गठबन्धनमा प्रधानमन्त्रीको विषय पेचिलो बन्दै, कांग्रेस र माओवादीको ‘बार्गेनिङ्ग टूल्स’ एमाले !

केपी शर्मा ओलीले दुई/दुईपटक संसद् विघटन गरेपछि आफूले नै देउवालाई प्रधानमन्त्री बनाएको भन्दै यसपटक आफूले पाउनुपर्ने अडानमा प्रचण्ड छन् । यसबारे उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत प्रस्ताव पठाएका छन् ।

नेपालभ्युज

गठबन्धनमा प्रधानमन्त्रीको विषय पेचिलो बन्दै, कांग्रेस र माओवादीको ‘बार्गेनिङ्ग टूल्स’ एमाले !

काठमाडौं । निर्वाचन सम्पन्न भएसँगै मुलुकमा नयाँ सरकार गठन हुँदैछ । ठूला राजनीतिक दलका नेताको ध्यान सरकारको नेतृत्व (प्रधानमन्त्री) मै छ । यही पङ्क्तिमा पर्छन्, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

०७४ सालको जस्तै यसपटक पनि माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा संसद्‌मा उपस्थित छ । यद्यपि उसले सरकारको नेतृत्व पाउनुपर्ने दाबी भने छाडेको छैन । संसद्‌मा ३२ सिट जितेको माओवादी केन्द्र वर्तमान सत्ता गठबन्धनको समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।

तर, त्यो मान्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार देखिँदैनन् । उनले संसद्को सबैभन्दा ठूलो दल भएको नाताले पहिलो साढे दुई वर्ष आफू प्रधानमन्त्री हुनुपर्ने दाबी मात्रै गरिरहेका छैनन्, त्यसैगरी ‘बार्गेनिङ्ग’ गर्न  आफूनिकटका नेताहरूलाई निर्देशनसमेत दिएका छन् । प्रवक्ता प्रकाशशरण महतले भनेका छन्, ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । दायाँबायाँ हुँदैन । गठबन्धनमा सैद्धान्तिक सहमति छ, त्यहीअुनसार कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।’

तर, प्रचण्ड कांग्रेसको अडानलाई अस्वाभाविक ठान्छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुईपटक संसद् विघटन गरेपछि आफूले नै देउवालाई प्रधानमन्त्री बनाएको भन्दै यसपटक आफूले पाउनुपर्ने अडानमा प्रचण्ड छन् ।

यसबारे उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत प्रस्ताव पठाएका छन् । उनले पौडेललाई ‘प्रधानमन्त्रीमा मलाई सहयोग गर्नुस्’ भनेर प्रस्ताव गरिसकेका छन् ।

स्रोतहरूकाअनुसार प्रचण्डले सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि सोही प्रस्ताव गरेका छन् । यसपछि उनले ‘एमाले कार्ड’ खेल्न सुरू गरेका छन् ।

गत बुधबार मात्रै उनले महासचिव देवप्रसाद गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पठाए । उनीहरूबीच सत्ता सहकार्यसम्मको विषयमा कुराकानी भएको बताइन्छ ।

त्यसको ‘काउन्टर’को रूपमा कांग्रेस नेताहरू पनि एमालेसँग संवादमा छन् । ती संवादमा रहेका नेताहरूकाअनुसार एमाले नेताहरूले कांग्रेसलाई ‘ग्रीन सिग्नल’ दिएका छन् । ‘कांग्रेसले एक्लै सरकार बनाए हामीले समर्थन गर्नेछौँ भनेर कुरा नआएका होइनन् एमालेका साथीहरूबाट । उहाँहरूले हामीले पनि समर्थन गर्दा इजी मेजरिटी बन्छ भन्नुभएको छ । तर, सभापतिजी त्यसो गर्न तयार हुनुहुन्न,’ एमालेसँग संवादमा रहेका कांग्रेसका एक नेताले भने ।

कांग्रेस र माओवादी केन्द्रले एमालेलाई ‘बार्गेनिङ्ग टूल्स’ बनाएका छन् । राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं कांग्रेस र माओवादी केन्द्रले हाक्काहाक्की पदको बार्गेनिङ्ग गर्न थालेको बताउँछन् ।

यो शुभ संकेत नरहेको उनको भनाइ छ । ‘कांग्रेस र माओवादी केन्द्र देखादेखी प्रधानमन्त्रीको बार्गेनिङ्गमा लागेका छन् । एमाले देखाएर उनीहरूले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने भनिरहेका छन्, यो सिङ्गो मुलुक र व्यवस्थाका लागि शुभ होइन । मुलुकलाई पदीय सम्झौतामा हुत्याउनु ठिक होइन,’ उनले भने ।

गठबन्धनको भविष्य जोखिममा ?

पाँचदलीय गठबन्धन बन्दैगर्दा एमालेले भनेको थियो— यो दूषित गठबन्धन हो, यो भत्किनुपर्छ ।

यसपछि एमालेले गठबन्धन फुटाउन प्रयत्न पनि नगरेको होइन । तर, सकेन । अहिले दलहरूबीच मतैक्य नहुँदा गठबन्धनको भविष्यमाथि प्रश्न उठेको छ ।

यसको कारण भने उही प्रधामन्त्री पद नै हो । कांग्रेस र माओवादी केन्द्रबीच प्रधानमन्त्री को बन्ने भन्नेबारे कुरा नमिल्दा  गठबन्धनको भविष्य जोखिममा देखिएको दोस्रो तहका नेताहरूको बुझाइ छ ।

माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘प्रधानमन्त्रीको विषय पेचिलो बन्यो । अब अवस्था कस्तो बन्छ थाहा छैन । गठबन्धन कायमै राखेर अगाडि बढ्ने हाम्रो लक्ष्यले फेल खान्छजस्तो छ ।’

यसखाले डर कांग्रेस वृत्तमा पनि छ । तर, गठबन्धन नफुटाइकन अगाडि बढाउने कांग्रेसको चाहना भएको नेताहरू बताउँछन् । प्रवक्ता महत भन्छन्, ‘गठबन्धन नफुटाइकन लाने हाम्रो चाहना हो । गठबन्धन फुट्दैन ।’

प्रधानमन्त्रीको विषय पेचिलो बन्यो, यसले असर गर्दैन, गठबन्धनको भविष्य जोखिममा पर्दैन ? भन्ने नेपालभ्यूजको प्रश्नमा उनले भने, ‘त्यसलाई समाधान गर्छौँ ।’ कसरी भन्ने प्रश्नमा भने उनी बोल्न मानेनन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य गठबन्धन फुटाउनका लागि नभइ प्रधानमन्त्रीका लागि बार्गेनिङ्ग भइरहेको बताउँछन् । ‘तर, कहिलेकाहीँ सोचिएको विपरीत हुन्छ । त्यस्तो अवस्थामा जे पनि हुनसक्ला ।’

‘पर्ख र हेर’ को नीतिमा एमाले

नेकपा (एमाले) ले भने ‘पर्ख र हेर’ को नीति लिएको छ । सुरूमा आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया थाल्ने घोषणा गरेको एमाले पछिल्लो समय चुपचाप बसिरहेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालभ्यूजसँग भने, ‘राष्ट्रिय राजनीतिमा अबको अवस्था कस्तो बन्छ, त्यो नियाल्दैछौँ ।’

त्यो अवस्थाले देखाएको बाटो आफूहरू हिँड्ने भनाइ उनको छ । ‘हतार गर्दैनौँ, परिस्थितिको सामना गर्छौँ,’ उनले भने । अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ अब देखा पर्ने अवस्थाअनुसार एमालेले कदम चाल्ने बताउँछन् । ‘हामी राजनीतिक दलका नेतासँग संवादमा छौँ । अहिल्यै यसो गर्छौँ, उसो गर्छौँ भनेर भन्न हतार नगरौँ । अहिलेको अवस्था यस्तै छ,’ उनले भनेका छन् ।

सरकार बनाउन र प्रतिपक्षमा बस्न दुवैतिर एमाले ‘फिट’ पार्टी भएको नेम्वाङको भनाइ छ । ‘लोकप्रिय मतको आधारमा अहिले पनि एमाले सबैभन्दा ठूलो पार्टी हो,’ उनले भने, ‘प्रत्यक्षतर्फ कांग्रेसले केही संख्या बढि जितेको हो । एमालेले आफ्नो राजनीतिक हैसियत गुमाएको छैन । जनताले एमालेविरुद्ध बनेको गठबन्धनलाई अस्वीकार गरेका छन् । अब एमालेले परिस्थिति हेरेर निर्णय लिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved