महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्छ : बालेन्द्र साह

नेपालभ्युज

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्ने बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनः जागरण गर्न लागेको बताएका हुन् ।

उनले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामुलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताए । उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरूलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिए ।

प्रमुख साहले संस्कृतिहरूलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्दै जानुपर्ने बताए । उनले मौलिक बाजाहरूलाई अभिलेखिकरण गर्दै नयाँ पुस्ताहरूलाई पनि सिकाउँदै जानुपर्ने बताए ।

उनले भने, ‘काठमाडौं महानगरपालिकाले यो सात दिन सप्ताहव्यापी काठमाडौं महानगरपालिकाको उत्सव मनाउँदै गर्दाखेरी विभिन्न कुराहरूलाई एउटा सिम्बोलको रूपमा देखाउन चाहेको छ । उदाहरणको रूपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनःजागरण गर्नुपर्छ भन्ने कुरा अस्ति पशुपतिमा गर्दै जाँदाखेरी, उपत्यकाभरि र काठमाडौं महानगरपालिकाभरि विभिन्न स्थानहरूमा डबलीहरू रहेका छन् । जसको प्रयोजन सांगितिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन सबैका लागि हुने गर्दथ्यो । त्यसलाई फेरि पुनःस्थापना गर्न सकिन्छ । ठूलो ठूलो इभेन्ट गर्नका लागि हामीलाई ठूलो मञ्चहरू प्रयोग गर्दै आएका छौँ । तर सानो सानो हाम्रो जनचेतनामुलक, रमाइलोका लागि गरिने जुन पुरानो सभ्यतामा रहेको चिजलाई पुनःजागरण गर्नुपर्छ भन्ने कुराहरू हामीले गर्‍यौँ । महशुस यात्रा गर्‍यौँ ।’

उनले फेरि भने, ‘हामीले के महशुस गर्नुपर्ने छ भने हाम्रो सभ्यता, सम्पदा, पुरानो मौलिक आर्किटेक्चर थियो काठमाडौं महानगरपालिकाको र उपत्यकाको । त्यसलाई पुनःजागरण कसरी गर्ने ? हाम्रो संस्कृतिहरूलाई कसरी पुनःजागरण गर्ने ? कसरी जोगाइराख्ने ? कसरी पुस्तान्तरण गर्ने ? हाम्रो नयाँ पुस्ताहरूलाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने ? हाम्रो पुरानो बाजाहरूलाई कसरी अभिलेखीकरण गरेर त्यसलाई प्रदर्शनको रूपमा, प्रतिष्पर्धाको रूपमा, प्रतियोगिताको रूपमा हामीले हाम्रो नयाँ पुस्ताहरूलाई कसरी सिकाउँदै जाने भन्ने कुराहरू पनि राख्यौँ ।’

प्रमुख साहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न शुरु गरिएको बताए । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरू र सबै तहको सरकारहरूसँग सहकार्य गर्दै अगाडि बढेको बताए । उनले काठमाडौं महानगरलाई सांस्कृतिक शहर बनाउने सपना पूरा गरेरै छोड्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved