नयाँ सांसदको स्वागतका लागि चिटिक्क पार्दै प्रदेशसभा, २० लाखमा फेरिए माइक र टेबल

नेपालभ्युज

नयाँ सांसदको स्वागतका लागि चिटिक्क पार्दै प्रदेशसभा, २० लाखमा फेरिए माइक र टेबल

धनगढी। निर्वाचनको अन्तिम मतपरिणाम पुग्दै गर्दा सुदूरपश्चिम प्रदेश सभा सचिवालयका कर्मचारी नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतको तयारीमा जुटेको छ ।

यस प्रदेशमा ६ दल बनेपछि संसदीय दलका कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन, सभा सञ्चालनका लागि आवश्यक पर्ने विजनेस लगायतको तयारीमा प्रदेश सभा जुटिरहेको छ ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा सदस्यको स्वागतका लागि सचिवालय तीव्ररूपमा तयारीमा जुटेको बताए । उनले कार्यालय व्यवस्थापन, रंगरोगन, कुर्ची व्यवस्थापनलगायत काम भइरहेको बताए ।

२०७४ सालमा जिल्ला समन्वय समिति कैलालीको भवनमा प्रदेश सभा सचिवालयको कार्यालय बनाइएको थियो । जिल्ला समन्वय समितिले व्यापारिक परियोजनाका लागि बनाएको भवनमा संसदीय दल र विषयगत समितिको कार्यालय व्यवस्थापन गरिएको थियो ।

अहिले धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्ने क्रममा सो भवनको केही भाग हटाउनुपरेपछि सचिवालयलाई व्यवस्थापन गर्न चुनौती देखिएको छ ।

२० लाखमा फेरिए माइक र टेबल

सुदूरपश्चिम प्रदेश सभामा अघिल्लो सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ सांसदहरूलाई नयाँ माइक राखिएको छ । नयाँ सांसदहरूलाई नयाँ माइक मात्रै होइन उनीहरूको लागि नयाँ टेबल पनि राखिएको छ । पुराना टेबल अहिले थन्काइएको छ । यूएनडीपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजनामार्फत सुदूरपश्चिम प्रदेशसभामा धमाधम व्यवस्थापनको कामहरू भइरहेको हो ।

यूएनडीपीले अघिल्लोपटक लगानी गरेर तयार गरेका उपकरणहरू हटाएर फेरि त्यही उपकरणका लागि आर्थिक सहयोग गरेको छ । प्रदेश सभामा ३२ वटा नयाँ माइकहरू राखिएका छन् । रोष्टममा २ वटा सभामुखको स्थानमा २ वटा र प्रदेश सभा सदस्यहरूको स्थानमा २८ वटा माइकल जडान भइसकेका छन् ।

त्यसबाहेक पुरानो टेबल हटाएर ५४ पिस नयाँ टेबल राखिएको छ । पुरानो भद्दा भएको र जोडिएको टेबल भएको भन्दै नयाँमा लगानी गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

उनले अहिलेसम्म ३ पटक माइक फेरि सकेको जानकारी दिए । नयाँ प्रदेश सभा सदस्यहरूका लागि यूएनडीपीले २० लाखभन्दा बढी रकम खर्च गरेको छ । यहाँ पाँच लाख १४ हजारको फर्निचर र १५ लाख १७ हजारका उपकरण जडान भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved