पाँच विश्वकपमा मेस्सीको प्रदर्शन : २६ खेलमा १३ गोल र एक उपाधि

यस जितको लागि मेस्सीले १६ वर्षदेखि प्रतिक्षा गरिरहेका थिए । सन् २००६ देखि २०२२ सम्म अर्जेन्टिनाको विश्वकप यात्रामा मेस्सीको योगदान कस्तो रह्यो त ? हेरौं।

नेपालभ्युज

पाँच विश्वकपमा मेस्सीको प्रदर्शन : २६ खेलमा १३ गोल र एक उपाधि

काठमाडौं । कतार विश्वकपले एक नयाँ अध्यायको सुरुवात गरेको छ। विश्वकपसँगै मेस्सी युगको अन्त्य भएको छ । व्यक्तिगत पाँचौँ पटकको सहभागितामा मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि जिताए ।

सन् १९७८ मा मारियो केम्पेस र सन् १९८६ मा डियेगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको थियो। वर्षौँदेखि मेस्सीलाई पनि यीनै दिग्गजसँग तुलना गरिन्थ्यो। यसपटक भने मेस्सी यसका सही हकदार बनेका छन्।

यस जितको लागि मेस्सीले १६ वर्षदेखि प्रतिक्षा गरिरहेका थिए । सन् २००६ देखि २०२२ सम्म अर्जेन्टिनाको विश्वकप यात्रामा मेस्सीको योगदान कस्तो रह्यो त? हेरौं।

सन् २००६, जर्मनी


यो मेस्सीको पहिलो विश्वकप हो। १८ वर्षका मेस्सीले विश्वकपमा डेब्यु गरेका थिए। गोलसँगै उनको डेब्यु एतिहासिक बन्यो। सर्बियाविरुद्धको खेलमा १६ औं मिनेटमा नै मेस्सीले गोल गरे।

त्यस विश्वकपमा उनले मैदानमा छोटो समय मात्र बिताउन पाएका थिए। मेस्सीको खेल जीवनको जग स्थापित गर्न प्रशिक्षक जेरार्डो सालोरियोले महत्वपूर्ण भूमिका खेलेका छन्। सन् २००५ मा यू–२० विश्वकप टोलीको सदस्यका रुपमा सालोरियाले मेस्सीलाई प्रशिक्षण दिएका थिए ।

सन् २००६ मा जर्मनीमा आयोजना भएको विश्वकपमा पनि सालोरियाले मेस्सीलाई नजिकबाट चिन्ने अवसर पाए। ‘मेस्सीको मैदानमा १२ देखि २० मिनेटको उपस्थितिले पनि विपक्षी टोलीलाई असन्तुलित बनाउने गर्थ्यो ।’  सालोरियाले एक अन्तवार्तामा भनेका छन्, ‘तर, सोही उत्कृष्ट प्रदर्शन ९० मिनेटको लागि देखाउन भने मेस्सी त्यस समयका लागि उपयुक्त थिएनन्।’

अन्तिम १६ मा मेक्सिकोविरुद्धको खेल सकिन ६ मिनेट बाँकी हुँदा मेस्सीलाई मैदानमा प्रवेश गराइएको थियो। भीएआर प्रविधिको प्रयोग नभएको त्यस समयमा मेस्सीले गरेको प्रहारलाई भने गोलको मान्यता दिइएको थिएन।

मुख्य प्रशिक्षक जोस पेकरम्यानले मेस्सीलाई क्वाटरफाइनलमा बेन्चमा नै राखे। सो खेलमा जर्मनीसँग अर्जेन्टिना पराजित भएको थियो।

तर, सो विश्वकपबाट मेस्सीले टोलीलाई दिनु पर्ने योगदान बुझ्ने मौका पाए। अर्जेन्टिनामा फुटबल मैदानको खेललाई लडाइँ र विपक्षीलाई शत्रुको रुपमा हेरेर प्रतिस्पर्धा गर्न सिकाईन्छ। त्यो बुझेलगतै मेस्सीले बार्सिलोनासँग फरक शैलीको यात्रा सुरु गरे। सन् २००४ देखि बार्सिलोनासँग खेल्दै आएका मेस्सीको शैलीमा विश्वकपश्चात परिवर्तन देख्न थालिएको थियो। मेस्सी खेलमा हावी हुँदा रमाउन थाले।

सन् २०१०, दक्षिण अफ्रिका


दक्षिण अफ्रिकामा आयोजना भएको सन् २०१० को विश्वकपमा मेस्सी बालोन डी’ओरको उपाधि विजेताको रुपमा सहभागी थिए। उनले सन् २००८–२००९ मा बार्सिलोनालाई स्पेनिस फुटबलमा पहिलो ट्रेबल जिताउन सफल भए। र सन् २००९ को बालोन डी’ओर उपाधि जिते ।

यसपछि समर्थकहरुले मेस्सीबाट धेरै अपेक्षा गर्न थाले। सन् १९८६ का कप्तान डिएगो म्यारेडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक बनेका थिए । यसले अर्जेन्टिनालाई उपाधि दाबेदारका रुपमा उभ्याएको थियो ।
मेस्सी र म्यारेडोनाबीचको सम्बन्ध गाढा हुँदै गयो। म्याराडोनाको छवी पनि मेस्सीमा देखिन सुरु भयो। तर अर्जेन्टिनाका लागि यो विश्वकप त्यति सन्तोषजनक रहेन। नयाँ खेलाडीको जोशले भरिएको म्याराडोनाको पल्टन अनुभवमा चुकिरहेको थियो।

सोही कमजोरीको फाइदा उठाउँदै जर्मनीको अनुभवी टोलीले अर्जेन्टिनालाई क्वाटर फाइनलबाटे घर फर्कायो । म्याराडोना र मेस्सीको जोडिले कुनै कमाल देखाउन सकेन । यस विश्वकपमा मेस्सीले गोल गर्न सकेनन् ।

सन् २०१४, ब्राजिल


सन् २०१४ सम्म मेस्सीको नाममा ४ बालोन डी’ओर पुगिसकेको थियो। उनले सन् २०१०, २०११ र २०१२ मा लगातार उपाधि जिते। ब्राजिलमा भएको सन् २०१४ को विश्वकपमा उनी करिअरको उच्च विन्दुमा थिए ।

यो विश्वकपमा, मेस्सीले टिमलाई फाइनलसम्म पुर्‍याए । तर उपाधिमा भने जर्मनी नै बाधक बन्यो । पहिलो हाफको अतिरिक्त समयमा जर्मनीका मारियो गोट्जेले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

उपाधि नजिक पुगेर पनि अर्जेन्टिना चुक्यो । यो विश्वकपमा मेस्सीले ४ गोल गरेका थिए।

सन् २०१८, रुस


रुसमा आयोजित विश्वकपमा अर्जेन्टिना छनोट हुन्छ कि हुँदैन नै पक्का थिएन। छनोटको अन्तिम खेलमा इक्वेडरविरुद्ध मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकपमा स्थान सुनिश्चित गरेको थियो।

तर, विश्वकप यात्रा भने राम्रो हुन सकेन। आइस्ल्याण्डविरुद्धको पहिलो खेल १–१ गोलको बराबरीमा सकियो। अर्को खेलमा क्रोएसियासँग अर्जेन्टिना ३–० ले पराजित भएको थियो। अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दा मेस्सीले १ गोल गरे । अर्जेन्टिना बल्लतल्ल क्वाटरफाइनलमा पुग्यो ।

अन्तिम १६ मा अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भएर घर फर्कियो भयो । सो विश्वकपमा मेस्सीले केवल १ गोल गरे।

सन् २०२२, कतार


कतारमा आयोजित विश्वकप भने अर्जेन्टिनाको लागि ऐतिहासिक रह्यो। समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले स्तब्ध भए पनि अर्जेन्टिनाले विस्तारै लय समात्यो ।

यसपश्चात मेक्सिको र पोल्याण्डमाथि जित निकाल्दै नकआउट चरणमा स्थान पक्का गर्यो। अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै क्वाटरफाइनल पुग्यो।

प्रतिस्पर्धात्मक बनेको क्वाटरफाइनलमा अर्जेन्टिनाले पेनाल्टी शूटआउटमा ४–३ ले नेदरल्याण्ड्सलाई हरायो । सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै फाइनलमा पुग्यो।

साविक विजेता फ्रान्सलाई पेनाल्टी शूटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको तेस्रो उपाधि जित्यो। मेस्सीले यो विश्वकपमा ७ गोल गरे । उनले उत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पनि पाए ।

संभवत अब अर्को विश्वकपमा मेस्सी देखिनेछैनन् । तर उनले यो पटक उपाधि जितेर आफूलाई पेले र म्याराडोनाको हाराहारीमा उभ्याएका छन् । क्लबका लागि मात्रै राम्रो खेल्ने आरोपबाट पनि मुक्ति पाएका छन् ।

यसअघि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि समेत जिताइसकेकाले अब मेस्सीले गर्न केही बाँकी रहेन । त्यसैले उनी सर्वकालीन महान खेलाडी पनि बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved