भ्रष्टाचारविरुद्ध धनगढीमा ‘नमस्ते मेयर’ कार्यक्रम सुरू

नेपालभ्युज

भ्रष्टाचारविरुद्ध धनगढीमा ‘नमस्ते मेयर’ कार्यक्रम सुरू

धनगढी । भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा उपमहानगरले शुक्रबारदेखि यो सेवा सुरू गरेको हो । यूएनडीपीको सहयोगमा सञ्चालनमा आएको कार्यक्रममा धनगढीका नगर प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र शिक्षाविद् तथा प्राध्यापक डा. हेमराज पन्तले संयुक्तरूपमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवाको शुभारम्भ गरेका हुन् ।

यूएनडीपीको संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका परियोजना अधिकृत मनोज ओझाले स्थानीय तहमा देशमै पहिलोपटक धनगढीमा नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा आएको बताए । उनकाअनुसार उक्त सेवा अन्तर्गत सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्सएपमार्फत पनि गुनासा टिपाउनसक्ने व्यवस्था मिलाइएको छ ।

गुनासा तथा सुझाव संकलनका लागि यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले १६६०९१५२७७७ को टोल फ्री नम्बर पनि राखिएको छ ।

नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्दै धनगढीका नगर प्रमुख हमालले धनगढीलाई भ्रष्टाचारमुक्त बनाउन सबैको सहयोग आवश्यक भएको बताए ।

उनले उपमहानगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई छिटोछरितो प्रवाह गर्दै भ्रष्टाचारमुक्त नगर बनाउने चाहानामा सबैले साथ दिनेमा पनि विश्वस्त रहेको बताए ।

नमस्ते मेयर जनगुनासो सुनवाइ सेवामार्फत सर्वसाधारणले टिपाउने गुनासा छिटोछरितो सम्बोधन गर्ने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved