानक राज्य मानिएका स्केन्डिनभियन मुलुकको आर्थिक विकासको मोडालिटी पनि मध्यम वर्गको विस्तारमा जोड दिनु नै हो ।

अनुहारको धुलो ऐना पुछेर जाँदैनः

कमरेड प्रचण्डले भन्ने गरेको ‘सुकिलामुकिला’ होस वा महासचिव पोखरेलले भनेको ‘अस्थिरताको कारक’ शहरीया मध्यम वर्ग– यथार्थमा यी अभिव्यक्ति आफ्नै अनुहारको धूलो नधोएर ऐना पुछि बस्ने काइदा मात्रै हुन् ।

कमरेड प्रचण्डको जीवनशैली र सहरिया मध्यम वर्गको अवस्था तुलना गर्ने हो भने को बढी सुकिलामुकिला होला ? के देशको शहरिया मध्यम वर्गको हैसियत अहिले प्रचण्ड जत्तिको छ ? शहरिया मध्यम वर्ग त आफ्नो काम र पेशामा दिनरात घोटिएको हुन्छ तर, पनि कमरेड प्रचण्डको जस्तो जीवनशैली यो वर्गले कल्पना गर्न सक्दैन । अनि को सुकिलामुकिला ?

महासचिव पोखरेलको भनाई पनि ठीक त्यस्तै हो । शहरीया मध्यम वर्गले कम्युनिस्ट पार्टीलाई भोट नदिएको कारणले यो देशमा राजनीतिक अस्थिरता आएको हो ? बिल्कुलै हैन । २०४८ यताका अधिकांश चुनावमा काठमाडौं, ललितपुर, झापा, धरान, इटहरी, बुटवल, चितवन, पोखराजस्ता शहरीया निर्वाचन क्षेत्रमा एमालेकै उम्मेद्वारले जित्ने गरेका थिए ।

२०६४ को पहिलो संविधानसभामा माओवादीलाई पनि दिएकै हुन् । खासमा भन्ने हो भने शहरीया मध्यम वर्गले नै हो नेपालको कम्युनिस्ट आन्दोलनलाई मलजल गरेको । त्यति धेरै माया गरेको र साथ लिएको कम्युनिस्ट पार्टी र आन्दोलनलाई शहरीया मध्यम वर्गीय मतदाताले किन छोड्न थाले ? कम्युनिस्ट पार्टी र नेताहरूले सोच्नुपर्ने चाहिँ यहाँनेर हो ।

महासचिव पोखरेलको ‘अस्थिरताको कारक’ मा पनि ठूलो विरोधाभाष छ । अस्थिरताको कारक को ? शहरीया मध्यम वर्ग कि झन्डै दुईतिहाइको बहुमत नपच्ने कम्युनिष्ट पार्टी ? गत आम चुनावमा मतदाताले कम्युनिष्ट गठबन्धनलाई भरी बहुमत दिएकै थिए त? त्यसको किन सदुपयोग भएन ?

किन दुई-दुईपटक असंवैधानिक संसद विघठन भयो ? किन देशको अर्थतन्त्र संकटग्रस्त भयो ? किन यति, ओम्नी, वाइडबडी, सेक्युरिटी प्रेसजस्ता दर्जनौं ठूल्ठूला भ्रष्टाचार र कमिसन प्रकरण भए ? किन ती कुनैको पनि भरपर्दो छानबिन भएन ? किन विशालकाय कम्युनिस्ट पार्टी फुटेको हाँडीझैं ४ टुक्रा भयो ?

यसो हुनुमा मतदाताको दोष छ कि कम्युनिस्ट पार्टीको ? यसो हुनुमा शहरिया मध्यम वर्ग जिम्मेवार छन् कि स्वयं कमरेडहरू ! ऐना पुछेर अनुहारको धूलो जाँदैन । सुन्दर र सफा पार्ने हो भने अनुहार नै धुनुपर्छ ।

भोट नपाएको झोंक

महासचिव पोखरेलको अभिव्यक्ति यथार्थमा भोट नपाएको झोंक बाहेक केही होइन । तर, यहाँनेर पनि प्रश्न उठाउन सकिने ठाउँ छ ? के आधुनिक लोकतन्त्रका मतदाता कसैका गोठाला, खेताला, हरुवा-चरुवा हुन् ? कसैका बधुँवा मजदुर हुन् ?

कुनै पार्टी वा विचारलाई भोट दिए वा नदिएवापत सार्वभौम नागरिकलाई सार्वजनिक गालीगलौज गर्ने अधिकार कुनै कम्युनिस्ट पार्टीको कुनै पदाधिकारीलाई उपलब्ध हुन्छ ?

लोकतान्त्रिक राज्यको सार नागरिक सर्वोच्चता र सर्वोत्तम मानवीय हित हो । लोकतान्त्रीकरण भइसकेको दाबी गर्ने बहुदलीय जनवादी कम्युनिस्ट पार्टीको महासचिवलाई यत्ति पनि ज्ञान छैन भने त्यो उनकै मानसिक दरिद्रता हो, शहरीया मध्यम वर्ग र मतदाताको समस्या हैन ।

कसैलाई भोट दिनु नदिनु सार्वभौम मतदाताको सार्वभौम अधिकार हो । यो अधिकार सबै प्रकारका निन्दा, घृणा, वितृष्णा, आक्रोश र लाञ्छनाभन्दा माथि हुन्छ । लोकतन्त्रमा मतदाताले पार्टीको आदेशनिर्देश मान्ने हैन, पार्टीका क्रियाकलापलाई ‘जज’ गर्ने हो ।

शहरीया मतदाताले महासचिव पोखरेलको पार्टीलाई भोट दिएनन भने उनले बुझ्न पर्दछ कि उनको पार्टी अब त्यसको लायक रहेन । जहिलेसम्म भोट दिन लायक ठानेका थिए, दिएकै थिए, अब दिन छोडे भने सायद त्यो पार्टी अब भोटको लायक रहेन होला ।

मतदाता लोकतन्त्रका आधार शक्ति हुन् । आधुनिक राष्ट्रिय–राज्यका शक्तिका स्रोत हुन् । लोकतान्त्रिक राज्यको सार नागरिक सर्वोच्चता र सर्वोत्तम मानवीय हित हो । लोकतान्त्रिककरण भइसकेको दाबी गर्ने बहुदलीय जनवादी कम्युनिष्ट पार्टीको महासचिवलाई यत्ति पनि ज्ञान छैन भने त्यो उनकै मानसिक दरिद्रता हो, शहरीया मध्यम वर्ग र मतदाताको समस्या हैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved