सुकुम्वासी बस्ती भत्काउनेबारे काठमाडौं महानगरपालिकासँग ऐक्यबद्धता जनाउँदै प्रदर्शन

नेपालभ्युज

सुकुम्वासी बस्ती भत्काउनेबारे काठमाडौं महानगरपालिकासँग ऐक्यबद्धता जनाउँदै प्रदर्शन
काठमाडौंको थापाथली बस्ती ।

काठमाडौं। उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यवद्धता जनाएको छ ।

मंगलबार समितिले सुकुम्वासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी सुकुम्वासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने बताएको हो । समितिले सुकुम्वासीको खोल ओढेर र राजनीतिक दलहरुको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ ।

काठमाडौं महानगरसँग ऐक्यवद्धता जाहेर गरेपछि मंगलवार महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै समितिले सही सुकुम्वासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिङ्ग भएको बताएको छ । प्रदर्शनपछि बोल्दै आन्दोलित महेशलाल बज्राचार्यले सुकुम्वासीको नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र सुकुम्वासीको तथ्यांक संकलन गरी सही सुकुम्वासीको व्यवस्थापनका साथै भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको जानकारी दिए ।

उनले सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरूको छत्रछायाँमा भइरहेका गतिविधिहरूको अन्त्य हुन जरुरी रहेको बताए । उनले सुकुम्वासीहरूले नगरप्रहरीसमक्ष हिंसात्मक गतिविधि देखाएको भन्दै सरकारलाई सुकुम्वासी व्यवस्थापन गर्ने चाहना नै नभएको आरोप लगाए । उनले सुकुम्वासी आयोग, भूमि आयोग लगायतका सम्बन्धित निकायहरूले सुकुम्वासीको समस्या समाधान भएपछि आफ्नो सेवासुविधा नआउने डरले समस्या समाधानमा व्यवधान खडा गरेको बताए ।

उनले भने, ‘सुकुम्वासीको नाममा जसरी दादागिरी भएको छ,यो गलत छ, सुकुम्वासीको तथ्यांक संकलन गरी सही सुकुम्वासीको व्यवस्थापन हुनुपर्छ,भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन हुनुपर्छ । तर, यसरी खोला किनारमा लथालिङ्ग तरिकाले होइन । खोला किनारमा बसेर दादागिरी देखएर, नगरप्रहरीसमक्ष हिंसात्मक गतिविधि गरेर यसले शहरको शान्ति सुरक्षामा नै खलल पुगेको छ । सुकुम्वासी, भूमि आयोगहरूको यो काम गलत छ ।’

त्यस्तै, अर्का प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलहरुले नै सुकुम्वासीहरूलाई काखी च्यापेको आरोप लगाए । उनले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाई उनीहरूको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरूले हस्तक्षेप गरिरहेको बताए । उनले सुकुम्वासीको नाममा काठमाडौं उपत्यकाको जमिन हडप्न नपाइने बताए ।

उनले भने, ‘लालपूर्जा भएको घर भत्काउँदा कुनैपनि राजनीतिक दलहरु नबोल्ने, अहिले सुकुम्वासी बस्ती भत्काउँदा किन यति धेरै । राजनीतिक दलहरुले किन संरक्षण गरिरहेको छ, सुकुम्वासीलाई सक्कली सुकुम्वासी छनोट गरेर व्यवस्थापन हुनुपर्छ । काठमाडौैंको जमिन किन अतिक्रमण ।’

त्यस्तै, अर्का प्रदर्शनकारी प्रमोदनाथ श्रेष्ठले सुकुम्वासीको सही व्यवस्थापन हुनुपर्ने तर हुकुम्वासीहरूलाई हटाउन आवश्यक रहेको बताए । उनले राम्रा कामका लागि उपत्यकाका जनताले सधैँ समर्थन गर्ने भन्दै सरकार र राजनीतिक दलहरूको हस्तक्षेप भइरहे आन्दोलन थप चर्काउने चेतावनी दिए ।

उनले भने, ‘सुकुम्वासीलाई प्राथमिकता दिऔं, हुकुम्वासीलाई हटाऔँ । राम्रा कामको लागि उपत्यकावासी सबैले साथ समर्थन दिन्छ । यो आन्दोलन भइरहनेछ । तीन पुस्ते नागरिकता हेरेर सही सुकुम्वासीको पहिचान हुनुपर्छ ।’ प्रदर्शनकारीले उपत्यकाको भूमिलाई सुकुम्वासी भूमि बनाउन पाइँदैन, सुकुम्वासीको नाममा राजनीति गर्न पाइँदैन, सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved