कसले जित्ला कतार विश्वकपको ‘गोल्डेन बुट’?

हरेक विश्वकपको सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने गोल्डन बुट यसपटक कुन खेलाडीको पोल्टामा जाला भन्ने चासो फुटबल समर्थकमा देखिन्छ। दुई वा बढी खेलाडीको गोल संख्या एउटै भए असिस्टलाई पनि आधार मानिन्छ। तर, अहिलेसम्मको खेल हेर्दा केलियन एम्बाप्पे गोल्डेन बुटको दाबेदारमा सबैभन्दा अघि छन् । 

नेपालभ्युज

कसले जित्ला कतार विश्वकपको ‘गोल्डेन बुट’?

काठमाडौं। कतारमा जारी विश्वकप फुटबल क्वार्टरफाइनल पुगेको छ। ३२ टोली सहभागी विश्वकप समूह चरण हुँदै अन्तिम १६ र अहिले ८ मा झरिसकेको छ ।

ब्राजिल, क्रोएसिया, अर्जेन्टिना, नेदरल्यान्डस् , मोरक्को, पोर्चुगल, अर्जेन्टिना र इङ्ल्यान्ड क्वार्टरफाइनल पुगिसकेका छन्। राष्ट्रलाई उपाधिको नजिक लैजाँदै गर्दा कतिपय खेलाडी ‘गोल्डन बुट’को दाबेदारका रुपमा अघि आएका छन्।

हरेक विश्वकपको सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने गोल्डन बुट यसपटक कुन खेलाडीको पोल्टामा जाला भन्ने चासो फुटबल समर्थकमा देखिन्छ। दुई वा बढी खेलाडीको गोल संख्या एउटै भए असिस्टलाई पनि आधार मानिन्छ। तर अहिलेसम्मको खेल हेर्दा केलियन एम्बाप्पे गोल्डेन बुटको दाबेदारमा सबैभन्दा अघि छन् ।

सन् २०१८ को संस्करणमा इङ्ल्यान्डलाई सेमिफाईनल पुर्‍याउन ह्यारी केनले सर्वाधिक ६ गोल गरेका थिए। जसका लागि उनले गोल्डेन बुट जितेका थिए।

कतार विश्वकपमा प्रि क्वार्टरफाइनल सकिँदा गोल्डन बुटका दाबेदार खेलाडी को-को छन् त ?

केलियन एम्बाप्पे

२३ वर्षीय केलियन एमबाप्पे फ्रान्सका लागि अहिले गोल मेसिनजस्तो भएका छन् । उनी जारी विश्वकपमा पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा सबैभन्दा अगाडि छन् । समूह ‘डी’ को पहिलो खेलमा एमबाप्पेले अस्ट्रेलियाविरुद्ध गोल गरे। डेनमार्कविरुद्धको खेलमा २ गोल गर्न सफल भए।

ट्युनिसियाविरुद्धको खेलमा भने एमबाप्पे चुके। तर,नकआउट चरणमा पोल्यान्डविरुद्ध २ गोल गरेर उनले आफूलाई गोल्डेन बुटको मुख्य दाबेदार बनाएका छन्। क्वार्टरफाइनलमा फ्रान्सले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलमा एम्बाप्पेको प्रदर्शन कस्तो हुन्छ, हेर्न बाँकी छ ।

मार्कस रासफोर्ड

इङ्ल्यान्डका मार्कस रासफोर्डले पनि विश्वकपमा गोल गर्ने क्रम जारी राखेका छन्। पहिलोपटक विश्वकपमा सहभागी भएका रासफोर्डले अहिलेसम्म ३ गोल गरिसकेका छन् । घाइते भएकाले रासफोर्ड विश्वकप खेल्ने / नखेल्ने अन्योल थियो । तर, उनी मैदानमा उत्रिए स्वस्थ भएर ।

नकआउट चरणमा गरेका गोलले रासफोर्डलाई गोल्डन बुटको दाबेदारको रूपमा उभ्याएको छ । उनले इरानविरुद्ध १ र वेल्सविरुद्ध २ गोल गरेका थिए ।

कोडी गाक्पो

 

नेदरल्यान्ड्सका कोडी गाक्पो पनि गोल्डेन बुटको दौडमा सहभागी छन्। नेदरल्यान्ड्सलाई समूह ‘ए’ को शीर्ष स्थानमा राख्दै अन्तिम १६ मा पुर्‍याउन गाक्पोले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

सेनेगल, इक्वेडर र कतारविरुद्धको खेलमा गाक्पोले गोल गरेका छन् । उनी ३ गोलसहित गोल्डेन बुटको दाबेदार बनेका छन् ।

लिओनेल मेस्सी

अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी सम्भवत आफ्नो अन्तिम विश्वकपमा खेलिरहेका छन्। साउदी अरेबियाविरुद्धको खेलमा पेनाल्टीमा गोल गर्दै मेस्सीले खाता खोलेका थिए।

यस्तै, मेक्सिकोविरुद्धको खेलमा पनि मेस्सी गोल गर्न सफल भए। अन्तिम १६ मा अस्ट्रेलियाविरुद्ध गोल गर्दै उनले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनको त्यो ९४औँ अन्तर्राष्ट्रिय गोल थियो।

७ पटक ‘बालोन डी ओर’ जितेका मेस्सीले यसपटक अर्जेन्टिनालाई उपाधि जिताउने उनका समर्थकको विश्वास छ । मेस्सी ३ गोलसहित गोल्डेन बुटको दाबेदार छन् ।

गोन्सालो रामोस

पोर्चुगलका २१ वर्षीय स्ट्राइकर गोन्सालो रामोसले एउटै खेलमा उत्कृष्ट प्रदर्शन गरेर आफूलाई गोल्डन बुटको दाबेदारको रूपमा उभ्याएका छन्।

पहिलोपटक सुरुवाती–११ मा पर्दै अन्तर्राष्ट्रिय खेल खेलेका रामोसले स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरे। यो कतार विश्वकपकै पहिलो ह्याट्रिक  समेत हो।

रामोसको ह्याट्रिकसँगै पोर्चुगलले ६–१ को जित हात पार्‍यो । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको खेलमा रामोसले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

अबका खेलमा पनि उनले गोल गर्न सके गोल्डेन बुट हात पार्न सक्छन् ।

रिर्चालिसन

ब्राजिलका रिर्चालिसन ३ गोलका साथ गोल्डेन बुटको दाबेदार बनेका छन् । समूह चरणको पहिलो खेलमा सर्बियाविरुद्ध ब्राजिलका लागि रिचार्लिसनले २ गोल गरेका थिए।

समूह ‘जी’ को अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध पनि उनले गोल गरे । रिर्चालिसनको गोल हान्ने शैली पनि चर्चित बनेको छ । सर्बियाविरुद्धको खेलमा रिर्चालिसनको भली गोलले निकै चर्चा बटुलेको थियो ।

ओलिभर जिरोड

अहिलेसम्म ३ गोल गरेका फ्रान्सका ओलिभर जिरोड पनि गोल्डेन बुटको दाबेदार हुन् । अष्ट्रेलियाविरुद्ध जिरोडले २ गोल गरेका थिए। अन्तिम १६ मा पोल्यान्डविरुद्ध फ्रान्सलाई ३–१ ले विजयी बनाउन जिरोडले गोल गरे।

 

यससँगै जिरोडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । फ्रान्सका लागि जिरोडले ५२ गोल गरिसकेका छन् ।

बुकायो साका

इङ्ल्यान्डका बुकायो साकाले पनि ३ गोलसहित गोल्डेन बुटमा दाबेदारी पेश गरेका छन् । साकाले इरानविरुद्ध २ गोल गरेका थिए । अन्तिम १६ मा सेनेगलविरुद्ध १ गोल गर्दै उनी दाबेदारका रूपमा अघि आएका हुन् ।

 

क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुँदै छन्। अहिलेसम्मको अवस्था हेर्दा फ्रान्सका एम्बाप्पे नै गोल्डेन बुटको मुख्य दाबेदार देखिन्छन् । तर, आगामी खेलमा उनी र अन्य खेलाडीको प्रदर्शन कस्तो हुन्छ, त्यसकै आधारमा गोल्डेन बुटको छिनोफानो हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved